२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पहिला फेब्रुअरीमा हुने प्रतियोगिताको प्लान गरौं, अरु पछि : कप्तान ज्ञानेन्द्र मल्ल

काठमाडौँ — पारस खड्का निरन्तर १० वर्षसम्म नेपालको कप्तान रहे । यस क्रममा नेपाली क्रिकेटले ठूलो छलाङ मार्‍यो । विश्व क्रिकेट लिगमा डिभिजन ५ मा रहेको नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली हो । यसबीचमा नेपालले डिभिजन ५, ४ र ३ को उपाधि उचाल्यो ।

पहिला फेब्रुअरीमा हुने प्रतियोगिताको प्लान गरौं, अरु पछि : कप्तान ज्ञानेन्द्र मल्ल

२०१४ मा त नेपालले विश्व ट्वान्टी–२० मै खेल्दै हङकङ र अफगानिस्तानमाथि विजय हात पार्‍यो । ट्वान्टी–२० विश्वकप खेलेको भन्दा अझ ठूलो महत्त्व छ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको ।

यी सबै यात्रामा टिम नेतृत्वमा ज्ञानेन्द्रको भूमिका उही थियो, उपकप्तान । पारसले कप्तानबाट दिएको राजीनामालाई धेरैले स्वाभाविक रूपमा अझै लिन सकेका छैनन् । यही अन्योलमा नेपालले नयाँ कप्तान छान्नुपर्ने थियो । नेपाली क्रिकेटका कप्तान परिवर्तनका पछिल्ला केही शृंखलामा स्वाभाविक रूपमा नयाँ कप्तान देखिएका थिए । जस्तो पवन अग्रवालपछि राजु खड्का, राजुपछि विनोद दास, विनोदपछि पारस कप्तान हुने लगभग तय जस्तै थियो । ज्ञानेन्द्र पनि पारसपछिका ‘नेचुरल सक्सेसर’ थिए ।

नेपाली क्रिकेट टोली पहिलाजस्तो अहिले छैन । टिममा धेरै मनमुटावहरू देखिएका छन् । त्यसैले एउटा समूह टिमभित्रको अरू खेलाडीलाई पनि कप्तान बनाउन लागिरहेको थियो । यही अन्योललाई चिर्दै क्यानले ज्ञानेन्द्रलाई जिम्मेवारी दिएको हो । कप्तान मल्लसँग क्रिकेटको सेरोफेरोमा रहेर नमिता दाहालले गरेको कुराकानी :

अहिलेसम्मको क्रिकेट यात्रालाई आफैंले विश्लेषण गर्दा कसरी गर्नुहुन्छ ?

क्रिकेटको यो यात्रा कहिल्यै नसोचेको कुरा थियो । क्रिकेट खेलाडी बन्छु कहिल्यै सोचेको थिइनँ । नेपालको कप्तान नै हुन्छु भनेर त झन् क्रिकेट खेल्न सुरु गरेपछि पनि सोचेकै थिइनँ । अहिले जे पाइरहेको छु सबै क्रिकेटकै कारणले पाइरहेको छु । क्रिकेट प्रति धेरै आभारी छु । मेरो जीवन नै पूरै क्रिकेटकै वरिपरि घुमेको छ । म आज जे छु क्रिकेट कै कारण छु ।

खेलाडीको जीवनमा धेरै उतारचढाव हुन्छ, तपाईंले के-कस्ता उतारचढावहरु सामना गर्नुभयो ?

स्वभाविक रुपले मेरो जीवनमा पनि उतारचढावहरु धेरै आए । कहिलेकाहीँ त क्रिकेट छोडेर बाहिर जाने कि भन्ने सम्म भयो । अष्ट्रेलिया जान डिपेन्डेन्टमा अप्लाइ पनि गरेको, जाने भन्ने थियो पछि भएन । भाग्यवश वा दुर्भाग्यवश भनौं यहाँसम्म आइपुगें । कहिले सोच्दा लाग्छ- जे हुन्छ राम्रो कै लागि हुन्छ भन्ने कुराचाँहि सत्य नै रहेछ ।

कुन सोचले विदेश छोडेर क्रिकेटतिर लाग्नुभयो ?

