कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जब नर्भिकले संक्रमित नभए पनि गर्भवतीलाई संक्रमित भन्दै डिस्चार्ज गरिदियो...(ब्लग)

आपत्कालीन अवस्था आए सरकारी अस्पतालकै भरपर्नु पर्ने भए निजी अस्पताल के का लागि ?
सुवास मगैयाँ

काठमाडौँ — सन्तान प्राप्ति कुनै पनि बुवाआमाका लागि निकै अविस्मरणीय क्षण हुन्छ । केही महिनाअघि म दोस्रोपटक बुवा बनें । त्यो क्षण मेरो लागि अविस्मरणीय नै बन्यो । तर, मैले उक्त अमूल्य क्षणका लागि गरेको तयारी सुखद् नभई धेरै हिसाबले दुखद् भइदियो ।

जब नर्भिकले संक्रमित नभए पनि गर्भवतीलाई संक्रमित भन्दै डिस्चार्ज गरिदियो...(ब्लग)

आफूले सुनेको, देखेको र जानेको हिसाबमा सन्तान जन्माउन सहज होस् भनि हामी दम्पतीले कोरोनाकालमा सरकारीभन्दा निजी अस्पताललाई रोजेका थियौं । विभिन्न निजी अस्पतालमध्ये हामीले थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल रोज्यौं । कोरोना संक्रमणको डर भएकाले पनि कोभिडको बिरामी उपचार नगरिने ठाउँ भनेर उक्त अस्पताल रोजेका थियौं । नर्भिक अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. अचला वैद्यको टिमले सुरुदेखि नै मेरो श्रीमतीको उपचार गरिरहेको थियो ।

मंसिर १३ गते राति ११ बजेबाट श्रीमतीलाई व्यथा लाग्न सुरु भयो । हामी भोलिपल्ट बिहानमात्रै अस्पताल गयौं । त्यो भन्दा ९ दिन अगाडि हामीलाई कोभिड–१९ को परीक्षण गर्न लगाइएको थियो । परीक्षण नतिजा नेगेटिभ थियो । बिहान ५ बजे अस्पताल पुगेलगत्तै म्याटरनेटी वार्डको ००५ मा श्रीमतीलाई भर्ना गरियो ।

त्यो दिन साँझ ५ बजेसम्म डाक्टरहरु ‘वेट एन्ड वाच’मा बसे । त्यो किन र केका लागि हो मलाई थाह भएन । तर, शल्यक्रिया गर्नुपरे ९ दिन अगाडिको पीसीआर रिपोर्टले हुँदैन पुनः परीक्षण गर्नुपर्छ भनेर भनियो । साँझ ५ बजे डाक्टर आएपछि शल्यक्रिया गर्नका लागि थियटर रेडी गरौँ भनेर मलाई अस्पतालले आवश्यक रकम डिपोजिट गर्न लगायो । मैले पैसा डिपोजिट गरिदिएँ ।

रकम डिपोजिट गरेर माथि वार्डमा पुग्दा चिकित्सकहरुले मलाई अपरेशन थियटरमा बोलाउनुभयो । र, मौखिक रुपमा श्रीमतीको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । कोरोना पोजिटिभ भन्ने सुनेपछि निकै डर लाग्यो ।

कोरोनाको महामारी फैलिएको समयमा कोरोना संक्रमण हुनु त कुनै नौलो कुरा थिएन । तर, सुत्केरी हुन लागेकी श्रीमती नै संक्रमित भएको सुनेपछि दिमागले केही पनि सोच्न सकेन । तैपनि आश्वस्त हुन मैले कोरोना परीक्षणको रिपोर्ट मागें । शल्यक्रिया गर्न छिटो होस् भनेर फोनमा नै सोधेर रिपोर्ट कन्फर्म गरेको हो भनेर उहाँहरुले भन्नुभयो । रिपोर्ट नहेरी पूर्ण विश्वास नलागे पनि उहाँहरुले भने बमोजिम गर्नुबाहेक मसँग विकल्प थिएन ।

कोरोना संक्रमितको शल्यक्रिया नर्भिकमा गर्न मिल्दैन त्यसैले बिरामीलाई अन्तै लानुपर्छ भनेर डाक्टरहरु डिस्चार्जको तयारीमा लागे । कोरोना संक्रमित भनेर थाह पाउने बित्तिकै त्यहाँ सबैको व्यवहार परिवर्तन भइसकेको थियो । १५ मिनेटअघि नर्सहरुले जुन सदासयताका साथ व्यवहार गरिरहेका थिए, अब त्यो छिछी–दुरदुरमा परिवर्तित भयो । श्रीमतीलाई मास्क पनि हातमा नदिएर फुत्त फालेर लगाउन भने । यति ठूलो व्यावसायिक निजी अस्पतालले संक्रमित बिरामीलाई यस्तो हेयको व्यवहार गर्ला भनेर कल्पनासम्म पनि गरेको थिइनँ ।

शल्यक्रिया कक्षबाट तल झार्नका लागि पनि कसैले सहयोग गरेनन् । ९ महिनादेखि संक्रमण नहोस् भनेर गरेको मिहिनेत सबै बेकाम सावित भयो । संक्रमित हुनु आफ्नो स्थानमा होला तर, संक्रमित भएकै कारण ९ महिनादेखि निरन्तर फलोअप गरिरहेको अस्पतालले जुन व्यवहार देखायो त्यसले झनै मन कुँडियो ।

