कोरोना खोप लगाउनेलाई परिचयपत्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना खोप लगाउनेलाई परिचयपत्र

मकर श्रेष्ठ

काठमाडौँ — कोरोनाविरुद्धको खोप लगाउनेलाई सरकारले परिचयपत्र दिने भएको छ । त्यस्तो परिचयपत्र खोप लगाएको प्रमाणका रूपमा रहनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बुधबारदेखि लगाइँदै छ ।

खोप लगाउने व्यक्तिको विवरण अनलाइनबाट संकलन गरिएको र त्यही विवरणका आधारमा परिचयपत्र तयार गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए ।

इन्टरनेट र विद्युत्को सहज व्यवस्था भएका ठाउँमा परिचयपत्र प्रिन्ट गरेर दिने र नभएका ठाउँमा हातैले लेखेर दिने उनले जनाए । पहिलो डोज खोप लगाउँदा परिचयपत्र दिन नसकेका ठाउँमा रेकर्डका आधारमा दोस्रो डोज खोप लगाउन आउँदा दिइने उनले बताए ।

सरकारले पहिलो चरणमा फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक, सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेविका र वृद्घाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप लगाउन लागिएको हो ।

परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, लिंग, पालिका, वडा नम्बर, सम्पर्क नम्बर, पहिलो र दोस्रोपटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ । कोरोनाविरुद्धको खोप दुई डोज लगाउनुपर्ने हुन्छ । एउटा डोज लगाएको निश्चित दिनपछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ । त्यसैले विभागले तयार गरेको परिचयपत्रमा लेखिएको छ, ‘दोस्रोपटक खोप लगाउन आउँदा यो कार्ड अनिवार्य रूपमा ल्याउनुपर्छ । यो कार्ड सुरक्षित राख्नुहोला ।’

परिचयपत्रको पछिल्लो भागमा खोपको बारेमा, खोप लगाउँदा हुन सक्ने असरका बारेमा लेखिएको छ । खोप लगाएपछि स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्थामा सम्पर्कमा आउन आग्रह गरिएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने तरिका पनि त्यसमा उल्लेख छ ।

‘तपाईंले कोभिड १९ विरुद्धको खोप लिनुभयो, खोप लगाएर यो रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन कम्तीमा एक महिनाको फरकमा यो खोप दुई मात्रा लगाउनुपर्छ,’ परिचयपत्रमा लेखिएको छ, ‘यो खोप सुरक्षित मानिएको छ । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने र थकाइ महसुस भएमा यी चिह्न/लक्षणहरू ७२ घण्टापछि आफैं ठीक भएर जान्छन् । खोपपश्चात् कुनै पनि प्रकारका स्वास्थ्य समस्या भएमा तत्कालै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला ।’

प्रकाशित : माघ १३, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ प्रजातिको कोरोनाविरुद्ध मोडर्ना खोप ‘प्रभावकारी’

एजेन्सी

म्यासाचुसेट्स — अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको खोप नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुने देखिएको छ । यूके र दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा उक्त खोप प्रभावकारी पाइएको कम्पनीका वैज्ञानिकहरूले जनाएका हुन् ।

उनीहरूका अनुसार प्रयोगशालामा गरिएका परीक्षणमा उक्त खोपले विकसित एन्टिबडीले नयाँ प्रजातिको भाइरसविरुद्ध लड्न सक्ने देखिएको हो ।

यद्यपि यसबारे थप यकिन गर्न विस्तृत अध्ययन आवश्यक भएको वैज्ञानिकहरूको भनाइ छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाति विश्वका विभिन्न मुलुकमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल ६० भन्दा बढी देशमा उक्त भाइरस पुष्टि भइसकेको छ ।

यूकेमा सेप्टेम्बरबाट सुरु भएको ठानिएको नयाँ प्रजाति पहिलेको तुलनामा कम्तीमा ७० प्रतिशत बढी संक्रामक देखिएको छ । हाल विभिन्न देशमा प्रयोगका लागि अनुमति पाएका करिब आधा दर्जन खोप कोरोना भाइरसको पहिलेको प्रजातिका आधारमा विकसित गरिएका हुन् । वैज्ञानिकहरूले त्यस्ता खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध पनि प्रभावकारी हुने बताएका भए पनि हालसम्म कुनै परीक्षण गरिएको थिएन ।

यसैबीच, कोरोनाविरुद्धको खोप लिएकाहरूले समेत अन्य मानिसलाई भाइरस सार्न सक्ने देखिएको छ ।

इंग्ल्यान्डका सहायक मेडिकल प्रमुख अधिकृत प्राध्यापक जोनाथन भ्यान टामले ‘अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभइसकेको’ समेत जनाएका छन् । उनले खोपले आशा जगाएको भए पनि संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताए ।

‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी नदेखिएका कारण सुरक्षा हुन्छ नै भन्ने निश्चित छैन,’ टामले भने । उनका अनुसार खोप लगाएको दुईदेखि तीन सातासम्म पनि भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहन्छ । वृद्ध मानिसमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन साताको समय दिनु उपयुक्त हुने उनको भनाइ छ । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत तपाईंले अरूलाई भाइरस सार्न सक्नुहुन्छ,’ टामले भने ।

यूकेका वरिष्ठ चिकित्सकहरूले यसअघि फाइजर–बायोएनटेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समयसीमा घटाउन आग्रह गरेका थिए । यूकेमा खोपको पहिलो मात्रा लिएको १२ सातापछि दोस्रो मात्रा दिने गरी समयसीमा बढाइएको थियो । ब्रिटिस मेडिकल एसोसिएसनले उक्त निर्णय उपयुक्त रहेको पुष्टि गर्न सम्भव नरहेको बताउँदै खोप दिने समयको अन्तराल ६ साता कायम गरिनुपर्ने बताएको हो ।

प्रकाशित : माघ १३, २०७७ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×