कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारदेखि किचनसम्म ‘अफर’

राजेन्द्र नाथ

मोटरसाइकलदेखि कार र भान्छादेखि कोठाचोटासम्मका विभिन्न सामानमा अफर र छुट दिने प्रतिस्पर्धा चलेको छ  । इन्टरनेट सेवा प्रदायक कम्पनीदेखि बैंक र वित्तीय संस्थाहरुलाई समेत ग्राहक रिझाउन भ्याइनभ्याई छ  ।

कारदेखि किचनसम्म ‘अफर’

काठमाडौंका न्युरोड, असन, सुन्धारा खिचापोखरी, भृकुटीमण्डपलगायत बजारमा खुट्टा टेक्ने ठाउँ छैन । दसैंका सामान किनमेल गर्नेको भीडले स्थानीय रुटमा चल्ने सवारी साधन खचाखच भरिएका छन् । वर्षा निरन्तर भइरहेकाले सडक–गल्लीको धुलो सिनित्त पखालिएको छ । वर्षको एकपटक आउने दसैंको स्वागत गर्न सबै उत्सुक देखिन्छन् ।बजारमा मोटरसाइकलदेखि कार र भान्छादेखि कोठाचोटासम्मका विभिन्न सामानमा अफर र छुट दिने प्रतिस्पर्धा चलेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीदेखि बैंक र वित्तीय संस्थाहरूको समेत उस्तै प्रतिस्पर्धा छ । काठमाडौंको भृकुटीमण्डपमा दसैं नजिकिएसँगै मेला–महोत्सवको होडबाजी चलेको छ । स्थानीय उत्पादनदेखि तयारी पोसाकका स्टल र नेपाली जुत्ता–चप्पलदेखि अल्लोका उत्पादनले उपभोक्तालाई आकर्षित गरिरहेका छन् । सपिङमा निस्किनेहरू व्यापारीलाई अफर र छुटबारे जिज्ञासा राख्न छुटाउँदैनन् ।

छुटदेखि विदेश घुमघामसम्म
दसैं–तिहारमा यामाहाले ल्याएको छ, ‘एक्सचेन्ज एन्ड अपग्रेड’ योजना । यामाहाको नेपालस्थित एक मात्र आधिकारिक वितरक मोरङ अटो वर्क्सले दसैं चहलपहल सुरु भएसँगै ‘एक्सचेन्ज एन्ड अपग्रेड’ योजना ल्याएको हो । यस योजनाअन्तर्गत यामाहा बाइकसँग जुनसुकै ब्रान्डका प्रयोगमा आइसकेका बाइक साट्न सकिन्छ । यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुने कम्पनीको दाबी छ । देशभरका यामाहा सोरुममा असोज ६ देखि १३ गतेसम्मका लागि योजना लागू गरिएको मोरङ अटो वर्क्सका बजार व्यवस्थापक विक्रम शर्मा पौडेल बताउँछन् । ‘पुराना जुनै ब्रान्डका टु–ह्वीलरको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँभन्दा कम हुने छैन, प्रचलित बजार मूल्यभन्दा १५ हजार थप गरेर मूल्यांकन गरिनेछ,’ उनी भन्छन् । पौडेलले दसैं पर्व मात्र नभएर जीवनस्तर बदल्ने अवसर पनि भएकाले यामाहासँग जोडिन आग्रह गरे । काठमाडौंको गोंगबु नयाँ बसपार्कस्थित बीजी मलले ‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक दिन उपहार’ योजना ल्याएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरी बताउँछन् । ‘बम्पर उपहारमा गोलाप्रथाबाट एक–एकजनाले यामाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको उपहार जित्न सक्नेछन्,’ मेला संयोजक हीरामणि तिमल्सिना भन्छन् ।दसैंतिहारमा यस्ता अफर सार्वजनिक गर्ने यामाहा एक मात्रै कम्पनी होइन ।
रनर मोटरसाइकलले पनि फेस्टिभल अफर ल्याएको छ । बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनरको नेपालका लागि आधिकारिक बिक्रेता रमण मोटर्सले मोटरसाइकल खरिदमा २० हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको जनाएको छ । चाडपर्वभरिमा खरिद गर्ने प्रत्येक सय जनामध्ये एकजना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसरसमेत पाउने रमण मोटर्सका बिजनेस डेभलेपमेन्ट हेड सन्तोष न्यौपानेले जानकारी दिए । हाल नेपालमा रनर मोटरसाइकलको ८० देखि २ सय सीसीसम्मका मोटरसाइकल र ११० सीसीको स्कुटर बिक्री भइरहेको छ । ‘त्यसमा पनि रनर हक २ सय सीसी अफरोड मोटरसाइकललाई ग्राहकले बढी रुचाएका छन्,’ न्यौपाने भन्छन् ।
महिन्द्रा टु ह्वीलरले पनि चाडपर्व अफर सार्वजनिक गरेको छ । महिन्द्राको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले चाडपर्वको अवसर पारी ‘महिन्द्रासँग सबै दंगदास’ योजना ल्याएको हो । अब बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्यास, १० हजारको
फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ‘यो योजनाले पर्वलाई रौनक थपेर सबैलाई दंग बनाउने विश्वास लिएका छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो योजना देशभर रहेका आधिकारिक बिक्रेतामार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिनेछ ।’
महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ । कम्पनीले ‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्र्याक्टर किन्दा अब परिवार दंग’ भन्ने नारासहित अर्को योजनासमेत अगाडि सारेको छ । यो योजनामा इभो, नोभो र जिभोलगायत महिन्द्रा कम्पनीका कुनै पनि ट्र्याक्टर किन्दा ट्र्याक्टरधनीले डबल डोर फ्रिज तथा चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पुरस्कार प्राप्त गर्ने कम्फनीले जनाएको छ । होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बित्रेता स्याकार ट्रेडिङले तीन दिनका लागि ‘होन्डा ड्रिम एक्स्चेन्ज योजना’ अघि सारेको थियो । रिङरोड धोबीघाटस्थित सोरुममा पुरानो कारसँग नयाँ होन्डा कार एक्स्चेन्ज गर्न आउनेको भीड लागेको कम्पनीले जनाएको छ । दसैं योजनाअन्तर्गतका उपहार तथा सुविधाका साथै ९.५ प्रतिशत ब्याजदरमा ७० प्रतिशतसम्म फाइनान्सिङ सुविधा, १ लाखसम्मको आकर्षक बोनस एक्सचेन्ज, ५० हजारसम्मको आकर्षक लोयालिटी बोनस तथा टेस्ट ड्राइभमा आकर्षक उपहार राखिएका थिए ।

