३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
दसैं सम्झना

'बच्चामा धान चोरेर दसैं मनाइन्थ्यो' : पुष्प खड्का

रीना मोक्तान

काठमाडौँ — दसैंमा कैलालीको जाल्पादेवी मन्दिरमा मार हान्ने प्रचलन छ । एउटा गाउँले अर्को गाउँका व्यक्तिलाई तरबार दिँदै मार हान्न निमन्त्रणा पनि दिने गरिन्छ । एकै पटक राँगाको घाँटी छिनाल्ने व्यक्तिलाई त माला लगाएर, काँधमा बोकेर घुमाउने गरिन्छ । कलाकार पुष्प खड्का बोका त सजिलै ढलाउँथे । तर राँगालाई मार हानेका थिएनन् ।

'बच्चामा धान चोरेर दसैं मनाइन्थ्यो' : पुष्प खड्का

राँगालाई एकै पटकमा मार हान्नु विशेष हुन्थ्यो । त्यो दसैंमा राँगालाई उनले मार हान्नुपर्ने भयो । जाल्पादेवी मन्दिरको थानमा भीड लागेको थियो । उनले मार हानेको हेर्न आउनेहरु भन्दै थिए, 'पुष्पले त मार हान्न सकिहाल्छ नि !'

तर उनले मार हाने, राँगा ढलेन । पाँचौं पटकमा पनि ढलेन । उनको एक साथिले एक पटकमै मार हाने । गाउँका बूढापाकाले 'थुइक्क, सकेन पुष्पले' भनेको अझै उनले बिर्सन सकेका छैनन् । त्यो नै पुष्पको अन्तिम मार थियो । त्यतिबेला उनी कक्षा ८ मा पढ्थे । आफ्नो जीवनको कुनै दसैं अविस्मरणीय लाग्छ भने पुष्पलाई त्यही मार हान्न नसकेको दसैं लाग्छ ।

'मार हान्न नसक्दा एकदम लाज भएको थियो,' पुष्पले सुनाए, 'त्यो दसैं म कहिल्यै बिर्सदिनँ । हाम्रोतिर दसैंमा एकदमै बलि चढाइन्छ । चलिआएको चलन हो । तर अहिले बुझ्दा कसैलाई मार हान्न हुँदैन कि भन्ने लाग्छ । हामी बलि नचढाई कुबिन्डो काटेर पनि त्यो चलन पुरा गर्न सक्छौं,' उनले भने ।

दसैं भन्नेबित्तिकै पुष्पले सम्झने अर्को घट्ना हो, 'डिस्को डान्स' । नयाँ लुगाको खासै पर्बाह हुन्थेन जति अर्काको धानको कुन्युतिर हुन्थ्यो । दसैंको मौसम त धानको बाली फल्ने समय पनि हो । पुष्पको टोली ध्यान अरुले बनाएको कुन्युतिर जान्थ्यो । उनीहरु रातमा त्यही कुन्युबाट धान चोरेर दिनमा बेच्न निस्कन्थे । रातमा चोरेको धान बारीका खाल्डोमा माटोले पुरेर राख्थे । कहिलेकाहीँ मुसाले उनीहरुले चोरेको धान आफ्नो दुलोमा ओसार्न भ्याइसक्थ्यो । पुष्पको टोली त्यही खाल्डोमा पुरेर राखेको धान बेचेर दसैंमा 'डिस्को डान्स'का लागि साउन्ड स्पिकिर बुक गर्थे । सबैजनासँग ५/१० रुपैयाँ संकलन गरेर दसैं अगाडि साउन्ड स्पिकर बुक गर्दै हिँडेको सम्झँदा पुष्पलाई बाल्यकालको दसैं फर्किएझैं लाग्छ ।

'दसैं आइरहेको छ, पैसा चाहिन्छ भन्ने हुन्थ्यो । हामी कुन्युबाट धानको बालामात्र चुँडाएर लिन्थ्यौं । एक बोरा मात्र होइन । लगभग ४/५ बोरा त हामी चोर्थ्यौं नै, 'पुष्प नोस्टाल्जिक हुन्छन्,' ४/५ सय आउँथ्यो ।'

दसैंमा आमाले धान बेच्न पठाउनु हुन्थ्यो । धान बेचेको पैसाले नयाँ लुगा किन्नु भनेर बजार पठाउनु हुन्थ्यो । त्यही धान बेच्न जाँदा उनीहरु चोरेको धान बेच्न जान्थे । पुष्प बेचेको धानको सही रकम घरमा बुझाउँदैनथे । दुई हजार कमाई हुँदा एक हजार आफ्नै गोजी खर्च लुकाउँथे । त्यतिखेर 'डिस्को डान्स'को छुट्टै लगाव । गाउँ/गाउँबाट युवा युवती एकै ठाउँ भेला हुन्थे । नाचगान गर्थे । साउन्ड स्पीकरमा चर्को आवाजमा गीत बजाएर नाच्ने भएपछि उनीहरु त्यसैलाई 'डिस्को डान्स' भन्थे । जुनेली रातको उक्त दृश्य मनमोहक हुन्थ्यो । पर-परसम्म खालि देखिन्थे खेतहरु । बिजुली हुन्थेन । लालटिन बालेर युवायुवती जम्मा भएर नाच्थे ।

