कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दसैंको समयमा ग्यास्ट्रिकको समस्या भएकाले के कुरामा ध्यान दिने? 

कान्तिपुर संवाददाता

काठमाडौँ — खाना गएर जम्मा हुने थैलोलाई हामी आमाशय भन्छौं त्यहाँबाट बिस्तारै खाना सानो आन्द्रामा जान्छ । खाना बस्ने ठाउँमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खाना खाने बानी नै हो । 

दसैंको समयमा ग्यास्ट्रिकको समस्या भएकाले के कुरामा ध्यान दिने? 

धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको तथा रक्सी जस्ता खानेकुरा सिधै गएर यहीँ बस्छ । यदि खानामा खराब चिज छ भने खाना बसेको ठाउँमा घाउ बनाउने नै भयो । त्यसैगरी पेनकिलर तथा एन्टिबयोटिक्सको प्रयोगले पनि ग्यास्ट्रिक हुने सम्भावना हुन्छ । सबै औषधिले त गराउँदैनन् तर, आफू खुसी किनेर खाएका औषधिले भने समस्या गराउन सक्छ ।

खाँदा दुखाइ कम हुने भएपनि चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्दा भित्र घाउ बनाइरहेको हुन्छ । अर्को मानसिक तनावले पनि ग्यास्ट्रिक हुनसक्छ । त्यसैगरी एचपाइलरी ब्याकटेरियाले पनि ग्यास्ट्रिक गराउँछ । ग्यास्ट्रिकको समस्या के कारणले गर्दा भएको हो त्यसको निदान गरेर उपचार गर्नुपर्छ ।

कस्ता हुन सक्छन् लक्षण?

पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पोल्ने, पेट फुल्ने, वाकवाक लाग्ने, अमिलो पानी आउने आदि लक्षणहरु ग्यास्ट्रिकका हुन सक्छन् ।

घाउ नै भयो भने अल्सर भएको मानिन्छ । अल्सर भएपछि निरन्तर अत्यधिक दुखाइ हुन्छ उल्टी हुन्छ । अल्सरबाट घाउ भएर रगत बग्न सक्छ । रगत उल्टी भयो भने रगत दिसामा पच्दै गइ कालो दिसा भएर निस्कन्छ । यो खालको भने खतरनाक लक्षण हुन् यसमा तुरुन्त उपचार गर्नुपर्ने हुन्छ ।रगत बगेर रगतको कमी हुन सक्छ ।

अल्सरबाट आन्द्रामा प्वालै पर्‍यो भने अत्यधिक पेट दुख्छ। तुरुन्त अस्पताल गइहाल्नुपर्छ । लामोसमयसम्म ग्यास्ट्रिक हुने फेरि ठिक हुने फेरी ग्यास्ट्रिक हुने पनि हुन्छ । क्यान्सरको हकमा ग्यास्ट्रिकले नै क्यान्सर गराउने होइन तर ग्यास्ट्रिक गराउने कारणहरुले नै क्यान्सर गराउन सक्छन् ।

कसरी सजग रहने?

खानामा ध्यान दिनुनै महत्त्वपूर्ण हो । रक्सी चुरोट खानुभएन । मसालेदार चिल्लो खानुभएन । दसैं मनाउँदा रमाइलो गर्दा शरीरलाई पनि ध्यान दिनुपर्‍यो । ग्यास्ट्रिकको पहिलेदेखिको समस्या हो भने नियमित औषधि खानुपर्‍यो । दसैंको समयमा खानपानमा ध्यान दिइएन भने समस्या झनै बल्झिन सक्छ । सकेसम्म लामोसमयसम्म भोकै बस्नुहुन्न । धेरैबेर भोको बस्दा पेटमा एसिड बनिराखेको हुन्छ त्यो एसिडले नै घाउ बनाउँछ । स्वादको पछि पर्नुभन्दा स्वास्थ्यको ख्याल राखौं ।

खानपिनले सानो आन्द्रामा संक्रमण हुने, झाडापाखला लाग्ने, फुड प्वाइजन आदि गराउन सक्छन् । एकदम पेट दुखेमा, उल्टी आएमा, अमिलो पानी आएमा, दिसा कालो गएमा तुरुन्त अस्पताल गइहाल्नुपर्छ ।

यसबाट बच्न जोखिम कारकलाई कम गर्नुपर्छ । धेरै मसालेदार खानुभएन । सन्तुलित भोजन गर्नुपर्‍यो । दसैंमा खानपिन धेरै प्रकारका हुन्छन् । मसालेदार हुन्छन् । मासुसँगै अरु तरकारीहरु पनि खाने गर्नुपर्छ । धेरै पिरो मसाला खाादा पेटमा गएर त्यही बस्छ अनि घाउ बनाउन सक्छ ।

(त्रिवि शिक्षण अस्पतालका जीआई सर्जन डा. विष्णुप्रसाद कँडेलसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित : आश्विन २८, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?