
ओथारो बसेको पोथी परेवा अलि पर सरिरहेको थियो । वाक्वाकुम्...वाक्वाकुम् आवाज निकाल्दै बचेरालाई चुच्चोले चारो खुवाउँदै गरेको भाले परेवा निकै डराएको थियो । त्यतिखेर मेरा दायाँ हात परेवाको बचेरा समातिरहेको थियो । मैले बल्लतल्ल उड्न थालेको परेवाको बचेराको दुवै प्वाँख च्याप्प समातेँ । बचेराको जिउ थर्थराइरहेको थियो ।

तलबाट आमाले कराउनुभयो, ‘छिटो निकाल्, मामालाई ढिला भयो ।’
म पैठीमा चढेर टोङमा (परेवा बस्ने घर) हेरिरहेकी थिएँ । म नलडूँ भनेर टोङमा चढ्न लगाइएको पैठी (बाँसले बनाएको सिँढी) आमाले तल समातिरह्नु भएको थियो । आमाको आवाज सुनेर मैले हतपत बचेराको प्वाँख समात्दै एउटा बचेरा आमाको हातमा थमाएँ । आमाले बचेराको प्वाँख समात्दै अर्को चक्कामा (परेवा बस्ने तला) पनि हेर् । एउटा मात्र परेवाको मासु थोरै हुन्छ भन्नुभयो ।
दुबै आँखाले एकैपटक हेर्न सक्ने सानो प्वाल परेवा बस्ने घरमा नभएकोले मैले फेरि एउटा आँखा चिम्म गरेर अर्को आँखाले परेवा बसिरहेको अर्को चक्कामा हेरेँ । त्यो चक्कामा कालो परेवा ओथारो बसिरहेको थियो । छेउमा रहेको बचेरा परेवा मेरो आँखा देखेर अपचकाउँदै यताउति हेरिरहेको थियो ।
मैले दायाँ हात परेवाको चक्कामा छिराएँ । मेरो हात देख्नेबित्तिकै सेतो परेवा वाक्वाकुम्...वाक्वाकुम् आवाज निकाल्दै डराउँदै भित्तापट्टि सर्यो । मेरो आँखा हेरेर अपचकाइरहेको सेतो रङको बचेराको प्वाँख समाएँ । प्वाँख फटफटाइरहेकोले एउटा प्वाँख मात्र समाएँ । अर्को प्वाँख फटफटाउँदै उड्न खोजिरहेको थियो । मैले बल लगाएर जिउ समात्दै अर्को प्वाँख पनि च्याप्प समातेँ । बचेराले जिउ खुम्चाएर डल्लै भइसकेको थियो । आमालाई त्यो बचेरा पनि दिएँ । त्यसपछि म पैठीबाट तल ओर्लेँ ।
त्यही क्रममा टोलकी लवकी भाउजू परेवाको बचेरा खोज्न आउनुभयो । काकी परेवा छ भनेर भाउजूले आमालाई सोध्नुभयो ।
आमा, ‘हो, छ । कति जोर (जोडी) चाहिन्छ ?’
भाउजू, ‘दुई जोर ।’
आमा, ‘एक जोर मात्र छ ।’
भाउजू, ‘त्यसोभए एक जोर मात्र दिनुस् । अर्को एक जोर अरूको घरतिर खोज्छु ।’
टोङमा पैठी लागेकै थियो । मतिर आमाले हेर्दै भन्नुभयो, ‘जा टोङबाट फेरि एकजोर बच्चा झिकेर भाउजूलाई दे ।’
मैले अस्वीकृति जानाउँदै आमालाई भनेँ, ‘मैले अर्को बचेरा देखिनँ ।’
आमा, ‘पछबैरीया चक्कामा हेर् । त्यहाँ छ । मैले हिजै परेवाले बिस्ट्याएको सफा गर्दा बचेरा देखेकी थिएँ । उरात (उड्ने) भइसकेको छ । तर, उडेको छैन ।’
आमाको कुरा मान्दै म फेरि पैठीमा चढेँ । यो पटक अर्कोतिर नचियाइकन आमाले भन्नुभएको सिधै टोङको पछबरीया प्वालमा आँखा राखेर हेरेँ । त्यहाँ त एक जोडी बचेराहरू चिरबिर–चिरबिर आवाज निकाल्दै अपचकाउँदै खेलिरहेका थिए ।
टोङमा हात छिराउने जति मात्र प्वाल भएकोले मैले फेरि पनि हात छिराउँदै पालैपालो बचेराको प्वाँख समातेर बाहिर ल्याएँ । यी बचेराहरू पनि डरले अपचकाउँदै जिउ डल्लो पारिसकेका थिए । मैले बचेरा झिक्दै गर्दा भाउजूले आमालाई सोध्नुभो, ‘काकी जोडीको कति ?’
