दसैंमा बनाउनुस् यी परिकार

काठमाडौँ — दसैं नेपालीहको महान चाड । परिवार तथा आफन्त जमघटमा विभिन्न मिष्ठान्न भोजन बनाइन्छ । सबैले आफ्नो स्वाद र इच्छाअनुसार परिकार बनाएर खान्छन् । वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले दसैं विशेष दुईवटा शाकाहारी र मांसाहारी भोजनका रेसिपी दिएका छन् ।

खसीको भुटुवा
- बोसो र हाड नभएको खसीको मासु १ किलो
- २५० एमल काँचो तोरीको तेल
- अदुवा र लसुनको पेस्ट ४० देखि ५० ग्राम
- तेजपत्ता २ देखि ३ वटा
- जिराको धूलो पाउडर २० ग्राम
- धनियाँँको पाउडर १० ग्राम
- खुर्सानीको धूलो १० ग्राम
- गरम मसला
- बेसार १० ग्राम
- नुन स्वादअनुसार
खसीको छाला, हड्डी अनि बोसो सबै निकालेर क्युब आकारमा कम्तीमा १५ देखि २० ग्रामको पिस बनाउने । त्यसपछि सबै मसला हालेर मोल्ने । मोलिसकेपछि चुलोमा राखेर ठूलो आँचमा राखेर भुट्ने । छोपेर आधा घण्टासम्म पकाउने । कसौँडीमा पकाएको अझै मिठो मानिन्छ । मासु राम्ररी पाकेपछि इच्छाअनुसार गोलभेडा काटेर हाल्न सकिन्छ तर यो अप्सनल हो । यो ४५ मिनेटमा तयार हुन्छ । यसलाई सुख्खा नहुन्जेल मज्जाले भुट्ने र माथिबाट धनियाँँ हाल्ने । खसीको भुटुवा भात तथा खाजाको रुपमा खाना सकिन्छ ।
चरा साँधेको
- हाड नभएको कुखुराको मासु २५० ग्राम । छाती र फिलाको मासु लिन सकिन्छ
- भुटेको तिलको पाउडर २५ ग्राम ।
- रातो सिंगो खुर्सानी २–३ वटा
- दही २५० ग्राम
- अमिलो १० एमएल
- तोरीको तेल २५ एमएल
- मेथि ३ देखि ५ ग्राम
- सानो आकारमा काटेको अदुवा अनि लसुन १० देखि १५ ग्राम
- बेसार ५ ग्राम
- हरियो धनियाँँ
- नुन स्वादअनुसार
कुखुराको मासुलाई उसिन्ने । चिसो भएपछि हातले मासुलाई केस्रा केस्रा बनाउने । दहीमा तिलको पाउडर मिलाउने । तोरीको तेल तताएर रातो खुर्सानी पड्काउने अनि मेथी पनि बेसार हाल्ने । अनि केस्रा परेको मासुमा माथि भनिएका सामग्री मोल्ने । आकर्षक देखाउन चाइनिज हरियो सागलाई सेतो प्लेटमा राखेर गोलभेडा, गाजर तथा मूलाको फूल बनाएर सजाएर माथिबाट धनियाँ राखेर सर्भ गर्न सकिन्छ ।
खसीको लेदोबेदो ( मटन करी)
यो नेपाली स्टाइलको मटन करी हो ।
- १ किलो मासुमा (आधा हड्डी र आधा हड्डी नभएको )
- १५० ग्राम प्याज
- १०० ग्राम गोलभेडा
- तेजपत्ता केही
- अदुवा लसुन पेस्ट ३० ग्राम
- जिरा पाउडर ३० ग्राम
- बेसार १५ ग्राम
- धनियाँ १० १५ ग्राम
- हरियो धनियाँ १५ ग्राम
- १०० एमएल काँचो तोरीको तेल
- गरम मसला १० देखि १५ ग्राम
मासुलाई टुक्रा पारेर ठिक्क आकारको पिस बनाउने अनि सबै मसला मोल्ने । त्यसलाई आगोमा मज्जाले आधा घण्टासम्म भुट्ने डढ्न नदिने । मासु पाकिसकेपछि काटिएको गोलभेडा हाल्ने । ४५ मिनेट देखि १ घण्टासम्म पकाएपछि धनियाँँ हाल्ने । अनि यो खानको लागि तयार हुन्छ ।
मिसमास तरकारी
यो बनाउन सिजनल तरकारीहरु लिन सकिन्छ ।
- मुला १०० ग्राम
- गाजर ५० ग्राम
- सिमी १०० ग्राम
- काउली १०० ग्राम
- इसकुस ५० ग्राम
- पाकेको फर्सी ५० ग्राम
- हरियो धनियाँँ २५ ग्राम
- अदुवा १५ ग्राम
- लसुन १५ ग्राम
- तोरीको तेल १०० एमएल
- मेथी ५ ग्राम
- सुकेको खुर्सानी २ वटा
- खुर्सानीको धूलो १५ ग्राम
- धनियाँँको धूलो १० ग्राम
- जिराको धूलो १५ ग्राम
- बेसार १० ग्राम
- गोलभेडा ५० ग्राम
- गरम मसला १५ ग्राम
- नुन स्वादअनुसार
यो तरकारीमा प्याज हाल्न जरुरत छैन । सबै तरकारी धोएर इच्छाअनुसारको आकारमा काट्न सकिन्छ । कराईमा तेल तताउने खुर्सानी र मेथी पड्काउने । अनि काटिएको तरकारी हाल्ने । जब आधा पाक्छ अरु सबै मसलाहरु हाल्दिने । एकछिन भुटेपछि पाक्न दिने । पाकेपछि गोलभेडा हाल्ने । त्यसपछि धनियाँ हालेर सर्भ गर्ने ।
साग झाँनेको
- १ किलो पालुंगो
- काँचो तोरीको तेल २५ एमएल
- जिराको गेडा ५ देखि १० ग्राम
- अदुवा १५ ग्राम
- लसुन १५ ग्राम
- सुकेको खुर्सानी २ देखि ३ वटा
- मेथी ५ ग्राम
- नुन स्वादअनुसार
- जिराको धुलो १५ ग्राम
पालुंगो सागलाई सफासँग धुने । कराईमा तेल तताउने तातो भएपछि खुर्सानी र मेथी पड्काउने । अलिकति अदुवा लसुनको पेस्ट हाल्ने। भुटिसकेपछि पालुंगो हाल्ने । केही समय गल्न थालेपछि जिरा पाउडर हल्दिने ।नुन हाल्ने । यो बढीमा ८ देखि १२ मिनेटमा पाकिसक्छ । माथिबाट अदुवा र लसुनको टुक्रा हालेर धनियाँ हालेर पस्किन सकिन्छ ।
(बुनु थारुसँगको कुराकानीमा आधारित)