कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नयाँ प्रजातिको कोरोनाविरुद्ध मोडर्ना खोप ‘प्रभावकारी’

एजेन्सी

म्यासाचुसेट्स — अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको खोप नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुने देखिएको छ । यूके र दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा उक्त खोप प्रभावकारी पाइएको कम्पनीका वैज्ञानिकहरूले जनाएका हुन् ।

नयाँ प्रजातिको कोरोनाविरुद्ध मोडर्ना खोप ‘प्रभावकारी’

उनीहरूका अनुसार प्रयोगशालामा गरिएका परीक्षणमा उक्त खोपले विकसित एन्टिबडीले नयाँ प्रजातिको भाइरसविरुद्ध लड्न सक्ने देखिएको हो ।

यद्यपि यसबारे थप यकिन गर्न विस्तृत अध्ययन आवश्यक भएको वैज्ञानिकहरूको भनाइ छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाति विश्वका विभिन्न मुलुकमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल ६० भन्दा बढी देशमा उक्त भाइरस पुष्टि भइसकेको छ ।

यूकेमा सेप्टेम्बरबाट सुरु भएको ठानिएको नयाँ प्रजाति पहिलेको तुलनामा कम्तीमा ७० प्रतिशत बढी संक्रामक देखिएको छ । हाल विभिन्न देशमा प्रयोगका लागि अनुमति पाएका करिब आधा दर्जन खोप कोरोना भाइरसको पहिलेको प्रजातिका आधारमा विकसित गरिएका हुन् । वैज्ञानिकहरूले त्यस्ता खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध पनि प्रभावकारी हुने बताएका भए पनि हालसम्म कुनै परीक्षण गरिएको थिएन ।

यसैबीच, कोरोनाविरुद्धको खोप लिएकाहरूले समेत अन्य मानिसलाई भाइरस सार्न सक्ने देखिएको छ ।

इंग्ल्यान्डका सहायक मेडिकल प्रमुख अधिकृत प्राध्यापक जोनाथन भ्यान टामले ‘अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभइसकेको’ समेत जनाएका छन् । उनले खोपले आशा जगाएको भए पनि संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताए ।

‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी नदेखिएका कारण सुरक्षा हुन्छ नै भन्ने निश्चित छैन,’ टामले भने । उनका अनुसार खोप लगाएको दुईदेखि तीन सातासम्म पनि भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहन्छ । वृद्ध मानिसमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन साताको समय दिनु उपयुक्त हुने उनको भनाइ छ । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत तपाईंले अरूलाई भाइरस सार्न सक्नुहुन्छ,’ टामले भने ।

यूकेका वरिष्ठ चिकित्सकहरूले यसअघि फाइजर–बायोएनटेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समयसीमा घटाउन आग्रह गरेका थिए । यूकेमा खोपको पहिलो मात्रा लिएको १२ सातापछि दोस्रो मात्रा दिने गरी समयसीमा बढाइएको थियो । ब्रिटिस मेडिकल एसोसिएसनले उक्त निर्णय उपयुक्त रहेको पुष्टि गर्न सम्भव नरहेको बताउँदै खोप दिने समयको अन्तराल ६ साता कायम गरिनुपर्ने बताएको हो ।

प्रकाशित : माघ १३, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?