युद्धकालको मनोविज्ञानमा फँसेका हामी- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युद्धकालको मनोविज्ञानमा फँसेका हामी

प्रशंग पोखरेल

काठमाडौँ — २०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौंमा गडगडाएर प्रवेश गरिसकेको छ । दिनहुँ काठमाडौंमा झन्डै दुई सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन् । 

संसारभर करिब ७ लाख मान्छेको मृत्युको कारण बनेको यस भाइरसले संसार नै उथलपुथल बनाएको अवस्था छ । झन्डै चार महिना लामो लकडाउनपछि सामान्यतर्फ अग्रसर भएको काठमाडौंको जनजीवन फेरि निषेधाज्ञाले गर्दा घरभित्रै बन्द हुन पुगेको थियो । तर पनि संक्रमितको संख्या नघट्दा त्रासको ग्राफ पनि उकालोलाग्दो छ । शुक्रबारमात्रै काठमाडौं उपत्यकामा एकै दिन ६ सय ९६ जनामा संक्रमण देखापर्‍यो, देशभरी १४ सय ५४ जनामा संक्रमण देखापर्‍यो । यस्तोमा सरकारले उपत्यकामा निषेधाज्ञालाई फेरि खुकुलो बनाइदिएको छ । स्वास्थ्य सेवाका विज्ञहरु, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु र संचार माध्यमले एकै स्वरमा भिडमा नजाउँ, मास्क लगाउँ, हात धोऔं, सामाजिक दूरी कायम गरौं भनेर भनिरहेका छन् । तर, पनि हामीबीच भाइरस आइपुग्न सफल भइरहेको छ ।

धेरैले माथिका सुझाव माने पनि केही मानिसहरु अझै संवेदनशील नभएको देखिन्छ । यस मनोविज्ञानका पछाडि दोस्रो विश्वयुद्धका बेला बेलायत र जर्मनीका सहरमा देखिएको मानिसहरुको मनोविज्ञानसँग तुलना गर्न सकिन्छ ।

दोस्रो विश्वयुद्धमा बेलायती सहर लन्डन जर्मन वायुसेनाको निशानामा थियो । लण्डन बेलायतको सबभन्दा ठूलो सहरमात्र थिएन, आर्थिक र प्रशासनिक गतिविधिको केन्द्र पनि थियो । यसले गर्दा सहरको जनघनत्व पनि ठूलो थियो । त्यसबेलाको जर्मन वायुसेना बेलायती वायुसेनाभन्दा निकै बलियो थियो । जर्मन वायुसेनाले बेलायतको लण्डनमा आक्रमण गर्ने निश्चित नै थियो । यसैले बेलयाती सरकारले जर्मन हमलाबाट कसरी धेरै मानिसको ज्यान जोगाउने र आर्थिक तथा प्रशासनिक गतिविधिलाई कसरी अविछिन्न राख्ने भन्ने रणनीति तय गर्दै थियो ।

जर्मन वायुसेवाको आक्रमणमा दुई लाख पचास हजार मानिसको ज्यान जानसक्ने र करिब ३० देखि ४० लाख मान्छे विस्थापित हुने अनुमान बेलायत सरकारको थियो । मानिसहरु डरले गर्दा काममा नजाने र औद्योगिक उत्पादन पनि घट्ने अनुमान सरकारले गरेको थियो ।

आखिरीमा ७ सेप्टेम्बर १९४० का दिन करिब ३ सय ४८ वटा जर्मन विमान बेलायतको आकाशमा देखा परे । यी विमानले ठूलो मात्रामा गोला बारुद लिएर आएका थिए । त्यस दिनबाट करिब ९ महिनामा लन्डन सहरमा झन्डै ८० हजारवटा जर्मन बम खसे । चालीस हजार मान्छेले ज्यान गुमाए । हज्जारौं घर भत्किए ।

तर, यति हुँदा पनि बेलायती समाजमा डर र त्रासले त्यसरी कब्जा जमाएन, जसरी सोचिएको थियो । सरकारी अनुमानभन्दा विपरित स्थिति लन्डनको थियो । जनताको सोच अर्कै थियो । सरकारले ग्रामिण इलाकामा बनाएका मनोवैज्ञानिक अस्पताहरु काममा आएनन् । ती सबै अस्पताल सैनिक काममा लगाइयो । युद्धको त्रासले ठूलो संख्यामा मानिसहरु सहर छोडेर बाहिर जाने र यसले औद्योगिक र आर्थिक उत्पादन रोकिने अनुमान पनि गलत ठहरियो । सहरमा कुनै ठूलो त्रास देखिएन । स्थिति कस्तोसम्म भयो भने जर्मन सेनाको हमलामा बजेको चेतावनी साइरनको समेत मानिसहरुले मतलब गर्न छोडे । यो साइरनले न काम गरिरहेका मानिसहरुलाई रोक्यो न त खेलिरहेका बच्चाहरुलाई । बटुवाहरु आफ्नो बाटो हिँडिरहन थाले, गाडी गुडिरहन थाले र ट्राफिकले गाडी व्यवस्थापन गरिरहे ।