आमाले भन्नुभयो, ‘बजारमा जोडीको पाँचसयले बिक्छ । तर गाउँकालाई मैले चारसयमा बेच्ने गरेकी छु । ज्वाइँ आउनुभएको बेलामा कमलपुरवालीको घरबाट मैले पनि चारसय टकामा (रुपैयाँ) एक जोडी ल्याएकी थिएँ ।’
भाउजूले आँचलको गाँठो फुकाउँदै आमालाई चारओटा नम्मरी (चारओटा सयको नोट) दिँदै परेवाको एक जोडी बचेरा समात्नुभयो । आँगनबाट निस्किँदै गर्नुभएको भाउजूलाई आमाले सोध्नुभयो, ‘तँलाई को लिन आएको छ– भाइ कि बा ?’
भाउजू, ‘भाइ आ’को छ काकी ।’
म पैठीबाट ओर्लेपछि चारओटा नम्मरी सारीको फुर्कोमा बाँध्दै आमाले कम्मरको छेउमा घुसार्दै थप्नुभो, ‘उतिबेला दसवर्षअघि आमाले एक जोडी परेवा दिनुभयो । त्यही एक जोडीबाट मैले नौ जोडी परेवा बनाएँ ।’
आमाको कुरा सुनेर बल्ला थाहा पाएँ माइतीबाट छोरीलाई परेवा पाल्नका लागि दिने रहेछ ।
बजारमा परेवा जोडीको पाँचसयमा बेचे पनि गाउँका छिमेकीहरूले एकअर्कालाई चारसयमा बेचबिखन गरिरहेका थिए । जितियाको माहोल थियो । जितिया थारू महिलाहरूको महत्त्वपूर्ण चाड भएकोले सबैको माइतीबाट भाइ वा बा लिन आएका थिए । मेरा पनि मामा जितियामा आमालाई माइत लैजान आउनुभएको थियो । जितियामा लिन आएका मामालाई परेवाको मासु खान दिने चलन छ ।
बिरालो, न्याउरी मुसा र सर्पबाट सुरक्षित राख्नखातिर टोङ अग्लो बनाइएको थियो । पश्चिमतिर सुत्ने घर, पूर्वतिर भान्साघर थियो भने आँगनको दखिनबरीया कुनामा टोङ थियो । टोङ काठका खम्बामा फलामको किलाले टाँगिएको थियो । टोङको प्वाल हात छिराउने जति मात्र फराकिलो थियो भने भित्र परेवा बस्नाका लागि एक हात जति फराकिलो ठाउँ थियो । दुईतल्ले टोङमा दसओटा स–साना कोठाहरू थिए । अगाडि काठको पटाहाको ढोका थियो । बेलुकी चारो टिपेर सबै परेवा टोङ छिरिसकेपछि ती ढोकाहरू राति अङकुशले लगाउनुपर्थ्यो र बिहान खोल्नुपर्थ्यो । ढोका खोल्ने बित्तिकै परेवाहरू भुर्रर्र, भुर्रर उड्दै माटाको टायल भएको पुवरीया र पछबरीया घरका छानाहरूमा बस्थे । आँगनमा कनिका छरेपछि दाना टिप्न छानाबाट सबै परेवाहरू तल झर्थे ।
केटा मान्छेले मात्र बली दिने चलन भएकोले भाइलाई कलबाट नुहाएर आउन आमाले अह्राउनुभयो । भाइ ‘जहिले मैले परेवा काट्नुपर्छ’ भन्दै गनगनाउँदै कलमा नुहायो । भाइ नुहाएर आउन्जेल आमाले आँगनमा चिकनी माटोले (पहेँलो माटो) चौका (पोत्नु) बनाएर त्यसमा गुँइठाको आगोमा सररको धूप (सल्ला) बालिसक्नुभएको थियो । मैले भान्साबाट चुलेसी ल्याएर चौकामा राखेँ । छेउमा थालमा तुलसी र चामलको अक्षता तयार थियो । भाइले अक्षताको दुईओटा पूजा चौकामा हाल्यो । पूजा हालेर बच्चालाई समातेर पालैपालो तुलसी र चामलको अक्षता र थोरै पानी टाउकोमा राख्यो । पानी राख्दा बचेराहरूले टाउको हल्लाए । पालैपाले घाँटी समातेर काट्दै पूजा हालेको चामल वरवर रगत चढायो ।
एक महिनाअघि बारीबाट खसी चर्दाचर्दै हराएको थियो । त्यतिबेला खसी भेटे भने एक जोडी परेवा चडाउँछु भनेर मनमनै सलहेश भगवानको गहबारतिर ढोग्दै आमाले भाकल गर्नुभएको थियो ।
