कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्युँझिँदै पर्ल जाम

अमेरिकी अल्टरनेटिभ रक ब्यान्ड पर्ल जामले एघारौं स्टुडियो एल्बम ‘गिगाटन’ आउने मार्चमा रिलिज गर्ने भएको छ । ब्यान्ड नै सुस्तायो कि भन्ने हल्ला चलिरहेका बेला उसले सात वर्षपछि नयाँ एल्बम ल्याउने घोषणा गरेको हो ।
हिमेश

 
सबैभन्दा पहिले ईश्वरलाई धन्यवाद, पर्ल जाम फेरि फर्कने भएको छ,’ एक प्रशंसकले फर्काएको उत्तर हो, यो  । गत साता मात्र हो, पर्ल जामले ट्वीटबाट आफ्नो नयाँ एल्बम र टुरबारे घोषणा गरेको  ।

ब्युँझिँदै पर्ल जाम

यो ट्वीट आएयता ब्यान्डका धेरै समर्थकले राहत महसुस गरेका छन् । नत्र धेरैलाई लागिसकेको थियो, अमेरिकाको यो लेजेन्डरी रक ब्यान्ड अब त सुस्ताइसकेछ । तर होइन, रहेछ । अब भनौं, पर्ल जाम ब्युँझिँदै पो छ । ब्यान्डको नयाँ एल्बमको नाम हुनेछ, ‘गिगाटन’ ।
यो एल्बम यसै वर्ष मार्चको अन्त्यतिर रिलिज हुनेछ । यो ब्यान्डको ११ औं स्टुडियो एल्बम हुनेछ र अहिले नै प्रि–अर्डर पनि सुरु भइसकेको छ । पर्ल जामको यसअघिको एल्बम कहिले आएको थियो त ? सबै अहिले यही प्रश्न गर्न थालेका छन् र यसको उत्तर हो, सन् २०१३ मा । त्यति बेला ब्यान्डले निकालेको थियो, ‘लाइटिङ बोल्ट’ । खुबै प्रशंसित एल्बम थियो, यो । त्यसैले त यसले त्यो वर्ष ग्रायमी अवार्ड पनि जित्यो । ब्यान्डका सबै प्रशंसक खुसी थिए ।
तर त्यसपछि एक प्रकारले ब्यान्ड सुस्ताएकै हो । जुन धेरै अर्थमा अपेक्षित भने थिएन् । साँच्चै पछिल्लो पाँच वर्षभन्दा बढीको समयमा ब्यान्ड र यसका सदस्य कहाँ थिए त ? यसको उत्तर दिने फ्रयास गरेका छन्, लिड गितारिस्ट माइक म्याकत्रेडीले । सन् नब्बेतिर म्याकक्रेडी र उनका नजिकका केही साथीहरूले त हो, सियाटलमा यो ब्यान्डको स्थापना गरेको । त्यति बेला ब्यान्डका अरू सदस्य थिए, एडी भेडर, स्टोन गोसार्ड, जेफ एमेन्ट र ज्याक आइरन्स ।
आइरन्स ब्यान्डका सुरुआती ड्रमर थिए, उनले दुई स्टुडियो एल्बमपछि ब्यान्ड छाडे । त्यसपछि किन भने ब्यान्डमा ड्रमर आउने जाने क्रम चलिरह्यो । अहिले यो जिम्मेवारीमा छन्, म्याट क्यामरुन । धन्न उनी भने सन् १९९८ यता ब्यान्डमा निरन्तर छन् । सन् नब्बेको दशकमा रक संगीतले एउटा छुट्टै विशिष्ट विधा पाएको थियो र त्यो थियो, अल्टरनेटिभ रक । सन् सत्तरीतिर जन्मेर त्यसको दस वर्षमा राम्रै प्रगति गरे पनि यसको खास ठोस अस्तित्व भने सन् नब्बेतिर मात्र देखियो ।
अल्टरनेटिभ रकलाई लोकप्रिय बनाउने श्रेय मुख्यतः केही ठूला ब्यान्डलाई जान्छ, जस्तो– रेड हट चिल्ली पेपर्स ब्यान्ड, निर्वाणा, आरईएम अनि यही पर्ल जाम । सन् १९९१ मा पर्ल जामले पहिलो एल्बम निकालेको थियो, ‘टेन’ नामले । त्यसयता यो निकै सफल ब्यान्ड सावित भएको छ । नत्र अमेरिकामा मात्रै उसका एल्बम तीन करोडभन्दा बढी बिक्री हुने थिएनन् । ब्यान्डलाई तीन वर्ष अगाडि मात्र ‘रक एन्ड रोल हल अफ फेम’ बाट सम्मानित गरिएको थियो ।
स्थापनायता दुई–तीन वर्षको अवधिमा ब्यान्डको नयाँ एल्बम निस्किरहेको थियो । तर यसपल्ट भने गज्जब नै भयो, पाँच वर्षको अवधिमा पर्ल जामले केही गर्ने सुरसार नै गरेन् । त्यसैले त ब्यान्डका प्रशंसक निराश भएका थिए । तर अब त्यो ट्वीटले फेरि सबैलाई राहत झने दिएको छ । म्याकत्रेडी भन्छन्, ‘पछिल्लो एक–दुई वर्ष हामी वास्तवमै दोधारमा रह्यौं, के गर्ने र नगर्ने भनेर । भावनात्मक रूपमा सबै एकखाले अन्योलमा फसेका थियौं र त्यहाँबाट उठ्नै सकेनौं ।’
तर यो समय के कारणले पनि महत्त्वपूर्ण रह्यो भने ब्यान्डले यसबीचमा धेरै प्रयोग गरे, विश्व संगीतमा नयाँ के भइरहेको छ, आफैंले फनि नयाँ के दिन सकिन्छ, त्यसबारे खुबै सोचविचार गरे । विशेषतः म्याकत्रेडीले गायक भेडरसँग मिलेर लामै विचार–विमर्श गरे । र, अन्त्यमा तयार भयो, यही ‘गिगाटन’ । अब यो कस्तो हुनेछ त ? त्यसका लागि प्रतीक्षा नै गर्नुपर्नेछ, तर यसको छनक भने पाइनेछ, केही दिनमै । किनभने ब्यान्डले चाँडै रिलिज गर्दैछ, यसको एउटा गीत, ‘डान्स अफ द क्लेभोयान्ट्स ।’

प्रकाशित : माघ ३, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?