दसैंमा सन्तुलित भोजन कसरी गर्ने?  - दसैं विशेष - कान्तिपुर समाचार

दसैंमा सन्तुलित भोजन कसरी गर्ने?  

प्रनिति सिंह

दसैं स–परिवार तथा नातागोतासँग रमाइलो गर्ने पर्व हो । आर्शीवाद लिने र दिने पर्व हो । दसैं भन्नेबित्तिकै खाउँला पिउँला भन्ने दिमागमा आउँछ । दसैं भनेकै खाने र पिउने भनेर बुझेका छौँ । र हामी सन्तुलित आहार खानमा त्यति ध्यान दिँदैनौँ । खसी र रक्सीमा मात्र ध्यान दिनुहुन्न । मुख्य कुरा आफ्नो र परिवारको स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । सन्तुलित भोजन गर्दै रमाइलो गरेर दसैं मनाउनुपर्छ । 

दसैंमा बलि चढाएर मासु प्रसादको रुपमा खान्छौँ । प्रसाद थोरै खाने चिज हो तर तर अहिले भने मासुको सेवन एकदमै धेरै छ । पहिला ठूलो परिवार सँगै बस्थे ।एउटा खसी काटे पनि घरका सबै सदस्यलाई ठिक्क पुग्थ्यो । अहिले परिवार सानो भएको छ । सबैले मासु काट्छन् ,सबैले किन्छन् र टन्न टन्न खाने चलन छ । तर हामीले के बुझ्नुपर्छ भने मासु खानुपर्छ तर ठिक्कको ।

पहिलेको मासुको गुणस्तर र अहिलेको एकदमै फरक छ । पहिला खसी, बोका, गाई , भैँसी खुल्ला हावा अनि चौरमा घाँस खाएर हुर्किन्थे भने अहिले फार्महाउसमा हुर्किन्छन् । प्रशोधित दानापानी खुवाइन्छ । त्यसैगरी जनवारलाई छिटो र मोटोघाटो बनाउन विभिन्न ग्रोथ हार्मोनको सुईहरु दिइन्छ । रोग नलागेस् भनेर एन्टिबायोटिक बढी दिइन्छ । मोटो पार्नको लागि स्टेरोइडहरु दिइन्छ । यो सबै कुरा उनीहरुमा मात्र हुँदैन । उनीहरुको मासु खाएपछि त्यो हामीमा पनि आउँछ । र हामीलाई हानि पुर्‍याउन सक्छ ।

चाडपर्वमा मासुको माग धेरै हुन्छ । त्यो स्टोर गर्ने पसलहरू हाइजेनिक छ कि छैन त्यो चेक गरिएको छैन । धेरै समयसम्म राम्रो ठाउँमा मासु स्टोर भएन भने त्यसमा ब्याक्टेरिया आउने हुन्छ । कहाँबाट किनिराख्नुभएको छ, कस्तो खालको मासु किनिराख्नुभएको छ त्यसमा ध्यान पुऱ्याउनुपर्छ । बासी प्रयोग गर्नुभएन ।

दसैंमा मासुजस्तै रक्सीको पनि धेरै प्रयोग हुन्छ । मासु फाइदाजनक छ । त्यसले दिने पोषण तत्व धेरै छ । सबैभन्दा राम्रो भिटामिन बी १२ , आइरन, फोलिक एसिड, जिंक लगायत मासुमा हुन्छ । सही तरिकाले र सही परिमाणमा खायौँ भने हामीलाई राम्रै हुन्छ । तर धेरै खायो भने पक्कै त्यसले समस्या गराउन सक्छ ।

दसैंका बेला बिदाको मुडमा हुन्छौँ । शारीरिक व्यायामहरु कम हुन्छ, खाने मात्र गरिन्छ । पल्टिने, सुत्ने, गरिन्छ तर व्यायाम गर्दैनौँ । सबैभन्दा सुरुमा पार्ने असर भनेको पेटको हो । ग्यास्ट्राइट्रिक्सहरु बढ्ने ,अपच हुने, झाडापखाला, कब्जियत हुन सक्छ । त्यसपछि आउने समस्या भनेको कोलेस्ट्रोलहरु बढ्ने, लिभरमा फ्याट जम्न सक्छ । मुटु रोगहरुको पनि समस्या देखाउन सक्छ । सुगरका बिरामीहरु बढ्न थाल्छन् । मासुमा हाई प्रोटिन र प्युरिन भएकाले युरिक एसिड बढ्ने पनि सम्भावना धेरै हुन्छ । त्यो सँगैसँगै तौल बढ्छ । तौल बढेपछि पनि थुप्रै किसिमका समस्याहरु आउन थाल्छन् ।