युद्धका बीच मानिसहरुको यो निस्फिक्री व्यवहार वैज्ञानिकहरुका लागि अध्ययनको विषय बन्यो । यसको अनुसन्धान गर्न क्यानडेली मनोचिकित्सक जे. टी. म्याक्कर्डी १९४० मै लन्डन पुगे । माथि उल्लेखित लण्डनको विवरण यिनै म्याक्कर्डीको वर्णन हो । युद्ध सकिएपछि उनले प्रकाशित गरेको पुस्तक ‘दि स्ट्रक्चर अफ मोराल’मा वर्णन गरेका छन् । पुस्तकमा उनले त्यहाँ देखेका घटना र मानिसहरुको मनोविज्ञानबारे व्याख्या गरेका छन् ।

उनका अनुसार त्यसबेला मानिसहरु तीन समूहमा विभाजित भएका रहेछन् । पहिलो समूहमा ती मान्छे थिए जसले युद्धमा ज्यान गुमाए । युद्धको सबभन्दा ठूलो क्षति भएको समूह यो थियो । तर, समाजको मनोविज्ञानमा यस समूहले कुनै असर पारेन ।

दोस्रो समूह मृत्युबाट मुश्किलले बचेकाहरुको समूह थियो । यस समूहलाई युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्‍यो । युद्धका गोला बारुदले घाइते भएका वा घर भत्किएका तथा धनको क्षति ब्यहोरेकाहरु यो समूहमा पर्छन् ।

र, अन्त्यमा थियो तेस्रो समूह, जो युद्धमा सहभागी पनि थिएन र जसले युद्धलाई अलि टाढैबाट हेरे । अर्थात्, युद्धले प्रत्यक्ष वा खास असर नगरेका व्यक्तिहरु यो समूहमा पर्छन् । यस समूहका व्यक्तिहरुको न त घर वा धनको क्षति भएको थियो न उनीहरुका नजिकका नातेदारले कुनै क्षति ब्यहोरेका थिए ।

युद्धले ध्वस्त लण्डन सहरमा भत्किएको पुस्तकालयमा पुस्तक खोज्दै मानिसहरु ।

युद्धलाई नजिकबाट देखेका र बल्लबल्ल बचेकाहरुको तुलनामा टाढाबाट युद्धलाई हेरेर र प्रत्यक्ष असर नपरेकाहरुको संख्या ठूलो थियो । जो मानिसले प्रत्यक्ष युद्ध भोगेका थिए वा त्यसको चोट सहेका थिए तिनमा युद्धको त्रास पनि बढी थियो । तर, जो टाढै थिए उनीहरुमा युद्धको त्रास पनि टाढै थियो । उनीहरुको समूह ठूला भएकाले जर्मन बमले हामीलाई केही गर्दैन भन्नेको संख्या ठूलो थियो । हामीलाई छुँदैन भन्ने सोच भएकाले यिनको मनोबल पनि उच्च थियो । यसैले उनीहरु अन्य सामान्य समयजस्तै केही नभएजसरी काम गरिरहेका थिए । यस कुरालाई पुष्टि गर्न म्याक्कर्डीले त्यसबेला बेलायतीहरुले लेखेका नोट र डायरीहरुको पनि विश्लेषण गरेका थिए ।

पछि बेलायती सेनाले पनि जर्मन सहरमा हमला गर्‍यो । त्यहाँ पनि बमबारी गरिए । र, त्यहाँ पनि मनोचिकित्सकहरुले मानिसहरुको मनोविज्ञानको अध्ययन गरे । यो अध्ययनमा पनि बेलायतकैजस्तो निष्कर्ष निस्किएको अध्येयताहरुले पुष्टि गरे । बेलायतको अध्ययनको निष्कर्षचाहिँ के निस्किएको थियो भने, जर्मन आक्रमणले बेलायती समाजलाई झन् बलियो र दृढ बनाइदियो ।

