१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भिडियोमा देखिने पार्टी निर्णय हो, म अर्धभूमिगत नै छु : मोहनविक्रम सिंह (भिडियो अन्तर्वार्ता)

काठमाडौँ — पञ्यातकालमा भूमिगत रहेका सबैजसो कम्युनिस्ट नेताहरु सार्वजनिक भइसक्दा पनि मोहनविक्रम सिंह सार्वजनिक भएनन् । देशमा कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार भएका बेला भने ८४ वर्षिय सिंह आफ्नो ३० वर्षे अर्धभूमिगत जीवनबाट बाहिर निस्किएका छन् । यस्तो लाग्छ, उनको राजनीतिक जीवनले बल्ल पारिलो घाम ताप्न पाउने भएको छ ! 

भिडियोमा देखिने पार्टी निर्णय हो, म अर्धभूमिगत नै छु : मोहनविक्रम सिंह (भिडियो अन्तर्वार्ता)

१९९२ मा प्यूठानको ओखरकोटमा जन्मेका मोहनविक्रम सिंहको राजनीतिक जीवन नै २००७ सालबाट सुरु भयो । ८४ वर्षको हुँदा उनको राजनीतिक जीवन नै ६९ वर्ष लामो भइसक्यो । २०२९ सालदेखि भूमिगत भएका सिंह २०४६ देखि अर्ध–भूमिगत राजनीति गरिरहेका छन् । हाल नेकपा मसालको महामन्त्री रहेका उनले भन्ने गरेका छन्– 'भूमिगत, अर्ध–भूमिगत राजनीति सबै पार्टी र क्रान्तिको आवश्यकता अनुसार भएको हो ।'

हालै उनको पार्टी मसालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकले सिंह अब अन्तर्वार्ता र समाचारका लागि टेलिभिजनमा जानसक्ने निर्णय लियो । यो निर्णय पुस १८ गते विज्ञप्ति मार्फत् मसालले सार्वजनिक गरेको थियो । महामन्त्री सिंह यसअघि औपचारिक रुपमा टेलिभिजन वा दृष्य समाचारहरुमा देखिएका थिएनन्, उनलाई उनको पार्टीले त्यो अनुमति दिएको थिएन । सिंहलाई किन टीभीमा देखिन मन लाग्यो, यसमा उनको व्यक्तिगत चाहना कति हो र पार्टी–क्रान्तिको आवश्यकता कति ? यिनै विषयमा सिंहसँग बबिता शर्माले मंगलबार गरेको कुराकानी :

३० वर्ष भूमिगत/अर्धभूमिगत रहनुभयो, अहिले के परिस्थिति निर्माण भयो र पार्टीले तपाईंलाई सार्वजनिक हुने निर्णय गर्‍यो ?

पार्टीले पहिले फोटो दिने निर्णय गरेको थियो । अहिले भिडियोमा जाने निर्णय भएको छ । हाम्रो के सोच हो भने भिडियोमा जाँदा हाम्रो आफ्नो विचार राजनीति बढीमा पुर्‍याउन सक्छौं । जनताको बीचमा जानका लागि त्यही सोचेर अहिलेको स्थितिमा अलि खुकुलो पार्नुपर्छ भन्ने निर्णय भएको हो । हामीहरूको राजनीतिक विचार बाहिर जानसक्छ भनेर खुला हुने निर्णय गरेको हो । सार्वजनिक सभाहरूमा जाने निर्णय भएको छैन । भिडियो अर्थात् दृश्य माध्यममा जाने भन्ने निर्णय भएको छ ।


अब मोहनबिक्रम सिंह अर्धभूमिगत रहनुभएन भनेर बुझ्दा हुन्छ ?

अर्धभूमिगतकै अवस्था हो । किनभने, सार्वजनिक सभाहरूमा अझै जाने गरेको छैन । त्यो भएको हुनाले अर्धभूमिगत अवस्था नै हो ।

टिभी वा भिडियोमा देखिँदा बोल्दा मसालको राजनीतिक जीवनमा के फेरबदल हुन्छ भन्ने सोच्नुभयो ?

