‘दसैँ कहिले आउलाजस्तो लाग्थ्यो’ : लोकराज बराल- दसैं विशेष - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
उहिलेको दसैं

‘दसैँ कहिले आउलाजस्तो लाग्थ्यो’ : लोकराज बराल

कान्तिपुर संवाददाता

काठमाडौँ — केटाकेटी बेला कहिले दसैँ आउलाजस्तो लाग्थ्यो । त्यो बेलै त्यस्तो रहेछ । अहिले त दसैँ आउँछ, जान्छ, खासै मतलब हुँदैन ।  २००५ सालको कुरा हो । म ८ वर्षको थिएँ । त्यही वर्ष म सलकपुरस्थित बाको मामाघर पढ्न भनेर गएको थिएँ । किनकि, त्यसबेला हाम्रो गाउँमा कुनै विद्यालय थिएन ।


म झापाको मान्छे । सलकपुरचाहिँ इलाम जिल्लामा पर्छ । बाको मामा पण्डित पदमलाल घिमिरेले त्यहाँ प्राथमिक स्कुल खोल्नु भएको थियो । त्यो स्कुल भर्खर–भर्खर खुलेको थियो । त्यहीँ मैले ए, बी, सी, डी चिन्ने अवसर पाएँ । पछि उहाँको छोरा डा. भोजराज घिमिरे मुख्यसचिव पनि हुनुभयो ।

केटाकेटी बेलाको मनोविज्ञान कस्तो हुन्छ भने नयाँनयाँ कुरा गर्न मन लाग्छ । तर सोचेजति त के गर्न पाइन्छ र ? त्यसबेलाको लवाइ–खवाइ, रहनसहन सम्झँदा आज पनि हाँसो उठ्छ । त्यसबेला केटाहरूले हाफ पाइन्ट पनि लगाउने चलन थिएन । लगौँटी लगाउने, एउटा कमिजसम्म माथि हुन्थ्यो । कोही कोहीको कमिज कम्मरसम्म आइपुग्थ्यो भने कोही कोहीको अलि छोटा हुन्थे ।

मेरो त्यसबेला भर्खर ब्रतबन्ध गरेर जनै काँधमा हालिदिएका थिए । बाको मामाघरमा पढ्न गएको, लगौँटीमात्र लगाएर नाङ्गै चुलामा गएर भात खाएको निकै सम्झना हुन्छ । ३/४ महिना त्यहाँ बसेपछि दसैँ आयो । बा लिन आउनुभयो । अनि दसैँमा घर आइयो । बाले नक्सलबाडीबाट एउटा नयाँ जाँघे (हाफ पाइन्ट) ल्याइदिनु भयो । किनभने नक्सलबाडी बजार हाम्रो घरबाट नजिकै पर्थ्यो, पर्छ ।

घरमा दसैँ मनाइवरी फेरि बूढामावली पढ्न भनेर आइयो । सलकपुरमा मेरै गाउँका अर्का एकजना साथी पनि पढ्न बसेका थिए । हाम्रो बीचमा निकै मिल्ती थियो । एकदिन हामी दुवैजना मिलेर सलकपुरबाट भाग्ने सल्लाह गर्‍यौँ । र, भाग्यौँ । किनभने, सलकपुरको माथि डाँडामा गएपछि त्यहाँबाट हाम्रो गाउँ माथिको डाँडाको पीपलको बोट देखिन्थ्यो । त्यो पीपलको बोट देख्नासाथ ‘होमसिक’ भइहाल्ने ! त्यो पीपलको रूख देख्नेबित्तिकै घर सम्झेर रून मन लाग्थ्यो । घरको अति नै याद आउँथ्यो त्यसबेला । हामी सलकपुरबाट भागेर तिहारअघि नै घर आयौँ । केटाकेटी बेला त्यसरी ‘होमसिक’ हुँदोरहेछ ।

