‘एमाले त माओवादीभन्दा पनि सानो हुन्छ’- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘एमाले त माओवादीभन्दा पनि सानो हुन्छ’

उमेश चौहान, शिव पुरी, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

रौतहट — निर्वाचन प्रचारका क्रममा गृहजिल्ला रौतहटमा केही दिनअघि भाषण गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दिएको अभिव्यक्तिले निर्वाचन आयोगको समेत ध्यान तान्यो । उनले ‘फ्रि टिकट फ्रि भिसा, बिना ढेउवा के’ विदेश जान पाइन्छ भनेर युवाहरूलाई आश्वासन दिएका थिए ।

प्रधानमन्त्री भइसकेको र भविष्यमा पनि देशको नेतृत्व गर्छु भन्ने नेताले युवाहरूलाई स्वदेशमा रोजगारी दिने, उद्योग कलकारखानाको विकास गर्ने प्रतिबद्धता दिनुपर्नेमा विदेश पठाउँछु, विदेशमा गएर तिमीहरूले काम गर्न पाउँछौं भनेर आश्वासन दिन कति शोभनीय हो ? कान्तिपुरका उमेश चौहानशिव पुरीले गौरस्थित नेपाल निवासमा भेटेर अन्तर्वार्ताको सुरुवातमा उनलाई सोधे–

तपाईंको अभिव्यक्तिले चुनाव र समग्र राजनीतिकै मूल्य घटाएन र ?

अर्थको अनर्थ पनि लगाउन सकिन्छ । मेरो सिंगो भाषण सुन्नुभयो भने देशको आर्थिक विकासको समग्र तस्बिर राख्या छु । शिक्षा र स्वास्थ्यमा कसरी विकास गर्न सकिन्छ ? कसरी हाम्रा युवाहरूलाई सीप र तालिम उपलब्ध गराउन सकिन्छ ? कसरी उत्पादकत्व बढाउनुपर्छ ? यसबाहेक नेपालको अर्थतन्त्रलाई छलाङ लगाउन जलविद्युत् पर्यटनमा हामीले विशेष रूपमा ध्यान दिनुपर्छ । यसमा योजना बनाउने हो भने रोजगारीको कमी हुँदैन । गरिबी अभाव र बेरोजगारीमा जीवन गुजार्नुपर्दैन । मैले चुनावी सभाहरूमा यस्ता विषयको चर्चा गरेको छु । कसरी विज्ञान र प्रविधिको अधिकतम उपयोग गर्नुपर्दछ । कसरी अध्ययन अन्वेषण र अनुसन्धानमा जोड दिनुपर्दछ । मैले महिलाहरूलाई अधिकारसम्पन्न बनाउने, दलितहरूलाई समानताको अनुभूति गराउने, शोषण–अन्याय–अत्याचार र उत्पीडन समाप्तिका कुरा उठाएको छु । तर, साथसाथै मैले वैदेशिक रोजगारको पनि कुरा गरेको हो । रौतहटमा एजेन्टहरूले मान्छेहरूबाट दुई–तीन लाख रुपैयाँ लिएर विदेश पठाउँदा रहेछन् । युवाहरूले गुनासो गरे । अनि मैले प्रश्न उठाउनु पर्दैन ? नेपाल सरकारको नीति छ कि विभिन्न देशमा पठाउँदा बिनापैसा भिसा, बिनापैसा टिकट पाइन्छ । यहाँसम्म कि तालिम दिने काम पनि काठमाडौंमा मन्त्रालयले गरिरहेको छ । मैले त्यो स्मरण गराउनु के अपराध हो ? म्यानपावर कम्पनीले खटाएका एजेन्टहरूले मान्छेहरूबाट पैसा उठाइराखून्, हामी चुप लाग्ने हो ? मैले त भनेको हो, अब ठगिने काम नगर्नूस् । मिटरब्याजीहरूको धन्धामा नपर्नूस् । तपाईंका छोराछोरीलाई विदेश पठाउनुहुन्छ भने चाहेर पनि नचाहेर पनि रोक्न त सक्नुहुन्न । तर, जान्छन् भने सहुलियतको व्यवस्था छ र गर्नुपर्छ भनेर मैले भनेको हो ।

यहाँ रौतहट जिल्लामा जन्मेर हुर्कनुभयो र विगत ५० वर्षदेखि राजनीतिमा हुनुहुन्छ । १५ वर्ष देशको शक्तिशाली पार्टीको नेतृत्व गर्नुभयो, २१ महिना सरकारको नेतृत्व गर्नुभयो, तपाईंको दल पटकपटक सरकारमा गयो, यहाँ रौतहटबाट पनि पटकपटक निर्वाचित हुनुभयो । तर पनि तपाईंकै निर्वाचन क्षेत्रमा युवाहरू त्यति निरक्षर छन्, आर्थिक रूपमा कमजोर छन्, त्यहाँ सरकारको नीतिभन्दा एजेन्ट बलिया छन् भने त्यसको जवाफदेहिता तपाईंको रहन्न ?

