कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडी लोकमार्ग निर्माण : कतै रोकियो, कतै निरन्तर

पर्वत खण्डमा पुन: सुरु, बागलुङ खण्डमा अलपत्र, रुकुम खण्डमा कालोपत्र भएन

पर्वत,बागलुङ, रुकुम पश्चिम — मध्यपहाडी लोकमार्ग आयोजनाको पर्वत खण्ड विस्तारको काम करिब डेढ महिनापछि पुन: सुरु भएको छ । चैत ९ यता रोकिएको काम गत मंगलबारदेखि सुरु भएको आयोजना कार्यालयले जनाएको छ । लकडाउन लम्बिँदै गएपछि त्यसको असर थेग्न नसकेर लोकमार्गको काम अघि बढाइएको कार्यालयको भनाइ छ ।

मध्यपहाडी लोकमार्ग निर्माण : कतै रोकियो, कतै निरन्तर

करिब ७५ जना कामदार लगाएर काम अघि बढाइएको हो । लकडाउनका कारण घर जान नसकेका मजदुर परिचालन गरेर कुस्मा र आसपासको क्षेत्रमा काम अघि बढाइएको कार्यालयका प्रमुख आशिष थापामगरले बताए । काममा शारीरिक दूरी भने कायम गरिएको छ । सवारीसाधन नचलेकाले पर्वत खण्डमा सबैभन्दा जटिल मानिएको चुवाको पहरो फुटाउने कामलाई तीव्रता दिइएको छ । चैत १ देखि सेनाको सहयोगमा विस्फोट गराउन सुरु गरिएको चट्टानको काम लकडाउनपछि ठप्प थियो ।

कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिले राष्ट्रिय गौरवका आयोजनामा शारीरिक दूरी कायम गरेर निर्माणस्थलमै उपलब्ध मजदुर परिचालन गरी काम गर्ने निर्णय गरेपछि आयोजनाको काम अघि बढाउन बाटो खुलेको हो । कुस्मा, खरेहा, चुवालगायत स्थानमा सडक चौडा, नाली, कल्भर्ट निर्माणलगायत काम अघि बढाइएको छ । ‘सम्भव भएसम्म बाहिरबाट कामदार नल्याउने, निर्माणस्थलमा भएका र घर फर्किन नपाएका मजदुरलाई ल्याएर काम गर्न लगाउने निर्देशन थियो,’ थापामगरले भने, ‘सोहीअनुसार काम थालेका हौं ।’

आगामी भदौ ३० सम्म सक्ने गरी पर्वत खण्ड विस्तारको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले तोकिएकै समयमा काम सक्ने गरी पछिल्लो समय करिब ९ सय कामदार परिचालन गरेको कन्स्ट्रक्सनका प्रबन्धक गोविन्द भुसालले बताए । वैशाख २५ पछि पनि कामलाई निरन्तरता दिनसके असारसम्म पर्वत खण्डको सबैजसो सडक कालोपत्र सकिने थापा मगरको दाबी छ ।

लोकमार्गको बागलुङदेखि घोडाबाँधे खण्डको २५ किमि सडक कालोपत्रे योजना भने अलपत्र परेको छ । सडकको सुल्डाँडा बिहुँ हुँदै घोडाबाँधेतर्फको १३ किमि खण्डमा कालोपत्र गर्ने काम भइरहेका बेला मजदुर घर फर्कंदा काम रोकिएको थापामगरले बताए ।

लोकमार्गको बिहुँ खण्डको १३ किमि सडक १३ करोडमा सक्ने जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले मजदुर अभावमा काम गर्न पाएको छैन । ‘काम भइरहेको थियो तर मजदुर घरघर गएपछि समस्या भयो,’ इन्जिनियर रामप्रसाद सुवेदीले भने, ‘बसेका मजदुरबाट पनि ग्राभेलको काम भएको छ ।’

सदरमुकामदेखि अक्षेतेसम्मको १२ किमि खण्डको काम अलपत्र छ । १२ करोडमा जिम्मा लिएको भारत सिद्धिशाही प्रकाश निर्माण कम्पनीले लकडाउनअघि पनि काम नगर्दा सडक जीर्ण बनेको छ । केही खण्डमा पहरा आधा फोडेर अलपत्र पारिएको छ । त्यस्तै बोक्सेको भीरमा हिलाम्मे छाडिएपछि सवारीसाधन गुड्नै नसक्ने अवस्था छ ।

गत कात्तिकमा म्याद सकिएर थपेको एमपी सूर्य कन्स्ट्रक्सनले असारभित्र काम सक्ने समय पाएको थियो । पटकपटक थपेको म्याद पनि गुजारेको सिद्धिशाहीलाई भने कालोसूचीमै राख्ने बेला भएको थापामगरले बताए । सूर्य कन्स्ट्रक्सनले बैंक ग्यारेन्टी र म्याद थप्ने आधार मागेपछि काम थालेको हो । बागलुङभित्रको १४२ किमि सडकमध्ये घोडाबाँधेसम्मको २५ किमि खण्ड मात्र जीर्ण छ ।

बिहुँ र सुलडाँडालगायतका स्थानमा भने लकडाउनकै अवसरमा पहरो काट्ने काम भएको छ ।

धकेलियो निर्माण

मध्यपहाडी लोकमार्ग आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्रको काम सक्ने लक्ष्य लिएको थियो । सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किमि कालोपत्रको काम करिब एक महिनादेखि अवरुद्ध रहेको लोकमार्गको दैलेख आयोजना कार्यालयले जनाएको छ ।

अरु तयारी गरिए पनि कालोपत्रको काम रोकिएको कार्यालयका सूचना अधिकारी तुलाराम शर्माले बताए । ‘अरू सबै आधारभूत काम सकिएका छन्, कालोपत्रे सुरु हुनै लाग्दा लकडाउन भयो,’ उनले भने, ‘उपकरणमार्फत हुने काम भने चालु अवस्थामा छन् ।’

सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको उनले जानकारी दिए । तर अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने जारी मेसिनमार्फत जारी राखिएको छ ।

कार्यालयका अनुसार उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम असार मसान्तसम्म सकिनुपर्ने हो । कालोपत्रेको म्याद करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा नसकिने देखिएको शर्माले बताए । बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । ‘२५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम पुन: सुरु गरिनेछ,’ उनले भने, ‘यही अवस्थामा १० किमि कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ ।’

बाँकी २२ किमि सडकको कालोपत्र आगामी मंसिरभित्र गर्ने गरी कार्यालयले आवश्यक तयारी थालेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छैन । उक्त क्षेत्रमा पनि उपकरणबाट हुने काम रोकिएका छैनन् । उपकरणबाट भन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या भएको शर्मा बताउँछन् । मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र पश्चिमको १ सय २३ किमि खण्ड ओगटेको छ । केही खण्डमा कालोपत्रेको काम भइसकेको छ ।

आयोजनाको काम रोकिएपछि स्थानीय निराश भएको मुसीकोट नगरपालिका–८ का बलबहादुर थापाले बताए । ‘भइसकेको विकास पनि पछि धकेलियो,’ उनले भने, ‘घर गएका मजदुर कहिले आउँछन् र कहिले काम सुरु हुन्छ भन्ने अन्योल छ ।’ लोकमार्गको अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किमि खण्डको ठेक्काको काम बाँकी छ । आयोजना कार्यालयका अनुसार टेन्डरको टुंगो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम बाँकी रहेको हो ।

प्रकाशित : वैशाख २४, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?