कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्मृति

आँसुले रूझेको अँगेनो

दुधसँगै ठुलीआमाको चर्को रिस पोखियो । अघि भोकले रोएको भाइ पनि अब पोलेको पीडाले झन् रून थाल्यो । आमा यतिबेला पनि केही नबोली बसिरहनुभएको थियो ।
अस्मिता बादी

काठमाडौँ — यतिबेला काठमाडौँ कलङ्कीमा ‘रारा एयर सस्पेन्सन’को क्याबिनमा छु । मन एकतमासले उजाडिएको छ । वरिपरिको वातावरण मान्छेको भीडले गुम्सिएको छ । कुममा कुम जोडेर हिँडिरहेका यी मान्छे  देख्दा लाग्छ, हजारौँ माइलको दुरी लिएर पनि यी सँगसँगै हिँडेका छन् ।

आँसुले रूझेको अँगेनो

समीपमा छन् तर कति अलग्गिएका छन् । भीडमा छन् तर एक्लो र बेचैन छन् ।

यद्यपि म पनि यही भीडको एक यात्री न हुँ । मेरो मन पनि कतै टाढा पुगेको छ आज । भावनाहरू मनको आकाशमा उड्दैछ । बेसरी भत्किएको छु स्मृतिदंशले ।

यसपालि म गाउँ जाँदैछु तर मनखुशी भएर घर गइरहेकी छैन । बाध्यता के हो भने चाहेर पनि म घर जान सक्दिनँ । तर, सामुन्ने दसैँ भनिने एक चाड छ । उत्सव छ । यसलाई जसरी पनि ‘मनाउनुपर्ने’ लोकाचारले गर्दा म कतै गइरहेको छु । वा भनौँ जानुपरेको छ ।

गाडी थानकोटको ओरालै–ओरालो बत्तिएको छ । बाहिर बाक्लो अँध्यारोले ढाकेको छ । सडकैभरि रातको अँध्यारो चिर्दै दौडेका गाडीका झिलिमिली बत्ती छन् । तर मनको आकाशमा उही अन्धकार व्याप्त छ ।

यतिकैमा बसमा बजिरहेको खुमन अधिकारी र विष्णु माझीको दसैँ गीतले मेरो ध्यान खिच्यो । गीतले भन्छ, ‘फेरि आयो दसैँ र तिहार नि, मनै बिगार्नी !’

गीतको ‘फिमेल भर्सन’ सुन्दा लाग्छ यसले मेरै मनको व्यथा बोलिरहेको छ । यत्तिकैमा म धेरै पहिलेको कुनै एक साँझतिर हराउन पुग्छु ।

त्यो साँझ रेडियोछेउ आमा एक्लै बसिरहनुभएको थियो । सायद् गीत सुन्दै हुनुहुन्थ्यो वा रेडियो यत्तिकै बजाइएको मात्र थियो । भाइ आमाको छेउमा आफ्नै सुरमा खेलेर बसिरहेको थियो । मचाहिँ चुलोमा दाउरा राखेर आगो फुक्दै थिएँ ।

त्यो दिन हामी सबैलाई निकै भोक लागेको थियो । आमाले आगो बालेर खाना पकाउने सुरसार नगरेपछि म आफै भात पकाउन तम्सेर आगो फुक्न थालेको थिएँ । यो देखेर आमाले मलाई र भाइलाई ठूलोबुबाको घरमा गएर आउन भन्नुभयो । तर त्यतिबेला भाइले हिँड्न मानेन ।

सायद् उसको पोलेको घाउ निकै दुखेको थियो त्यो दिन । तर उसको जिद्दी आमासँग धेरै टिकेन । हामी ठूलोबुबाको घरको बाटो झरिसकेका थियौँ ।

त्यहाँ पुग्न करिब बीस मिनेटको जङ्गलको बाटो हिँडेर जानुपर्थ्यो । आमाले यसरी कहिले पनि अबेर भइसकेपछि हामीलाई कतै जान दिनुहुँदैनथ्यो तर त्यो दिन किन हो हामीलाई उहाँकै आदेशमा ठूलोबुबाकहाँ पठाउनुभयो ।

जब त्यहाँ पुग्यौँ ठुलीआमाले झर्को मानेर गाली गर्नुभयो । ‘फेरि किन आयौ यतिबेला’ भनेर सोध्नुभयो । हामीले आमाले पठाएको भन्यौँ । तर उहाँले हाम्रो कुरालाई वास्ता नगरी उहाँकै ठूली छोरीको साथ लगाएर घरतिरै फर्काइदिनुभयो ।

बाटोभरि हामी बाबाको कुरा गर्दै गयौँ । तर बाबा आउने, नआउने टुङ्गो थिएन । दसैँसम्म आइपुग्छु भनेर उहाँ घरबाहिर जानुभएको थियो ।

तिथिमिति सम्झिँदा आज थाहा भयो, त्यो २०६४ सालको दसैँ रहेछ । पहिलोपटक फर्किएको केही दिनपछि हामी फेरि ठूलोबुबाको घर गयौँ । बिहान त्यहीँ टीका लगाएर फर्कियौँ । ठुलीआमाको स्वभाव निकै रूखो भएकाले उहाँले पूजापाठ नगरी खाना खान दिने कुरै भएन ।