पक्कै पनि । रौतहटको पनि लाग्छ, देशभरिको पनि लाग्छ । प्रत्येक नागरिकहरू ठगिन भएन । भ्रष्टाचारको चंगुलमा फस्न भएन । सहज ढंगले काम हुनुपर्‍यो । तपाईंलाई थाहा हुनुपर्छ कि मुस्लिमहरूको छोराछोरी पढाउनका लागि मदरसा शिक्षालाई आधुनिक शिक्षासँग जोड्ने निर्णय कसको पालामा भएको हो ? म उपप्रधानमन्त्री र मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला भएको हो । म रौतहटको पुत्र भएको हुनाले मलाई मुस्लिमको समस्या राम्ररी थाहा छ । त्यतिमात्रै होइन म प्रधानमन्त्री हुँदा राजर्षि जनक विश्वविद्यालय स्थापना भएको हो । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतमा सुदूरपश्चिम विश्वविद्यालय मेरै पालामा सुरु भएको हो । सुदूरपश्चिममा मेडिकल कलेजको निर्णय मेरै पालामा भएको हो । यही रौतहटमा पोलिटेक्निकल इन्स्टिच्युट मैले नै स्थापना गरेको हुँ । गौरमा कलेज स्थापना मैले नै गरेको हुँ । यस जिल्लाका कुनै पनि स्कुल भवन निर्माण गर्नका लागि मेरै पहल भएको छ ।

जनताका समस्याहरूको सन्दर्भमा रौतहट जिल्लाको यो भूभाग जहिले पनि बाढीले जलमग्न हुने गरेको थियो । यो घर बन्नुभन्दा पहिलेको घरमा सुत्ने कोठामा पानी हुन्थ्यो । त्यो भएपछि ०५१ सालमा सरकारमा जानेबित्तिकै पहिलो काम भनेको वाग्मतीको तटबन्ध बनाउने कुरामा मेरो ध्यान गएको हो । रौतहट जिल्ला जन्मभूमि भएको हुनाले वाग्मतीको तटबन्ध ५ महिनामा तयार भएको छ । त्यसको गुणस्तर आज पनि राम्रो छ । सिंगो वाग्मती र बकैयाको तटबन्ध बनाउन मेरै भूमिका छ । त्यसैले मैले रौतहटमा धेरै गरेको छु, गर्न बाँकी पनि छ । त्यसमा मेरो प्रतिबद्धता छ ।

ह्युमन डेभलपमेन्ट इन्डेक्समा ७७ जिल्लामा रौतहट सबैभन्दा पछाडि छ । कर्णालीका विभिन्न जिल्लाभन्दा पछाडि छ । साक्षरतामा देशको औसतभन्दा धेरै तल ६० प्रतिशत मात्रै साक्षरता छ । तपाईं लगातार राजनीतिमा र शक्तिशाली भूमिकामा हुनुहुन्छ । बालेन शाह र हर्क साम्पाङजस्तो पहिलो पटक चुनावमा आउनुभएको त होइन । तर मुद्दा यथावत् छन्, अझ तपाईंले नै शिलान्यास गरेका सडक र पुल अलपत्र छन् । डुबानको समस्या अहिले पनि उस्तै छ । यो अवस्था किन छ ?

एउटा व्यक्तिले चाहेर मात्रै हुँदैन । सिंगो प्रणालीको समस्या हो । यहाँ स्कुल कस्ता छन् भने नेपाल सरकारको अभिलेखमा पर्याप्त विद्यार्थी संख्या लेखेको हुन्छ तर वास्तवमा विद्यार्थी २ र शिक्षक १० हुन्छन् । शिक्षकहरू कहिले विद्यालय जाँदैनन् । त्यो खोज्ने काम मेरो हो ? विद्यालयमा शिक्षक समयमा पुग्छन् कि पुग्दैनन् । राम्रो पढाउँछन् कि पढाउँदैनन् ? कि त्यो हेर्ने जिम्मेवारी मेरो हो ?