मामा जितियामा लिन आउनुभएको थियो । मामा बसघरामा आराम गरिरहनु भएको थियो । परेवा काटेपछि भाइको काम परेवाको भुत्ला झिक्नु थियो । भाइ भुत्ला झिक्न व्यस्त भयो । आमा प्याज काट्न व्यस्त हुनुभयो । मलाई सिलौटामा मसला पिस्न अहाउनुभयो । अदुवा, जिरा र गरम मसलाका गेडाहरू आमाले सिलौटामा राखिसक्नु भएको थियो । म मसलामा पानी हाल्दै बल लगाउँदै सिलौटामा मसला रगड्न थालेँ ।
भाइले परेवाको भुत्ला उखेलेर चारो झिक्यो । चारो झिकेर चुलो छेउमा सन्ठीमा (सनपाटको गुन्द्री) आगो सल्काउँदै परेवालाई पोल्न थाल्यो । पोलेपछि बाँकी बचेका मसिना भुत्लाहरू सबै जल्यो । मासु चिल्लो र पहेँलो भयो । पोलेर कलमा गएर धोयो । धोएर ल्याएपछि मासु काट्न थाल्यो । मासु काट्ने बेला आमाले भन्नुभयो, ‘ठूलठूलै बुट्टी काट् ।’ आन्द्राभुँडी झिकेर फाल्दै सधैँ मैले नै मासु काट्नुपर्छ भन्दै फेरि भाइ गनगनाउँदै मासु काट्न थाल्यो ।
त्यतिबेलासम्म आमाले चुलो बालेर कन्तीमा तेल हालिसक्नुभएको थियो । तेल तातेपछि प्याज हाल्नुभयो । प्याज हाल्दा तातेको तेल झ्वाइँ बोल्यो । प्याज भुटिरहुभएको थियो । प्याज भुट्दै भन्नुभयो, ‘प्याज ओइलेपछि मासु हाल्नुपर्छ । प्याज नओइलिकन मासु हाले प्याज गल्दैन । मासु मिठो हुँदैन ।’
मेरो हात मसला पिस्दा–पिस्दा गलिसकेको थियो । निधारबाट पसिना झरिरहेको थियो । मसला मैले हातले पटक–पटक छाम्दै पिसिरहेकी थिएँ । मसला मिहिन भइसकेपछि मैले सिलौटाको मसला सोहोरेर बटुकोमा हालेँ । चुलो नजिक लगेँ । बेसार, नुन हालेको मासु पर्परि भुटेर रातो भइसकेको थियो ।
मसलासँगै मासुमा आमाले झोल हाल्नुभयो । माथिबाट बुकनी (खुर्सानीको धुलो) र मरिचको धुलो हाल्नुभयो । बुकनी हाल्दै भन्नुभयो, ‘परेवाको मासु पिरो मिठो हुन्छ । पिरै पकाउनुपर्छ । मासु पाकिसक्यो । जा, मामालाई खाना खान बोला ।’
म एक लोटा पानी लिएर मामालाई खाना खान बोलाउन गएँ ।
मैले लगेको लोटाको पानीले मामाले बसघरा छेउमा भएको दुबोमा कुल्ला गर्नुभयो । हात, गोडा धुनुभयो । त्यसपछि मेरो पछिपछि खाना खान आँगनमा आउनुभयो ।
जितियामा लिन आएका मामालाई परेवाको मासु खुवाउने चलन छ । मामा खाना खाएर उठिसकेपछि हामी खाना खान बस्यौँ । परेवाको मासु लदबद निकै मिठो थियो । पकाउने बेलामा मासुको मगमग बास्नाले मैले धेरै पटक थुक निलिसकेकी थिएँ । मासु धेरै पिरो थियो तर मिठो थियो । खाना खाँदैगर्दा पिरोले मेरो निधारभरि पसिना आएको थियो तैपनि खाना खाने आशक्ति बढिरहेकै थियो ।
त्यतिबेला तेलपौर (चामलको पिठोको पुरी) रोटी पाकिसकेको थियो । आमाले मामासँग जितिया गर्न मलाई पठाउनुभयो । आमाले तेलपौर रोटी र चिउरा कोसेली टालोमा पोको पारेर मामालाई दिनुभयो । मामाले साइकलको ह्यान्डलमा कोसेली झुन्ड्याउनुभयो भने साइकलको पछाडिको ‘क्यारियर’मा मलाई बसाउनुभयो । मामाघर पुग्दा ‘क्यारियर’मा बसेर मेरा दुबै गोडा धुलाम्मे भइसकेका थिए । मामाघरमा पनि आँगनमा माटाको गरा र प्वाल भएको टिनको छाना भएको परेवाघर पछबरीया कुनामा थियो ।