सुरुमा त क्रिकेटमा केही पनि थिएनन् । दयनीय अवस्था जस्तो नै थियो । क्रिकेटमा लागेर परिवारलाई मद्दत गर्छु भन्ने त परै जाओस् आफैंलाई समर्थन गर्न पनि मुस्किल थियो । परिवारको दबाब त नभनौं, हुन त अब उहाँहरुले पनि मेरो राम्रो कै लागि सोच्ने हो तर अब यहाँ बसेर केही भएन बाहिर जानु पर्छ भन्ने कुरा थियो । क्रिकेट छोडेर जाने मन त थिएन, तर जे होस् पछि फेरि क्रिकेटमै आए अहिले खुसी लाग्छ ।

जुन दिन स्कुलमा क्रिकेट खेलिरहनु भएको थियो, त्यो बेला यो दिनको कल्पना गर्नुभएको थियो ?

त्यो बेला स्कुलमा क्रिकेट खेल्ने भन्ने हुँदैन थियो । मैले घरहरुको चोक, बहाल, टोलमा, बाटोमा अनि टुडिखेलमा दाइहरुसँग गएर खेल्दा, सिक्दा क्रिकेट खेल्नै पर्ने नसा, हुन्छ नि भूत चढेको जस्तो भयो । त्यहीँबाट नै क्रिकेट सिकेको हो । त्यो बेला नेपाल टिम हुन्छ भन्ने थाहा थिएन । नेपाल टिमको विभिन्न छनोट प्रक्रियाहरु हुन्छन्, त्यहाँ पुग्छु भनेर सोचेकै थिइनँ ।

तपाईंको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सन् २००५ मा एसीसी यू-१५ खेल्दाको स्मरणीय पलहरु कसरी सम्झिनु हुन्छ ?

समय एकदमै छिटो जाँदो रहेछ । यसो हेर्दा लगभग १५ वर्ष भइसकेको छ । त्यो बेला एकदम नयाँ थियौं । नेपालको लागि केही गर्नुपर्छ, खेलेर जित्नुपर्छ भन्ने थियो । कसरी हुन्छ राम्रो गर्नुपर्छ भन्ने नै थियो । धेरै कुराहरु सिक्ने मौका पाँए । विदेश जाँदा क्रिकेट मात्रै नभएर अन्य विषयमा पनि धेरै कुराहरु जान्ने, सिक्ने मौका पाएँ ।

एकै वर्ष तीनवटा लिग यू-१५ , यू-१७ र यू-१९ खेल्नुभयो, कहिल्यै सोच्नु भएको थियो यस्तो होला भनेर ?

मैले कहिल्यै पनि सोचिनँ । म १५ मा आएको थिएँ , अब सिनियर टिममा जान्छु भन्ने कहिल्यै भएन । जहाँ थिएँ , त्यहींबाट राम्रो गर्छु भन्ने चाँहि थियो । यू-१५ पछि यू-१७ को छनोट भयो त्यस पछि पनि खेल्नु पर्छ भन्ने भयो । विस्तारै राम्रो गर्दै गएँ । कोचहरुले अरु सबैले छनोट गर्दै लैजानुभयो । तर म आफैंले चाँहि यस पछि यहाँ जान्छु भन्ने सोचेको थिइनँ ।

१० वर्ष उपकप्तान मात्रै रहनुभयो, कहिल्यै कप्तान बन्छु भन्ने महत्वकांक्षा पलाएन ?

त्यस्तो कहिल्यै पनि आएन । म उपकप्तान हुँदा, म भन्दा अगाडि पारस खड्का कप्तान हुनुहुन्थ्यो । राम्रो गरिरहनु भएको थियो, पूरै टिमले पनि राम्रो गरिरहेको थियो । त्यो बिचमा कहिल्यै पनि म कप्तान बन्छु या बन्नुपर्छ भन्ने भएन । कुनै नयाँ खेलाडी पृथु बाँस्कोटाहरु वा जति पनि योग्य नयाँ खेलाडीहरु थियो, उनीहरुले कप्तानी सम्हाल्छ की भन्ने आशा गरेको थिए । तर उपकप्तान हुँदा वा पारस कप्तान हुँदा कहिल्यै पनि सोच्नु परेन कि म कप्तान हुनुपर्छ वा म अगाडि हुनुपर्छ भनेर ।

पूर्व कप्तान पारस खड्काबाट के कस्ता कुराहरु सिक्नुभयो ?