नीति बनाउने जिम्मेवारी तपाईंको नै होइन र ?

राष्ट्रिय समस्या समाधानका लागि नै पालिकालाई अहिले अधिकार दिइएको छ । प्रदेश सरकारलाई अधिकार दिइएको छ । मधेस प्रदेशले नारा दियो– बेटी बचाऊ, बेटी पढाऊ । छोरीलाई बचाऊ । छोरी भनेपछि गर्भमै तुहाइदिन्छन् । अर्को पढाउँदै नपढाउने प्रवृत्ति छ । नारा सार्थक हुन सक्यो सकेन त्यसको समीक्षा गर्नुपर्ला । तर भावना र कोसिस त राम्रो हो । रौतहट पछि पर्‍यो भन्ने तथ्यांक सरकारको छ, तर त्यसमा पनि मलाई शंका छ । अहिले यति धेरै बाटाघाटा बनेका छन् । यति धेरै मान्छेहरू पढेका छन् । यति धेरै मान्छे काठमाडौं मात्र नभएर भारत र तेस्रो देश पनि जान्छन् । रेमिट्यान्सबाट आएको पैसाले जीवन चलिरहेको छ । तर रौतहट पुछारमा छ भन्ने मैले बुझ्न सकिरहेको छैन । नेपाल सरकारको त्यो पुरानै अभिलेख अद्यावधि भएको छैन कि जस्तो लाग्छ । मैले के सोचिरहेको छु भने तथ्यांकमा गडबड छ । अब त प्रदेशको पनि संरचना छ, प्रदेशका सांसद पनि सहयोगी भएका हुनाले, मेयर पनि सहयोगी भएकाले काम गर्न सकिन्छ । तर कतिपय कुराहरू कस्ता छन् भने म नै वाक्क भइसकें, काठमाडौंमा चाबहिलदेखि साँखुसम्मको बाटो अहिलेसम्म अलपत्र छ । किन ? माधव नेपालको निर्वाचन क्षेत्र भएको हुनाले ? केपी ओलीले त्यो काम गर्न नदिएको हो कि बिगार्न लगाएको हो कि थाहा छैन । वाग्मतीको पुलको शिलान्यास मैले गरें । माधव नेपालको जिल्लाको भएकाले काम फिटिक्कै केही पनि भएको थिएन । जति बन्यो त्यत्तिकै अधुरो छोडियो । फेरि सरकार फेर्नेबित्तिकै बल्ल ठेक्कामा गएको छ । काम अगाडि बढेको छ । यस्तो विरोधी सरकारहरू, बदला पूर्वाग्रही भावना भएकाहरू सरकारमा भएपछि गरेन भनेर गुनासो गर्छन् । त्यसको आलोचना विरोध नगरेको भए, खबरदारी नगरेको भए को जिम्मेवार हुन्थ्यो ? यो प्रवृत्तिको विरोधमा संसद्मा मैले गीत गाएको छु ? आवाज बुलन्द गरेको छु । मैले भावना जगाउन खोजेको छु । यो देशमा किन असल मान्छे जन्मिन्नन्, असल मान्छे चाहियो भनेको छु । म, त्यो असल मानिसको खोजी गर्दै छु ।

तपाईको भनाइ छ कि बुथ कब्जा गरेर तपाईंलाई २०६४ को संसदीय निर्वाचनमा हराइयो माओवादीकै पहलमा । पछि यहाँ प्रधानमन्त्री भइसकेपछि देशभरिबाट कार्यकर्ता जम्मा गरेर सिंहदरबार घेराबन्दी गरियो । त्यसलाई तह लगाको भनेर पनि गर्व गर्दै आउनुभएको छ । त्यो पृष्ठभूमि भएको हिसाबले प्रचण्डसँग अहिले जुन राजनीतिक निकटता र जुन सहकार्य छ, त्यसको जग कति बलियो भन्नेमा शंका उठ्यो । यो कति अगाडि जाला ?

