‘सुरुङभित्र ८ घण्टा जिन्दगी यत्ति नै हो भनेर गीत गाएर बस्यौं’- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सुरुङभित्र ८ घण्टा जिन्दगी यत्ति नै हो भनेर गीत गाएर बस्यौं’

‘सुरुङभित्रको आठ घण्टाको पीडा त भनी साध्य छैन । जिन्दगीको ठूलो लडाइँ थियो । के गर्नु गाउँघरमै रोजगारी पाएको भए यसरी ढुंगामुढा सहनु पर्दैनथ्यो । हामीसँग सीप पनि छैन । पढाइ पनि धेरै छैन । गरिबलाई कसले पत्याउने ?’
किरण विश्‍वकर्मा

मेरो घर प्यूठान जिल्लाको गौमुखी गाउँपालिका ३ हो । तीन वर्ष भयो यहाँ काम गर्न आएको । तपोवनको एनटीपीसीको बिजुली आयोजनामा वेल्डिङको काम गर्दै आएको थिएँ । २५ जना नेपाली काम गर्थ्यौं

उत्तराखण्डको हिमनदी विस्फोटपछि जोशीमठ छेउको तपोवनस्थित जलविद्युत् परियोजनाको सुरुङभित्र करिब आठ घण्टा थुनिएका ३४ वर्षीय विश्वकर्मा (सेतो ज्याकेट) र अन्य तीन जना नेपालीसहित १२ जनालाई आईटीबीपीले सकुशल उद्धार गरेको थियो । 

आइतबार बिहान आठ बजे ड्युटी गएँ । हामीहरु साढे तीन सय मिटरभित्र सुरुङमा थियौँ । त्यतिबेला भित्र हामीहरु १२ जना थियौं । त्यसमध्ये चारजना नेपाली थियौं । मबाहेक सन्तबहादुर गुरुङ, चित्रबहादुर विश्वकर्मा, वसन्तबहादुर सुनार हुनुहुन्थ्यो ।

करिब सवा दस बजेतिर साथीहरुले एक्कासि भागभाग भनेर कराए । त्यसपछि काम छाडेर सबै जना भाग्न थाल्यौं । भाग्नका लागि पछाडि फर्केर हेर्दा त सुरुङभित्र त पूरै पानी । उत्तिखेरै सुरुङको भित्तामा भएको फलाम समातेर माथि उक्लियौं । चार फिटसम्म पानी भरिएको थियो । हामीहरु त्यही हो पाँच फिटको उचाइमा समातिरह्यौं । अब पानी बढछ, यति नै रहेछ जिन्दगी भन्ने लाग्यो । तर, केही बेरमा पानी फर्केर सतह केही घटे जस्तो लाग्यो । फेरि केही आश पलायो । तर, फेरि फर्कियो पानी र हिलो दुवै थियो । पूरै दलदल जस्तो ।

त्यसपछि भएन भनेर बाँदरले जस्तो माथि समातेर सुरुङको ढोकातर्फ लाग्यौं । गेटसम्म पुग्न डेढ घण्टा जाति लाग्यो होला । गेट भएको ठाउँ पुग्दा पूरै बन्द छ । अक्सिजन पनि कम हुँदै छ । सास फेर्न गाह्रो हुन थालिसक्यो । अब भने बाँचिन्नँ भन्ने भयो । त्यही भएर जतिबेर बाँचिन्छ रमाइलो गरौं भन्यौं । अनि कसैले गीत, कसैले कथा र शायरी सुनाएँ ।

हामीहरुले नेपाली गीत गायौं भने भारतीयहरुले हिन्दी गीत गाए । के गर्नु मन भुलाउनुको विकल्प पनि थिएन । पहिले झुण्डिएर गेटसम्म आउँदा पनि गीत गाएका थियौं । डेढ घण्टा जति पछि दलदल कम हुँदै गयो । गेट त एउटा बडेमानको ढुंगाले थुनिएको रहेछ । केही बेरमा एउटा चेपबाट जुनकिरीको जस्तो थोरै उज्यालो देखियो । सबैजना खुसी भयौं । त्यसपछि भने अब बाँचिन्छ भन्ने लाग्यो । तर, बाहिरका मान्छेलाई कसरी खबर गर्ने ? हामी सबैको मोबाइल बगाएको थियो । भएको पनि पानीले बिग्रियो । तर, भाग्य भनौं । जोशीमठकै विनोद भन्ने साथीसँग भएको मोबाइल चालु रहेछ । त्यसले टावर देखायो । त्यतिबेलाको खुसी भनिसाध्य छैन ।

त्यसपछि हामीले कम्पनीका मान्छेलाई सम्पर्क गरौं । विनोद लोकल भएकाले गाउँलेहरु सबैले उद्धारका लागि बढी चासो देखाएछन् । करिब पाँच बजेतिर आईटीबीपी (इन्डो–तिब्बत बोर्डर पुलिस) को टोलीले सुरुङबाट निकाल्यो । त्यसपछि हामीलाई आईटीबीपीकै अस्पताल लगियो । र दुई दिन राखेर मंगलबार डिस्चार्ज भयौं । अहिले त स्वास्थ्य ठीक छ । अहिले बाहिरी चोट त छैन शरीर भने दुखिरहेको छ । रिँगटा भने लागिरहेको छ । सायद सुरुङभित्र आठ घण्टाजति बिनाअक्सिजन बस्नु परेर होला यस्तो भएको । छाती दुख्छ ।

