कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरकै आइसोलेसनले मनोबल उच्च

म एक्लै छुट्टै कोठामा भएका कारण दिनरात परिवारजनले के–कस्तो छ भनेर चासो राखिरहे । यस्तो सोधीखोजी अस्पतालको आइसोलेसनमा कहाँ हुन्छ र ?
कमल पन्थी

पीसीआर परीक्षणका लागि स्वाब दिएको थिएँ । रिपोर्ट नआएसम्म बाहिर निस्कने कुरै थिएन । दुई दिनपछि साउन ९ गते दिउँसो जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीको फोन आयो, ‘तपाईं अब आइसोलेसनमा बस्नुपर्छ । बर्दियामा आइसोलेसन राम्रो छैन । खजुरा जाने हो कि !’

घरकै आइसोलेसनले मनोबल उच्च

घरसल्लाह गरेर एकछिनमा भनुँला भनेर मैले फोन राखेँ । त्यतिन्जेलमा म कोरोना संक्रमित भएको सूचना धेरैतिर फैलिसकेछ । फोन आएको आयै भयो । ‘नआत्तिनुस् ठीक हुन्छ’ भन्ने साथीभाइ, आफन्तका फोनका कारण कहाँ बस्ने निर्णय गर्न सकिनँ । श्रीमतीलाई चाहिँ भनेँ, ‘मेरो कपडा झोलामा राखिदेऊ, म खजुराको आइसोलेसनमा जान्छु ।’ तर श्रीमती, छोरा–छोरी र केही इस्टमित्रले घरमै आइसोलेसनमा बस्न जोड गरे ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले घरमा सबै सुविधा र सुरक्षा भए उत्तम आइसोलेसन हुने बताउनुभयो । मलाई भने घरमा बस्दा परिवारका अरूलाई पनि संक्रमण फैलिने हो कि भन्ने त्रास थियो । त्यही भएर म खजुरा जाने भनेर हिँडेँ । बाबु–छोरा एउटै जिप चढेर खजुरा जान लाग्दा दर्जनौं फोन आयो, सबैले घरमै बस्नु उपयुक्त हुने सुझाव दिए ।

बढैयाताल गाउँपालिका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले फोन गरेर घर फर्कन आग्रह गर्नुभयो । खजुरा पुग्दा मलाई आइसोलेसनमा राख्न बाँके पत्रकार महासंघका अध्यक्ष एवं कान्तिपुरकर्मी ठाकुरसिंह थारू र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ आइसक्नुभएको थियो । उपचारका सम्बन्धमा मैले डाक्टरसँग सोधपुछ गरे । औषधि भने पनि उपचार भने पनि दुई छाक खाना र नास्ता लिएर र १४ दिन त्यही बस्नुपर्ने हुँदो रहेछ । अरू उपचार नहुने रहेछ । पुरानो र नयॉ संक्रमितसँगै बस्नुपर्ने बाध्यता रहेको अरू संक्रमितले बताए । त्यसपछि घरमै आइसोलेसन बस्ने भनेर फर्कने निर्णय गरेँ । आइसोलेसनमा बसेपछि बाहिर आउन प्रहरीले दिँदो रहेनछ । प्रजिअ कुरुम्बाङले आदेश दिएपछि मात्र म घर फर्कन पाएँ ।

राति करिब ९ बजे घर फर्केको जानकारी पाएपछि पत्रकार निर्मल घिमिरे, भीम उचै ठकुरी, यमनाथ घिमिरे, शुभचिन्तक मंगल पाण्डेलगायत मेरो घर आइपुगे । सामाजिक दूरी कायम गरेर उनीहरूसँग कुरा गरेँ । घरमा छुट्टै कोठा र बाथरुम भएकाले मलाई समस्या थिएन । विशेष गरी मेरा श्रीमती र छोराले मलाई कोरोनालाई जित्न दिनहुँ हौसला दिइरहे । शुभचिन्तक आइरहे । कतिपयले घृणाको शब्द प्रयोग गरेको पनि सुनियो । मेरो घरको बाटो हिँड्न छाडेको पनि देखियो । परिवारलगायत भावनात्मक सम्बन्ध भएकाबाट पाएको सद्भावले मेरो मनोबल उच्च बनायो । कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले पटक–पटक फोन गरेर थप ऊर्जा दिनुभयो । उहाँ ‘नआत्तिनुहोला, केही अप्ठ्यारो छ भने भन्नुहोला’ भन्नुहुन्थ्यो । कान्तिपुरका सहकर्मीले पनि फोनबाट हौसला दिनुभयो ।