प्रचण्डजीसँग मेरो सम्बन्ध धेरै पुरानो हो । मलाई लाग्छ ०३८ सालपछि होला, पञ्चायतविरोधी आन्दोलन अघि बढाउन हामीले विद्यार्थी/शिक्षक संगठनहरूलाई संयुक्त रूपमा सञ्चालन गर्ने क्रममा काठमाडौंको जिम्मेवारीमा थिएँ । उहाँ पनि काठमाडौंको जिम्मेवारीमा हुनुहुन्थ्यो । त्यो भूमिगत कालको सम्बन्ध हो । उहाँले युद्ध सुरु गर्नुभयो र तर शान्ति प्रक्रियामा आउने सन्दर्भमा उहाँहरूले मसँग सम्बन्ध राख्नुभयो । फोन गर्नुभयो र हामी सिलिगुडी गएका थियौं । सिलिगुडी गइसकेपछि सिलसिला अगाडि बढ्यो । पटना, गोरखपुर दिल्लीमा गइयो, पछि लखनउ गइयो । लखनउमा भएको कुराकानी अत्यन्तै महत्त्वपूर्ण थियो । पछि गिरिजाबाबुलाई मैले नै जाऔं भनें । मैले दबाब दिएर दिल्लीमा १२ बुँदे सहमति गरियो । मैले नै बोलाएको हो । अझ मैले त तेस्रो मुलुक लान खोजेको थिएँ ।

वार्ताका लागि स्विट्जरल्यान्ड, फिलिपिन्स, बैंकक सम्भव छ कि भनेर पहल गरेको थिएँ । फिलिपिन्सको सभामुख र थाइल्यान्डको प्रधानमन्त्रीसँग कुरा गरेको थिएँ । तर यहाँबाट हवाईजहाजमा उडेर जानुपर्ने । हामीलाई त कुनै गाह्रो थिएन, प्रचण्डजीलाई कसरी लानु ? त्यो भएको हुनाले इन्डियाका सीपीआई (एम) को नेतासँग कुरा गरेर केरलामा कुरा गरौं भनेर मिलाउन खोजेको थिएँ । पछि दिल्लीमा भयो । मेरो विश्लेषण के छ भने व्यक्तिगत रूपमा प्रचण्डजी कपटी, बदमास, बेइमान मान्छे होइन । उहाँ इजी मान्छे हो । एउटा मान्यता बोकिसकेपछि त्यो मान्यतामा चल्ने मान्छे हो । त्यतिबेला वामदेवजीले भन्नुभएको थियो, तपाईं प्रधानमन्त्री रहुन्जेल प्रचण्ड र तपाईंको सम्बन्ध सुधार हुँदैन, उहाँले तपाईंलाई स्वीकार्नु हुन्न भन्नुभएको थियो । मैले भनेको थिएँ– हेर्दै जानुहोला, प्रचण्डजीलाई बालुवाटारमा बोलाएर संवाद गरिदिन्छु । संवाद मात्रै होइन, सँगसँगै खाना खाएर फोटो खिचेर बाहिर आएको थाहा छ होला नि ।

प्रचण्डको चस्मा नै छुटेको होइन ?

चस्मा नै छुटेको थाहा छ होला नि । त्यसैले राजनीतिक व्यक्तिहरूले संवाद र सम्बन्ध राख्नुपर्छ । व्यक्तिगत सम्बन्ध ठूलो हुन्छ । प्रचण्डजीले नोकरसँग वार्ता गर्दिनँ भन्दा म पनि देखाइदिन्छु भनेर लागिनँ । प्रचण्डजीलाई मैले भनेको थिएँ, यो कुर्सीमा को बसेको छ थाहा छ कि छैन ? अमरसिंह थापा बसेको कुर्सीमा बसेको छु । कसलाई कसरी तह लगाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ भनेर मैले जवाफ दिएको थिएँ । उहाँलाई कत्तिको याद होला ? मलाई थाहा भएन । अझ अनमिन यहाँबाट फिर्ता जानुपर्‍यो भन्दा मलाई यूएनको महासचिवले भने ‘यू वील बी रेस्पोन्सिबल फर एनी प्रोसिडिङ इन नेपाल’ । मैले जवाफ दिएको थिएँ ‘यू डन्ट नो नेपाल, यू नो नेपाल एन्ड द माओइस्ट पार्टी थ्री इयर्स वन्ली, बट आई नो अल दिस पिपुल फर लास्ट थर्टी इयर्स । हाउ टू सल्भ द प्रोब्लम अफ नेपाल, वी नो बेटर ।’ मैले नर्बेका परराष्ट्रमन्त्रीमार्फत यूएनका महासचिवलाई भनेको थिएँ । नेपालका पार्टीहरूले त अनमिन जान हुन्नँ भनेर विज्ञप्ति जारी गरेका थिए । तर मैले देखिसकेको थिएँ कि अनमिन यहाँ रहेसम्म नेपालमा यो माओवादी समस्या लम्बिएको लम्बियै हुन्छ । यसलाई पठाउनैपर्ने हुन्छ । उनीहरूको ध्यानै माओवादीलाई कसरी साथ दिने भन्नेमा थियो । यूएनको रोल राम्रो थिएन । राम्रोलाई राम्रो भन्ने, कमजोरीलाई कमजोरी भन्ने हो ।

तपाईंले राजनीतिक विचार फरक भए पनि व्यक्तिगत सम्बन्ध हुनुपर्छ भन्नुभयो । केपी ओलीसँग सम्बन्ध सुधारको प्रयास गर्नुभएको छैन ?

