कोरोनाकालमा परेको ‘बज्रपात’

मलाई लाग्थ्यो– कोरोनाले केही हुन्न तर होइन रहेछ । प्रशस्त सावधानी अपनाउँदाअपनाउँदै पनि घर–माइतीका परिवारसहित हामी दम्पती संक्रमित भयौं । यसैका कारण परिवारका मुख्य सदस्यलाई त गुमायौं नै, उहाँको काजकिरिया गर्नसमेत पाएनौं । उल्टै हामीले नै संक्रमण सारेर बुबाको मृत्यु भयो भन्ने लाञ्छना सहनुपर्ने भयो ।
सन्जु पौडेल

ससुरा बुबा घरमै हुनुहुन्छ कि, बोलाई पो हाल्नुहुन्छ कि, पटक–पटक उहाँको आवाज कानमा गुन्जिन छाडेको छैन । उहाँ कोठामै आराम गरिरहेको भान पर्छ ।

कोरोनाकालमा परेको ‘बज्रपात’

कोरोना महामारीको सुरुवातदेखि त्यसले समाजका विभिन्न क्षेत्रमा पारेका प्रभावबारे समाचार लेख्दै आएँ । समाचारमा धेरै सर्वसाधारणका आँसु पोखिन्थे । त्यतिबेला पनि आँसु देखिने गरी नझरोस् भनेर मनमनै रुँदै औंलाले ल्यापटपको किबोर्डमा अक्षर दबाइरहन्थें । त्यस्ता पीडाका खबर बुबा पढ्नुहुन्थ्यो र कोरोना भाइरसलाई ‘पापी’ भन्नु हुन्थ्यो । त्यही भाइरसले ससुरा बुबालाई हामीबाट खोसेको १६ औं दिनमा बल्लतल्ल आँट जुटाएर डायरी लेख्न थालेकी छु ।

सुरुमा मलाई पनि ‘कोरोनाले केही हुन्न’ जस्तै लाग्थ्यो । यही कोरोनाले मेरो परिवारमा ठूलो बज्रपात पर्‍यो, जुन सहने हिम्मत पलाउन धेरै वर्ष लाग्ने निश्चित छ । अहिले हामीसँग सहनुबाहेक विकल्प पनि त छैन ।

गत कात्तिक २७ गते साँझ श्रीमान् (अमृत पाण्डे) घर आएलगत्तै आफूलाई स्वास्थ्यमा असहजता भएको र ज्वरो आउन थालेको कुरा बताउनुभयो । एकाएक उहाँलाई ज्वरो आयो । खाना खाएर सुतेपछि ६ वर्षका छोरालाई समेत हनहनी ज्वरो आउन थाल्यो । म रातभरि बाबुलाई कुरेर बसिरहें । श्रीमान्लाई बहिनी (नन्द) र आमाबुबाले ख्याल गर्नुभयो । २८ गते बिहानदेखि मलाई पनि केही असहज भयो । ज्वरो आयो । खोकी लाग्न थाल्यो । मौसममा परिवर्तन हुने बेला भएको र मुखको स्वाद नगएकाले सामान्य भाइरल होला भन्ने सोच्यौं । ज्वरो आइरहने, शरीर दुख्ने र खोकी लागिरहने भएपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण लागेर हामीले पीसीआर परीक्षण गर्ने निधो गर्‍यौं । कात्तिक ३० गते सहकर्मी र परिचित चिकित्सकको सहयोगले हामी (म र श्रीमान्) ले पीसीआर परीक्षण गरायौं ।

बुटवलमा हामी डेरा गरी बस्ने घरदेखि करिब १५ मिनेटको दूरीमा मेरो माइतीघर छ । मामाघर गइरहने छोरा धेरै दिनदेखि घरमै भएकाले मामाघर जाने चाहना गर्न थाल्यो । उसलाई लिन बुबा आउनुभयो । हामी पीसीआर परीक्षण गरेर आएलगत्तैबाट छुट्टै बस्न थाल्यौं । माइतीघर पुग्नेबित्तिकै बाबुलाई ज्वरो आएको आमाले बताउनुभयो । हामी नतिजा पर्खाइमा थियौं । हाम्रो नतिजा पोजिटिभ आयो । मनमा एक किसिमको बज्र पसेजस्तो भयो । आँसुका धारा बगे ।