'म त त्यो बेला गाउँकै हिरो थिएँ नि नाच्नमा त । पुष्पले क्या राम्रो नाच्छ भन्दै सँधै तारिफ पाउँथे । त्यतिबेला पुरुषको गीत होस् या महिला । पुरुष महिला जसको गीत बजे पनि लिप्सिङ गर्दै नाच्थे । केही मतलब हुन्थेन । अन्धाधुन्द नाचिन्थ्यो,' पुष्पले सम्झे, 'अहिले फर्केर हेर्दा हाँसो उठ्छ, त्यतिबेला मैले महिलाको लिप्सिङमा कत्ति नाचेछु । बिट होस् अफबिट होस् जानी नजानी नाचिन्थ्यो । जे होस् खुबै रमाइलो हुन्थ्यो । आँखा चिम्लेर, हेर्नेले के भन्लान् भन्ने पर्बाह नगरी नाचिन्थ्यो ।'

नाच्न भनेपछि हुरुक्कै हुन्थे पुष्प । सुन्दर युवतीहरु 'डिस्को डान्स'मा आउने भनेपछि उनी जोशिएरै कम्मर मर्काउँथे । एसएलसीसम्म आफूहरुले धान चोरेर दसैंमा रमाइलो गर्ने गरेको पुष्प सुनाउँछन् । अहिले फर्केर पूराना दिन सम्झँदा स-सानो कुरामै खुसी हुन खोज्ने आफ्नो स्वभावलाई देखेर दंग पर्छन् उनी । अहिलेको नयाँ पुस्ताले गाउँमा आफूहरुले झैं रमाइलो मानेर दसैं मनाएको जस्तो लाग्दैन उनलाई ।

त्यो बेला 'डिस्को डान्स'मा व्यस्त हुने पुष्पलाई अहिले भने देउडाको महत्व महसुस गर्न थालेका छन् । देवीथानमा बलि चढाइसकेपछि गाउँका ठूला-बडाले देउडा नाच नाच्थे । तर उनीहरु खासै त्यसप्रति रुची हुन्थेन । उनीहरु त साउन्ड स्पिकरको जोडजाम गर्नतिरै व्यस्त भइसक्थे । तर अहिले देउडा नाचको महत्व बुझेको उनी सुनाउँछन् ।

'१५/२० जनाको टोली ढोल, सेहेनाई बनाउँदै आउनुहुन्छ । त्यतिबेला डिस्टर्व लाग्थ्यो । अहिले सुन्दा यो हाम्रो संस्कृति हो । यो हाम्रो धुन, संगीत हो । यहाँबाट यसको उत्पति भन्ने बुझ्दा छुट्टै आदर दिन मन लाग्छ । पहिला त त्यता ध्यान नै जाँदैन थियो । हाम्रोतिर सबैजना देउडा खेल्नुहुन्छ,'उनले भने,'ढोल बजाउनेहरुसँगै देउडा नाच्छन् । त्यो संस्कृति नहराओस् भनेर ढोल बजाउने समूहलाई मैले पछिल्लो वर्षको दसैंमा पाँच हजार दिएको थिएँ । उहाँहरुलाई दिने भनेको त घर-घरबाट दिने चामल सेलरोटी हो । पहिला २०/२५ जना आउँथे । अहिले १० जना मात्र आउँछन् । उहाँहरुलाई त्यो संस्कृतिप्रति लोभ लागोस् भनेर पनि सहयोग गरें ।'

बाल्यकालमा दक्षिणालाई लिएर खासै मोह नभएको पनि पुष्पको अनुभव छ । 'त्यतिबेला दक्षिणामा ५/६ सय भन्दा धेरै भएन । खोइ मेरो आफन्तहरु धेरै लोभी हुनुभयो कि ! १०/१५ मात्र दक्षिणा दिन्थे । त्यतिबेला १० रुपैयाँ पनि ठूलै हुन्थ्यो । २० दियो भने ओह्हो २० दियो भन्ने हुन्थ्यो । मामाघरमा अलि बढी हुन्थ्यो,' उनले भने ।

धान चोरेर दसैं मनाउने पुष्प नेपाली फिल्मको कलाकार भइसकेपछि गाउँमा दसैं मनाउँदा अर्कै महसुस गर्छन् । अहिले उनलाई धेरैले आदर गर्छन् । सम्मान गर्छन् । तर उनी भने आफूलाई पहिलाकै पुष्पलाई झैं व्यवहार गरिदिउन् भन्ने चाहन्छन् ।

यो वर्ष उनको दसैं केही विशेष बन्दैछ । आमा बुवा भारत छोडेर सँधैका लागि घर फर्किएका छन् । यो दसैंमा सबैजनासँग भेटघाट हुने भयो भन्ने कुराले उनको खुसी थपिएको छ । यसअघि बुवा आमा कामकै सिलसिलामा भारतको पूणेमा बस्थे ।

'दसैंमा सबैसँग जम्काभेट हुने भयो भनेर खुसी लागिरहेको छ । गाउँमा कोही हुँदैन थियो पहिला,' उनले भने, 'फिल्मको ट्रेनिङ चलिरहेको छ । म समय मिलाएर गाउँ फर्कहाल्छु । दसैंमा ठूलाको आशीर्वाद लिनै पर्‍यो ।'

प्रकाशित : आश्विन २९, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?