छैन । हिन्दीमा एउटा गीत छ नि । हम मिलके क्या करेङ्गे, जब दिल हि टुटगया ....। यसमा मैले धेरै के व्याख्या गर्नु र ? जो मान्छे तुच्छ तहसम्म गएर जे पायो, त्यही बोल्न सक्छ भने त्यस्तो मान्छेको सामु नझुक्नु भन्ने लाग्छ । त्यसो त मेरा दुईवटा स्वभाव छन् । म अत्यन्तै लचिलो पनि हुन सक्छु । तर, पर्दाखेरि म चट्टानी अडानका साथ उभिन पनि सक्छु । जस्तोसुकै चुनौतीबीच पनि अगाडि बढ्न सक्छु । जोसुकै होस्, जस्तोसुकै शक्ति होस् । किनभने एउटा भनाइ छ नि नबिराउनु, नडराउनु । म स्वाभिमानी मान्छे हो । म अरूको पनि स्वाभिमानको सम्मान गर्छु । जनताको स्वाभिमानको पनि ख्याल गर्ने मान्छे हो म । कसैले कटु बचन बोल्छ भने कति पचाउने ? कति नपचाउने ? धेरै त म पचाइदिन्छु । ज्ञानेन्द्रसँग पनि मेरो त्यस्तै परेको थियो । जब ज्ञानेन्द्रले भनेको एउटा शब्दले मलाई पोल्यो, त्यसपछि मैले एक्लै २० मिनेट बोलेर हिँडेको थिएँ ।

तत्कालीन राजा ज्ञानेन्द्रको शब्द के थियो ?

मलाई ‘पोलिटिकल एनिमल’ भनेका थिए । राजनीतिक जनावर भनिसकेपछि त्यसले मलाई पोल्यो । मैले पनि तुरुन्तै जवाफ दिएको थिएँ । उहाँको राजनीतिक नेताहरू, पार्टीहरूप्रति एकदमै नकारात्मक धारणा थियो । मान्छे हेरेर व्यवहार गर्नु ठीकै थियो, तर आमरूपमा सबैलाई गाली गर्नु राम्रो होइन । म अलि स्वाभिमानी छु, कसैलाई पनि टेर्दिनँ । तर ‘पोलिटिकल एनिमल वा सोसल एनिमल’ भन्ने त चलन नै छ नि ।

छ, तर मलाई त्यो बेला पोल्यो । किनकि उनको बोलीमा दम्भ थियो, राजाको छोरा भएकोमा दम्भ । राजपरिवारको दम्भ हो । त्यस्तो स्वभाव भएका मान्छेलाई हामीले किन टेर्ने ? म आफैं कम्युनिस्ट, म आफूलाई राजाको प्रजा नै ठान्दिनथें । मैले बिराएँ भने, मैले अरूसँग हात पसार्न थालें भने तब न मेरो शिर निहुरिन्छ, निहुरिनुपर्छ । मैले केही बिराएको छैन, किन डराउने ?

तर प्रचण्डसँगको तपाईंको सम्बन्धको उतारचढावपूर्ण छ, त्यसको अर्को परीक्षा यो निर्वाचनपछि हुन्छ भन्ने अनुमान छ । चुनावपछि बन्ने सरकारमा नेतृत्व कसले गर्ने भन्ने ठूलो प्रश्न छ । एकातिर ठूलो दलको स्वाभाविक रूपमा कांग्रेसले दाबी गर्ला, प्रचण्डको पनि महत्त्वाकांक्षा प्रकट भइसकेको छ । यी विषय आउँदै गर्दा गठबन्धनका नेताहरू र आफ्नोसमेत महत्त्वाकांक्षाको व्यवस्था गर्नेमा कस्तो समस्या देख्नुहुन्छ । त्यो परिदृश्य कस्तो देख्नुहुन्छ ?

