२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अध्यक्ष दाहालले सभामुख छोड्ने कुनै संकेत गर्नु भएको छैन : नेता सापकोटा 

काठमाडौँ — संसदको हिउँदे अधिवेशनमा सभामुखको निर्वाचन पहिलो प्रमुख एजेन्डा बन्ने भएको छ । सभामुख पदका लागि संसदमा बहुमतप्राप्त दल नेपाल कम्युनिस्ट पार्टीमा तीन जनाको नाम चर्चामा छ । यसमा पूर्वएमाले र पूर्वमाओवादी गरी दुई धारका नेता रहेका छन् । पूर्वएमालेबाट सुवासचन्द्र नेम्वाङ र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सभामुखमा दाबी गरिरहेका छन् भने पूर्वमाओवादीबाट नेता अग्नी सापकोटा ।

अध्यक्ष दाहालले सभामुख छोड्ने कुनै संकेत गर्नु भएको छैन : नेता सापकोटा 

यसै चर्चाकाबीच सभामुख चयनको सन्दर्भमा नेकपाका नेता अग्नी सापकोटासँग इकान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानी :

नेकपाले सभामुखको उम्मेदवार कहिलेसम्म टुंगो लगाउँछ ?

सभामुख नेकपाको हुने सुनिश्चित छ । पुस ४ गते संसद आह्वान भएको छ । सम्भवतः त्यो दिन नै सभामुखको निर्वाचनको कार्य तालिका प्रकाशित हुन्छ । त्यसपछि निर्वाचन समिति गठन भएर तालिका सार्वजनिक हुन्छ । त्यसैअनुसार अबको एक हप्तामा सभामुखको टुंगो लाग्छ ।

अबको एक हप्ताभित्र त सभामुख चयन नै भइसक्ला, पार्टीले उम्मेदवार टुंगोचाहिँ कहिलेसम्म लगाउँछ ?

पार्टीको अहिले स्थायी कमिटी बैठक चलिरहेको छ । स्थायी कमिटीमा छलफल चल्न पनि सक्छ । मुख्य कुरा स्थायी कमिटी, सचिवालय बैठकका कुरा सुनेर दुवै अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल) बीच हुने छलफलबाट निर्णय होला ।

स्थायी कमिटी बैठकमा पनि सभामुख चयनबारे छलफल भएको हो ?

सचिवालय बैठकमा हालसम्म अध्यक्षबाट प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि नै छलफल चलिरहेको छ । त्यसका अतिरिक्त सीमा समस्या समाधान र उपचुनावको समीक्षाको बारेमा तथा विधान संशोधनको बारेमा कुरा उठेको छ । आजसम्मको छलफल अध्यक्षको प्रतिवेदनमाथि नै केन्द्रित भएको छ । सभामुखबारे कुरा उठेको छैन ।

सभामुखका लागि पार्टीभित्र तीनजना बीच प्रतिस्पर्धा चलिरहेको देखिन्छ । तर, तपाईंले सार्वजनिक रूपमा इच्छा जाहेर गर्नुभएको छैन, किन ?

सभामुखका लागि पार्टीमा एक से एक योग्य सांसद हुनुहुन्छ । कसैले पनि 'म हुनैपर्छ' भनेर दाबी गरेको रूपमा मैले बुझेको छैन । लामो अनुभव भएको सांसदका रूपमा मिडिया र जनताले अड्कल काट्नु स्वाभाविक हो । यो व्यक्ति सभामुख भयो भने प्रणाली ठीक बस्छ भन्ने विश्वासका आधारमा कुरा आउनु राम्रै हो । जनस्तर, बौद्धिकस्तर र मिडियाबाट पनि नाम चर्चामा आइरहेको छ ।

हाम्रो पार्टी विशाल छ । जनताले दुई तिहाइ बहुमत दिएको छ । संसदीय व्यवस्थाबाट खारिएका अथवा २०६४ को परिवर्तनपछिका तीन वटा निर्वाचनमा प्राय नेता निर्वाचित भएर आउनुभएको छ । त्यसैले सभामुखका लागि अब्बल नेताहरू हुनुहुन्छ । मैले आफूलाई दाबेदारको रूपमा प्रस्तुत गरेको त छैन । तर आम चर्चामा नाम आइरहेको कुरा साँचो हो ।

सभामुखलाई लिएर नेकपामा पूर्वएमाले र पूर्वमाओवादी दुई धार छन् । तपाईंलाई पूर्वएमालेको पनि समर्थन छ कि पूर्वमाओवादीको मात्रै हो ?