हिजो युद्धको समय यही मनोबलले समाजलाई बलियो बनाइदिएको थियो भने आज कोरोनाको समयमा मानिसको यही मनोबलले संक्रमण बढ्ने खतरा बढाएको छ । हिजो टाढाबाट बचेका मानिसले समाजलाई बलियो बनाएका थिए भने आज समाजका यिनै समूहले संक्रमणको त्रास निम्त्याएका छन् । उच्च मनोबल भाइरससँग लड्नका लागि संक्रमण भएकाहरुलाई आवश्यक पर्छ । तर, मलाई त यसलै छुँदै छुँदैन भन्ने सोच्नुलाई उच्च मनोबल होइन, मूखृता मान्नुपर्ने हुन्छ ।

बेलायतमा युद्धका बेलाजस्तै अहिले पनि समाजमा कोरोना संक्रमण भएका वा यसका कारण मृत्यु भएकाको संख्या सानो छ । संक्रमणमा नपरेकाको संख्या ठूलो छ । त्यसकारण कोरोनाले हामीलाई छुँदैन, कोरोनाले हामीलाई केही हुँदैन भन्ने मानसिकता समाजमा हावी हुन खोज्छ । यही समूहका व्यक्तिहरु मास्क नलगाउने, सामाजिक दूरी कायम नराख्ने हुन्छन् । आजको समयमा पनि अमेरिका, जर्मनीजस्ता केही मुलुकका केही नागरिकहरुले मास्कको विरोध गरिरहेका छन् । अमेरिकी साम्राज्इको भ्रममा अझै पनि मनोबल उच्च भएका यस समूहका नागरिक कोरोनाको लडाई पनि विश्वयुद्ध जस्तो गोला बारुढले नै जित्ने सोचमा रुमलिएका छन् । यस्तो महामारीमा पनि आफ्नो स्वतन्त्रताको हनन भयो भन्ने तर्कमा आफू र सारा समाजलाई फँसाइरहेका छन् ।

हाम्रै देशमा पनि हिमाली हावा र बेसार पानीले गर्दा नेपालीलाई कोरोनाले छुँदैन भन्ने घोषणा भएको थियो । यस्तै उच्च मनोबल (भ्रमका कारण पैदा हुने) ले कोरोनाको लडाईंमात्र होइन भारतको विस्तारवाद समेत एकैचोटी फाल्ने घोषणा सुन्न पाइयो । भारतसँगको लडाईं त अझै लामो समय रहने भएकाले र धेरै पहिलेदेखि सिर्जित समस्या भएकाले यसबारे अहिले नै केही बताउन सकिदैन । तर, कोरोनासँगको लडाईंमा चाहिँ हामी अहिले जितको नजिक पुगेका छैनौं । दिनहुँ बढ्दो संक्रमितको संख्याले हामीलाई चुनौती दिइरहेको छ । तथ्य र तर्कभन्दा पर, भ्रम र अहंकारका कारण बढ्ने मनोबलले आखिर समाजलाई हानी नै पुर्‍याउँछ ।

किनभने, यो विश्वयुद्ध होइन । न त यहाँ आक्रणकारी विमान चढेर गोलाबारुद लिएर नै आएको छ । अहिलेको अदृश्य आक्रमणकारी हामी माझमै छ । हामीसँगै छ । हामीलाई हेरिरहेको छ तर हामी त्यसलाई देख्दैनौं । यस्तो सुक्ष्म तर खतरनाक शत्रुसँग लड्न उच्च सतर्कताको विकल्प अरु केही छैन । जबसम्म खोप वा यसको प्रभावकारी उपचार पद्दति/औषधिको प्रमाणित प्रयोग हुँदैन, तबसम्म यससँग जोरी खोज्ने होइन, यससँग जोगिने हो ।

प्रकाशित : भाद्र २७, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्

जसले राजनीतिसँगै कृषिपेसा अँगाले

विप्लव महर्जन

सल्यान — टीकाराम ओली कुनै बेला माओवादीका बटालियन कमिसार थिए । पार्टीका थुप्रै जिम्मेवारीमा रही लडाइँका विभिन्न मोर्चामा पनि सहभागी रहे । अहिले उनी नेकपाको कर्णाली प्रदेशका सदस्य छन् । ४० वर्षीय ओली राजनीतिसँगै कृषि व्यवसायमा पनि संलग्न छन् ।