छोराको चिन्ताले सताउन थाल्यो तर म आफैं संक्रमित भएकाले घरबाहिर निस्कन सकिनँ ।

घरका अन्य सदस्यले हामीलाई नआत्तिन र कोठामै सबै सुविधा हुने भएकाले आराम गरेर बस्न सुझाउनुभयो । सबैबाट जोगिएर बस्न थाल्यौं । कोठामा अट्याच बाथरुम र शौचालय भएकाले असहजता महसुस भएन । यसले अरू सदस्यलाई सर्ने डरसमेत कम भयो । सहकर्मी, अग्रज र माइतीलाई फोनमा पोजिटिभ रिपोर्ट आएको बतायौं । सबैको हौसला पाउन थाल्यौं । कोरोनाका धेरै समाचार लेखिरहेकी मैले के गर्ने, के नगर्ने भन्ने विषयमा अनुभव बटुलिसकेका साथी र चिकित्सकबाट निरन्तर सुझाव लिइरहेकी थिएँ । हाम्रो पोजिटिभ रिपोर्ट आएको दोस्रो दिन माइतीमा रहेका छोरा, आमा र बुबाको पीसीआर परीक्षण भयो । दिनभरि नतिजाको पर्खाइमा बस्यौं । साँझ बाबु र बुबाको रिपोर्ट पोजिटिभ आयो भने आमाको नेगेटिभ ।

पीडा झन् थपियो । मलाई छोराको चिन्ताले सताउन थाल्यो तर म आफैं संक्रमित भएकाले घरबाहिर निस्कन सकिनँ । आमालाई बाबु र बुबासँग टाढा रहेर सेवा गर्न सुझाएँ तर हजुरआमाको मन के मान्थ्यो, बाबुलाई खुवाइदिने, लुगा फेरिदिनेदेखि सबै काम गरिरहनुभयो । बुबाका लागि समेत उहाँले निर्धक्क सेवा गर्नुभयो । यता घरमा आमा, बुबा र नानीले हाम्रो हेरचाहमा कमी राख्नुभएन । उहाँहरूको व्यस्तता यति बढ्यो कि राति सुत्ने समय पनि ३ घण्टा मात्रै हुन थाल्यो । योग, व्यायाम, आयुर्वेदिक जडीबुटी, चिकित्सकले सुझाएका ओखती, खानपानमा ध्यान दिई अघि बढ्न थाल्यौं । हामीले संक्रमण भएको र आइसोलेसनमा बसेको कुरा जनाएका थियौं ।

मंसिर २ गते ससुरा बुबालाई केही असहज भयो । रातभरि गाह्रो भएपछि मंसिर ३ गते बिहान उहाँको पीसीआर परीक्षणका लागि पठायौं । उहाँको पनि नतिजा पोजिटिभ आयो । श्रीमान्लाई शरीर दुख्ने, ज्वरो आउने र खोकी लाग्ने भइरहेको थियो । बुबालाई पनि उस्तै असहज भएको थियो । बुबालाई मधुमेह र युरिक एसिडको समस्या पहिल्यैबाट थियो । धेरै पहिले निमोनियासमेत भइसकेकाले थप चिन्ता बढ्यो । विस्तारै डाक्टरसँगको सल्लाहले औषधि थप्यौं र हौसला बढायौं । यसले काम गर्न थाल्यो । घाँटीमा थुक पनि निल्न नमिलेकाले खाना खानै मान्नु भएन । कोरोना जित्न खानेकुरा धेरै खानुपर्छ भन्ने थियो । बल गराई–गराई खुवाउन थाल्यौं । विस्तारै ठीक हुँदै गयो ।