अहिले मिडियामा जति चर्चा परिचर्चा बाहिर भइरहेको छ त्यस्तो चर्चा पार्टीका नेताहरू र सचिवालयमा भइरहेको छैन । दुवै अध्यक्षका बीचमा पनि यो विषयमा ठोस र मूर्त रूपमा 'आज सभामुखको विषयमा छलफल/निर्णय गर्ने' भन्ने भएको छैन ।

सभामुख कृष्णबहादुर महरा दुर्घटनामा परेको हुनाले पनि यो पदमा चासो बढेको हो । पार्टीको आन्तरिक तहमा भन्दा पनि बाह्य क्षेत्रमा अनुमान र अड्कलबाजी भएको हो ।

यसबारे कतिपय मिडियामा कुरा आएको देखेर उदेक लाग्छ । त्यो के भने पार्टी भित्र कुरा भएको छैन त्यहाँ भने फलानो निश्चित भयो भनेर नाम आउँछ । सभामुखको नाम टुंगियो, सहमति भयो, ग्रिन सिग्नल प्राप्त भयो भन्ने जस्ता कुराहरू आइरहेका छन् । पार्टीमा भने तपाईंसँग कुरा गरिरहेको क्षणसम्म सभामुखका विषयमा कुनै प्रकारको छलफल भएको छैन । नेताहरूका बीचमा अनौपचारिक छलफल भएको भए त्यो म जान्दिनँ तर आधिकारिक छलफल भएको छैन ।

सभामुखका प्रतिस्पर्धी भनेर चर्चामा रहेका व्यक्तिगत विषयमा पनि चर्चा भइरहेका छन् जसमा तपाईंको युद्धकालीन मुद्दाबारे कुरा आएका छन्, यसमा केही भन्नु छ ?

कसैले केही कुरा उठाउन कोसिस गरिरहेका छन् । मेरो सन्दर्भमा २०६४ सालको निर्वाचनको बेला पनि प्रश्न उठाउने कोसिस भएको थियो । ती प्रश्नहरूको निरूपण पहिल्यै भइसकेको छ । त्यस कारण यी प्रश्न उठाइरहनुको अर्थ र औचित्य छैन ।

पूर्वमाओवादीको भागमा परेको सभामुख एक मात्र संवैधानिक पद हो, अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी भूमिका पाएपछि त्यो छोड्नुहुन्छ कि भन्ने अड्कल गर्न थालिएको छ त ?


मैले पनि यस्ता कुरा सुनेको छु । तर प्रस्ट रूपमा के भन्छु भने त्यो बेलामा सभामुख छोड्ने कुनै प्रकारको संकेत पनि गर्नुभएको छैन । छोड्ने कुरा त धेरै टाढा हो । अहिले छोड्ने-नछोड्ने प्रसंग पनि उठेको छैन । फेरि त्यति बेला नै कमरेड प्रचण्ड कार्यकारी अध्यक्ष हुने र आलोपालो गर्दा अस्थिरताको सन्देश जाने भएकाले कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार चल्छ भनिएको छ । यो निर्णय भएको बाहेक सभामुखको सन्दर्भमा आफैँले मान्छेहरूले कुरा बनाएर प्रचार गरेकाबाहेक अध्यक्ष प्रचण्डले त्यस सन्दर्भमा कुनै संकेत गर्नुभएको छैन ।


सभामुखमा सुवासचन्द्र नेम्वाङ नै सबैभन्दा उपयुक्त पात्र हो भन्ने चर्चा चलेको छ नि ?

हाम्रो पार्टीबाट सभामुख चलाउनका लागि संसदमा एक से एक नेताहरू हुनुहुन्छ । अर्को कुरा उहाँ अनुभवी, योग्य, सक्षम, समन्वयकारी व्यक्तित्व हुनुहुन्छ भन्नेमा मेरो विमति छैन । उहाँप्रति मेरो श्रदा र सम्मान छ । उहाँ हुँदा पनि राम्रो छ । तर, कुरा यसो पनि हो कि उहाँले त कुशलतापूर्वक जिम्मेवारी बहन गरिसक्नु भएको छ । यस्तो अवस्थामा नयाँलाई अवसर दिने हो । अरूले पनि आफ्नो योग्यता देखाउने मौका त पाउँछन् नि । अन्तिममा यो सबै पार्टीको निर्णयमा भर पर्ने कुरा हो । अरू पार्टीमा पनि पार्टीकै निर्णय शिरोपर हुन्छ । अझ हाम्रो कम्युनिस्ट पार्टीमा त फलामे अनुशासन हुन्छ ।

जहाँसम्म मेरो योग्यता र क्षमताको कुरा हुन्छ त्यसमा त पहिला नेपाल राष्ट्रिय शिक्षक महासंघको महासचिव भएर पनि कार्यकाल सफलतापूर्वक पूरा गरेको हो । यसै प्रक्रियाको कुरा गर्नुहुन्छ भने शान्ति प्रक्रियाको पहिलो वार्ता २०५८ सालमा कृष्णबहादुर महराको संयोजकत्वमा टोपबहादुर रायमाझी र म भएर संचालन गरेका थियौँ ।

उहाँले (नेम्वाङले) आफ्नो योग्यता, क्षमता देखाइसक्नुभएको छ र चर्चित हुनुहुन्छ । त्यसो हुँदाहुँदै पनि सभामुखबारे पार्टीले निर्णय गर्ने कुरा हो, हामीले भन्ने कुरा होइन ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आफूले नगरेको गल्तीको सजाय दिइँदै छ, यस्तो गर्न मिल्दैन भनिरहनु भएको छ । उहाँलाई अन्यायमा पारेर नेकपाले सभामुख अरूलाई बनाउन मिल्छ ?

