सुपरम्यान उडान- अन्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुपरम्यान उडान

वसन्तप्रताप सिंह

साहसिक मानिने ‘जिप लाइन’ फलामको डोरीमा घिर्नीको सहायताले विशेष प्रकारको फित्तामा झुन्डिएर अघि बढ्ने वा उड्ने गरिन्छ  । यही जिप लाइनको डोरीमा सरर उड्ने रहर पूरा गर्न काठमाडौंबाट ३५ किमि टाढा धुलिखेल पुगियो  ।

धुलिखेलको थाक्लेडाँडास्थित जिपलाइनको टेकअफ स्टेसन छ । पारीपट्टि आँखैमा टाँसिएलान् जस्तो देखिने लाङटाङ, दोर्जेलाक्पा, फुर्बीच्याचुलगायत हिमशृंखला सेताम्मे टल्किएका थिए । यता जिपलाइन गर्ने फलामको लट्ठा धागोजत्रै देखिन्थ्यो । ११ सय मिटर लामो डोरो टेकअफ स्टेसनबाट आधाजति मात्रै देखिन्थ्यो । बाँकी भाग हेर्दाहेर्दै बिलाउँथ्यो । यो डोरीले ज्यान थाम्ला त ? मनमा डर मिश्रित प्रश्न उठ्यो । बीचैमा, मेरै पालामा डोरी चुडियो भने ? हिमशृंखला हेर्दा पुलकित मन एकैछिनमा चिसो भयो ।
टेकअफ स्टेसन र ल्यान्डिङ स्टेसनमा ‘जिप लाइन’ मास्टरहरूले आवश्यक सुरक्षा तयारी मिलाइसकेका थिए । मास्टरले मेरो शरीरमा ‘सेफ्टी’ बाँध्न थाले । हार्नेस् बाँधियो । मन पनि अलिक बाँधियो । जे पर्ला पर्ला । डर अलि कम भयो । मास्टरले जिपलाइन गर्दा पालना गर्नुपर्ने नियम बताए । मैले सुपरम्यान उडान गर्ने भएकाले अग्लो टेबलमाथि घोप्टो पर्न लगाए । जिपलाइनको डोरीमा क्यारोबिनको सहाराले मलाई झुन्ड्याइदिए र अगाडिपट्टि देखाउँदै धेरैभन्दा धेरै मजा कसरी लिने सिकाउन थाले । देब्रे हातमा गोप्रो दिइयो । मास्टरले घोप्टो परेको मेरो ज्यानलाई ओरालो पारेर अघि बढाउन थाले । मुटु ढक्क फुल्यो । अनुहारको चमक नै हरायो ।
जब मास्टरले एक, दुई, तीन भन्दै जिपलाइनको डोरीमा घोप्टो परेर झुन्डिएको मेरो ज्यानलाई घचेटेर टेकअफ स्टेसनको बार कटाए । म जोडले हुर्रिएँ । डरले टक्क सास रोकियो । सुरुको पाँच सेकेन्ड निकै डराएको थिए । त्यसपछि डर विस्तारै कम हुँदै, मजा बढ्दै गयो । डोरीमा मेरो ज्यान हावाको वेगसँगै स्वतन्त्र रूपले अघि बढिरहेको थियो । दुई सय ४० फिटको झुकावमा हावाको औसत गति ७० किमि प्रतिघण्टा थियो ।
गोप्रोमा अनुकूलका भिडियो लिएँ । तल्तिर हरियाली जंगल र गाउँ, पारिपट्टिका डाँडाकाँडा र सेताम्मे हिमशृंखला । उड्दै दृश्यपान गर्दाको मजा बेग्लै थियो । डर र आनन्दको दुवै अनुभूति भइरहेको थियो । सायद त्यसैले जिपलाइनलाई साहसिक भनिएको होला ।
टेकअफ स्टेसन थाक्ले डाँडादेखि ल्यान्डिङ स्टेसन पाँचखालको खावासम्मको ११ सय मिटर दूरी पार गर्न १ मिनेट २० सेकेन्ड कति चाँडै बितेछ, पत्तै भएन । धित मरुन्जेल उडिरहुँ, दृश्यपान गरिरहुँ भन्दाभन्दै खावामा ल्यान्ड भएछु । जिपलाइन मास्टरहरूले डोरीबाट छुटाइदिए ।
स्टेसनमा ओर्लेपछि ट्री अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको रेस्टुराँ) मा उक्लिएँ । हरियाली जंगलभित्र करिब २० रोपनी क्षेत्रफलमा विभिन्न आठ वटा ‘एडभेन्चर कोर्स’ सहितको ‘एडभेन्चर पार्क’ अवलोकन गरें । काठमाडौं नजिकै गाउँले परिवेश र आधुनिक प्रविधियुक्त साहसिक यात्राको संयोजन गज्जब लाग्यो ।
नेपालमा जिप लाइन अनुभव पोखरा र धुलिखेलमा गर्न सकिन्छ । धुलिखेलमा समुद्र सतहको १३ सय मिटर उचाइमा टेक अफ भएर १२ सय मिटरमा ल्यान्डिङ हुन्छ । धुलिखेलको जिप लाइनमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गराइन्छ । साधारणमा बसेर यात्रा गरिन्छ । सुपरम्यान जिप लाइन गर्दा कम्मरमा विशेष प्रकारको डोरीसहितको ‘फुलबडी हार्नेस’ लगाइएको हुन्छ । हार्नेसमा घोप्टो सुतेर दुवै हात फिँजाएर सुपरम्यान अघि बढ्छ, त्यसैको अनुभव गरियो ।

