बिदामा विदेश

कञ्चन अधिकारी

दसैंतिहारमा विदेश घुम्न निस्कने नेपालीको संख्या बढ्दो छ । धेरैजसो थाइल्यान्ड, दुबई, बाली र सिंगापुर जाने गरेका छन् । सस्तो र सजिलै भिसा पाइने भएकाले यी गन्तव्य रोजाइमा परेका हुन् ।

काठमाडौं न्युरोडका रोमी बज्राचार्यको दसैं विशेष हुन्छ । ३० वर्षीया युवा उद्यमी बज्राचार्य ५ वर्षदेखि दसैंको टीका लगाएपछि परिवारसहित विदेश निस्किन्थिन् । यसपालि जहाज टिकेटिङको समय नमिल्दा बालबच्चा, श्रीमान् र ससुरालाई मात्रै दसैंमा विदेश सयर गर्न पठाउने भएकी छन् ।‘अरू बेला विदेश गएर रमाइलो गरिन्थ्यो, यसपालि यहीँ हुँदा पनि विशेष हुन्छ, जसरी पनि विशेष,’ भन्छिन्, ‘५/६ वर्ष भयो परिवार जम्मै टीका लगाएर विदेश जान्थ्यौं, यसपालि फूलपातीकै दिन हिँड्नुपर्ने भएर अलि समय मिलेन ।’
बैंकक, सिंगापुर, मलेसिया, दुबई र भारत गइसकेको उनको परिवार यसपालि बाली जाँदै छ । विदेश घुम्ने रहर सानैदेखिको भए पनि पाँच वर्षयता पूरा भएको छ । भन्छिन्, ‘पहिला सानी छेस् भनेर जान दिनुहुँदैनथ्यो । अलि ठूली भएँ, व्यस्तताले जान पाइएन । ५ वर्षयता दसैंमा बिदा मिलाएर घुम्न गइरहेका छौं ।’
उनीजस्ता धेरै नेपाली पछिल्लो दशक विदेश (आउटबाउन्ड) भ्रमणमा गएर जान र समय बिताउन थालेका छन् । घुम्ने भनेको विदेशीले मात्रै हो भन्ने सोचमा परिवर्तन आएको छ । कुनै बेला कसैले ‘विदेश घुम्न जाने’ भन्दा पत्याइन्थ्यो । अहिले यसरी जानेहरू धेरै भेटिन्छन् । आउटबाउन्डको टुर प्याकेज बेच्ने अग्रणी कम्पनी एस इन्टरनेसनल होलिडेका प्रबन्धक अनिल धरेल भन्छन्, ‘कुनै बेला नेपाली पनि विदेश घुम्छन् र भन्ने चलन थियो । अहिले कहाँ जान सक्दैनन् नेपाली भन्न थालिएको छ ।’
अरूबेला बिदा नमिल्ने, बिदा नपाइने तर दसैंतिहारमा कार्यालय बन्द भएर लामो बिदा पाइने भएकाले चाडबाडमा विदेश सयर गर्ने बढेका हुन् । चाडबाडको मौका भएकाले पनि विदेश घुमेर रमाउने संस्कृति बढिरहेको सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्का बताउँछन् । उनका अनुसार परिवारसहित र साथीभाइ मिलेर घुम्न जाने चलन बढ्दो छ । ‘विदेशमा आफन्त हुने पनि दसैंतिहारको मौका छोपेर छुट्टी मनाउन जाने गरेका छन्,’ उनले भने । ३० वर्षीया रोमीका अनुसार जमाना परिवर्तन भएसँगै विदेश घुम्न जाने चलन बढेको हो । सहरमा बालबच्चा लिएर परिवारै घुम्ने ठाउँ नहुनु, पारिवारिक भ्रमणका लागि उपयुक्त गन्तव्य नहुनु, परिवारसँग समय बिताउनका लागि प्रशस्त समय नहुनु, सबै आआफ्नो काममा व्यस्त हुनुजस्ता कारणले दसैंतिहारमा विदेश घुम्न जाने चलन बढेको उनको बुझाइ छ ।
‘नेपालमा परिवार लिएर घुम्न जाने ठाउँ नै छैन, रेस्टुरेन्टमा गएर एकै परिकार कति खानु ?’ उनी भन्छिन्, ‘त्यसमाथि बच्चाहरूलाई अभिभावकले समय दिन भ्याएका हुँदैनन् । सबैको बिदा हुने भएकाले क्वालिटी समय स्पेन्ड गर्ने बेला यही हो ।’ नेपालीहरू थाइल्यान्ड, दुबई, बाली, मलेसिया, चीन, युरोपेली मुलुक, रसिया, अजरबैजान, इजिप्टलगायत देशमा घुम्न जाने गरेका छन् । धरेलका अनुसार थाइल्यान्ड, दुबई, बाली र सिंगापुर जाने धेरै हुन्छन् । सस्तो र सजिलै भिसा पाइने भएकाले पहिलो रोजाइमा यी गन्तव्य परेको उनको अनुभव छ ।