उसको जुन कप्तानी सम्हाल्ने जुन सीप, कला थियो त्यसलाई पछ्याउन, त्यसलाई पूरा गर्न त गाह्रै छ । उसको कप्तानीमा हामीले जति पनि उपलब्धिहरु हाँसिल गरेका छौं त्यो एकदमै प्रशंसनीय छ । सबैलाइ समेटेर लिएर जाने, र उ आफैंं पनि एउटा उदाहरणीय व्यक्तिको रुपमा चिनिनु, उसको नेतृत्व क्षमता जसरी उसले आफूले आफूलाई अगाडि बढाउँछ । मलाई लाग्छ उसको त्यो बानीचाँहि हामी सबैले सिक्नुपर्छ जस्तो लाग्छ ।

कप्तान र उपकप्तानको बिचमा के फरक पाउनुभयो ?

उपकप्तान हुँदा र कप्तान हुँदाको फरक भनेकोचाँहि पहिला अप्रत्यक्ष रुपले जिम्मेवारीहरु बहन गरिन्थ्यो भने कप्तान भएपछि प्रत्यक्ष गर्नुपर्छ । अझ धेरै जिम्मेवारीहरु थपिन्छ । सबैको ‘सेन्ट्रल प्वाइन्ट’ भनम न । सबैजना टिमलाई मिलाएर लिएर जानेदेखि लिएर खेलाडीहरु पूरै टिमलाई कसरी लिएर जाने भन्ने अझै बढी सबै कुराहरुको ‘सेन्ट्रल प्वाइन्ट’ भएको कारण जिम्मेवारी बढी पाएको जस्तो लाग्छ ।

कत्तिको गाह्रो हुँदो रहेछ, कप्तानी सम्हाल्न ?

गाह्रो भन्दा पनि जिम्मेवारी हो । नेपाल टिमको लागि खेल्नु नै मेरो विचारमा ठूलो जिम्मेवारी हो । त्यसलाई गाह्रोको रुपमा भन्दा पनि जिम्मेवारीको हिसाबले लिनु पर्छ । यो कुराचाँहि सबैले बुझ्नुपर्छ जस्तो लाग्छ । अब सजिलो भन्ने त केही कुरा पनि हुँदैन । तर जुन जिम्मेवारी पाएको छु त्यसलाई लिएर धेरै खुसी छु ।

तपाईं आफ्नो खेल जीवनलाई लिएर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

खेल जीवनलाई लिएर, टिमको हिसाबले हेर्दा सन्तुष्ट नै छु । हामी यहाँसम्म आइपुग्यौं । तर आफ्नो नीजि रुपमा भन्नु पर्दा अझै राम्रो गर्न सक्ने सम्भावना छ । बितेका दिनहरुमा भन्दा अझ मैले राम्रो गर्न सक्थें जस्तो लाग्छ ।

भने पछि के-को कमी महसुस भयो त ?

नेपाललाई जिताउन अझ धेरै रन बनाउन सक्थे जस्तो लाग्छ । अझ बलिङ सुर्धान सक्थे होला, फिल्डिङमा राम्रो गर्न सक्थे होला जस्तो लाग्छ ।

अभ्यास नपुगेको हो त?

त्यस्तो होइन सायद, त्यो समयमा अनुभवको कमी , खेलप्रति अनुशासनको कमी, क्रिकेट सेन्सको कमीको कारणले त्यस्तो भएको जस्तो लाग्छ ।

धेरै खेलाडीले पर्याप्त सुविधा नपाएको देखिन्छ भने कोहीले भने खेलाडीलाई जति सुविधा दिए पनि नपुगेको आरोप लगाउँछन् । खासमा कुरा के हो ?

नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा सेवासुविधा जे पाइरहेको छ, क्रिकेटकै खेलाडीले मात्रै होइन अन्य खेलाडीको पनि सुविधा चाहिँ कम नै छ । अन्य देशको तुलनामा नेपालका खेलाडीहरुले पाएको सुविधा थोरै नै हो । खेलाडीलाई धेरै भयो थोरै भयो भन्दा पनि खेल क्षेत्र पनि एउटा करियर हो । यसमा पनि खेलाडीलाई आफ्नो खेल विकासका लागि, परिवारलाई सर्मथन गर्नको लागि एक निश्चित आर्थिक सहयोग हुनुपर्छ । धेरै थोरै भन्दा पनि पुग्ने गरी दिनु पर्छ । खेलाडीहरुलाई आर्थिक रुपमा पनि बलियो बनायो भने उनीहरुले खेलमा अझ आफ्नो 'बेष्ट' दिन सक्छ जस्तो मलाई लाग्छ ।

भने पछि पुग्ने जति छैन ?