सुरुङभित्रको आठ घण्टाको पीडा त भनी साध्य छैन । जिन्दगीको ठूलो लडाइँ थियो । के गर्नु गाउँघरमै रोजगारी पाएको भए यसरी ढुंगामुढा सहनु पर्दैनथ्यो । हामीसँग सीप पनि छैन । पढाइ पनि धेरै छैन । गरिबलाई कसले पत्याउने ? के गर्नु ज्यान माया मारेर परिवार पाल्नु परेको छ । देशमै रोजगारी भएको भए यस्तो दु:ख गर्न को आउँथ्यो र ? सुखदु:ख परिवारसँगै बिताइन्थ्यो । पहिले घर गएका बेला उतै काम खोजेको पनि हो । तर, पाइएन ।

परिवारसँग भोलिपल्ट सम्पर्क भयो । घरमा घटनाका बारेमा त तत्कालै थाहा पाउनु भएको रहेछ । सबैले मऱ्यो भन्ने ठानेका रहेछन् । श्रीमती त खबर सुन्नासाथ बेहोस भएर अस्पताल लग्नु परेछ । पूरै रुवाबासी नै सुरु भइहालेछ । भोलिपल्ट सम्पर्क परिवारसँग पनि सम्पर्क भयो । सबै जना निकै खुसी भए ।

अब चाँडोभन्दा चाँडो घर फर्कन चाहन्छु । तर, कसरी जाने ? भाडा पनि छैन । हामीहरुसँग भएको सबै चिज बाढीले लगेको छ । लत्ताकपडा केही छैन । यहाँ मनी ट्रान्सफर नभएकाले तलब आफूसँग राख्ने गरेका थियौं । दुई चार महिनाको तलब पनि गयो । ज्यानको एकसरो लुगा पनि सुरुङबाट निकालरे फाल्नु पऱ्यो । त्यसैले सरकारले सहयोग गरे हुन्थ्यो ।

-विश्वकर्मासँग नयाँदिल्लीस्थित कान्तिपुर संवाददाता सुरेशराज न्यौपानेले गरेको टेलिफोन कुराकानीमा आधारित

प्रकाशित : माघ २८, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

कठिन जितपछि जोकोभिच तेस्रो चरणमा

एजेन्सी

मेलबर्न — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले बुधबार अस्ट्रेलियन ओपनमा कठिन जित निकालेका छन् । सर्बियाली खेलाडीले अमेरिाका फ्रान्सेस टिफोएले प्रस्तुत गरेको कडा चुनौतीलाई ६–३, ६–७ (३/७), ७–६ (७/२) र ६–३ ले पन्छाए र तेस्रो चरण पुगे । खेलपछि जोकोभिचले निकै कडा संघर्षपछि मात्र जित प्राप्त भएको स्वीकारे ।

तर २३ पल्टका ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सले अस्ट्रेलियन ओपनमा आफ्नो यात्रा बुधबार पनि कायम राखिन् र अगाडि बढिन् । पुरुषतर्फ यूएस ओपन च्याम्पियन डोमिनिक थिएमले पनि तेस्रो चरणको यात्रा तय गरे र यसमा पनि उनको जित सजिलो रह्यो । अमेरिकी ३९ वर्षीया खेलाडी सेरेनाले तेस्रो चरणमा प्रवेशका लागि निता स्टोजानोभिचलाई ६–३ र ६–० ले हराइन् ।

उनकी दिदी भेनस विलियम्स भने त्यति धेरै भाग्यमानी रहिनन् र इटालीकी क्वालिफायर सारा इरानीसँग सिधा सेटमा ६–१ र ६–० ले पराजित भइन् । यस्तै अभाग्यशाली खेलाडीमा पेट्रा केभिटोभा पनि रहिन् । उनी तीन सेट चलेको खेलमा पराजित भइन् । दुई पल्टका ग्रान्ड स्लाम विजेतालाई सोरोना क्रिस्टियाले ६–४, १–६ र ६–१ ले पराजित गरिन् ।

पुरुषतर्फ पनि तीन पल्टका ग्रान्ड स्लाम विजेता स्टान वावरिन्का पनि प्रतियोगिताको दोस्रो चरणबाट बाहिरिएकी छिन् । गत वर्ष क्वाटरफाइनलसम्मको यात्रा तय गरेका ३५ वर्षीय स्विस खेलाडी वावरिन्का मार्टिन फुस्कोभिचसँग ७–५, ६–१, ४–६, २–६ र ७–६ (११/९) ले पराजित भएका हुन् । यस्तै तेस्रो वरीयताका थिएमले जर्मनीका डोमिनिक कोफरलाई ६–४, ६–० र ६–२ ले पराजित गरे ।

प्रकाशित : माघ २८, २०७७ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×