अन्याय र न्यायको कुरा होइन । उहाँलाई अरूले गरेको गल्तीमा सजाय दिने कुरा पनि होइन । कुरा कहाँनेर गाँठो फुकाउनुपर्ने हुन्छ भने पहिला हामी वाम गठबन्धन बनाएर चुनावमा गयौँ । सभामुख चयन गर्ने बेलामा अलग-अलग थियौँ । त्यसो हुँदा तत्कालीन माओवादीबाट कृष्णबहादुर महरा सभामुख हुनुभयो । पूर्वएमालेबाट तुम्बाहाङ्फे उपसभामुख हुनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी जसको आफ्नै मात्रै दुई तिहाइ बहुमत छ । उसले सदनमा अरूलाई नेतृत्व दिने कुरा त हुँदैन । फरक फरक पार्टीको सभामुख र उपसभामुख हुने भन्ने संवैधानिक व्यवस्थाको कुरा कांग्रेसले उठाइरहेको छ । त्यसका लागि उपसभामुखले राजीनामा गर्नुपर्छ । त्यसपछि पार्टीले समग्र स्थितिको विचार गरेर जसको नाममा पनि निर्णय गर्न सक्छ । अहिले हामीले 'यो र त्यो हुनैपर्छ' भनेर बालको खाल खिच्नुपर्छ भन्ने होइन ।

तपाईंले सभामुखको जिम्मेवारी पाउनुभयो भने लिन तयार हुनुहुन्छ ?

म संसदमा पनि छु र पार्टीको पनि स्थायी कमिटी जस्तो नेतृत्व तहमा पनि छु । पार्टीले उचित सम्झेर निर्णय गर्छ भने त्यो मलाई अस्वीकार हुन्छ भन्ने कुरा भएन । फेरि दुवै धार (पूर्वएमाले र पूर्वमाओवादी) तिर अब्बल नेता हुनुहुन्छ ।

के पनि सुनिन्छ भन्दाखेरि 'पार्टी एउटै भइसकेको हुनाले अब पूर्वएमाले र पूर्वमाओवादी भनिरहन आवश्यक छैन', तर हामी पार्टी एकताको सन्दर्भमा संक्रमण कालको अवस्थामा नै छौँ । संक्रमणकालमै भएको अवस्था भएकाले सीमित नेताहरूको निर्णयले सबै कुरा निर्धारण नगरी समग्र धाराका सदस्यहरूको मनोविज्ञानको कुरा हुन्छ ।

भर्खर स्थायी कमिटीमा एकताका बाँकी कामलाई पूर्णता दिन्छौँ भनिरहेका छौँ । समग्र एकताको मनोविज्ञान बुझ्ने कुरामा ध्यान दिनुपर्छ । त्यस कारण यो कुरामा दुई मत हुन सकिन्न कि पार्टीले जसको नाममा निर्णय गर्छ त्यो शिरोपर हुन्छ । तर, पार्टीले निर्णय गर्नुभन्दा पहिला समग्र मनोविज्ञान के छ भनेर हेर्नुपर्दछ । मैले भन्न खोजेको के भने औपचारिक कुरा त गर्न सकिन्छ तर 'रियल लाइफ'मा के छ त मनोविज्ञान भन्ने र सबैको मनोविज्ञानलाई समेटेर जाने हुँदा पार्टी एकीकृत र केन्द्रीकृत हुन्छ । त्यसले ठुला ठुला सफलता हासिल हुन्छ । त्यसैले औपचारिक तर्क नगरौँ ।

तपाईंले भनेजस्तै पार्टीको मनोविज्ञान दुई अध्यक्षले बुझ्नुहोला ?

उहाँहरूले बुझ्ने कुरामा त विवाद छैन । अहिले स्थायी कमिटी बैठक बसिरहेको छ । त्यहाँ पनि सुझाव सल्लाह आउलान् । सचिवालयमा छलफल चल्ला र त्यो कुरा पनि उहाँहरूले सुन्नुहोला । उहाँहरूबीचमै पनि बृहत् छलफल होला । त्यसपछि निष्कर्षमा पुग्नुहोला ।

भनेपछि सभामुखको उम्मेदवारको नाम अन्ततः दुई अध्यक्षले नै टुंगो लगाउनुहुन्छ ?

सचिवालयले पनि टुंगो लगाउन सक्छ । सचिवालयले दुई अध्यक्षलाई नै पनि जिम्मा दिन सक्नुहुन्छ । त्यसरी नै जान सक्छ । अन्तिममा जसरी भए पनि पार्टीको निर्णय सर्वोपरि र सर्वमान्य हुन्छ ।

प्रकाशित : मंसिर ३०, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?