बुधबारबाट खोप अभियान सुरु : स्वास्थ्यमन्त्री

प्रथम चरण अन्तर्गत कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु, वृद्धाश्रममा रहेकालाई खोप लगाइने

माघ ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा आगमी बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान थालिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । माघ १४ गते बिहान १० बजेबाट खोप लगाउन सुरु गरिने उनले बताए ।

'कोरोना खोपको प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ हुनेछ । खोप प्राथमिकतामा रहेका व्यक्तिहरुलाई लगाइनेछ', मन्त्री त्रिपाठीले भने, 'सातैवटा प्रदेशहरुमा रहेका अस्पताल र काठमाडाैंका रहेका प्रमुख अस्पतालहरु भर्चुअल रुपमा जोडिएर कार्यक्रम सुरु हुनेछ ।'

मन्त्री त्रिपाठीका अनुसार सात प्रदेशका ६२ वटा अस्पताल र १२० खेाप केन्द्रबाट खोप लगाउन थालिने छ । खोप अभियान माघ १८ गते भित्र ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट समेत हुनेछ । 'प्रथम चरणको खोप १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो अभियानमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य छ, ' मन्त्री त्रिपाठीले थपे ।

प्रथम चरण अन्तर्गत फोहर व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स शव वाहनका चालक–सहचालकहरु, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकहरु, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, महिला स्वयंसेविका, वृद्धाश्रममा रहेकालाई खोप लगाइने छ ।

स्वास्थ्यमन्त्रीले प्रथम चरणको खोप अभियान सक्नुभन्दा अगाडि नै नयाँ खोप पाइसक्ने विश्वास व्यक्त गर्दै यो अभियानको निरन्तरता हुने बताए ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully