बढ्दै स्मार्टफोन बजार

हेलो टेक
कान्तिपुर संवाददाता

सन् २०२० मा स्मार्टफोन बजार करिब एक प्रतिशतले बढ्दै २ अर्ब १६ करोड थान स्मार्टफोन बिक्री हुने अनुमान एक अध्ययनले गरेको छ  ।

बजार विश्लेषक संस्था ‘गार्थर’ ले तयार पारेको प्रतिवेदनमा फाइभजी स्मार्टफोनको उपलब्धताका कारण यो वर्ष स्मार्टफोनको बिक्री बढ्ने अनुमान गरिएको हो ।


सन् २०२० मा बिक्री हुने कुल स्मार्टफोनको १२ प्रतिशत डिभाइस फाइभजी सपोर्ट गर्ने स्मार्टफोन हुने अध्ययनमा उल्लेख गरिएको छ । आगामी २ वर्षभित्र फाइभजी सपोर्ट गर्ने स्मार्टफोनको माग बढेर ४३ प्रतिशत पुग्ने अध्ययनको निष्कर्ष छ । अर्थात्, सन् २०२२ मा कुल बिक्री हुने स्मार्टफोनको करिब आधा फाइभजी स्मार्टफोन हुनेछन् । सन् २०१९ मा विश्वभर २ अर्ब १५ करोड स्मार्टफोन बिक्री भएको अनुमान छ ।

प्रकाशित : माघ १०, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

परम्परागत सोचमाथि व्यङ्ग्य

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘झिम्के मामा’ ले एउटा गाउँमा कायमै रहेको जातीय भेदभावलाई देखाउने प्रयास गरेको छ ।
रीना मोक्तान

गाउँमा पढाउँदै आएकी सरिता मिससँग कथित तल्लो जातका एक केटोको प्रेम मौलाएको थाहा पाउनासाथ देउराली गाउँमा यी दुईलाई दोषी ठहराइन्छ  । गाउँले जम्मा हुन्छन्  ।

छिमेकी गाउँबाट आएका उक्त केटालाई गाउँका जवान ध्रुवे भकुर्न थाल्छन् । कतिले कालो मोसो दलेर गाउँ डुलाउने सजाय सुनाउँछन् । यो समस्या कसरी समाधान गर्ने भन्नेमा गाउँले अलमलमा छन् । छेउमा अमिलो मुख पारेर यी सबै दृश्य नियालिरहेका छन् झिम्के (अंकित खड्का) । झिम्के नै अगाडि सरेर उक्त केटोलाई सम्झाएर घर फर्काइदिन्छन् । गाउँको इज्जत झिम्केले जोगाउँछ ।


नाटक ‘झिम्के मामा’ को दृश्य हो यो । झिम्के देउराली गाउँको प्यारो नाम हो । भैपरी आउने समस्याको समाधान हो, झिम्के । कुन गाउँबाट देउराली झरे झिम्के, कसैलाई थाहा छैन । गाउँको विकास निर्माणमा झिम्केकै बढी हात छ । गाउँमा कुलो खन्नुपर्‍यो वा मन्दिर बनाउनुपर्‍यो झिम्केकै पहलमा काम सम्पन्न हुन्छ । जन्ती र मलामी जता जानुप‍र्‍यो, उतै हाजिर भइदिन्छन् झिम्के ।
देउराली गाउँकै कमला घिमिरे (काव्य बराल) को नाता पर्ने भाइ झिम्केले कमलाका श्रीमान् टीकाराम घिमिरे (अनुप न्यौपाने) लाई रगत दिएर बचाएका हुन्छन् । झिम्केकी दिदी कमलाकै घरमा बस्दै आएकी छन् । उनको साथमा एउटा झोला कहिल्यै छुट्दैन । झोलामा एउटा बाँसुरी । शिरमा टोपी पहिरेका उनका कपाल भने कान तलसम्म झरेको छ । मीठो वचन बोल्ने झिम्के सबै गाउँलेको वास्ता गर्छन् ।


एक दिन गाउँलेले आफूसँगै खाने, पिउने, हिँड्ने त्यही झिम्केको रहस्य थाहा पाउँछ । झिम्के ‘पानी नचल्ने समूह’ का हुन्छन् । रहस्य थाहा पाएपछि गाउँभरि हल्ला फैलिन्छ । सरिता मिससँग प्रेम सम्बन्ध राखेका उक्त केटालाई कालोमोसो दल्नुपर्ने निर्णय सुनाउने देउरालीका गाउँलेले अब झिम्केविरुद्ध के सजाय सुनाउलान् त ?
नाटक यही विषय वरपर घुमेको छ ।

नेपाली समाजमा व्याप्त मनोविज्ञानलाई निर्देशक प्रदीपकुमार चौधरीले नाटकमा हुबहु प्रस्तुत गरेका छन् । अझै पनि जात, धर्म अनि लैंगिकतालाई लिएर विभेद गर्ने समाजलाई नाटकले व्यङ्ग्य गर्छ । कर्मले जितेर जन्मले हारेका ती पात्रहरूको प्रतिनिधि हो, झिम्के । अन्धविश्वासको चपेटामा परेका झिम्केहरूको कथा प्रदीपले नाटकमार्फत भनेका छन् ।


आजको दिनसम्म पनि समाजमा जातपात र छुवाछूतको भावना गढेर बसेको छ । विज्ञान र प्रविधिमा समाजले फड्को मा‍र्‍यो । अज्ञानताबीच शिक्षितहरू जन्मिए । पँधेरो एउटै बनाइए पनि हाम्रो समाजमा छुवाछूत भने हटेको छैन । हिजो बोलीमा छुवाछूत हुन्थ्यो, आज व्यवहारमा कायम छ त्यो । नेपाली समाजको यही द्वैध चरित्रलाई अधिवक्ता दुर्गाप्रसाद पाण्डेले नाटकमा समावेश गरेका छन् ।


सामाजिक संरचना अझै पनि विभेदकारी छ । समयसँगै भेदभावको प्रवृत्ति पनि फरक भएको छ । आज झिम्केहरूलाई दैलोमै सीमित राखिन्न होला, तर पनि समानताको दैलो नाघ्न सकेको छैन । अझै पनि सोचाइमा भेदभाव देखिन्छ । यस्तै सोचहरूलाई प्रहार गर्छ नाटक ‘झिम्के मामा’ ले ।


दलित भएकै कारण सबैको प्यारो रहेका झिम्के, छिःछि दुरदुरका पात्रमा परिवर्तन भइदिन्छन् । सबैको मलामीमा पुग्ने झिम्केको अन्तिम संस्कार गर्न देउराली गाउँका कथित माथिल्लो जातका कोही आउँदैनन् । जातकै कारण भेदभाव गरिने सोच अनि व्यवहार नाटकमा झल्किएको छ ।


कमलालाई छोराले सोध्छ, ‘मामालाई किन कसैले नउठाएको, मामाले सबैलाई उठाइदिनुहुन्थ्यो पहिला त । आमा, मामा सार्की भएर नउठाएको हो । सार्की मान्छे होइन हो आमा ?’


यो मार्मिक दृश्यमा निकै घतलाग्दो प्रश्न उठाइएको छ । आखिर नाटकमा देखाइएका झिम्केहरू टीकाराम, ध्रुवे अनि सरिता मिसजस्तै मानिस हुन् । तर उनीहरूलाई मानिसको जस्तो व्यवहार गरिन्न । यही व्यवहार बोकेको समाज हो, देउराली गाउँ । देउरालीले वर्तमान समाजको प्रतिनिधित्व गर्छ ।


‘सारा गाउँलेलाई गंगाजलको पानी छम्किँदा पनि नचोखिने पाप लाग्यो । म बेंसी झरें ध्रुवे । झिम्केले बनाएको यो मन्दिरमा अब कसले पूजा गर्ने हो, त्यसैलाई ल्याएर राख्नु भन्नु टीकारामलाई,’ गाउँको पुजारी यसो भन्दै बेंसी लाग्छ । जबकि झिम्केको यथार्थ थाहा नपाउँदासम्म त्यही झिम्केले बनाएको मन्दिरमा उनले वर्षौं पूजा गर्थे ।


यो समाजले अहिलेसम्म परम्परागत सोचाइ बोकेर कसरी कुनै मानिसलाई विभेद गर्छ, नाटकमा देखाइएको छ । यस्ता दृश्य अझै पनि समाजमा मञ्चन हुन्छन् । झिम्केजस्ता पात्रहरू अझै पनि यथावत् नै छन् ।


‘झिम्के मामा’ को यो कथाले दर्शकलाई नाटकमा बाँधेर राख्छ । नाटकमा प्रयोग गरिएका दुई अर्थे संवाद झर्को लाग्ने किसिमको छ । ‘प्रप्स’ मा मिहिनेत देखिन्छ । कति दृश्यमा प्रप्स अलमल्याउने किसिमको पनि छ । प्रकाश र पार्श्व ध्वनिमा मिहिनेत पुगेन । झिम्केको भूमिकामा फिट छन्, अंकित । अभिनयमा अब्बल छन् अंकित, नाटकबाट उनले सावित गरेका छन् । टीकारामको भूमिका निर्वाह गरेका अनुपको अभिनय पात्रमा निहित नै छ । संयोग गुरागाईंले पुजारीको पात्रलाई न्याय गरेका छन् ।

प्रकाशित : माघ १०, २०७६ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×