मेरो व्यक्तिगत महत्त्वाकांक्षा केही पनि छैन । म पदकै निम्ति हिरिक्कै हुने मान्छे होइन । म तपाईंलाई बताइदिन्छु, ०६३ सालको वैशाखमा जब राजाको शासन हामीले ढाल्यौं, तब प्रधानमन्त्री बन्ने पालो मेरो थियो । पाँच दलको गठबन्धनमा गिरिजाबाबुले प्रस्ताव राख्नुभयो, सर्वसम्मतले मलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । तर, मैले आफैं नै गिरिजाबाबुलाई प्रधानमन्त्री बन्न अफर गरेको हुँ । चार दललाई मनाएर उहाँलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे मै हुँ । त्यतिबेलाका साक्षीहरू अहिले पनि जिउँदै हुनुहुन्छ त । शेरबहादुरजी पनि त्यहीं हुनुहुन्थ्यो । गिरिजाबाबुले यो गुन हो माधवबाबु, म तिर्छु भन्नुभएको थियो, पछि फेरि उहाँले नै मलाई अफर गर्नुभयो, र म प्रधानमन्त्री भएँ । तर, त्यो बेला पनि मलाई नै अफर गर्नुका कारण छन्, पहिलो त्यो बेला जुन संकट थियो, त्यसको समाधान गर्न सक्ने खुबी भएको नेता म थिएँ । दोस्रो प्रचण्डलाई पनि मिलाउनुपर्ने । जब कि त्यो बेला म पार्टीको अध्यक्ष पनि थिइनँ ।

यसपालि पनि तपाईंहरू मिलेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो । यो चुनावपछि त्यो गुन तिर्नुपर्‍यो भनेर अझ बढी प्रचण्डले भन्ने अवस्था छ कि छैन ?

गुन तिर्नैपर्छ भनेर गीत गाएर बस्ने कुरा होइन । मिलेर गर्ने हो । अहिले प्रधानमन्त्रीका निम्ति टाउको फोडाफोड गर्ने होइन, यो मुलुकमा फेरि प्रतिगमनकारी शक्तिहरू हाबी होलान् कि भन्ने डर हो ।

नेताहरूको, तपाईंका सहकर्मीहरूको मनस्थिति त्यस्तो देख्नुहुन्छ ? यसपछि फेरि तानातान नै हुन्छ कि ?

त्यस्तो त मलाई लाग्दैन । तर, हेर्दै जाऔं ।

अहिले त तपाईंहरू एउटै गठबन्धनमा हुनुहुन्छ । तर, चुनावपछि एमाले र माओवादीको गठबन्धन बन्ने, ओली र प्रचण्ड मिल्ने सम्भावना छ कि छैन ?

अहिले नै त त्यस्तो केही देखिएको छैन । तर, केपी ओलीमा सुधार भयो भने त हुन पनि सक्ला । केपी ओलीमा सुधार भएन भने धोका खाने स्थिति मात्रै बन्छ ।

केपी ओली सुध्रिए एकीकरण वा सहकार्य हुन सक्छ भन्नुभयो । उहाँ सुध्रिने भनेको त माधव नेपाल वा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको अफर गर्ने त होला नि ?

विगतमा यति धेरै काण्डहरू भएका छन् । ती सबै सुनियोजित ढंगले गरेको देखिएको छ । त्यसबारेमा के होला ओलीको आफ्नै सोचाइ ? विघटन गर्ने कुरा ठीक हो ? कुरा त धेरै पो छन् त । त्यो व्यवहार, प्रवृत्तिमा सुधार हुने कुनै लक्षण देखिएको छ र ?

यो निर्वाचनको परिणामपछि तपाईंहरूको आ–आफ्नै आकार स्पष्ट हुन्छ । अहिले त भर्खरै पार्टी विभाजनको कारण इगो पनि होला । तर, आगामी दिनमा तपाईंहरू फेरि एमालेसँग एकीकरण गर्ने सम्भावना कति छ ?

फेरि एमालेसँग त म भन्न सक्दिनँ । तर, कम्युनिस्ट पार्टीहरूचाहिँ साना–साना टुक्रामा बाँडिएको हुनाले सबैलाई समेटेर लैजाने र एउटै कम्युनिस्ट पार्टी बनाउने कुरामा जुट्नुपर्ने आवश्यक छ । यो चुनौती जसले पायो, त्यसले पार लगाउन सक्दैन । मचाहिँ कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने पक्षमा छु र कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्ने पक्षमा छु ।

तपाईं जुन बिन्दुमा हुनुहुन्छ, त्यो बिन्दुबाट एकीकृतको अभियान सुरु भयो भने एमाले नजिक छ कि माओवादी ?