टिभीको माध्यमद्वारा जनताको बीचमा अलि बढी पुग्न सक्छौँ भन्ने हो । पहिले लेख र अडियोद्वारा जाने गरेका थियौँ । जनताका बीचमा अब ठूलो स्केलमा जान सक्छौँ भन्ने सोचेर नै यो निर्णय गरेको हो ।

तर, तपाईंकहाँ चाहेको बेला सजिलै पहुँच मिलिरहेको थियो त ?

अर्धभूमिगत भए पनि पहुँच थियो । पञ्चायतकालमा हामी पूरै भूमिगत थियौं । हामी कतै सम्पर्क गर्ने कुरा सुरक्षाका दृष्टिकोणले सजग रहन्थ्यौं । बहुदल आएपछि हामीलाई त्यति सतर्क रहनुपर्ने अवस्था थिएन । तर, पार्टीको संगठनको मूल संरचना अहिले पनि भूमिगत नै छ । पार्टीका प्रवक्ताहरूबाहेक अरु कोही बाहिर देखिन्नन् । पार्टीमा को के छ भन्ने कसैलाई थाहा पनि हुन्न । पार्टी पूरै भूमिगत छ । अहिले मेरो विचार बाहिर जान्छ भनेर यो निर्णय भएको हो । सबै सभामा अहिले बाहिर जाने गरेका छैनौं । मूलरूपमा हामीले पार्टीको भूमिगत संरचनासँग तालमेल मिलाउनका लागि बेग्लाबेग्लै स्थिति अपनाएको हो ।

पार्टीले निर्णय गरेको भन्नुभयो, पार्टीको मुखिया तपाईं नै भएकाले व्यक्तिगत इच्छा पनि त होला नि ?

व्यक्तिगत इच्छा भन्ने हुँदैन । राजनीतिक दृष्टिकोणले के सही हुन्छ भन्ने हो । पार्टीबाट धेरै साथीहरूको जोड त आएकै थियो । सार्वजनिक रूपमा पनि खुला हुनुपर्छ भन्ने आएको थियो । त्यो हामीले अहिलेसम्म स्वीकार गरेका छैनौं । जो पार्टीको जो राय हो त्यसमा मेरो र अन्य साथीहरूको पनि राय हो । त्यो सहमतिको आधारमा नै अहिलेको निर्णय भएको हो ।

प्रसंग बदलौं, उपसभामुख मसालले पाउने चर्चा चलिहरेको छ यो के हो ?

हाम्रो पार्टीभित्र त्यसबारे कुनै चर्चा छैन । बाहिर जुन चर्चाहरू आएका छन् तीमात्रै सुनेका छौं । त्यसकारण कुनै छलफल र विचार पनि गरेका छैनौं ।

केही नभइ बाहिर चर्चा त चलेन होला, मसाल र नेकपाबीच केही कुरा भएको थियो यसबारेमा ?

छैन । उहाँहरूको बीचमा केही चर्चा चलेको थियो होला । त्यो हाम्रो जानकारीमा छैन । जहाँसम्म मसाल र नेकपाबीच वार्ताको कुरा हो फोनमा वा भेटमा पनि कुनै कुरा कसैसँग भएको छैन ।

नेकपाकै नेताहरू सांसद दुर्गा पौडेललाई जनमोर्चाले उपसभामुख बनाउन चाहेको छ भनेर भन्ने गर्नुभएको छ ?

कहिल्यै पनि र कसैसँग कुरा भएको छैन । त्यो झुटो हो । उहाँहरूका बीचमा के कुरा चलेको थियो भन्ने हामीलाई सोध्ने कुरा होइन । हामीसँग कुनै वार्ता वा कुराकानी केही भएको छैन ।

नेकपाले तपाईंको पार्टीको सांसदलाई उपसभामुख बनाउने प्रस्ताव गर्‍यो भने के गर्नहुन्छ ?