४५ हजारदेखि ५ लाख रुपैयाँका प्याकेज ट्राभल कम्पनीले बेच्दै आएका छन् । ३ रात ४ दिनदेखि ९ रात १० दिनसम्मका प्याकेज बिक्री भइरहेको छ । धरेल भन्छन्, ‘एसियाली मुलुक सस्तैमा जान पाइन्छ । युरोप, अमेरिका जाने हो भने अलि महँगो पर्छ ।’ नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीका अनुसार नेपालबाट विदेश जानेमा मध्यम र उच्च वर्गका नेपाली छन् । केही उद्यम गरेका, इलम गरेका, व्यवसायी आउटबाउन्डमा जाने गरेका छन् । उनी भन्छन्, ‘मध्यमवर्गका थाइल्यान्ड, मलेसिया, बाली जान्छन् भने उच्च घरानाका युरोप र अमेरिका घुम्छन् ।’
ट्राभल कम्पनीहरूले दसैंतिहार प्याकेज बनाएका छन् । ती प्याकेज लगभग बुकिङ भइसकेका छन् । एस ट्राभल्सका धरेल भन्छन्, ‘करिब ९० प्रतिशत बुकिङ भइसकेको छ । केही प्याकेज मात्रै बाँकी छ ।’ धरेलका अनुसार वर्षभरि करिब ८ देखि १० हजार हाराहारी नेपाली विदेश घुम्छन् । तीमध्ये करिब एक तिहाइले दसैं र तिहारमै भ्रमण गर्छन् । बाँकी दुई भागले अरू ११ महिना घुम्न निस्कन्छन् । उनले भने, ‘दसैंतिहारमा बिदा लामो हुने र बिदा मिलाउन पनि सजिलो हुने भएकाले यही सिजनमा धेरै जना घुम्न निस्कन्छन् ।’ यो घुम्नका लागि उपयुक्त मौसम पनि हो ।
‘नेपाली पनि विदेश घुम्न जान्छन् ?’ धेरैको मनमा उब्जिने प्रश्न हो यो । रोमीले पनि यस्ता प्रश्नको सामना गर्नुपर्‍यो । उनीले घुमेका गन्तव्यमा भेटिएका नेपालीले नै यस्ता प्रश्न सोध्ने गरेको उनले सुनाइन् । ‘हामीले घुमेका धेरै ठाउँमा नेपाली दाजुभाइ–दिदीबहिनी भेट्यौं,’ उनले भनिन्, ‘सबैले नेपालबाट घुम्न आएको भनेर आश्चर्य जनाए ।’ नेपालीहरू घुम्न जाँदा त्यहाँ भएका नेपालीलाई उत्प्रेरणाको काम गर्ने उनको बुझाइ छ । उनका अनुसार नेपालमै कमाएर विदेश घुम्न जान सकिँदो रहेछ भन्ने सोच उनीहरूमा पलाउने गरेको छ ।
आउट बाउन्ड पर्यटनले रमाइलो मात्रै गराउँदैन, नयाँ–नयाँ कुरा पनि सिकाउँछ । धेरैजसो व्यापार–व्यवसायमा लागेकाहरू यसरी घुम्न जाने भएकाले उनीहरूले नयाँ–नयाँ प्रविधि र आइडिया पनि सिकेर–देखेर आउँछन् । ‘हामीलाई त एक पन्थ दो काज भनेजस्तै भएको छ,’ रोमी भन्छिन्, ‘विदेशमा घुम्न र आफूसँग सम्बन्धित व्यापार–व्यवसायको क्षेत्रका कुरा पनि हेर्न–किन्न पाइन्छ ।’
कामको चाप व्यवस्थापन गरेर निस्कन सकेको अवस्थामा यो समयले बाहिरी देशबारे धेरै कुरा सिक्ने अवसर दिन्छ । विभिन्न कारणले दसैं नमनाउने, टीकाटालो नभएका, आफन्त बाहिर भएका तथा विशुद्ध घुमघामकै उद्देश्यले बाहिरिने नेपाली दसैंमा बढी हुन्छन् । नेपालीको विदेश घुम्न सक्ने क्षमता बन्दै गएकाले हरेक वर्ष प्याकेज टुरको दायरा फैलन थालेको छ । पहिला ४–५ वटा देशमा मात्रै घुम्न जाने चलन थियो । अहिले जुनसुकै देशमा पनि नेपाली जान सक्ने भएका छन् ।
के छ भिसाको प्रावधान ?