उहाँको अवस्था सामान्य नहुन्जेलसम्म हामीले पनि दोस्रो परीक्षण नगर्ने सोच बनायौं । बुबालाई शरीर दुख्ने, बर्बराउने भइरह्यो । पाँचौं दिनसम्म चिकित्सकले सुझाएअनुसार अक्सिजनको मात्रा हेर्दै बस्दै गरेका थियौं । बुबाले आत्तिएको कुरा बताउनुभयो । तत्कालै उहाँलाई अस्पताल लगियो । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा राखी उपचार सुरु भयो । अक्सिजनको सिलिन्डर जडान गरी श्वासप्रश्वासमा सहजता गराइयो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने बेलामा केही मानिसको जमघट घरबाहिर देखियो । के भयो, कसो भयो भन्नका लागि होइन, कोरोना लागेका संक्रमितले बिरामी लिएर किन हिँडे भन्नेबारे बुझ्न र टोलभरि सार्छन् भनी हल्ला गर्न । तर, न घरमा बुबालाई अस्पताल लैजान सक्ने अन्य सदस्य हुनुहुन्थ्यो, न त अरू कसैले लगिदिन्थ्यो ।

प्रादेशिक अस्पतालको आईसीयूमा रहँदासम्म बुबालाई बाहिर बसेर फोन गर्ने, ढाडस दिने, नआत्तिनुस् भन्ने गर्थ्यौं । विस्तारै श्वासप्रश्वासमा समस्या हुन थालेपछि अर्को अस्पताल लैजाने निधो भयो । हामीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पुर्‍यायौं । उपचारकै क्रममा मंसिर १४ गते दिउँसो २ः३० बजे बुबालाई बचाउन नसकेको जानकारी चिकित्सकले गराए । मन भक्कानियो । श्रीमान्लाई सम्हाल्न, आफू सम्हालिन र घरका अन्य सदस्यलाई सम्हाल्ने जिम्मेवारी ममा थपियो । जसोतसो मन बुझायौं । मंसिर १५ गते दिउँसो बुबाको पार्थिव शरीरमा फूलमाला चढाई नेपाल आर्मीको जिम्मा लगाएर हामी घर फर्कियौं ।

मंसिर १४ गते नै हामीले पीसीआर परीक्षण गराएका थियौं तर नतिजा पोजिटिभै आयो । हामीले बुबाको किरिया कर्ममा समेत सजिलै सहभागी हुन नपाउने भयौं । स्याङ्जादेखि अंकल आई बुबाको किरियामा सहभागी हुनुभयो । हामीले ठाडो किरिया गर्न थाल्यौं । यसबीचमा आफन्त, शुभचिन्तक, साथीभाइ जसले कोरोनाबारे राम्ररी बुझेका थिए, भेटघाट र समवेदना प्रकट गर्न घरमा आइरहे तर बुबाका केही आफ्ना नजिकका भने डरले आउन सकेनन् ।

उहाँको निधन हुनुभन्दा ५० दिनपहिले हामीले कोरोनाकै कारण साइँलो ससुरा बुबालाई गुमाएका थियौं । परिवारका २ अग्रजलाई गुमाएको घाउ ताजै छ । किरिया कर्मको ९ दिनमा ढिकुरो फोर्नुपर्ने काममा सहभागी हुन पाइन्छ कि भन्ने सोचले पुनः जाँच गरायौं तर श्रीमान्को नतिजा पोजिटिभ नै आयो ।

छोराले गर्नुपर्ने कार्य गर्नबाट वञ्चित भएपछि विक्षिप्त हुनुभएका श्रीमान्लाई सम्झाउन पनि उत्तिकै कठिन भयो । स्वास्थ्यका हिसाबले अहिले हामी निको भयौं तर जीवनभरि हामीले कोरोना सारेकै कारण बुबा हामीबीच नरहनुभएको झूटो आरोपलाई सँगै लिएर हिँड्नुपर्ने भयो । मानिसका मनगढन्ते कुरा कानमा गुन्जिनबाट कसरी रोक्ने ? जवाफ छैन तर सहन बाध्य छौं ।

यो समय हाम्रा लागि ज्यादै असामान्य रह्यो । कोरोना के हो भन्ने कुरा हामीजस्तै परिवार गुमाएकाको भोगाइले मात्र महसुस गर्दो रहेछ । कोरोनाले सिकायो– यो हेलचेक््रयाइँ गर्ने रोग होइन र केही दरिद्र मानसिकता बोकेकाहरूले सोचेजस्तो पूर्वजन्मको पाप पनि होइन । म चाहन्छु, सधैंजस्तै अझै पनि सयौं संक्रमितको आवाज बनेर उभिन सकूँ ।

प्रकाशित : पुस ५, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?