सगुनको दोस्रो सेयर निष्कासन

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–कमर्स स्टार्टअप कम्पनी सुगनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्कासन गरेको छ । अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसईसी) ले केही समयअघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको थियो ।

सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । कम्पनीको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर १९ सय डलरमा खरिद गर्न सक्छन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्कासन गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

‘कोरोना भएकी बच्चीलाई बचाउन नसक्दा पीडा भइरहेको छ’

बाजुरा अस्पतालका चिकित्सकको बयान 
रुपचन्द्र विश्वकर्मा

काठमाडौँ — भारतको नयाँ दिल्लीबाट फर्किएका एक दम्पतिकी दुई वर्षीया छोरीको बाजुरामा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनकी आमामा पनि संक्रमण देखिएको छ । र, उनी गर्भवति छन् । बच्चीको उपचारमा संलग्न चिकित्कले उनलाई बचाउन असफल प्रयासबारे यसरी बताए :

सुदूरपश्चिमको बाजुरा जिल्लाबाट धेरैजसो स्थानीय हरेक वर्ष रोजगारीका लागि भारतका विभन्न सहर जाने गर्छन् । कोरोना भाइरसका कारण रोजगारी गुमेपछि यतिबेला अधिकांश स्थानीय बासिन्दाहरु धमाधम घर फर्किरहेका छन् ।

घर फर्किनेहरुकै समूहमा जेठ १४ गते बाजुराको बुढीगंगा नगरपालिका–१ कुडी गाउँको एउटा परिवार पनि धनगढीको गौरिफन्टा सीमा नाका हुँदै बाजुरा फर्किएको थियो । श्रीमान श्रीमती अनि दुई छोरी । चारजनाको परिवारसहित भारतको दिल्लीमा तीन बर्षदेखि बस्दै आएका युवक त्यहाँ सवारी चालकको काम गर्दा रहेछन् ।

जिल्ला पुगेपछि उनीहरु चारैजनालाई बुढीगंगा नगरपालिकामै पर्ने धुराल्सैन माविको क्वारेन्टाइनमा राखिएको रहेछ । क्वारेन्टाइनमा बसेकै रातिदेखि दुई बर्षीया सानी छोरीलाई उच्च ज्वरो आएछ । स्वासप्रस्वासमा समस्या, झाडापखाला र बान्ता पनि भएछ । उनी अचेत पनि भइछन् । जिल्लामा खबर आयो । हामीले यो खबर सुनेपछि तत्काल जिल्ला सदरमुकाममा ल्याउन क्वारेन्टाइनमा खबर पठायौं । अहिले वडावडामा क्वारेन्टाइनमा सयौं जना भरिभराउ भए पनि बाजुरा सदरमुकाम मार्तडी र कोल्टीमा एकजनाबाहेक अन्य स्थानीय तहमा मेडिकल अधिकृतहरु उपलब्ध छैनन् ।

स्थानीय स्वास्थ्यकर्मीले जेठ १५ गते एउटा छोरीलाई धुराल्सैनमै राखेर विरामी बालिकासहित आमाबाबुलाई जिल्ला अस्पताल बाजुरा पठाए । राति आठ बजे उनीहरु मार्तडी आइपुगे । विरामीलाई अस्पताल ल्याइएपछि हामी उपचारमा खटियौं । अस्पताल पुर्‍याउँदा बालिका अचेत अवस्थामा थिइन् । मुटुको धड्कन तीव्र गतिमा चलिरहेको थियो । ज्वरो उच्च थियो । स्वास फेर्न पनि गाह्रो भइरहेको थियो । झाडापखाला भइरहेकै थियो ।

हामीले त्यो दिन नशाबाट औषधि दियौं । शरीरमा अक्सिजनको मात्रा पनि निकै कम देखिएकाले अक्सिजनको व्यवस्था मिलायौं । रगत जाँच गर्दा ह्वाइट ब्लड सेलको मात्रा २० हजारमात्र ।

स्लाइनबाट औषधि दिइसकेपछि बालिकाले हलचल गरिन् । कोरोनाको उच्च जोखिम हुनसक्ने ठानेर मसहित सबै स्वास्थ्यकर्मीहरु होसियार थियौं । भोलीपल्ट हामीले पुनः मेडिकेसन गर्ने समयमा चेक जाँच गर्‍यौं । तर, बािलकामा खासै सुधार भएको पाएनौं । उनका आमाबुवाले भने पहिलेकोभन्दा केही सुधार भएको बताए । आमाबावु छोरीलाई पूर्ण सञ्चो हुने आशामा थिए ।