हामी सानो छँदा गाउँमा कात्तिके मेला लाग्थ्यो । मेलामा जान भनेर दसैँमा एकआना, दुईआना पैसा भेला गरेर राखिन्थ्यो । वर्षभरि जम्मा पार्दा बडो मुस्किलले एक, दुई रूपैयाँ हुन्थ्यो । त्यति भएपछि त ‘राजै’ होइन्थ्यो नि ! मेलामा सामान निकै सस्तो पाइन्थ्यो । नेपाली पैसा हुँदैनथ्यो । भारतीय सिक्का नै चलनचल्तीमा थियो ।

पैसा जम्मा गरेर बजार जाने निकै रहर हुन्थ्यो । त्यसबेला दसैँमा कत्रो उत्साह र उमङ्ग हुन्थ्यो ! बाफ् रे बाफ ! ! भनेर के साध्य । हाम्रो गाउँमा ठुटेबजार लाग्थ्यो । अहिले पनि ठुटेबजार छ । अहिले त्यस ठाउँमा शान्तिबजार बनेको छ । हाम्रो गाउँ बुधबारेभन्दा पारिपट्टि पर्छ ।

त्यसबेलाको मलाई धेरै कुरा सम्झना हुन्छ । घरमा दसैँ मनाएको, दसैँपछि मामाघर गएको, एकाना, दुआना पैसा भेला गरेको कुरा सम्झँदा पैसाको कति महत्व हुने रहेछ जस्तो लाग्छ ।

त्यसबखत हाम्रो परिवार ठूलो थियो । घरभरि मान्छे हुन्थे । वर्षमा एक पटक दसैँमा नयाँ लुगा हाल्ने चलन थियो । दसैँ आएपछि मन प्रफुल्ल हुन्थ्यो । छुट्टै कौतुहलता हुन्थ्यो । दमाई दाइलाई घरमै बोलाएर लुगा सिलाइन्थ्यो ।

हाम्रो गाउँमा एकजना कैयाँको कपडा पसल थियो । बा, हजुरबाले तिनै कैयाँको पसलबाट थानै कपडा ल्याएर दमाईलाई सिलाउन दिने चलन थियो । गाउँमा मारबाडीलाई कैयाँ भनिन्थ्यो ।

वर्षभरि झुत्राझाम्रा लुगा लगाएर गुजारा गर्नुपर्थ्यो । सद्दे लुगै हुँदैनथ्यो । दसैँअघि दमाई घरमै आएर परिवारका सबैलाई नयाँ लुगा सिलाइदिन्थे । दमाई हाम्रो घरमा १०–१५ दिन बसेर लुगा सिलाइदिन्थे ।

त्यसबापत उनलाई दाइँ गरेपछि धान, चामल दिने चलन थियो । दसैँमा खसीको पुच्छरपट्टिको भाग अर्थात् पुच्छरैसहित काटेर दमाई भाग राखिदिने चलन थियो । सायद अहिले यस्ता प्रचलन हटिसके होलान् । समयसँगै धेरै कुरा बदलिन्छ । बदलिनु पनि पर्छ ।

हामीलाई बाहिरका अरू कुरा केही थाहा हुँदैनथ्यो । घरमा हुने गतिविधिहरू थाहा हुने हो । जे भए पनि केटाकेटी बेला दसैँ रामाइलो हुन्थ्यो । कहिले दसैँ आउलाजस्तो लाग्थ्यो । त्यो बेलै त्यस्तो रहेछ । अहिले त दसैँ आउँछ, जान्छ, खासै मतलब हुँदैन ।

(बराल प्राध्यापक, राजनीतिशास्त्र तथा भारतका लागि पूर्वराजदूत हुन्)

प्रस्तुतिः ध्रुव सिम्खडा

प्रकाशित : आश्विन २९, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

टीकाकै दिन विदेशिनेहरू...

तस्बिर : कविन अधिकारी

काठमाडौँ — विजया दशमीको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा वैदेशिक रोजगारीका लागि जाँदै युवाहरू ।

प्रकाशित : आश्विन २९, २०७८ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×