कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

साढे ४ लाख खोप प्रदेश पठाइँदै

काठमाडौँ — भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको साढे चार लाख खोप आइतबार प्रदेशमा पठाउने तयारी गरिएको छ । स्थानीय तहबाट खोप लगाउने फ्रन्टलाइनरको यकिन तथ्यांक संकलन नहुँदा खोप पठाउन ढिलाइ भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

साढे ४ लाख खोप प्रदेश पठाइँदै

‘खोप लगाउनेको यकिन तथ्यांक आइतबार बिहानसम्म संकलन गरी बेलुका अबेर भए पनि खोप पठाउन लागेका छौं,’ विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने । जिल्लागत विवरणका आधारमा प्रदेशमा खोप पठाउन लागिएको हो । १० लाखमध्ये दोस्रो चरणमा थप ४ लाख ५० हजार मात्रा पठाइने उनले बताए । ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको दुई वटा ट्रक तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १५ मा खोप लगाउन सुरु गर्ने घोषणा गरिसकेका छन् । विभागको योजनाअनुसार केन्द्रबाट प्रदेशमा खोप पुर्‍याउन दुई दिन र प्रदेशबाट जिल्ला अस्पतालसम्म पुर्‍याउन अर्को दुई दिन कम्तीमा लाग्ने अनुमान छ । प्रधानमन्त्री ओलीले घोषणा गरेकै दिन खोप सुरु गर्न आइतबार जसरी भए पनि खोप प्रदेशमा पठाउनुपर्ने हुन्छ ।

सोमबारसम्म प्रदेशमा पुर्‍याउने र बुधबारसम्म जिल्लामा पुग्यो भने मात्रै बिहीबार (१५ गते) देशभरि एकै पटक खोप लगाउन सकिन्छ । ‘प्रधानमन्त्रीज्यूले खोप लगाउने मिति घोषणा गरिसक्नुभयो, कुन जिल्लामा खोप लगाउने कति हो ? यकिन तथ्यांक संकलन भने हुन सकेको छैन,’ विभागका एक उच्च तहका कर्मचारीले भने । जिल्ला तहका स्वास्थ्यकर्मी, सफाइमा खटिने कर्मचारी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउन लागिएको हो । खोप लगाउन जिल्ला अस्पतालमा बुथ बनाउन लागिएको छ । खोप लगाएपछि हुन सक्ने असरको निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको विभागले जनाएको छ ।

कर्णालीमा झन्डै १२ हजारलाई खोप लगाइने

सुर्खेत– कर्णाली प्रदेशमा पहिलो चरणमा झन्डै १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । आइतबारसम्म खोप कर्णालीमा आइपुग्ने र एक साताभित्र सम्बन्धितलाई दिइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संघीय सरकारले कर्णालीका लागि करिब ५४ हजार डोज खोप छुट्याएको जानकारी आए पनि पहिलो चरणमा ११ हजार ७ सय ८० डोजमात्र आउने प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइनेछ । ‘योपल्ट जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर खोप लगाउने योजनामा छौं,’ उनले भने ।

प्रकाशित : माघ ११, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?