कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

दसैं पहिरन

नुमा थाम्सुहाङ

दसैंमा महिलाले परम्परागत पहिरन रुचाउने गरेका छन् भने पुरुषले कोरियन लुक्सका नयाँ–नयाँ डिजाइन  । महिलाले साडी, कुर्था, लेहेंगा अनि पुरुषले सर्ट, उलन हुडी, लेदर ज्याकेट, ब्लेजर बढी किन्ने गरेका छन्  ।

दसैं पहिरन

कुनै समय वर्षमा एकपटक त्यो पनि दसैंका बेला मात्रै कपडा किन्ने चलन थियो । अहिले त्यस्तो छैन । आवश्यक र मन परेका कपडा जहिले पनि किनेर लगाउन सकिन्छ । दसैंका अवसरमा कपडा किन्नेको लर्को भने बजारमा अहिले पनि उस्तै छ । बानेश्वरकी आरती पराजुलीलाई चाडबाडको समयमा आफ्ना संस्कृति र परम्पराको झल्को दिने खालका कपडा लगाउन मन पर्छ । एनआईबीएलकी बैंकर उनी दरबारमार्गको एक पसलमा दसैंका लागि कुर्था र त्यससँग मिल्ने एसेसरिज हेर्दै थिइन् । दसैंका बेला सपिङ गर्न रमाइलो लाग्ने उनी सुनाउँछिन्, ‘दसैंमा ट्रेडिसनल कपडा, अझ कुर्था लगाउन मनपर्छ,’ उनी भन्छिन्, ‘यसैसँग मिल्ने, दसैंको दक्षिणा पनि अट्ने सानो साइड ब्याग र ब्लकमा क्लोज सुज नै ठीक हुन्छ । यो लगाउन पनि सजिलो हुन्छ ।’
चाडपर्वको सिजनमा साडी, कुर्था, लेहेंगा ग्राहकको रोजाइमा पर्ने गरेको वुमन्स प्लानेट बुटिककी डिजाइनर सुष्मा सिंहले बताइन् । ‘दसैं अन्य समयजस्तो होइन, फेस्टिभ सिजन हो, यसमा सकेसम्म मानिसहरू साधारण देखिन रुचाउँछन्,’ उनले भनिन्, ‘धेरैले रुचाएको दसैंको फेसन भनेको सरारा कुर्था र यसमा सिम्पल डिजाइन हो । अर्गेन्जा साडी पनि ग्राहकले रुचाइरहेका छन् ।’ लेहेंगा र टिनएजरहरूका लागि फिटिङ लङ वनपिस दसैंमा बढी बिक्री हुने गरेको उनले बताइन् । पेस्टल र मिक्स कलर दसैंको आकर्षण रहेको उनी बताउँछिन् । ‘पेन्सिल पेन्ट र प्लाजासँग कुर्थी पनि अहिले केटीहरूको रोजाइमा परेको छ,’ उनले भनिन् ।
दरबारमार्गस्थित इन्भी सुज एन्ड एसोसरिजकी मनिषा श्रेष्ठले दसैंमा ठूलोको तुलनामा सानो साइजको साइड ब्यागमा रुचि देखिएको बताइन् । यो बेला राम्रो लगाउन र राम्रो किन्न खोज्ने गरेको उनी सुनाउँछिन् । कपडा, जुत्ता, ब्यागको व्यापार बढी हुने उनको भनाइ छ । ‘जुत्तामा थोरै हिल र क्लोजमा ब्लक हिल रुचाइरहेका छन्,’ उनले भनिन्, ‘तीजमा जस्तो रातो रङ नै चाहिन्छ भन्ने छैन । आफ्नो ड्रेससँग मिलाएर सपिङ गर्छन् ।’
महिला मात्र नभई पुरुषले पनि दसैंमा बेग्लै फेसन रुचाउन थालेका छन् । उनीहरू कोरियन लुक्सका फेसनतिर बढी आकर्षित भएको सुन्धारास्थित ताजुस सरिया पसलका मिलन गौतमले बताए । अरू बेला कपडा किने पनि दसैंमा गरेको सपिङको छुट्टै महत्त्व हुने उनी सुनाउँछन् । अरू बेलाभन्दा दसैंमा व्यापार पनि राम्रो हुने उनको बुझाइ छ ।
‘दसैंमा युवकहरूले कोरियन लुक्सका ड्रेसअप मन पराइरहेका छन्, नेपालीलाई सुहाउँछ पनि, टिनएजर्सले खोज्ने भनेको फिटिङ कपडा हो,’ उनले भने, ‘लाइनिङ र प्लेनका फुल तथा हाफ बाहुला भएका सर्ट, उलन हुडी, लेदर ज्याकेट, ब्लेजरप्रति आकर्षण बढेको छ ।’ कोरियन कटन पाइन्ट र जिन्समा हल्का ग्रन्ज र चुज पाइन्ट सुहाउँदो स्पोर्ट सुजसँग मिलाएर लगाउने उनले बताए । ‘क्याजुअलमा सुज, कन्भर्स, भेन्स र बुट बढी खोजिने गरेको छ,’ उनले भने ।