भोलिपल्ट माइजूले परेवाको घर सफा गर्न थाल्नुभयो । घर सफा गर्ने बेलामा छितनी (सानो ढकी), कुच्चो र पराल ल्याउनुभयो । माइजू परेवाको घर नजिक जाँदा सबै परेवा भुर्रर उडेर घरको छानामा बसे । ओथारो बसेको परेवाचाहिँ उँडेन ।
माइजूले सबै चक्कामा भएको परेवाको बिस्टा सोहोर्दै छितनीमा हाल्नुभयो । सबै परेवालाई चक्कामा बस्न पराल ओछ्याइदिनुभयो । पराल ओछ्याउँदै भन्नुभयो, ‘अण्डाबाट भर्खर निस्केको परेवाको बचेरालाई चलाउनु हुन्न । चलायो भने त्यो बचेरा मर्छ ।’
ओसरामा खोपमा (परेवालाई थुन्न बाँसले बनाइएको सानो पिँजडाजस्तो वस्तु) एक जोडी परेवा थियो । माइजू खेतमा काम गर्न जानुभएको बेलामा म खोपको परेवालाई दिनभरिमा तीन, चार पटक कनिका खोपमुनि छरिदिन्थेँ । खोप उठाएर पानी खुवाउन कल लग्थेँ । कलको छेउमा भएको पानीको खाल्डोमा खोप राखिदिन्थेँ । घाँटी तन्काउँदै परेवाहरू चुच्चाले पानी पिउँथे र पखेटा फटफटाउँथे । राति सुत्ने बेलामा खोप उठाएर सुत्ने घरमा राख्नुहुन्थ्यो माइजूले । नभए रातभरिमा बिरालोले खान सक्थ्यो । बिहान फेरि बाहिर ओसरामा राख्नुहुन्थ्यो । बिरालो, सर्प र न्याउरी मुसाबाट बचाउन दिनभरि खोपको र घरमा भएको परेवाहरूको निगरानी गर्नुपर्थ्यो ।
माइजूले फेरि थप्नुभयो, ‘खोपको परेवा, जोडी मिलिसकेको छ । परेवा जोडीलाई भोलि राम्रो दिन हेरेर छोड्छु । बहादुरको आमाबाट मुन्सा (भाले) परेवा ल्याएकी थिएँ जोडी मिलाउन । मैगी (पोथी) परेवा आफ्नै थियो ।’
माइजूले राति भात खाएपछि परेवाको प्वाँख समात्दै खोपबाट निकाल्नुभयो । पालैपालो जोडी परेवालाई मोखको (घरको चौकस छेउको माटो) माटो खुवाउनुभयो । त्यतिखेर माइजू दुबै परेवाको प्वाँख समातिरहनुभएको थियो । मोखको माटो खुवाएर परेवालाई घर छिर्ने प्वाल देखाउँदै अगाडिको प्वालबाट दुई, तीन पटक बाहिर र भित्र परेवालाई छिराउँदै भन्नुभयो, ‘तेरो घर यही हो । भोलिदेखि यही घरमा बस् ।’ यति भन्दै माइजूले परेवालाई परेवा बस्ने घरमा छिराएर अगाडिबाट ढोका लगाइदिनुभयो ।
परेवालाई जोडी मिलाउन एक महिना वा १५ दिन खोपमा राख्नु पर्छ । जोडी मिलिसकेपछि बल्ल घरमा बस्ने गरी उडाउनुपर्छ । परेवा अरूको घर नजाओस् भनेर जोडीलाई घरमा छोड्ने बेलामा मोखको माटो खुवाउने रहेछ । भोलि बिहान उठ्दा राति घरमा छोडेको जोडी परेवा आँगनमा छरिएको बासीभात खाँदै वाक्वाकुम्...वाक्वाकुम् गर्दै आफ्नी मौगी परेवालाई फकाइरहेको थियो । माइजूले परेवाको जोडी देखेर भन्नुभयो, ‘मुन्सा परेवा आवाज निकालेर वाक्वाकुम्...वाक्वाकुम् गर्दै नाच्छ भने मौगी परेवा भुट्किन्छ (मसिनो आवाजमा चिर्बिर गर्नु) मात्र । नाच्न जान्दैन ।’
दिउँसो टोलकी महदेवावाली माइजू परेवा सापटी लिन आउनुभयो । माइजूलाई भन्नुभयो, ‘नन्दनकी आमा परेवाको बच्चा छ भने मलाई एक जोडी सापटी दे । माइतबाट भाइ आएको छ । मासु खुवाउनु छ । मेरा परेवाका बचेराहरू भर्खर अण्डाबाट निस्केका छन् । उडात भएपछि म तँलाई बचेरा नै दिन्छु ।’
कति जोडी परेवा छ ?