मासु खान सकिन्छ तर खाने तर धेरै मात्रामा खानु हुदैन । एक पटकमा हत्केला जतिको एक पोर्सन हुन्छ । त्यति खाने । मासुसँगै अरु परिकार तथा सलादमा पनि जोड दिने गर्नुपर्छ । मासु पकाउँदा अरु तरकारी पर्दैन भन्ने गर्दछन् । कतिपयले तर मासु मात्रको भोजन सन्तुलित होइन । मासु तरकारी भए अरु पकाउन मान्दैनन् । मासु खाँदा काँक्रा, गाजा, मुला, सलादको रुपमा खान सकिन्छ । हरियो तरकारीहरु पनि खानुपर्छ जसले हामीलाई अलिकति फाइबर दिन्छ ।

मासुमा फाइबर हुदैन । त्यसलाई सन्तुलन गर्न अरु कुराहरु पनि थालमा समावेश गर्नुपर्छ । रक्सी पनि धेरै खानु हुदैन । मासुसँगै सलाद खानु पर्छ । बदाम साँदेको, भटमास साँदेको, थोरै तेलमा भुटेको मासु खान सकिन्छ । मासुका धेरै परिकार छन् भने एउटा चिल्लो हुँदा अर्को पकाउँदा थोरै तेल राखेर पकाउन सकिन्छ । दसैंभरी नै टन्न खानुचाहिँ भएन । आफ्नो शरीरलाई पनि समय समयमा ब्रेक दिनुपर्छ ।

मासु पछिसम्म राखेर खानलाई धेरै तेलमा भुटेर राख्न चलन छ । कम तेल राख्नुपर्छ । स्टोरेज सही तापक्रममा गर्नुपर्छ । चाहिएजत्तिकै मासु झिकी पकाएर खान सकिन्छ । स्टोर गरिएर राखिएको मासु परै पकाउने र बिस्तारै बिस्तारै तताउदै खाने त्यो गर्नुभएन । त्यसले गर्दा मासुको पौष्टिक तत्वहरु पनि कम हुँदै जान्छ । बाहिर राखेको खण्डमा ब्याक्टेरिया पनि हुन सक्छ ।

दसैंतिहारपछि ग्यास्ट्राइटिक्स, युरिक एसिड बढ्यो भनेर धेरै आउने गर्दछन् । उनीहरुले खानपानमा ध्यान पुर्‍याउनुपर्छ । रक्सीले झन् बढाउन सक्छ । मधुेमह भएका व्यक्ति पनि सचेत भएर खानुपर्ने हुन्छ । घरमै बनाइएको खल्पीको अचार पाचनशक्तिको लागि राम्रो मानिएको छ ।

(पोषणविद् प्रनिति सिंहसँग बुनु थारुले गरेको कुराकानीमा आधारित)

प्रकाशित : आश्विन २९, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

'बच्चामा धान चोरेर दसैं मनाइन्थ्यो' : पुष्प खड्का

रीना मोक्तान

काठमाडौँ — दसैंमा कैलालीको जाल्पादेवी मन्दिरमा मार हान्ने प्रचलन छ । एउटा गाउँले अर्को गाउँका व्यक्तिलाई तरबार दिँदै मार हान्न निमन्त्रणा पनि दिने गरिन्छ । एकै पटक राँगाको घाँटी छिनाल्ने व्यक्तिलाई त माला लगाएर, काँधमा बोकेर घुमाउने गरिन्छ । कलाकार पुष्प खड्का बोका त सजिलै ढलाउँथे । तर राँगालाई मार हानेका थिएनन् ।

राँगालाई एकै पटकमा मार हान्नु विशेष हुन्थ्यो । त्यो दसैंमा राँगालाई उनले मार हान्नुपर्ने भयो । जाल्पादेवी मन्दिरको थानमा भीड लागेको थियो । उनले मार हानेको हेर्न आउनेहरु भन्दै थिए, 'पुष्पले त मार हान्न सकिहाल्छ नि !'

