कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सातै प्रदेशमा पुग्यो कोरोना खोप

शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप नलगाइने
प्रदेश ब्युरो

काठमाडौँ — सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रदेश सरकारहरूले सोमबार नै केही जिल्लामा खोप पुर्‍याइसकेका छन् । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ । 

सातै प्रदेशमा पुग्यो कोरोना खोप

प्रदेश १ का लागि ९६ हजार खोप सोमबार विराटनगर पुगेको छ । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप १४ वटै जिल्लामा मंगलबारसम्म पुर्‍याइसक्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले पहिलो चरणमा ३५ हजार ५ सय ७६ जनालाई खोप लगाउने तयारी गरिएको बताए ।

‘खोप लगाउनेको सूचीकरण स्थानीय तहले गरिसकेका छन्,’ उनले भने, ‘पहिलो पटक खोप लगाएका व्यक्तिले १ महिनापछि पुनः लगाउनुपर्छ ।’ बाँकी खोप कसलाई लगाउने भन्नेबारे प्रदेश सरकारले नीति बनाइसकेको छैन । पहिलो चरणमा ७१ हजार १ सय ५२ खोप आवश्यक रहेको प्रसाईंले बताए ।

प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले बुधबार ८ वटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको छ । प्रदेश २ ले १ लाख ८० हजार खोप माग गरे पनि पहिलो चरणमा ३४ हजार प्राप्त भएको स्वास्थ्य निर्देशक विजय झाले बताए ।

प्रदेशभर ९ वटा बुथ राखेर खोप दिइने योजना छ । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई नै खोप लगाउन परिचालन गरिने डा. प्रमोद यादवले बताए । उनका अनुसार पहिलो चरणमा ३३ हजार ६ सय स्वास्थ्यकर्मी र १ हजार २ सय ४ सरसफाइकर्मीलाई खोप लगाइनेछ ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा उपलब्ध गराएको ७ हजार ६ सय भाइल खोप वाग्मतीको हेटौंडा पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा खोप भण्डारण गरिएको छ ।

‘प्रदेशका १३ वटै जिल्लामा एकैपटक खोप लगाउने तयारी छ,’ मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले भने, ‘प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप लगाइनेछ ।’ खोप केन्द्र तोक्न र स्वास्थ्यकर्मी परिचालनका लागि मन्त्रालयका सचिव दीपक काफ्लेको संयोजकत्वमा समिति बनाइएको छ । एउटा स्वास्थ्य केन्द्रमा १० देखि २० जनासम्म स्वास्थ्यकर्मी परिचालन गरिनेछ । वाग्मती प्रदेशभर ६६ हजार ४ सय ८१ जनालाई पहिलो डोजको खोप लगाइनेछ ।

हेटौंडामा प्राप्त भएको खोप वाग्मतीका मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलाई उपलब्ध गराइनेछ । ‘प्रदेश २ मा भण्डारण नभएका जिल्लामा हेटौंडाबाटै खोप उपलब्ध गराइने हो,’ प्रवक्ता सेढाईंले भने, ‘वाग्मतीका बाँकी १० जिल्लालाई संघीय सरकारबाटै उपलब्ध गराइनेछ ।’

मन्त्रालयका अनुसार रामेछापमा १ हजार ४ सय १६, सिन्धुलीमा १ हजार ४ सय ८०, ललितपुरमा ७ हजार ८ सय १२, रसुवामा ७ सय ५७, चितवनमा ३ हजार ७ सय ४१, काभ्रेमा ३ हजार ६ सय ३८, नुवाकोटमा २ हजार ४ सय, दोलखामा २ हजार १ सय ४२, भक्तपुरमा ३ हजार ८ सय ४५, सिन्धुपाल्चोकमा १ हजार ७ सय ७३, धादिङमा १ हजार ५ सय ९, मकवानपुरमा २ हजार २ सय ८९ जनालाई पहिलो चरणको खोप दिइनेछ ।

गण्डकी प्रदेशका ४ जिल्लाका लागि ४० हजार डोज कोभिसिल्ड खोप पोखरा पुगेको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा सोमबार पहिलो चरणमा ५० प्रतिशत खोप पठाइएको छ ।

स्याङ्जामा ३ हजार ४ सय २१, पर्वतमा २ हजार ७ सय ५१, बागलुङमा ३ हजार ९ सय ३१ र म्याग्दीमा १ हजार ८ सय ७१ खोप पठाइएको छ । कास्कीमा सबैभन्दा बढी १२ हजार ५ सय ९०, गोरखामा ४ हजार २ सय १४, तनहुँमा ३ हजार ७ सय २२, लमजुङमा ३ हजार ५ सय १२, पूर्वी नवलपरासीमा २ हजार ३ सय ३५, मुस्ताङमा ४ सय ८६ र मनाङमा सबैभन्दा कम ४ सय ५७ डोज खोप पठाइने खड्काले बताए । केन्द्रको कोल्ड स्टोरमा राखिएको खोपलाई सम्बन्धित जिल्लाको नियमित भण्डारणमा राखिने गरी पठाइएको हो ।