हामीले भने केस निकै क्रिटिकल ठानेका थियौं । अवस्था बिग्रदै गएको भए पनि उपचार जारी राखेका थियौं । उपचारकै क्रममा उनको थ्रोट स्वाबको नमुना संकलन गरेर १६ गते धनगढी पठाएका थियौं । दुर्भाग्य, रिपोर्ट आउनुभन्दा अगाडि नै १८ गते राति बच्चीको मृत्यु भयो । हामीले उनलाई बचाउन सकेनौं । छोरी गुमाएपछि आमाबाबुको रोदनमा हामीले मलम लगाउन सकेनौं ।

छोरीको मृत्यु भएपछि आमाबुवालाई दोहोरो पीडा हुन थालेको थियो । आइसोलेसनमै बसेका उनीहरुलाई एकातिर छोरी गुमाउँदाको पीडा थियो भने अर्कोतिर छोरीको सदगत गर्ने चिन्ता । उनीहरु कतिबेला छोरीको अन्त्येष्टि गर्न लिने हो भन्ने सोधिरहन्थे । मैले उनीहरुलाई रिपोर्ट नआएसम्म सदगत गर्न मिल्दैन भनें । कोभिड पोजेटिभ रिपोर्ट आयो भने हामीले नै अन्त्योष्टि गर्ने र रिपोर्ट नेगेटिभ आयो भने मात्र तपाईहरुको जिम्मा लगाउँछौ भनेका थियौं ।

धनगढीमा पठाइएको रिपोर्ट पर्खदापर्खदै दिउासोको ३ बजिसकेको थियो । त्यसबेला हामीमा बालिकालाई बचाउन नसकेकोमा खिन्नता भए पनि रिपोर्ट नेगेटिभ आइदिए हुन्थ्यो भन्ने कामना थियो । हामी मनमनैको प्रार्थना गरिरहेका थियौं ।

तर दुर्भाग्य, मृतक बालिकामा कोरोना पोजिटिभ रहेको रिपोर्ट आयो । त्यसपछि हामी निरास भयौं, आत्तियौं । दुई दिन उनको उपचारमा प्रत्यक्ष संलग्न भएकाले मनमा डर पनि लाग्यो । तर, पनि टाढिने ठाउँ थिएन । अन्त्येष्टिका लागि प्रकृयाहरु मिलाउनु पर्ने थियो । त्यो सबै मिलाउँदासम्म साँझको ५ बजिसकेको थियो ।

हामीले नेपाली सेनाको टोलीलाई खबर गरेर मापदण्डअनुसार अन्त्योष्टिका लागि कार्य अघि बढाउन अनुरोध गर्‍यौं । जिल्ला समन्वय समितिको सभाहलमा बनाइएको आइसोलेसन हलभित्रै रहेको शवलाई सेनाले प्लास्टिकमा बेरेर नगरपालिकाको ट्रिपरमा राखेर तल नदी किनारमा पुर्‍याए । यता छोरीलाई सन्चो हुन्छ भन्ने आशा गरेका दम्पतीले छोरीको मृत्युमा पनि सुम्सुम्याउन नपाउँदाको पीडा उनीहरुको अनुहारमा झल्किन्थ्यो ।

पीडा त्यत्तिमै सीमित थिएन । मृतक बालिकाकी आमालाई पनि कोभिड १९ पोजेटिभ रिपोर्ट आएको थियो । त्यसैले उनको परिवारमा आपत थपिएको थपियै भयो । चारजना परिवारका सदस्य चारतिर भएका छन् । मातृवात्सल्यसमेत प्रकट गर्नबाट बञ्चित भएर टाढैबाट छोरीको अन्तिम विदाई गर्नु परेका आमाबावु अहिले अलगअलग बस्नु परेको छ । त्यसमा पनि संक्रमित आमा गर्भवती छिन् ।

आइसोलेसनको एउटा कोठामा श्रीमान् अर्कोमा श्रीमती छन् । पाँच वर्षकी जेठी छोरी धुराल्सैनकै क्वारेन्टाइनमै छन् । अहिले उनीहरुमा गर्भको बच्चामा पनि कोरोना सर्छ कि भन्ने चिन्ताले सताएको छ । हामीले जानेबुझेसम्म सम्झाउने प्रयत्न गरेका छौं । चिन्ता नगर्नुस्, अहिलेसम्मको अनुसन्धानमा गर्भमा रहेको बच्चामा कोरोनाको संक्रमण देखिएको छैन भन्ने गरेका छौं ।

यसअघिसम्म कोरोना भाइरस संक्रमणको असर समाचारमा मात्र सुन्ने गरेका हामीले यतिबेला आँखै अगाडि मृत्यु र परिवारको बिचल्ली देख्नुपर्दा थेग्न नसक्ने पीडा अनुभूत भएको छ ।

(बाजुरा अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्मासँग कान्तिपुरका अर्जुन शाहले गरेको कुराकानी ।)

प्रकाशित : जेष्ठ २१, २०७७ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×