तर उनले मार हाने, राँगा ढलेन । पाँचौं पटकमा पनि ढलेन । उनको एक साथिले एक पटकमै मार हाने । गाउँका बूढापाकाले 'थुइक्क, सकेन पुष्पले' भनेको अझै उनले बिर्सन सकेका छैनन् । त्यो नै पुष्पको अन्तिम मार थियो । त्यतिबेला उनी कक्षा ८ मा पढ्थे । आफ्नो जीवनको कुनै दसैं अविस्मरणीय लाग्छ भने पुष्पलाई त्यही मार हान्न नसकेको दसैं लाग्छ ।

'मार हान्न नसक्दा एकदम लाज भएको थियो,' पुष्पले सुनाए, 'त्यो दसैं म कहिल्यै बिर्सदिनँ । हाम्रोतिर दसैंमा एकदमै बलि चढाइन्छ । चलिआएको चलन हो । तर अहिले बुझ्दा कसैलाई मार हान्न हुँदैन कि भन्ने लाग्छ । हामी बलि नचढाई कुबिन्डो काटेर पनि त्यो चलन पुरा गर्न सक्छौं,' उनले भने ।

दसैं भन्नेबित्तिकै पुष्पले सम्झने अर्को घट्ना हो, 'डिस्को डान्स' । नयाँ लुगाको खासै पर्बाह हुन्थेन जति अर्काको धानको कुन्युतिर हुन्थ्यो । दसैंको मौसम त धानको बाली फल्ने समय पनि हो । पुष्पको टोली ध्यान अरुले बनाएको कुन्युतिर जान्थ्यो । उनीहरु रातमा त्यही कुन्युबाट धान चोरेर दिनमा बेच्न निस्कन्थे । रातमा चोरेको धान बारीका खाल्डोमा माटोले पुरेर राख्थे । कहिलेकाहीँ मुसाले उनीहरुले चोरेको धान आफ्नो दुलोमा ओसार्न भ्याइसक्थ्यो । पुष्पको टोली त्यही खाल्डोमा पुरेर राखेको धान बेचेर दसैंमा 'डिस्को डान्स'का लागि साउन्ड स्पिकिर बुक गर्थे । सबैजनासँग ५/१० रुपैयाँ संकलन गरेर दसैं अगाडि साउन्ड स्पिकर बुक गर्दै हिँडेको सम्झँदा पुष्पलाई बाल्यकालको दसैं फर्किएझैं लाग्छ ।

'दसैं आइरहेको छ, पैसा चाहिन्छ भन्ने हुन्थ्यो । हामी कुन्युबाट धानको बालामात्र चुँडाएर लिन्थ्यौं । एक बोरा मात्र होइन । लगभग ४/५ बोरा त हामी चोर्थ्यौं नै, 'पुष्प नोस्टाल्जिक हुन्छन्,' ४/५ सय आउँथ्यो ।'

दसैंमा आमाले धान बेच्न पठाउनु हुन्थ्यो । धान बेचेको पैसाले नयाँ लुगा किन्नु भनेर बजार पठाउनु हुन्थ्यो । त्यही धान बेच्न जाँदा उनीहरु चोरेको धान बेच्न जान्थे । पुष्प बेचेको धानको सही रकम घरमा बुझाउँदैनथे । दुई हजार कमाई हुँदा एक हजार आफ्नै गोजी खर्च लुकाउँथे । त्यतिखेर 'डिस्को डान्स'को छुट्टै लगाव । गाउँ/गाउँबाट युवा युवती एकै ठाउँ भेला हुन्थे । नाचगान गर्थे । साउन्ड स्पीकरमा चर्को आवाजमा गीत बजाएर नाच्ने भएपछि उनीहरु त्यसैलाई 'डिस्को डान्स' भन्थे । जुनेली रातको उक्त दृश्य मनमोहक हुन्थ्यो । पर-परसम्म खालि देखिन्थे खेतहरु । बिजुली हुन्थेन । लालटिन बालेर युवायुवती जम्मा भएर नाच्थे ।

'म त त्यो बेला गाउँकै हिरो थिएँ नि नाच्नमा त । पुष्पले क्या राम्रो नाच्छ भन्दै सँधै तारिफ पाउँथे । त्यतिबेला पुरुषको गीत होस् या महिला । पुरुष महिला जसको गीत बजे पनि लिप्सिङ गर्दै नाच्थे । केही मतलब हुन्थेन । अन्धाधुन्द नाचिन्थ्यो,' पुष्पले सम्झे, 'अहिले फर्केर हेर्दा हाँसो उठ्छ, त्यतिबेला मैले महिलाको लिप्सिङमा कत्ति नाचेछु । बिट होस् अफबिट होस् जानी नजानी नाचिन्थ्यो । जे होस् खुबै रमाइलो हुन्थ्यो । आँखा चिम्लेर, हेर्नेले के भन्लान् भन्ने पर्बाह नगरी नाचिन्थ्यो ।'