मोबाइलमा छुट्टै प्रतिस्पर्धा
मोबाइल उत्पादक कम्पनी साओमीले ‘दसैं विथ एमआई’ योजना सार्वजनिक गरेको छ । साओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई प्रयोगकर्ताका लागि असोज ३ देखि दसैं अफर ल्याएको हो । दसैंको शुभारम्भसँगै प्रयोगकर्ताका लागि स्मार्टफोनमा ५ वटा योजना ल्याएको छ कम्पनीले जनाएको छ । ग्राहकले साओमीको नयाँ स्मार्टफोन ‘रेडमी ७’, ‘रेडमी वाई ३’, ‘रेडमी रेडमी नोट ७’, ‘एमआई ए ३’ र ‘रेडमी ७ ए’ को खरिदमा छुट पाउनेछन् । ईजी मोबाइल केयर प्रालिले बैंकका क्रेडिट कार्ड भएका ग्राहकका लागि फेस्टिभल अफर ल्याएको छ । न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तलामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्न सकिने अफर सार्वजनिक गरेको जनाएको छ । ‘बैंकको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ नामक अफरअन्तर्गत हाल ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, मेगा, नबिल, सेन्चुरी, माछापुच्छ्रे, प्रभु, कुमारी र एनआईसी एसिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले यसको फाइदा उठाउन सक्नेछन् । हुवावेले बाली र थाइल्यान्ड भ्रमणको अवसर दिएको छ । हुवावे फोनको खरिदमा ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्यान्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका पाउनेछन् । यस प्रतियोगितामा सहभागी हुनका लागि हुवावेको प्रयोगकर्ता हुनुपर्नेछ । फोन किनेपछि आफ्नो मान्य आईएमई नम्बर राखेर असोज १७ गतेभित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्ने नियम कम्पनीले बनाएको छ । फेस्टिभ अफर घोषणामा सामसङ पनि पछि छैन । उसले दसैंतिहारलगायतका महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गरी ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । यस योजनासँगै सामसङले आफ्ना उत्पादनको खरिदमा विशेष छुटको व्यवस्थासमेत मिलाएको जनाएको छ । ‘यस योजनाअन्तर्गत नयाँ टीभी वा अन्य होम अप्लाइन्सको खरिदमा आकर्षक छुट प्राप्त गर्ने अवसर प्रदान गरिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा छ, ‘टीभी, वासिङ मेसिन तथा फ्रिजजस्ता उपकरणले चाडपर्वमा रौनक थप्ने भएकाले सामसङले उपभोक्तालाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो ।’

होम अपलायन्समा अवसर
केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अपलायन्सेस प्रालिले ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । यो क्याम्पेनको नारा ‘स्काईवर्थसँग सबै दंग ३० प्रतिशतसम्म छुट पाई सबै फुरुंग’ छ । यो क्याम्पेनअन्तर्गत ग्राहकले हरेक स्काईवर्थ होम अपलायन्सेसको खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गरेर चाडपर्वलाई अझै विशेष बनाउन सक्ने कम्पनीले जनाएको छ । बाल्ट्रा होम एप्लाइन्सेसले पनि ‘दसैं ल्यायो’ नामक योजना ल्याएको छ । यसअन्तर्गत कम्पनीले बाल्ट्राका बिग तथा स्मल एप्लाइन्सेसको खरिदमा ‘लक्की ड्र’ मार्फत ५१ जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार र १ वर्षको अतिरिक्त वारेन्टीसमेत प्रदान गर्ने जनाएको छ । बाल्ट्राको दसैं योजनाको लक्की ड्रमा सहभागी हुनेले विभिन्न टीभी, साउन्ड बार, मिक्सर ग्राइन्डर, राइस कुकर, आइरनलगायतका उपहार जित्न सक्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजले पनि ‘फेस्टिभल अफर’ को नयाँ योजना ल्याएको छ । यसअन्तर्गत कुनै पनि ग्राहकले इन्टरप्राइजेजका आउटलेट (बानेश्वर, लगनखेल, ढोलाहिटी र पोखरा) बाट बाथरुममा प्रयोग हुने सामान खरिदमा विभिन्न सुविधा पाउन सक्नेछन् । ग्राहकले एक कमोडको खरिदमा अर्को एक कमोड सित्तैमा प्राप्त गर्नुका साथै अन्य बाथरुममा प्रयोग हुने सामान खरिद गर्दा गिफ्ट ह्याम्पर, क्यास ब्याक र विशेष सहुलियतजस्ता सुविधा प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?