घरेलु औषधिको प्रयोग

म संक्रमित भएर घरमै आइसोलेसनमा बसेको दुई सातामा स्वास्थ्यकर्मी न भेट्न आए न फोन गरेर अवस्था बुझे । मैले दिनहुँजसो गुर्जो पानी, तातो पानी, बेसार हालेर दूध, तुलसी र निमपानी पिएँ । हरेक साँझ, बिहान करिब तीन घण्टा व्यायाम र योग गरेँ । मलाई यस अवधिमा ज्वरो, खोकीलगायत कुनै प्रकारको स्वास्थ्य समस्या भएन ।

म एक्लै छुट्टै कोठामा भएका कारण दिनरात परिवारजनले के–कस्तो छ भनेर चासो राखिरहेका हुन्छन् । यस्तो सोधीखोजी अस्पतालको आइसोलेसनमा कहाँ हुन्छ र ? स्वास्थ्य नीतिअनुसार १४ दिन कठोर नियम मानेर होम आइसोलेसनमा बसेँ । अझ एक साता आइसोलेसनमा बस्छु ।

संक्रमणको अनुमान

कोरोना संक्रमण बढ्दै गएपछि मैले सतर्कता अपनाएको थिएँ । मास्क र सेनिटाइजर नियमित प्रयोग गर्थें, सामाजिक दूरी राखेर रिपोर्टिङमा हिँड्थेँ । मलाई साउन ३ मा संक्रमण सर्‍यो कि भन्ने लागेको छ तर सुनिश्चित छैन । त्यस दिन ठाकुरबाबा नगरपालिकाले बर्दियाका सञ्चारकर्मीलाई विकास निर्माणको अनुगमन गराएर पत्रकार सम्मेलन गर्‍यो । हामी करिब एक दर्जन सञ्चारकर्मी दुइटा जिप चढेर गुलरियाबाट गएका थियौं ।

ठाकुरबाबा नगर प्रमुख घननारायण श्रेष्ठलगायत जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसमेतको टोली बिहान ९ बजे शाहीपुरमा भेला भए । त्यहाँस्थित चियापसलमा सबैले नास्ता खाएर अनुगमनमा लाग्यौं । अनुगमन गर्ने क्रममा मुसलधारे वर्षाका कारण ग्रामीण क्षेत्रका सडकबाट गुड्ने अवस्था थिएन । अनुगमन छोट्याएर हामी भुरीगाउँस्थित एक होटलमा खाना खान पुग्यौं । त्यही होटलमा पत्रकार सम्मेलन गर्न हलमा तामझामका साथ ठूलै संख्यामा दल, संघसंस्थाका प्रतिनिधि बोलाइएको रहेछ । सामाजिक दूरी पालना गरिएको थिएन । अधिकांशले मास्क प्रयोग गरेका थिएनन् ।

झन्डै दुई घण्टाको पत्रकार सम्मेलनमा माइक समात्ने धेरै थिए । सेनिटाइजर प्रयोग नगरी माइक समात्थे । पत्रकार सम्मेलन सकिएपछि हामी आ–आफ्नो गन्तव्यतर्फ लाग्यांै । भुरीगाउँबाट गुलरिया ३३ किमि दक्षिणपूर्व पर्छ । घर पुगेको करिब दुई घण्टामै अन्नपूर्ण दैनिकका संवाददाता यादव आचार्यले फोन गरेर भने, ‘दाइ हामी कन्ट्याक्ट ट्रेसिङमा परियो ।’ त्यसको तीन दिनपछि पीसीआर परीक्षण गराउँदा म भएँ पोजिटिभ ।

प्रकाशित : श्रावण २३, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?