सामान्य रूपमा अहिलेको परिस्थितिमा हामी उपसभामुखमा जान हुन्न भन्ने सोचाइमा छौं । संसदमा दुई चारजना हाम्रा साथीहरू भए उपसभामुखमा कसैलाई पठाए पनि हुन्थ्यो । राम्रै पोर्टफोलियो हुन्थ्यो कि सम्मानको पद हो । तर अहिले हामीलाई के घाटा पर्छ भने त्यो गरेपछि पार्टीबाट राजीनामा गर्नुपर्छ र पार्टीका केही कुरा गर्नुहुन्न । राजनीतिक कुरा गर्नुहुन्न । संसदमा र बाहिर पनि केही बोल्न पाइन्न । त्यस्तो हुँदा जुन उद्देश्यले हामीले संसदमा भाग लिएका हौँ त्यसमा बाधा पुग्छ । त्यसैले त्यतातिर सोचेको छैनौँ । प्रस्ताव आयो भने पनि स्वीकार गर्दैनौँ । त्यसले राजनीतिक घाटा हुन्छ ।

तपाईंको मूल्यांकनमा केपी शर्मा ओली नेतृत्वको सरकारका २२ महिना कस्ता रहे ?

सरकारको समीक्षा गर्नु पहिला नेकपा र त्यसको विषयमा हामीले मूलभूत सोचाइ नै स्पष्ट गर्नुपर्ने हुन्छ । हाम्रो महाधिवेशनले नेकपालाई देशभक्त, वामपन्थी शक्ति भनेको छ । हाम्रो मित्रशक्ति भनेको छ । नेपाली कांग्रेस र राप्रपाहरूलाई प्रतिगामी शक्ति भनेको छ । त्यसैले पहिलो कुरा त नेकपालाई प्रतिगामी शक्ति मानेका छैनौं । नेकपा हाम्रो दुष्मन शक्ति होइन, मित्रशक्ति हो । वामपन्थी शक्ति हो । तर अत्यन्तै ढुलमुल र अवसरवादी सम्झौतापरस्त शक्ति हो । देशको सामन्तवाद दलाल पुँजीवादी वर्ग भारतीय विस्तारवादसँग सम्झौतापरस्त नीति अपनाउने गरेको छ । त्यसकारण सम्झौतापरस्त अवसरवादी शक्ति भनेका हौँ ।

त्यो भए पनि हामीले दुष्मन र प्रतिगामी शक्ति मान्दैनौं । त्यसैले एकातर्फ समर्थन पनि छ अर्कोतर्फ विरोध पनि छ । जुन हदसम्म जनपक्षीय नीति अपनाउँछन् समर्थन गर्छौं र गलत कामहरूको विरोध गर्छौं । त्यसरी हेर्दाखेरि गणतन्त्र, धर्म निरपेक्षताका विषयमा राम्रा काम पनि गरेको छ । स्पष्ट अडान लिने गरेका छन् । हाम्रो समर्थनको मूल कारण पनि त्यो हो । संविधानको कुरा गर्दा राजपा फोरमहरू सरकारमा आउने संशोधनको सम्झौता गरेको थियो त्यसलाई हामीले कडा विरोध गरेका थियौं ।

तर, ढाइ वर्षको समयमा राजपाले समर्थन फिर्ता लियो र उपेन्द्र यादव सरकारबाट हटे त्यसको अर्थ उनको जुन भूमिका रह्यो त्यसलाई हामीले सकारात्मक भनेका छौं । अहिलेको सन्दर्भमा कालापनीको पक्षमा अहिलेसम्म कुनै सरकारले बोल्न नसकेको कुरा कि कालापानी नेपालको हो भारतीय सेना हट्नुपर्छ भनेर ओली बोलेकाले हामीले समर्थन गरेका छौं । हाम्रो के सोचाइ छ भने यो सरकारको विघटन हुन्छ भने गणतन्त्र र धर्मनिरपेक्षतालाई पनि खतरा हुन्छ । त्यो भनेर हामीले विरोध गर्ने र समर्थन गर्ने गरेका छौं ।

