कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भित्रिँदै खसी–बोका

राजु चौधरी

दसैंमा सरकारले ३ हजार खसी–बोका र च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ  । गत वर्ष २ हजार खसी खरिद गर्ने योजना बनाए पनि लक्ष्य भेट्टाउन नसकेपछि अहिले खसीको संख्या घटाएर च्याङ्ग्रामा जोड दिइएको छ  ।

भित्रिँदै खसी–बोका

दसैंका बेला उपत्यकामा मात्रै अर्बौं रुपैयाँको खसी–बोका र च्याङ्ग्रा बिक्री हुन्छ । व्यवसायीका अनुसार घटस्थापनाको भोलिपल्टदेखि फूलपातीसम्म ६ दिनमा मात्रै १ अर्ब २५ करोड रुपैयाँको खसी–बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।‘६ दिनमा करिब ५० हजार खसी/च्याङ्ग्राको माग हुन्छ । एउटाको मूल्य २० देखि ३५ हजार रुपैयाँसम्म पर्छ,’ चौपाया व्यवसायी संघ कलंकीका पूर्वअध्यक्ष दीपक थापाले भने, ‘औसत मूल्य २५ हजारको हिसाबमा दसैं अवधिमा १ अर्ब २५ करोडको खसी बिक्री हुन्छ ।’
खसी मुख्यतः तराई र पहाडबाट खरिद गरिन्छ । च्याङ्ग्रा भने हिमाली जिल्लाबाट खरिद हुन्छ । अपुग खसी–बोका भारतबाट समेत आयात हुन्छ । पशु सेवा विभागले क्वारेन्टाइन ऐन फागुन ३ देखि कार्यान्वयन गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित मुलुकबाट पशु चौपाया स्वस्थ भएको प्रमाणित कागजपत्र बनाउनुपर्छ । कागजपत्रमा निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुनुपर्छ । यो व्यवस्थामा कडाइ गरेसँगै खसी–बोका आयात घटेको छ । खसी–बोका आयात घट्दा जिउँदो खसीको मूल्य प्रतिकेजी ७ सय १५ रुपैयाँ थियो । त्यसपश्चात तस्करी हुन थाल्यो । बजारमा खसी–बोका भित्रिन थालेपछि मूल्य ६ सयदेखि ६ सय ५० रुपैयाँमा झरेको पूर्वअध्यक्ष थापाले बताए । ‘मूल्य बढ्ने वा घट्ने कुराको आकलन गर्नै सक्दैनौं, मागअनुसार आपूर्ति नहुँदा मूल्य स्वतः बढ्छ,’ उनले भने । उनले सरकारले बेच्ने सहुलियत पसलभन्दा प्रतिकिलो १ सय रुपैयाँसम्म महँगो हुने बताए । संघका अनुसार दसैंमा करिब २३ हजार अपुग हुने आकलन गरिएको छ । तर तस्करीको बाटोबाट आयात भइरहेकाले उपत्यकाको माग पूर्ति हुन सक्ने काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनक खड्काले बताए । उनका अनुसार कालीमाटीमा दैनिक ३ सयसम्म खसीबोका भित्रिएको छ । तस्करीबाट भित्रिएका खसी–बोकालाई गाउँपालिकाले चिठी बनाएर वैधानिकता दिएका हुन्छन् ।
‘भन्सारमा क्वारेन्टाइन जाँचमा कडाइ भएपछि तस्करहरूले जंगलको बाटोबाट समेत भित्र्याउन थालेका छन्,’ उनले भने, ‘अवैधानिक बाटोबाट मात्रै कालीमाटीमा दैनिक करिब ३ सय खसी भित्रिन्छन् ।’ उनका अनुसार मागको करिब ५० प्रतिशतभन्दा बढी खसी–बोकाका लागि भारतमै निर्भर हुनुपरेको छ । भारतको लखनउ, कर्नाटकलगायत १० स्थानबाट खसी–बोका आयात गर्दै आएका छन् । पशु सेवा विभागले भने नेपालमै उत्पादन पर्याप्त भएको जनाएको छ ।
विभागका महानिर्देशक वंशी शर्माका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसी–बोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ । हिफरलगायत संघ/संस्थाले पनि पर्याप्त उत्पादन गरेकाले व्यवसायीले जिल्लामा संकलन गर्नुपर्ने बताए । मुलुकभित्र हेटौंडा, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पनि खरिद हुन्छ । मागलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयले आपूर्तिको योजना बनाएको छ । अत्यधिक माग हुने खसी–बोका, राँगा, कुखुरालगायतको सहज आपूर्ति बनाउने जनाएको छ । मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहर बजारको औसत माग प्रतिदिन १८४० (औसत २५ देखि ३० किलो) हो । करिब २ हजार ३० वटा आपूर्ति भइरहेको मन्त्रालयको दाबी छ ।
दसैं र अन्य चाडबाडको मुख्य दिनमा औसत माग प्रतिदिन २५ सयवटा हो । त्यसमध्ये उपत्यकामा मात्रै १८०० वटा चाहिन्छ । हिफर इन्टरनेसनलसँग आबद्ध सहकारीमार्फत उपत्यकामा आपूर्ति गरिने खसी–बोकाको संख्या करिब ५ हजार हो । बाख्रा व्यवसायी महासंघमार्फत उपत्यकामा करिब १३ हजारवटा र खसी–बोका व्यवसायीमार्फत करिब १५ हजार (प्रतिदिन) वटा आपूर्ति गर्ने जनाइएको छ । खाद्य संस्थानले करिब ३ हजार (एक हजार खसी र २ हजार च्याङ्ग्रा) ल्याउने जनाएको छ । ‘उपत्यकाको माग करिब ५० हजार भए पनि स्वदेशी उत्पादनबाटै ५१ हजार आपूर्ति हुन सक्छ,’ शर्माले भने ।