टीका लगाइसके पनि हामीले केही खान पाएनौँ । यता अबेरसम्म भोक कुर्न नसकेर भाइ रून थल्यो । भाइ रोएको देखेर ठुलीआमाले चुलोमा उम्लिरहेको तातो दूध भाइको थालमा खनाइदिनुभयो । स्टिलको धारिलो बिट गरेको थालमा कति नै दूध अट्थ्यो र ! ठुलीआमाले कराइ नै थालमा घोप्टाइदिँदा भाइको हात बेसरी पोल्यो । उसले थालबाट हात छोड्दा दूध पनि भर्खरै गोबरले लिपेको भुइँभरि पोखियो ।

दूधसँगै ठुलीआमाको चर्को रिस पोखियो । अघि भोकले रोएको भाइ पनि अब पोलेको पीडाले झन् रून थाल्यो । आमा यतिबेला पनि केही नबोली बसिरहनुभएको थियो ।

घर पुग्दा निकै अँध्यारो भइसकेको थियो । आमा सानो भाइलाई काखमा लिएर आँटीमा बस्नुभएको थियो । (गाईवस्तुको लागि बनाएको गोठमा छानो हाली दाउरा र पराल सुरक्षित राख्न बनाइएको ठाउँलाई आँटी भन्ने चलन छ)

हामी लिस्नो चढेर आँटीमा उक्लियौँ । त्यहाँ रहेको चुलोमा आगो नबलेको प्रष्टै देखिन्थ्यो । दिनभरिको थकान र भोकले मलाई झनक्क रिस उठ्यो । आमालाई ठूलो स्वरमा कराउँदै भनेँ, ‘अहिलेसम्म खाना किन नपकाएको ?’

सायद्, आमासँग जवाफ थिएन । उहाँ भाइसँग बोल्दै हुनुहुन्थ्यो । मलाई ध्यान नदिएको देखेर उहाँको नजिकै गएँ । यतिबेला पो उहाँ किन नबोली बसेको भन्ने कुरा बुझेँ । उहाँ त रोइरहनुभएको रहेछ ।

आमाका आँखाबाट बलिन्द्र आँशु निरन्तर बगिरहेको थियो । कतै मैले नै पो चित्त दुखाएँ कि भनेर म पनि रून लागेँ । फेरि आमालाई कि रूनुभएको भनेर सोध्न पनि सकिनँ ।

भाइ र म एकअर्कालाई हेरिरहृयौँमात्र । कोही कसैसँग बोलेका थिएनौँ । वातावरण एकछिन मुर्दाघरजस्तै शान्त भएको थियो ।

साँझ बढ्दै जाँदा पो याद आयो, हामीले जस्तै आमाले पनि कति दिनदेखि केही खानुभएको छैन । यति सोचिसकेर म चामलको बोरा राखेको ठाउँतिर आफ्ना आँखा दौडाउन थालेँ । तर चामल राख्ने ठाउँको बोरालाई हावाले उडाएर अर्को कुनामा पुर्‍याइसकेको थियो ।

जतिजति चामलको बोरा आधी हुँदै गयो त्यति नै हाम्रो पेट पनि आधी हुँदै गएको पो रहेछ । दसैँको दिन थियो, निधारभरि अक्षता थियो, तर पेट बिहानैदेखि खाली । अझ आमाको त कति दिन पहिलेदेखि भोको थियो ।

मैले अन्दाज गरेअनुसार आमाले हामीलाई ठूलोबुबाकोमा पठाउनुको कारण पेटभरि खाना खान पाइन्छ भनेर हो । तर ठुलीआमाले आँगनको डिलैबाट फर्काइदिइन् । यही यता भाइलाई तातो दूधले पोलेको थियो ।

हाम्रो अगाडि रोइरहन आमाको मनले दिएन । यसैले बाबा भोलि छिट्टै आउनुहुन्छ भनेर सान्त्वना दिँदै हामीलाई सुत्नको लागि ओछ्यान तयार पार्नुभयो । सधैझैँ आमा सानो भाइ, अर्को भाइ र म लस्करै भुइँमा पल्टियौँ । भाइहरू चाँडै निदाए तर म निदाउन सकिनँ । यतिकैमा आमाका गालासम्म हात पुर्‍याउन आँट गरेँ । त्यहाँ तातो आँशु बगिरहेको प्रष्ट थाहा हुन्थ्यो । त्यो दिन पो मैले महसुस गरेँ, आँशु पनि तातो हुने रै’छ ।

उम्लेको तातो दूधभन्दा पनि तातो । निकै पोल्ने रहेछ आँशुले जति आगोले पोल्दैन ।

त्यो दिन मात्र होइन, हाम्रो चुलो अरू कयौँ दिन नबलेको याद छ मलाई । तर आमा यति धेरै रोएको पहिलोपल्ट देखेको थिएँ । आमाको आँशुले मेरामा पहिरो जाँदै थियो, छ र पनि म मौन छु ।

चुलो त कति निभ्यो तर आमाले जीवनको हिम्मत भने निभ्न दिनुभएन ।

प्रकाशित : आश्विन २८, २०७८ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?