अर्कातिर यो सरकारका नीतीहरू सबैलाई हामी समर्थन गर्दैनौं । जस्तो प्रशासनिक कारबाही झनपछि झन् गलत हुँदैछन् । विकासका काम कुण्ठित हुँदै गइरहेका छन् । गोकर्ण रिसोर्टको विषयमा सम्झौता भयो त्यसलाई एकदम गलत मानेका छौं । सिन्डिकेटका मुद्दा लागु गर्न सकेन । समाजवाद उन्मूख नीति भनेर प्रतिबद्धता व्यक्त गरेको छ त्यसलाई हामीले समर्थन गरेका छौँ तर बजेट तथा नीति कार्यक्रम समाजवादी दिशामा कदम चाल्नुभन्दा यथास्थितिवादी छन् । यस्तालाई गलत भनेका छौं र विरोध गरेका छौं । कतिपय अवस्थामा हामीले सार्वजनिक रूपमा संघर्ष गरेका छौं । अहिले छिट्टै देशव्यापी रुपमा संघर्ष गर्ने योजना पनि बनाएका छौं।

मसालका आगामी कार्यक्रम तथा रणनीति के छन् ?

हाम्रा रणनीति र कार्यनीतिमा अन्तर गर्नुपर्छ । हाम्रो दीर्घकालीन रणनीति भनेको अर्ध सामन्तवादी र अर्ध औपनिवेशिक व्यवस्था छ त्यसलाई समाप्त पार्नुपर्छ । तर एकैपटक हामीले अन्त्य गर्न सक्दैनौं । त्यसका लागि कार्यनीति बनाएर अंशअंशमा काम गर्नुपर्छ । अहिले हाम्रो पार्टीले धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि देशभर संघर्ष गर्ने तयारी गरेको छ । गणतन्त्र र धर्मनिरिपेक्षताविरुद्ध केही शक्ति उठिरहेका छन् ।

राष्ट्रियताविरुद्ध देशी विदेशी शक्ति उठिहरेका छन् । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ । हाम्रोमा नागरिकताको मुद्दा गम्भीर बनेको छ । कैयौं भारतीय नेपाल आइरहेका छन् । त्यसका विरुद्ध जनतालाई उजागर गर्नुपर्छ । भ्रष्टाचार र अपराध बढ्दै गइरहेको छ यसका विरुद्धमा देशव्यापी रूपमा आन्दोलन चलाउने भएका छौं। महिलाहरूमाथि बलात्कार हत्या हिंसाविरुद्ध हामीले देशव्यापी आन्दोलन गर्ने योजना छ । किसान जनजाति दलितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेका छौं । त्यसैले संघर्षका कार्यक्रम बनिरहेका छन् । भर्खरै हाम्रो पार्टीको राष्ट्रिय परिषदको बैठक बस्यो त्यसले योजना बनाएको छ । पार्टीका युवा विद्यार्थी महिला जनजातीका संगठनले अभियान चलाइरहेका छन् । हामीले आगामी जेठसम्मका लागि कार्यक्रम बनाइसकेका छौँ ।

ती कार्यक्रममा तपाईंलाई सार्वजनिक मञ्चमा भाषण गरेको देख्न पाइन्छ ?

त्यो त पाइन्न । अहिले टिभीमा मात्रै देखिने निर्णय भएको हो । सार्वजनिक कार्यक्रममा जाने निर्णय भएको छैन ।

योबीचमा तपाईं सार्वजनिक कार्यक्रममा जाने सम्भावना कत्तिको छ ?

त्यो सम्भावना छैन । पार्टीमा छलफल नचलेको होइन तर अस्वीकृत हुँदै आए । त्यसकारण निकट भविष्यमा त्यस्तो निर्णय हुने सम्भावना छैन ।

यति वर्षपछि भिडियोमा बोल्दा कत्तिको प्रभावकारी होलाजस्तो लागेको छ त ?

जनताको बीचमा प्रत्यक्ष सम्पर्क भइरहेको छ । विचार सम्प्रेषण भइरहेको छ । ठूलो मासमा विचार पुर्‍याउन पाएकोमा प्रसन्नताको अनुभूति भइरहेको छ । जनताको बीचमा म बढी जान पाइरहेको छु । यसद्वारा पार्टीको राजनीतिलाई बढी सशक्त बनाउन योगदान दिन सक्छौँ भन्ने लागिरहेको छ ।

प्रकाशित : पुस २२, २०७६ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?