कुखुरा, राँगा र माछा पर्याप्त
मन्त्रालयका अनुसार कुखुरा, राँगा, माछालगायत उत्पादन पर्याप्त छ । चाडबाडका बेला कुनै अभाव नहुने पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले बताए । उनका अनुसार हाल उपत्यकामा कुखुराको दैनिक माग ३ सय टन हो । मागअनुसार सहजै आपूर्ति भइरहेको छ । दसैं र चाडबाडको मुख्य दिन गरी करिब १० दिन औसत माग ३ सय टन हो । उपत्यकाको हकमा दसैंलगायत मुख्य चाडबाडमा जनसंख्या कम हुने हुँदा आपूर्तिमा कुनै समस्या हुँदैन । ‘दसैंमा प्यार्टी प्यालेस र होटलबाट माग हुँदैन, अन्य पसलमा पनि खसीबाहेक कुखुराको माग कमै हुन्छ,’ राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जगबहादुर बीसीले भने, ‘माग नबढ्ने भएकाले अभावको सम्भावना पनि हुँदैन ।’ विभागका अनुसार दसैंका लागि उपत्यकामा दैनिक २१० राँगा आपूर्ति भइरहेको छ । जिउँदो माछा व्यवसायी संघका अध्यक्ष जंगबहादुर साहका अनुसार हाल उपत्यकामा माछाको औसत माग जिउँदो दैनिक ५३ सय किलो, छडी माछा ३२ सय केजी र फ्रोजन माछा १८ सय किलो हो । ‘समग्रमा माछाको कुल माग दैनिक १० हजार ३ सय किलो हो । दैनिक ११ हजार ५ सय किलो आपूर्ति भइरहेको छ,’ साहले भने, ‘दसैंलगायत अन्य चाडबाडमा जनसंख्या कम हुने हुँदा मागअनुसार आपूर्ति गर्न सक्छौं । माछा अभाव हुँदैन ।’

खाद्य व्यवस्था कम्पनीले ३ हजार बेच्ने
चाडबाडलाई लक्षित गरेर सरकारले खसी–बोका र च्याङ्ग्रा गरी ३ हजारवटा बिक्री गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार दसैंका लागि एक हजार खसी र २ हजार च्याङ्ग्रा खरिद गर्ने योजना छ । कम्पनीले गत वर्ष दुई हजार खसी खरिद गर्ने योजना बनाएको थियो तर लक्ष्य भेट्टाउन सकेन । अहिले खसीको संख्या घटाएर च्याङ्ग्रामा जोड दिएको महानिर्देशक गौचनले बताए । च्याङ्ग्रा मुस्ताङबाट खरिद गरिने बताए । यसका लागि जिल्ला प्राथमिक खरिद समिति गठन गरिएको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?