प्रकाशित : माघ ३, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

प्लास्टिकरहित नगरको अभियान

तिलोत्तमा नगरपालिकालाई यही माघसम्म ‘शून्य प्लास्टिकयुक्त नगर’ बनाउने अभियान चलिरहेको छ । यस अभियान कसरी सुरु भयो त ?
हेलो शुक्रबार

बीहान उठेपछि दिनभरिका कामको सूची बनाउँछन्  । बीचमा अन्तर्वार्ता या भेटघाटका लागि समय दिनुपरेमा तालीका बनाउने जिम्मा श्रीमतीलाई सुम्पिन्छन्  ।

बीहान उठेपछि दिनभरिका कामको सूची बनाउँछन् । बीचमा अन्तर्वार्ता या भेटघाटका लागि समय दिनुपरेमा तालीका बनाउने जिम्मा श्रीमतीलाई सुम्पिन्छन् । गत साता कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का निपेश अधिकारी (ढाका) को व्यस्तता बिहानै सुरु भयो । त्यस दिन तिलोत्तमा नगरपालिकामा ‘पोलिथिन साँझ’ आयोजना गरिएको थियो । नगरलाई प्लास्टिकमुक्त बनाउने अभियानमा संलग्न निपेशको परिकल्पनामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रवेशका लागि टिकटस्वरूप आफूले संकलन गरेको एक बोरा प्लास्टिक बुझाउनुपर्ने नियम थियो । गायक पशुपति शर्मा, राधिका हमाल, निर्णय श्रेष्ठ, प्रचण्ड जीसी, अजय अधिकारी सहभागी साँझमा ४ हजार ५ सय बढीले प्लास्टिकका बोरा संकलन गरे ।
पोखराको एक रेडियोमा कार्यक्रम सञ्चालन गर्ने क्रममा निपेशले ‘ढाका’ उपनाम जोडेका थिए । अहिले उनी ढाकाका रूपमा चिनिन्छन् । उनी अहिले तिलोत्तमा नगरपालिकालाई शून्य प्लास्टिक बनाउने अभियानमा अहोरात्र खटिएका छन् । एक वर्षअघि डकुमेन्ट्री प्रदर्शनका लागि यहाँ आएका थिए । त्यसक्रममा उनले आफ्नो प्लास्टिकरहित बनाउने अभियानका लागि तिलोत्तमालाई रोजे ।
डकुमेन्ट्री प्रदर्शन गर्न फ्रान्स, जर्मनी, नर्वे, डेनमार्क र बेल्जियम पुग्दा ‘ग्लोबल वार्मिङ’ बारे जान्ने मौका पाए । त्यसैपछि उनी गत वर्ष रूपन्देही आए, आफ्नो ज्ञान बाँड्न । प्लास्टिकमुक्त बनाउने परिकल्पना गरे । उनको सोच साकार पार्न तिलोत्तमा नगरपालिकाले प्लास्टिकमुक्त नगर बनाउने घोषणा पनि गर्‍यो । गत साउनबाट स्वयंसेवीसहित उनी प्रत्येक वडामा सक्रिय छन् । नगरमा यसबारे प्रशिक्षण र अन्तरक्रिया भइरहेका छन् । माघसम्म तिलोत्तमा शून्य प्लास्टिकयुक्त हुने बताइएको छ ।