पहिला १४ जोडी थियो । घरमा कोही नभएको बेला एकपटक सर्पले एक जोडीलाई घाइते बनाएर मार्यो । बिरालोले अर्को पल्ट एक जोडी च्यापेर लगेछ । न्याउरी मुसाले अस्ति भर्खरै दुई जोडी खाइदियो । खुट्टामा घाउ भएर एउटा मुन्सा परेवा मर्यो । बेजोडी भएको मौगी परेवा लहानवालीको मुन्सा परेवासँग पोइल गई ।
माइजूले महदेवावाली माइजूलाई एक जोडी परेवाको बचेरा सापटी दिनुभयो । बचेरा सापटी दिने चलन पनि छ । परेवा आफ्नो जोडी मिलाएर अरूको परेवासँग भाग्ने पनि गर्छन् भन्ने कुरा माइजूबाट थाहा पाएँ ।
मेरो घरमा पनि धेरैपटक न्याउरीमुसा छिरेर परेवाको घाँटी न्याकेर खाएको थियो ।
एक हप्तापछि माइजू दुई जोडी बचेरा परेवा खोपमा राखेर हटिया जानुभयो । बचेरा जोडीको पाँचसयले बेचेर मेरा लागि नयाँ कुर्था–सलवार ल्याइदिनुभयो । बाँकी बचेको पैसाले घरको गर्जो टार्नुभयो ।
कसैको आँगनमा काठको घर थियो, त्यसलाई टोङ भनिन्थ्यो । कसैको आँगनमा माटाको परेवाघर थियो । त्यसलाई परेवाघर भनिन्थ्यो । सानो ठाउँ भएकाहरूले सुत्ने घरको भित्तामा बारिहपट्टिबाट चक्का निर्माण गरी परेवाघर बनाएका हुन्छन् । थारू गाउँमा सबैको आँगनमा परेवाको घर हुन्छ । सबैले चार, पाँच जोडी परेवा पालेकै हुन्छन् । नजिक बजार हुँदैन । सधै हातमा पैसा हुँदैन । बजारको माछामासुको व्यवस्था तुरून्तै गर्न सकिँदैन । अचानक पाहुना आए तिनलाई स्वागत, सत्कार गर्न परेवा काटेर मासु पकाएर खुवाइन्छ । पैसाको खाँचो परेका बेला हटियामा लगेर परेवा बेची घरखर्च चलाउने गर्छन् । मेरो घरको नुन, तेल पनि परेवा बेचेरै आमाले चलाउनुहुन्थ्यो ।
मासु खान मन लागेको बेला परेवा काटी घरका सदस्यहरू मिलेर मासु खान्छन् । आमाले भन्नुहुन्थ्यो, ‘सर्दी (रूघा) लागेको बेला परेवाको झोल खायो भने सर्दी च्वाट्टै हुन्छ ।’
जितिया, माघी, नयाँवर्ष, दसैँ, तिहारमा परेवा काटेर खाने चलन छ । तिहारमा गोवर्धनपूजाको दिन गुहालीमा बनाइएको गोवर्धनको मूर्तिअगाडि जोडी परेवाको बचेरा बली दिने चलन छ । त्यो दिन परेवाको बली नदिई हुँदैन । त्यसैगरी गाई, गोरूजस्ता घरपालुवा जनावरहरू बिरामी परे, हराएमा देउतालाई परेवा बली दिन भाकल गर्ने चलन रहेको छ । गाईवस्तु सकुशल भेटेमा र सञ्चो भएमा परेवाको बली दिइन्छ ।
प्रकाशित : आश्विन ३०, २०७८ ०८:१३