नाच्न भनेपछि हुरुक्कै हुन्थे पुष्प । सुन्दर युवतीहरु 'डिस्को डान्स'मा आउने भनेपछि उनी जोशिएरै कम्मर मर्काउँथे । एसएलसीसम्म आफूहरुले धान चोरेर दसैंमा रमाइलो गर्ने गरेको पुष्प सुनाउँछन् । अहिले फर्केर पूराना दिन सम्झँदा स-सानो कुरामै खुसी हुन खोज्ने आफ्नो स्वभावलाई देखेर दंग पर्छन् उनी । अहिलेको नयाँ पुस्ताले गाउँमा आफूहरुले झैं रमाइलो मानेर दसैं मनाएको जस्तो लाग्दैन उनलाई ।

त्यो बेला 'डिस्को डान्स'मा व्यस्त हुने पुष्पलाई अहिले भने देउडाको महत्व महसुस गर्न थालेका छन् । देवीथानमा बलि चढाइसकेपछि गाउँका ठूला-बडाले देउडा नाच नाच्थे । तर उनीहरु खासै त्यसप्रति रुची हुन्थेन । उनीहरु त साउन्ड स्पिकरको जोडजाम गर्नतिरै व्यस्त भइसक्थे । तर अहिले देउडा नाचको महत्व बुझेको उनी सुनाउँछन् ।

'१५/२० जनाको टोली ढोल, सेहेनाई बनाउँदै आउनुहुन्छ । त्यतिबेला डिस्टर्व लाग्थ्यो । अहिले सुन्दा यो हाम्रो संस्कृति हो । यो हाम्रो धुन, संगीत हो । यहाँबाट यसको उत्पति भन्ने बुझ्दा छुट्टै आदर दिन मन लाग्छ । पहिला त त्यता ध्यान नै जाँदैन थियो । हाम्रोतिर सबैजना देउडा खेल्नुहुन्छ,'उनले भने,'ढोल बजाउनेहरुसँगै देउडा नाच्छन् । त्यो संस्कृति नहराओस् भनेर ढोल बजाउने समूहलाई मैले पछिल्लो वर्षको दसैंमा पाँच हजार दिएको थिएँ । उहाँहरुलाई दिने भनेको त घर-घरबाट दिने चामल सेलरोटी हो । पहिला २०/२५ जना आउँथे । अहिले १० जना मात्र आउँछन् । उहाँहरुलाई त्यो संस्कृतिप्रति लोभ लागोस् भनेर पनि सहयोग गरें ।'

बाल्यकालमा दक्षिणालाई लिएर खासै मोह नभएको पनि पुष्पको अनुभव छ । 'त्यतिबेला दक्षिणामा ५/६ सय भन्दा धेरै भएन । खोइ मेरो आफन्तहरु धेरै लोभी हुनुभयो कि ! १०/१५ मात्र दक्षिणा दिन्थे । त्यतिबेला १० रुपैयाँ पनि ठूलै हुन्थ्यो । २० दियो भने ओह्हो २० दियो भन्ने हुन्थ्यो । मामाघरमा अलि बढी हुन्थ्यो,' उनले भने ।

धान चोरेर दसैं मनाउने पुष्प नेपाली फिल्मको कलाकार भइसकेपछि गाउँमा दसैं मनाउँदा अर्कै महसुस गर्छन् । अहिले उनलाई धेरैले आदर गर्छन् । सम्मान गर्छन् । तर उनी भने आफूलाई पहिलाकै पुष्पलाई झैं व्यवहार गरिदिउन् भन्ने चाहन्छन् ।

यो वर्ष उनको दसैं केही विशेष बन्दैछ । आमा बुवा भारत छोडेर सँधैका लागि घर फर्किएका छन् । यो दसैंमा सबैजनासँग भेटघाट हुने भयो भन्ने कुराले उनको खुसी थपिएको छ । यसअघि बुवा आमा कामकै सिलसिलामा भारतको पूणेमा बस्थे ।

'दसैंमा सबैसँग जम्काभेट हुने भयो भनेर खुसी लागिरहेको छ । गाउँमा कोही हुँदैन थियो पहिला,' उनले भने, 'फिल्मको ट्रेनिङ चलिरहेको छ । म समय मिलाएर गाउँ फर्कहाल्छु । दसैंमा ठूलाको आशीर्वाद लिनै पर्‍यो ।'

प्रकाशित : आश्विन २९, २०७८ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×