२४ घण्टामा ३३९ जनामा कोरोना पुष्टि, १० काे मृत्यु- समाचार - कान्तिपुर समाचार

२४ घण्टामा ३३९ जनामा कोरोना पुष्टि, १० काे मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६९ हजार ७ सय ८९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ४० छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४८ हजार १ सय १३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ३२ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

प्रकाशित : माघ १२, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबारकै अर्को खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसको जितमा अनिल साहले अविजित रहँदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबीका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, हिमान्शु दत्तले १६ रन जोडे । आदिल अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।

सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो ।

एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

अन्तिम चारमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिसँग प्रतिस्पर्धा गर्दा आर्मीले वाग्मती प्रदेशसँग भिड्ने । बुधबार पहिलो सेमिफाइनल खेल एपिएफ र पुलिसबीच कीर्तिपुर मैदानमा खेल हुनेछ ।

प्रकाशित : माघ १२, २०७७ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×