हैन, पुग्ने जति छैन भनेर १४/१५ जनालाई दिएर हुँदैन । कत्ति राष्ट्रिय खेलाडीहरुलाई पुगि पनि रहेको होला तर कत्तिलाई कम पनि भइरहेको होला । सबैकुराको महँगी बढी रहेको छ । १४ जना लाई मात्र नभएर समग्र राष्ट्रिय प्रदेशका सबै खेलाडीलाई पनि एउटा सुरक्षा केही पाओस् भन्ने चाहना हो । मलाई लाग्छ त्यत्ति नभएसम्म खेलाडीले पायो भनेर भनि हाल्न मिल्छ जस्तो लाग्दैन ।

तपाईं टेक्निकल्ली खेल्ने ब्याट्सम्यान भनिन्छ तर तपाईं त्योअनुसार खेल्न सक्नुभएन भन्ने आरोप छ, यसमा के भन्नुहुन्छ ?

टेक्निक राम्रो हुनु र रन बनाउनु फरक कुरा हो । टेक्निकल्ली राम्रो भयो भन्दैमा रन लाग्छ भन्ने हुँदैन । रन हान्ने खेलाडीको टेक्निक राम्रो हुन्छ भन्ने हुँदैन । अब रन नहान्ने भन्ने कुरा कहिले आउट अफ फर्म, रन कर्न्भट नभएको भन्ने कुराहरुलाई बिस्तारै सुधार्ने कोसिसमा छु ।

अब नेपालको व्यस्त अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर छ, कत्तिको तयारी गरिरहनु भएको छ ?

हामी निरन्तर क्रिकेटमा नै छौं । पहिले सुरुआती चरण र अहिलेको दाँजोमा खेलाडीहरु पनि धेरै परिर्वतन भएको छ । पहिले क्याम्प सुरु भएपछि र ट्रेनिङ सुरु भएपछि मात्र खेलमा आवद्ध हुन्थे । अहिले व्यक्तिगत रुपमा पनि आफैं वर्षभरी नै कसरी फिट हुने भन्ने कुराहरुले पनि असर गरिरहेको हुन्छ । जुन राम्रो पक्ष हो । म आफैंलाई पनि टुर्नामेन्ट सकिएपछि क्रिकेटमै संलग्न गराइरहेको हुन्छु ।

तपाईंलाई पारस खड्कासँग तुलना गर्नु कत्तिको जायज हुन्छ ?

तुलना गर्नु जायज भन्दा पनि हामीबीच तुलना नै छैन । मेरो विचारमा तुलना नर्गदै राम्रो हुन्छ जस्तो लाग्छ ।

पारसले बनाएको क्रिकेटको छवि पछ्याउन कत्तिको गाह्रो होला जस्तो लाग्छ ?

पछ्याउन सक्ने/नसक्ने भन्दा पनि पूरै क्रिकेट टिमको सामूहिक समर्थनको कुरा हो । मेरो या अरु कसैको कप्तानीमा टिम कत्तिको अगाडि बढ्न सक्छ भन्ने कुरा हो । टिम अगाडि बढ्छ भने राम्रो देखिन्छ, उपलब्धि भएको देखिन्छ । व्यक्तिगत उपलब्धिलाई टिमको उपलब्धि भन्न मिल्छ जस्तो मलाई लाग्दैन । मेरो मात्रै होइन पूरै टिमले कहिल्यै नपाएको सफलता ओडिआइ सेक्सनमा टप नेशन हुने भन्ने कुराचाँहि इतिहासमै पहिलोपटक हो । ओडिआइ सेक्सन खेलिरहेका छौं त्यसमा मेरो मात्रै नभएर पूरै टिमको स्वर्णकाल नै हुन्छ । एउटा अवसर पनि छ, चुनौती पनि छ । पहिलाको तुलनामा अहिले प्रतिस्पर्धा निकै गाह्रो छ । हामी पहिला तल्लो तहको टिमहरुसँग खेलिरहेका थियौं भने अहिले ठूला टिमहरुसँग खेल्छौं । गाह्रो भए पनि यसमा हामीले राम्रो गर्न सक्यौं भने उत्तिकै अवसरहरु पनि छ ।

विगतमा खेलाडी र संघको सम्बन्ध बिग्रिएको थियो । तपाईं भर्खर कप्तान बनेर आउनुभएको छ, यो सम्बन्ध जोडिने कत्तिको सम्भावना देख्नुहुन्छ ?