उनले बाग्चौर नगरपालिका–२ मा सभ्यता नर्सरी सञ्चालन गरेका छन् । पाँच वर्षअघि चार लाख लगानीमा थालेको व्यवसायले यस वर्ष १० लाख आम्दानी दिएको सुनाउँछन् । विभिन्न फलफूलका बेर्ना बेचेरै उनले पाँच जनाको परिवार पाल्दै आएका छन् ।

पार्टीमा पहिलेजस्तो खटिन नपर्दा फुर्सदिलो भएकाले जीविकाका लागि बाबुबाजेले गरेको कृषि पेसालाई अँगालेको ओलीको भनाइ छ । ‘२०७१/०७२ मा नर्सरी दर्ता गरेको थिएँ । पाँच रोपनी जग्गामा अहिले कागती, सुन्तला, टिमुर , हलुवाबेदलगायत विभिन्न फलफूल र जडीबुटीका १ लाख ५० हजार बेर्ना लगाएको छु,’ उनले भने । तीन रोपनी जग्गा वार्षिक ३६ हजार रुपैयाँका दरले भाडामा लिएका ओलीले ।

‘राजनीतिलाई व्यवसाय बनाउन सकिँदैन । राजनीति त सेवा मात्र हो । जीविकोपार्जन गर्न अन्य काम आवश्यक हुन्छ । त्यही भएर मैले नर्सरी व्यवसाय अँगालेको हुँ,’ उनले भने । नेकपाकै कर्णाली प्रदेश सदस्य रहेकी पत्नी सुम्निमा डीसीले पनि उनलाई कृषि पेसामा भरथेग गर्दै आएकी छन् । आफ्नो नर्सरीमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् । यसपालि कोरोना र बिचौलियाका कारण बजार पुर्‍याउन नसक्दा अझै ५० हजार टिमुरका बेर्ना बिक्री हुन नसकेको ओलीको गुनासो छ ।

तत्कालीन एमालेका जिल्ला अध्यक्ष रहेका नेकपाकै अर्का नेता लोकबहादुर डाँगीले पनि फलफूल नर्सरी सञ्चालन गरेका छन् । उनी कृषिमै बढी समय दिन्छन् । सुन्तला व्यवसायबाट पनि राम्रो आम्दानी गरिरहेका छन् । गत वर्ष जिल्लाकै उत्कृष्ट कृषकका रूपमा समेत पुरस्कृत भएका उनले २५ रोपनीभन्दा बढी जग्गामा सात सय सुन्तलाका बोट लगाएका छन् । त्यस्तै १० रोपनी जग्गामा सुन्तला, कागती, टिमुर नर्सरीसमेत सञ्चालन गरेका छन् । उनको नर्सरीमा दुई जनाले रोजगारी पाएका छन् ।

त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष ३५ वर्षीया करुणा खड्का भैंसी पालन व्यवसाय गर्छिन् । उनीसँग १३ वटा भैँसी छन् । यो व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । ‘दिउँसो सर्वसाधारणको काम गरी बिहान बेलुकी भैंसीपालनमा खटिन्छु,’ भैंसीले भनिन् । व्यवसायमा पतिले पनि सघाउँछन् । एक जना कामदार राखिएका छन् । कृषि व्यवसायबाटै छोटै समयमा सफल भएपछि उनी गत वर्ष त्रिवेणी गाउँपालिकाबाट पुरस्कृतसमेत भइन् ।

कपुरकोट बजारका तिलक शर्मा १० वर्षदेखि कृषि व्यवसायमा छन् । यस वर्ष २० लाख रुपैयाँको टिमुर र अन्य फलफूलका बेर्ना बिक्री गरेको उनले सुनाए । १० रोपनीभन्दा बढीमा फैलिएको छ उनको नर्सरी । ‘माग बढे पनि यसपालि कोरोनाका कारण खरिदकर्ता कम आएकाले सबै बेर्ना बिक्री हुन सकेन,’ उनले भने ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेसमबहादुर बस्नेत जिल्लामा राजनीतिसँगै कृषिमा लागेका एक दर्जनभन्दा बढी व्यक्तिले राम्रो प्रगति गरेको बताउँछन् । यस वर्ष फलफूल तथा जडीबुटीका बेर्नाबाट दुई दर्जनभन्दा बढी किसानले ५ करोड ६० लाख आम्दानी गरेको उनले जानकारी गराए । ‘किसानहरूले यो वर्ष मात्र फलफूललगायत जडीबुटीका २८ लाख बेर्ना रुकुम, रोल्पा, जाजरकोट, पाल्पा, प्युठान, गोरखालगायत जिल्लामा निकासी गरेका छन्,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०७७ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×