फ्रि भिसा तथा अनअराइभल भिसा उपलब्ध गराउने गन्तव्यमा नेपालीले जतिबेला पनि घुम्न सक्छन् । नेपालीलाई घुम्न समस्या हुने पहिलो कारण भिसा हो । जहाँ सहज हुन्छ, त्यहाँ घुम्न गइहाल्ने रुचि नेपालीको छ । केही मुलुक घुमिसकेपछि नेपालीलाई कडाइ गर्ने मुलुकमा पनि प्रयास गरिरहेका पाइन्छन् । टुर प्याकेज बनाएका र ग्राहकको रोजाइमा रहेका सबै गन्तव्यका लागि एजेन्सीले भिसामा सहजीकरण गर्ने गर्छ । ट्राभल एजेन्सीबाट टुर प्याकेज लिएर गएपछि अतिरिक्त खर्च नियन्त्रण गर्न र खर्चको अनुमानित हिसाब गर्न सहज हुन्छ ।
विश्वका करिब २१० मुलुकमध्ये १४ वटाले फ्रि भिसा दिने गरेका छन् । ३३ वटा मुलुकले अनअराइभल र १५१ मुलुकले अनिवार्य भिसा लिएर मात्रै जानुपर्ने व्यवस्था गरेका छन् । नेपालीलाई भिसा फ्रि गर्ने मुलुकमा भारत, डोमिनिया, गाम्बिया, हाइटी, इन्डोनेसिया, माइक्रोनिया, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, सेनेगल, सिंगापुर र सेन्ट विन्सेन्ट छन् ।
नेपालीलाई अनअराइभल भिसा दिनेमा बंगलादेश, बोलिभिया, केप भर्डी, इजिप्ट, गुनिया, लाओस, मदागस्कार, माल्दिभ्स, मौरिटानिया, मौरिसस, मोजाम्बिक, पलाउ, रुवान्डा, सेसेल्स, सोमालिया, श्रीलंका, तान्जानिया, टिमोर लेस्ते, टोगो, तुवालु, युगान्डालगायत देश छन् ।
यस्तै नेपालीले सम्बन्धित देशले तोकिएको प्रक्रिया पुर्‍याएर अनलाइमार्फत आवदेन दिएर ई–भिसा दिने मुलुकमा अजरबैजान, कम्बोडिया, इथियोपिया, गावन, केन्या, लेसोथो, मलेसिया, म्यानमार र कतार छन् । अन्य सबै मुलुकले भने आवश्यक प्रक्रिया पुर्‍याएर दूतावासमार्फत मात्रै भिसा दिने गरेका छन् । आउटबाउन्डको टुर प्याकेज बेच्ने अग्रणी कम्पनी एसले मात्रै विभिन्न ३२ वटा मुलुकका लागि प्याकेज घोषणा गरेर धमाधम बिक्री गरिरहेको छ । यो ट्राभलले बिक्री गर्ने टुर प्याकेजमा करिब ६० प्रतिशत ग्राहक दोहोर्‍याएर आउने गरेका छन् भने ४० प्रतिशत नयाँ आउँछन् ।

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खाद्यान्नमा सहुलियत

राजु चौधरी

सरकारी निकायसँगै निजी व्यावसायिक संस्थाहरुले चाडपर्वलाई लक्ष्य गरेर करिब २ सय खाद्यवस्तुमा छुट दिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाबाहिर २३ र उपत्यकामा ५ ठाउँमा पसल सञ्चालन गरेको छ । यी पसलमा ५ देखि १० रुपैयाँसम्म छुट दिइएको छ ।

उपभोक्तालाई सहज र सुलभ रूपमा खाद्य वस्तु उपलब्ध गराउन सरकार र व्यवसायीले छुटैछुटको अफर ल्याएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ २३ बाट सहुलियत पसल सुरु गरेको छ । यस्ता सहुलियत पसलले बजारमा मूल्य नियन्त्रणमा सहयोग गर्ने बुझाइ सरकारी अधिकारीहरूको छ । ‘चाडबाडमा खाद्यान्नको माग दुई–तीन गुणाले बढ्छ, ठगी हुने सम्भावना पनि उत्तिकै हुन्छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘त्यसलाई मध्यनजर गर्दै ७३ ठाउँमा सहुलियत पसल सञ्चालन गरेका छौं । यसले सरकारको उपस्थिति देखाउँछ ।’ सरकारी सहुलियत पसलसँगै व्यवसायीलाई पनि सहुलियत दरमा बिक्री गर्न अनुरोध गरेको उनले बताए ।