ब्रान्डमा दसैं सेल अफर
दसैं तथा तिहारको अवसरमा दरबारमार्गमा विभिन्न ब्रान्डका सेलका ब्यानरहरू झुन्डिएको र टाँसेको देख्न सकिन्छ । केटीएम सिटी, एडिडास, लिभाइज तथा पुमाका सोरुमहरूले ग्राहकका लागि छुटको व्यवस्था गरेका छन् । व्यापार बढाउन र ग्राहकलाई खुसी पार्न दसैंको ‘सेल’ राम्रो अवसर भएको छ ।
केटीएम सिटी : नेपाली उत्पादन बेचबिखन गर्दै आएको केटीएम सिटीले दसैंमा अफर ल्याएको छ । ‘दसैंमै किन सेल ?’ सोरुम इन्चार्ज समिर श्रेष्ठ भन्छन्, ‘ग्राहकको ध्यान तान्न र बिक्री बढाउन । चाडबाडका बेला ग्राहकको त्यसै भीड हुन्छ । सेलले अझ व्यापार बढाउँछ ।’ केटीएमका सबै उत्पादनमा ‘बाई वन गेट वन फ्री’ दसैं अफर रहेको उनले बताए । ‘ज्याकेट, टिसर्ट, स्पोर्ट्स वेयर, हाफ पाइन्ट जुनैमा पनि एक किन्दा एक सित्तैमा छ,’ उनले भने, ‘केटीएम सीटीकै अर्को नयाँ ‘केटीएम सीटी ब्ल्याक ८८४८’ बजारमा नयाँ आएको छ । यसमा जाडोका लागि ज्याकेट र विन्ड सिटर छ । जसमा ६० प्रतिशतसम्म छुट दिएका छौं ।’ बालुवाटारदेखि केटीएम सिटीको सोरुममा कपडा हेर्न आएका विष्णु केसीले गोजी छामेर सामान किन्न सकिने बताए । ‘कस्तो कपडा छ भनेर हेर्दै छु,’ उनले भने, ‘रेट पनि ठीक छ । नेपालीले धान्न सक्ने नै मूल्य रहेछ । १८ सय रुपैयाँको सामान किन्दा त्यही मूल्यको अर्को सामान सित्तैमा पाइने रैछ ।’

एडिडास : दसैंलाई लक्ष्य गरेर एडिडासले ब्रान्डेड लगाउन चाहने तर धान्न नसक्ने ग्राहकका लागि ४० प्रतिशत छुट राखेको छ । ‘कतिलाई ब्रान्डेड लगाउन मन हुन्छ, सबैले अफोर्ड गर्न सक्दैनन्, त्यसका लागि सेलमा किन्ने अवसर पनि हो,’ एडिडासको आधिकारिक बिक्रेता रुट्सफेसन वेयरका सोरुम इन्चार्ज जितेन्द्र महर्जनले भने, ‘एडिडासको जुत्ता, स्पोर्ट्स वेयर, ट्र्याक र सर्टमा सेल राखेका छौं । सोरुममा १० हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकमध्ये एकजनालाई लक्की ड्रमार्फत ५ लाख ९० हजार रुपैयाँबराबरको अमेरिकन क्लिभल्यान्ड बाइक उपहारको व्यवस्था गरिएको उनले बताए ।

लिभाइज : लिभाइजको आधिकारिक बिक्रेतासमेत रहेको रुट्सफेसन वेयरले नयाँ आएको कपडामा १० प्रतिशत र स्टक सामानमा ५० प्रतिशत छुट राखेको सोरुमका इन्चार्ज अभिषेक महर्जनले बताए । ‘लिभाइजको जिन्स पाइन्ट ओल्ड फेसन स्टाइल भएकाले सबैले यसलाई मन पराउँछन्,’ उनले भने, ‘लिभाइजको पर्स, टिसर्ट, जिन्स ज्याकेटको बजार राम्रो छ ।’ लिभाइजमा पनि १० हजार रुपैयाँ सामान खरिदमा अमेरिकन क्लिभल्यान्ड बाइक उपहार रहेको उनले जानकारी दिए ।

पुमा : पुमाले दसैंको मौकामा सेल अफर ल्याएको छ । स्टक क्लियर गर्नका लागि सेल राखिने पुमाको आधिकारिक बिक्रेता प्लाटिनियम ट्रेडका सोरुम इन्चार्ज प्रवीन झाले बताए । सेलको सिजन नै दसैं रहेको उनी सुनाउँछन् । ‘पुमाको स्टक सामानमा ५० प्रतिशत छुट छ । यसका जुत्ता, कपडा र ब्यागमा छुट दिएका छौं, नयाँमा चाहिँ राखेका छैनौं,’ उनले भने, ‘हाम्रो स्टकमा ३/४ महिना मात्रै सामान बस्छ, यसमा ग्राहकलाई पनि फाइदा हुन्छ ।’

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?