विचारको विषयमा पहिले हामीले धारणा बनाउनुपर्छ । त्यो विचारमा सहमति भयो भने पार्टीहरूबीचमा एकता हुँदै जान्छ । माओवादी केन्द्रको जुन पुरानो विचार हो, त्यो पुरानो विचार भनेको माओवाद । त्यो माओवादलाई छोडेर हामीले नेकपा बनाएका थियौं । त्यसैले भोलि पनि माओवादीसँग एकताको वैचारिक आधार बन्छ । यदि निर्वाचन आयोगको फैसला अलिक अघि भइदिएको भए नेकपाको दुई तिहाइ आज हामीसँग हुने थियो । केपी ओलीसँग एक तिहाइ मात्रै हुन्थ्यो । तर, त्यो भएन । अदालतबाट विचित्रको फैसला आयो । तीन वर्षपहिले एकताबद्ध भइसकेको ठाउँबाट फेरि पुरानै ठाउँ फर्क भनेर आदेश आयो । हामी पछाडि फर्किनुपर्ने स्थिति बन्यो । तर पनि माओवादीसँग फेरि एकता बन्न सक्ने बाटो खुला छ ।

तपाईंले जीवनको महत्त्वपूर्ण समय ठूलो पार्टीको नेतृत्व गरेर बिताउनुभयो । अहिले तपाईंको पार्टी २० सिटमा मात्रै उम्मेदवारी दिने अवस्थामा पुगेको छ । त्यसमध्ये पनि कति सिटचाहिँ जितिन्छ भन्ने आन्तरिक मूल्यांकन छ ।

हामीले २१ सिटमा उम्मेदवारी दिएका हौं । एक सिटको उम्मेदवारी खारेज भयो । त्यसमा हामी सबै ठाउँमा जित्छौं, किनभने गठबन्धन गर्दा जित्ने ठाउँमा मात्रै उम्मेदवार उठाएका छौं । यो संख्यामा तलमाथि हुँदैन ।

तर, समानुपातिकमा त तपाईंहरूले ‘थ्रेसहोल्ड’ कटाउन पनि गाह्रो छ भन्ने मान्छेहरूको आकलन छ नि ?

स्थानीय तहको चुनावका बेलामा हामीले कति मत प्राप्त गरेका थियौं भन्ने पनि हेर्नुपर्छ । निर्वाचन आयोगले हामीले साढे तीन लाख मत पाएको भनिदियो, त्यो मात्रै हेर्दा पनि ‘थ्रेसहोल्ड’ त कट्यो । निर्वाचन आयोगको अर्को तथ्यांकले साढे चार लाख भनेको थियो । हामीले निकालेको तथ्यांक हेर्ने हो भने हामीले ९ लाख मत पाएका हौं । हाम्रो जहाँ उम्मेदवार थिए, त्यसको आधारमा हामीले मत गनेका छौं । मेयर उठाएको ठाउँमा उनको, उपमेयर उठेको ठाउँमा उनको र दुवै नभएको ठाउँमा वडाध्यक्षको मत जोडेर हेर्दा त्यो परिणाम देखिन्छ । फेरि हामीले २८ प्रतिशत ठाउँमा मात्रै उम्मेदवार उठाएका हौं, ७२ प्रतिशत ठाउँमा त हामीले उम्मेदवार नै उठाएनौं । त्यति थोरै ठाउँमा उम्मेदवार उठाउँदा पनि साढे नौ लाख मत आएको छ भनेपछि त्यो ‘थ्रेसहोल्ड’ कटेको हो कि होइन ? त्यसो हुनाले स्थानीय तहको चुनावमा नै हामीले त्यत्रो मत ल्यायौं भने अहिले त २० सिट माथि नै छ । प्रदेशसभामा ६० सिटमा उम्मेदवार छन् । देशभर समानुपातिक उम्मेदवारले मत मागिरहेका छन् । त्यसैले ‘थ्रेसहोल्ड’ पार गर्नु कुनै गाह्रो छैन ।

सहयोगी दलहरूको सिट कति आउँछ ?

मैले हेर्दा खेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ । दोस्रोमा माओवादी केन्द्र आउने सम्भावना छ । तेस्रोमा एमाले आउँला, चौथोमा हामी आउँछौं । कांग्रेसको पनि बहुमत त पुग्दैन, तर सबैभन्दा ठूलो दल उही बन्छ । मैले संख्यात्मक रूपमा आकलन गरेको छैन ।

माओवादी केन्द्रभन्दा पनि एमाले सानो हुन्छ भन्ने आकलन सही होला र ?