दसैंलाई लक्षित गरी बिगमार्ट, भाटभटेनी, सेल्सबेरी, सेल्सवेजलगायत डिपार्टमेन्ट स्टोरले पनि छुट दिएका छन् । खुद्रा व्यापार संघलाई सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउन अनुरोध गरिएको विभागले जनाएको छ । ‘छलफलक्रममा व्यवसायीले सहुलियत दरमा बिक्री गर्ने प्रतिबद्धता जनाएका छन्,’ महानिर्देशक गौचनले भने, ‘यसले केही राहत हुनेछ ।’ सरकारले सञ्चालन गरिरहेको सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानलगायतले छुट योजना ल्याएका छन् । सहुलियत पसलमा २ देखि ५० रुपैयाँ छुट दिइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाबाहिर २३ र उपत्यकामा ५ ठाउँमा पसल सञ्चालन गरेको छ । यी पसलमा ५ देखि १० रुपैयाँ छुट दिइएको छ । बास्मती चामलमा १० रुपैयाँ, जिरा मसिनोमा ५ रुपैयाँ, सोना मन्सुलीमा ५ रुपैयाँ, जापानी चामलमा ५ रुपैयाँ, सिमीमा १० रुपैयाँ छुट दिएको छ । जिउँदो बोका–खसी र च्यांग्रामा पनि १० रुपैयाँ छुट दिइएको कम्पनीका बिक्री/वितरण प्रमुख लालमोहन ठाकुरले बताए । ‘सहुलियत पसलले सरकारको उपस्थिति देखाएको छ । सबै क्षेत्रमा पसल सञ्चालन गर्न नसके पनि यसले मूल्य तय गरेको छ,’ उनले भने, ‘खसीबोकाको हकमा निजीभन्दा केही सस्तोमै बिक्री हुन्छ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन्सले पनि चिनीमा ५ रुपैयाँ छुट दिएको छ । उसले प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरिरहेको छ । नुनमा २ रुपैयाँ छुट दिएर बिक्री भइरहेको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक बज्रेश झाले बताए । सहुलियत पसलसँगै ३ मोबाइल भ्यानबाट खाद्यान्न बिक्री गरिने उनले जानकारी दिए ।
दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ मूल्य निर्धारण गरेको छ । पनिरमा १० रुपैयाँ छुट दिएर ७ सय रुपैयाँ तोकिएको छ । खाद्य व्यापार कम्पनीले उपत्यकामा एकीकृृत १ सहित थापाथली, नक्खु, जावलाखेल र भक्तपुरमा पसल सञ्चालन गरेको छ । साल्टले पनि एकीकृत १, कालीमाटीमा २, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरमा एक–एक घुम्ती सेवा सञ्चालन गरेको छ । दुग्ध विकास संस्थानले एकीकृतसहित लैनचौर, न्युरोड र खुमलटारमा सहुलियत पसल सञ्चालन गरिरहेको जनाएको छ ।