गण्डकीमा पहिलो चरणमा अग्रपंक्तिमा रहेका १७ हजार ३ सय ९६ जनालाई खोप लगाइनेछ । बुधबार बिहान १० बजे प्रत्येक जिल्लाका कम्तीमा एउटा अस्पतालबाट खोप लगाउन सुरु हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए । पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मनिपाल, गण्डकी शिक्षण र प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालबाट खोप वितरण हुनेछ ।

तालिम लिइसकेका १० प्रशिक्षकले जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने र खोप चिकित्सकको निगरानीमा लगाइने उनले बताए । खोप कार्यक्रमका लागि प्रदेशका प्रमुख सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । खोप शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कमका व्यक्तिलाई लगाइँदैन ।

लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्‍याउने गरी ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल पुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागार्इंले रेफ्रिजेरेटर भ्यानमा बुटवल आइपुगेको खोप नेपालगन्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको बताए । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेश मन्त्रालयले १२ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, मेडिकल सुपरिन्टेन्डेन्ट, खोप अधिकृत र सुपरभाइजरसँग जुममार्फत छलफल गरेर आवश्यक तयारी एवं व्यवस्थापन गरिएको बताए ।

प्रदेश सरकारमा प्राप्त खोपमध्ये लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको रूपन्देहीमा सबैभन्दा धेरै ३३ हजार ४ सय २० डोज छुट्याइएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । बाँकेका लागि १७ हजार ९०, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्यूठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज पठाइएको छ । गुल्मीमा ४ हजार १ सय ८०, पश्चिम नवलपरासीमा २ हजार ३ सय ८०, रुकुम पूर्वमा २ हजार ४०, पाल्पामा ५ हजार ४ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज पठाउन लागिएको आपूर्ति केन्द्रले जनाएको छ ।

कर्णाली प्रदेशका लागि सोमबार ११ हजार ७ सय ८० जनालाई पुग्ने गरी खोप पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगन्जबाट हवाईमार्गमा र अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गमा खोप ढुवानी गरिनेछ ।

१० दिनभित्र पहिलो डोज लगाइने र त्यसको ४ हप्तापछि दोस्रो डोज लगाइने उनले बताए । पहिलो चरणमा जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर लगाइने र दोस्रो चरणमा भने सदरमुकामबाहिर पनि खोप लगाइनेछ । पहिलो चरणमा सुर्खेतका लागि २ हजार ७ सय ८१, दैलेखका लागि २ हजार, जुम्लामा १ हजार ७ सय २, कालीकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १ सय ४५, सल्यानमा १ हजार १ सय २३, मुगुमा ५ सय ४७, डोल्पामा ५ सय ११, रुकुम पश्चिममा ५ सय र हुम्लाका लागि ४ सय ५० डोज खोप माग गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ हजार २ सय ९३ जनालाई पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार काठमाडौंबाट बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप सडकमार्ग भएर आएको हो । सबै खोप प्रदेशभर मंगलबार पठाइनेछ ।

खोप लगाउन प्रारम्भिक तथ्यांक संकलनको काम पनि सकिएको प्रमुख कार्कीले बताए । कैलालीमा ३ हजार ७ सय ३७, कञ्चनपुरमा २ हजार ५ सय ४५, बैतडीमा १ हजार ९ सय ९६, दार्चुलामा १ हजार २ सय ५१, बझाङ १ हजार ४ सय ९, अछाममा १ हजार ८ सय ७१, बाजुरामा ८ सय ९०, डडेलधुरामा १ हजार १ सय ३५ र डोटीमा १ हजार ४ सय ६१ जनालाई पहिलो चरणको खोप लगाउने तयारी छ ।

कैलालीका धनगढी र टीकापुरमा तथा बाँकी जिल्लामा १/१ केन्द्र गरी १० केन्द्रमा खोप लगाइने महाशाखा प्रमुख कार्कीले जानकारी दिए । प्राप्त हुने ३५ हजार १ सय ७० डोज खोपमध्ये १० प्रतिशत खेर जाने अनुमान गरिएको उनले बताए । ‘मंगलबार बिहानदेखि नै जिल्लामा खोप पठाउन सुरु हुन्छ,’ उनले भने, ‘माघ १४ देखि १८ सम्म पहिलो र माघ २८ गते दोस्रो खोप दिइनेछ ।’

-देवनारायण साह (विराटनगर), सन्तोष सिंह (धनुषा), सुवास बिडारी (मकवानपुर), लालप्रसाद शर्मा (पोखरा), घनश्याम गौतम (रूपन्देही), कलेन्द्र सेजुवाल (सुर्खेत) र चित्रांग थापा (धनगढी)

प्रकाशित : माघ १३, २०७७ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?