यसमा सुर्धानु पर्ने र नर्कानु पर्ने केही छ जस्तो मलाई लाग्दैन । क्यान र खेलाडी भनेको एउटा परिवार हो । परिवार विगतमा सानोतिनो, तलमाथि केही गलत बुझाइ हुन सक्छ । अहिले भनेको हाम्रो लागि नयाँ युग छ । यसमा सबैजना मिलेर जानु पर्छ । जान्छ, पनि । विगतमा कसैको कमजोरीले के भयो भन्दा पनि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर सकरात्मक रुपले अघि बढ्नु पर्छ जस्तो लाग्छ ।

त्यसमा तपाईंको भूमिका के रहन्छ ?

यसमा भूमिका भन्दा पनि एउटा कप्तान एउटा खेलाडीको हिसाबले मैले नेपाल टिमको लागि खेल्ने हो । नेपाल टिमलाई तयार गर्ने हो । नेपाललाई कसरी अझ अगाडि बढाउने भन्ने मेरो जिम्मेवारी हुन्छ भने क्यानको पनि आफ्नै जिम्मेवारी हुन्छ । हामीलाई खेल्ने वातावरण दिने । त्यसमा हामी मिलेर अगाडि बढ्छौं ।

भर्खरै बुबा बन्नु भएको छ, त्यस लगत्तै घरेलु मैदानमा नै शतक बनाउनु भयो । छोरी तपाईको लागि लक्की सावित भएकी हुन् ?

बुबा र त्यसमा खासै सम्बन्ध त होला नहोला भन्न सकिँदैन । जसरी मैले खुसी व्यक्त गरै त्यो हिसाबले यो कुरा आएको होला । यो एक वर्षमा मेरो जिन्दगीमा धेरै उतारचढावहरु आए । व्यक्तिगत जीवनमा पनि कत्ति कुराहरु राम्रो भएन । क्रिकेटिङ मात्रै होइन व्यक्तिगत कुराहरु पनि । यो बिचमा राम्रो भनेको मेरो छोरी मात्रै भइन् मेरो लागि । त्यसको लागि मैले समर्पित गरेको थिएँ । 'लक फ्याक्टर' भन्ने कुरा पनि सकरात्मक कुरा नै हो । यसलाई सकरात्मक कुराकै रुपमा लिनु पर्छ । खुसी छु, छोरी भयो लगत्तै शतक पनि बन्यो ।

भनेपछि परिवारबाट क्रिकेटलाई लिएर सहयोग/समर्थनकै वातावरण छ ? पहिलेको जस्तै बाहिर जाने कुराहरु त आउँदैन होला ?

एकदमै धेरै सहयोग/समर्थन छ । पहिला पनि भविष्यकै कुरालाई लिएर उहाँहरुले त्यस्तो सोच्नुभएको हो । त्यो मलाइ लाग्छ जसको परिवारले पनि भलाइ कै लागि भनेको हुन्छ । क्रिकेट छोड भनेर भन्नु भएको छ अहिले पनि एकदम धेरै साथ सहयोग र समर्थन गर्नुहुन्थ्यो गर्नुहुन्छ र मलाइ लाग्छ सधैं गर्नु हुन्छ ।

अब भविष्यको के-कस्ता योजनाहरु बनाउनु भएको छ ?

अब भनेको फेब्रुअरीमा नेपालमा हुने नेपाल र ओमन बिचको सिरिजलाई लिएर अलिकति तयारीमा लाग्नुपर्छ भन्ने छ । त्यसपछि पनि थुप्रै क्रिकेट प्रतियोगिताहरु आइरहेको छ । अब लगत्तै डिभिजन क्वालिफायर आइरहेको छ । त्यसपछि घरेलु प्रतियोगिता छ, फेरि अनि बाहिर छ । पहिला चाँहि अब फेब्रुअरीमा प्लान गरौं अनि अरु पछि गर्दै जाने प्लान छ ।

प्रकाशित : पुस २१, २०७६ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?