हुन त एमालेका नेताहरूले माओवादीभन्दा ठूलो हुन्छौं भनिरहेका छन् । हेरौंला । मैले ठूलो हुन्छ भन्दिएर उहाँहरूलाई खुसी मिल्छ भने म पनि भनिदिउँला । तर, उहाँहरूको लक्षण त राम्रो देखिएको छैन । किनभने हिजो सरकारमा हुँदा जति बदमासी भएको छ, यो सबै हेर्दा एमालेको स्थिति धेरै कमजोर हो भन्ने लाग्छ ।

अन्तिममा, ०७० सालको निर्वाचनमा रौतहट र काठमाडौंबाट निर्वाचित हुनुभएको थियो । त्यो बेला कान्तिपुरले नै तपाईंलाई सोधेको थियो– काठमाडौं छोड्नुहुन्छ कि रौतहट भने । तपाईंले प्रेमिका छोड्ने कि श्रीमती, यो अप्ठ्यारो छ भन्नुभएको थियो । तपाईंले प्रयोग गर्नुभएको शब्दावलीलाई ॅसब्सक्राइब’ त गर्न सकिन्नँ । तर जान्न मन के लाग्यो भने तपार्इं ०७४ मा रौतहट आउनुभएन, यसपालि किन आउनुभयो ?

०७० मा दुई ठाउँबाट उम्मेदवारी दिन मिल्ने स्थिति थियो, दुवैतिर जितें । ०७४ मा एक ठाउँबाट मात्रै उम्मेदवार बन्न मिल्ने थियो । साथीहरूले तपाईं काठमाडौंबाट उठ्नुस् भन्नुभयो । मैले पनि काठमाडौं–२ नै रोजें । तर, त्यसको मतलब रौतहट छोडेको थिइनँ । यस पटक म काठमाडौंभन्दा रौतहटबाट मलाई चर्को दबाब थियो, त्यसमाथि स्थानीय तहको निर्वाचनको परिणामले पनि मलाई यहाँ तुलनात्मक रूपमा अन्यत्रभन्दा अनुकूल रहेको देखायो । हुन त मलाई काठमाडौंमा पनि कांग्रेस र माओवादी दुवै पार्टीका नेताहरूले भन्नुभएकै हो । यस पटक मलाई रौतहटकै जनताको मायाले तान्यो, म यतै आएँ ।

प्रकाशित : कार्तिक २८, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

यूएईविरुद्ध अर्जुन र हरिशंकरको डेब्यु

विनोद पाण्डे

काठमाडौँ — नेपालले यूएईसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस जितेर फिल्डिङ रोजेको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुर टस जितेपछि यूएईलाई ब्याटिङका लागि निम्त्याएका हुन् ।

नेपालले अर्जुन साउद र हरिशंकर शाहलाई डेब्यु गर्न दिएको छ । नेपालले सेप्टेम्बरमा केन्या भ्रमण गर्दा अर्जुनले ३ एकदिवसीय खेल खेले पनि एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो पटक खेल्न लागेका हुन् । हरिशंकरले राष्ट्रिय टोलीबाट कुनै पनि संरचनामा पहिला खेल खेल्न लागेका हुन् ।

रोहितको नेपालका कप्तानको रुपमा एकदिवसीय अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो । नेपाल क्रिकेट संघले चार दिनअघि उनलाई कप्तान बनाउने निर्णय गरेको थियो । नेपालबाट यूएईविरुद्ध रोहित, अर्जुन, हरिशंकरसहित ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, गुलशन झा, कुशल भुर्तेल, ललितनारायण राजवंशी खेलिरहेका छन् ।

आरिफ शेख, कमलसिंह ऐरी, भिम सार्की, सागर ढकाल र मोहम्मद आदिल आलम बेन्चमा रहेका छन् । यूएई पनि नयाँ कप्तानका साथ नेपालविरुद्ध खेलिरहेको छ । सी रिजवानले यूएईको एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानको रुपमा पहिलो खेल खेलिरहेका छन् ।

रिजवानकै कप्तानीमा यूएईले हालै अस्ट्रेलियामा ट्वान्टी २० विश्वकप खेलेको थियो । डिसेम्बर १ देखि १० सम्म नामिबियामा हुने नामिबिया र स्कटल्यान्डसम्मिलित विश्वकप लिग २ का लागि नेपालले यो खेल तयारीको रुपमा हेरेको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×