आफैं ह्विलचियरमा राखेर तल ल्याई गाडीमा राखेर पारिपट्टी रहेको प्रसूतिगृह अस्पतालको कोभिड वार्डमा लगें । त्यो सल्लाह पनि मलाई ९ महिनासम्म श्रीमतीको उपचार गर्नुभएको डा. वैद्यले नै दिनुभएको थियो । यहाँ डा. देवी गुरुङले मेरो श्रीमतीलाई हेर्नुभयो र राति ११ बजेर ३७ मिनेटमा डेलिभरी भयो । सरकारी अस्पताल त्यो पनि कोभिडको समय भने जस्तो सुविधा हुने कुरै भएन । नर्भिकमा गरेको कोरोना परीक्षणमा म अझै पनि आश्वस्त हुन सकिरहेको थिइनँ । त्यसैले १६ गते व्यक्तिगत रुपमा नै अल्फा केयरलाई प्रसूतीगृहमा उपचाररत श्रीमती र नवजात छोराको स्वाब संकलन गरेर परीक्षण गर्न अनुरोध गरें । साँझ ७ बजेतिर दुवैको रिपोर्ट नेगेटिभ आएको सूचना मलाई दिइयो । म छक्क परें । दुई दिन अगाडि पोजिटिभ देखिएकी मेरी श्रीमतीको रिपोर्ट दुई दिनमै नेगेटिभ आयो । जे कारणले गर्दा हामी कोभिड वार्डमा बसिरहेका थियौं त्यो कारण नै नरहेपछि मैले अस्पताललाई तत्काल डिस्चार्ज गरिदिन आग्रह गरें ।

त्यहाँबाट सोही दिन निकालेर घर लगे पनि श्रीमतीलाई पूर्ण रुपमा सहज भने भइसकेको थिएन । उनको पेट फुलेर फेरि गर्भवती अवस्था झैं भयो, साथमा पेट पनि असैह्य दुखिरहेको थियो । घरमा आएर ड्रेसिङ गरिदिने व्यक्तिले पनि यस्तो केस कहिल्यै नदेखेको बताएपछि १८ गते हतारहतार श्रीमतीलाई लिएर म निम्स अस्पताल गएँ । पेटमा संक्रमण भएकोले यस्तो भएको हो भन्दै डा. गुरुङले अस्पताल नै भर्ना भएर उपचार गराउन सुझाव दिनुभयो । मैले प्रसूतीगृह बाहेक अन्य अस्पतालमा भए मात्रै भर्ना हुन्छु भनें । त्यसपछि उहाँकै सल्लाहअनुसार घर पायक पर्ने काठमाडौं न्यूरो अस्पतालमा भर्ना गरियो । त्यहाँ डा. गुरुङ आफू कार्यरत नरहे पनि हरेक दिन आएर आफैं ड्रेसिङ गरिदिनुहुन्थ्यो । भर्ना भएर ५ दिनसम्म एन्टिबायोटिक दिएर उपचार गरेपछि बल्ल श्रीमती निको भइन् ।

यसैबीच हतारहतार नर्भिकबाट निकालिएकोले मैले त्यहाँबाट कुनै पनि रिपोर्ट लिएको थिइनँ । पछि गएर रिपोर्ट लिँदा त नर्भिकले पनि कोरोना संक्रमण नेगेटिभ नै भएको रिपोर्ट दियो । जुन कारणले गर्दा मेरो श्रीमती मर्ने–बाँच्ने दोसाँधमा पुगेकी थिइन् वास्तवमा त्यो अनावश्यक थियो । अब भने मेरो धैर्यताको बाँध फुट्यो !

नर्भिक अस्पतालमा डा. वैद्यसँग भनाभन नै भयो । संक्रमण नहुँदा नहुँदै पनि एउटा व्यावसायीक भनिएको अस्पतालले जुन गल्ती गर्‍यो त्यसको मूल्य झण्डै मेरो श्रीमतीले ज्यान दिएर चुकाउनुपरेको थियो । फोनको भरमा मेरो सुत्केरी हुन लगेकी श्रीमतीलाई अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले गरेको व्यवहार सम्झिँदा आज पनि मन उद्वेलित हुन्छ ।

मैले कसैलाई नराम्रो भन्न चाहेको होइन । तर, संक्रमित हुनु वा नहुनुबीचको मसिनो धर्काबीच मेरो श्रीमती जुनतर्फ भए पनि त्यसमा उसको के दोष ? संक्रमित हुँदैमा उपचार नगर्ने हो भने अस्पतालको आवश्यकता नै के हो ? आपत्कालीन अवस्था आए सरकारी अस्पतालकै भरपर्नु पर्ने भए निजी अस्पताल के का लागि ? संक्रमित नभए पनि कोभिड वार्डमा गएर बच्चा जन्माएर बस्नुपर्दाको जुन जोखिम र तनाव मैले भोगें त्यो केका लागि ?

प्रकाशित : माघ १३, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?