पर्यावरण अभियन्ता निपेश ४ वर्षको छँदा ठूलै दुर्घटनामा परेका थिए । भान्छामा खाना पस्किने बेलामा उनका दाइले झुकिएर छुँदा तातो पानीको भाँडो घोप्टियो । दाइको हात पोल्यो, उनको शरीर । अस्पताल लैजाँदै गर्दा छिमेकीले अरू छोरा पनि छन् केरे... भनेको उनको कानमा पर्‍यो । त्यही पलबाट बाँचेर केही गर्ने रहर जाग्यो उनमा । गौरीशंकर मावि, हेम्जाबाट एसएलसी उत्तीर्ण गरेपछि स्नातकसम्म पोखरामा अध्ययन गरे । संगीतमा रुचि थियो । केही समय एल्बम निकाल्ने कसरतमा लागे । ०५६ सालमा मुख्य विषय गणित स्नातकोत्तर पढ्न काठमाडौं पुगे । पढाइ पूरा गरेपछि काठमाडौंमै अध्यापन गर्न थाले । बिहान कलेज, दिउँसो विद्यालय र साँझ ट्युसन पढाए ।
यही क्रममा जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिकमा पूर्ण छात्रवृत्तिमा वातावरण विज्ञान अध्ययनका लागि आवेदन दिए । नाम निस्कियो । २८ मुलुकका विद्यार्थीसँगै पढ्दै काम गरे । कलेजको शुल्क नलागे पनि बस्न, खान कमाउनै पर्थ्यो । तेस्रो सेमेस्टरको अध्ययनका क्रमा थेसिस पूरा गर्न स्वदेश फर्किए । घरमा बिहेको कुरा चल्यो । त्यसको दुई दिनमै पोखराकी लक्ष्मी चापागाईंसँग लगनगाँठो कसियो । निपेशले शिवपुरी–नागार्जुन निकुञ्जमा आफ्नो विषयमा अनुसन्धान पूरा गरे । म्युनिक फर्केर थेसिस बुझाएपछि त्यहीं इन्टर्नसिप गरिरहेका थिए । ‘परिवारको यादले सताउन थाल्यो । छोरा २ वर्षका भइसकेका थिए ।
देख्न मन लाग्यो । ०६९ मा स्वदेश फर्किए,’ उनले भने ।
वातावरणसँग सम्बन्धित विषयमा अनुसन्धान थाले । दार्चुला र मुगुको रारा पुगेर अध्ययन जारी राखे । तीन वर्ष पहाडी क्षेत्रमा बिताउने क्रममा बालबालिकालाई पढाए पनि । विभिन्न स्थानको पर्यावरण, रहनसहन र संस्कृति बुझे । त्यसमा आधारित डकुमेन्ट्री ‘मेलान्कोली’ बनाए । गीत पनि लेखे :
जोगाउँ माटो, जल, जमिन, जंगल,
यही हो हाम्रो धन नयाँ नेपालको संकल्प... ।

पशुपन्छी, धर्ती, माटो, पर्यावरणलाई विषय बनाइएको उक्त गीत उनले ०७३ सालमा ३६५ जना कलाकारबाट रेकर्ड गराएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराए । उक्त अभियानबाट विश्व कीर्तिमानको तयारी गरेका छन् । अब उनी तिलोत्तमा १५ हजार विद्यार्थी र ५ हजार बुद्धिजीवीबाट एउटै स्थानमा ‘शून्य प्लास्टिकयुक्त तिलोत्तमा’ घोषणा गरेर अर्को कीर्तिमान बनाउन चाहन्छन् ।

प्रकाशित : माघ ३, २०७६ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×