सरकारी निकायसँगै व्यावसायिक संस्था बिग मार्टले चाडपर्वलाई लक्षित गरेर २ सय खाद्य वस्तुमा छुट दिएको जनाएको छ । बिग मार्टका वित्त प्रमुख विवेक देवले दसैं, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्यको अफर ल्याएको बताए । सुपथ मूल्य पसलमा न्यूनतम २ रुपैयाँदेखि २५१ रुपैयाँसम्म छुट दिइएको छ ।
‘मुख्य उद्देश्य सहुलियत दरमा उपलब्ध गराउनु हो । सरकारको आग्रहमा मुनाफा नराखी सामान बिक्री गरिरहेका छौं,’ उनले भने । सहुलियत पसलमा नुन, तेल, दाल, चिनी, चामल, घिउलगायत दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा बिक्री गर्न लागिएको उनले जनाए । ‘हरेक दिन बेलुका तरकारीमा समेत विशेष छुटको व्यवस्था गरिएको छ,’ उनले भने ।
हजार रुपैयाँभन्दा बढीको सामान किन्दा बिग मार्टले चिनी प्रतिकेजी ५९ रुपैयाँमा बिक्री गर्दै आएको जनाएको छ । भाटभटेनीका कार्यकारी अधिकृत पानु पौडेलले पनि सरकारी अनुरोधपश्चात् सहुलियत दरमा बिक्री गरेको बताए । चाडबाडमा व्यापारीले सहुलियत दिँदा प्रतिफल राम्रो हुने बताए । उनका अनुसार भाटभटेनीमा चाडबाडलाई लक्षित सबै वस्तुको खरिदमा केही न केही छुट दिइएको छ ।
खाद्य वस्तुको ४४ वटा प्रोडक्टमा नोक्सानी व्यहोरेरै बिक्री गरिरहेको उनले बताए । ‘नुनको खरिद मूल्य १९ रुपैयाँ पर्छ । हामीले १८ रुपैयाँमा बिक्री गरेका छौं । खुलामा चिनी ७५ रुपैयाँ पर्छ, हामीले प्याकिङ चिनी ७२ रुपैयाँमा दिएका छौं,’ उनले भने, ‘यसले उपभोक्तालाई केही राहत मिलेको छ ।’ कार्यकारी अधिकृत पौडेलले खाद्यवस्तुको बिक्रीमा नोक्सानी र अन्य वस्तुको हकमा ५ देखि १५ प्रतिशत मात्रै मुनाफा राखेर बिक्री गरेको बताए । सेल्सवेजका मार्केटिङ हेड चेतनारायण पौडेलले पनि खाद्यान्न र इलेक्ट्रोनिक सामान सहुलियत दरमा बिक्री गरेको बताए । ‘खाद्यान्नमा दुईदेखि ५ रुपैयाँसम्म छुट दिएका छौं, चाडबाडमा धेरै खरिद बिक्री हुन्छ । यसले सबै पक्षलाई राम्रो हुन्छ,’ उनले भने, ‘धेरै किन्ने सामानमा दुई–चार रुपैयाँ छुट हुँदा पनि सहुलियत हुन्छ । धेरै बिक्री पनि हुन्छ । थोरै अफरले पनि बिक्री बढ्न सक्छ । सेल्सबेरीका फाइनान्स प्रमुख सन्दीप प्रधानांगले ई–सेवा र मोबाइल बैंकिङबाट १५ प्रतिशत छुट दिएको बताए । त्योबाहेक एक हजारको सामान खरिद गर्दा २५ वटा सामानमा २५ प्रतिशत छुट दिएको उनले जनाए । ‘चिनी छुट दिएर ५८ रुपैयाँमा दिएका छौं,’ उनले भने ।
ई–सेवा सञ्चालन गर्ने ग्राहकले थप १५ प्रतिशत छुट (४९ रुपैयाँ) मा खरिद गर्न सक्छन्,’ उनले भने, ‘यो छुटमाथि छुट हो । त्यसबाहेक चामल, दाललगायतमा पनि राम्रो छुट दिएका छौं ।’ उनले ५० वटा सामान सुपथ मूल्यमा बिक्री गरेको बताए । ‘अहिले तेल र चिनीको माग उच्च छ, व्यापार दोब्बर छ, टार्गेट भेटिएको छ,’ उनले भने ।

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×