दसैं विशेष : घर जाने हतारो

विमल खतिवडा

घटस्थापना अगावैदेखि राजधानीका बसपार्कमा चहलपहल सुरु भइसकेको छ । टिकट बुकिङ खुला भएकै समयबाट फाट्टफुट्ट रूपमा यात्रु घर जान थालेका छन् । धेरैले टिकट बुकिङ गरिसकेका छन् । दसैंमा करिब २० लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।

जाजरकोटको कुशे गाउँपालिका ४ का २१ वर्षीय नवराज शाही ठकुरी काठमाडौं बस्न थालेको ५ वर्ष भयो । पढाइको सिलसिलामा राजधानी पसेका उनी अघिपछि घर जान पाउँदैनन् । राजधानीबाट घर पुग्न दुई दिन लाग्छ । त्यो पनि कच्ची बाटो छिचोल्दै जानुपर्छ । पानी परे पुग्नै सकस हुन्छ । अघिपछि जे–जस्तो भए पनि दसैंमा घर जान भने छुटाउँदैनन् । बसमा मुडामा बसेर हुन्छ कि बर्नरमा– उनी प्रत्येक वर्ष गएकै छन् । यसपटक १६ गते जाँदै छन् । दसैंमा गएर तिहारपछि मात्र फर्कने उनको योजना छ । ‘वर्षमा एकपटक आउने चाडमा घर नगएर भएन,’ उनी भन्छन्, ‘दसैं भनेको परिवारका सबै भेला हुने चाड पनि हो । एक दिन बसमा सदरमुकामसम्म पुग्छौं । अर्को दिन जिप पाइए त्यसैमा, नपाए मोटरसाइकल चढेर जाने हो ।’

रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा स्नातक तेसो वर्ष अध्ययनरत उनी चाडबाडमा घरको सम्झना बढी आउने बताउँछन् । ‘घरबाट कहिले आउने हो भन्दै फोन आउन थालिसक्यो,’ उनी भन्छन्, ‘टिकट नपाए बसमा उभिएरै भए पनि १६ गते आउँछु भनेको छु ।’

उनी मात्र होइन, पूर्व–पश्चिम सबैतिर घर फर्कनेको लर्को लाग्न थालिसकेको छ । गाडी र टिकट काउन्टरमा यात्रुको भीड छ । केही यात्रु गाडी रिजर्भ गरेर घर हिँड्न थालिसकेका छन् । ‘कहिले १३ गते आउला र घर पुगौंजस्तो भएको छ,’ संखुवासभा तामाखोकी सुमित्रा जिमी भन्छिन्, ‘काठमाडौंको धुलोधुवाँबाट केही दिन भए पनि मुक्ति पाइन्छ ।’ उनीसहित ४ जना दसैंमा गाउँ जाँदै छन् । दसैंले उत्साह थप्ने काम गरेको छ । कीर्तिपुरमा बसेर स्नातकोत्तर पढिरहेकी उनी वर्ष दिनपछि घर जान लागेकी हुन् । काठमाडौंबाट घर पुग्न दुई दिन लाग्छ ।

‘ठूलो बसमा धरानसम्म जान्छौं,’ उनी भन्छिन्, ‘त्यहाँ आफन्त हुनुहुन्छ, एक रात त्यहीँ बसेर उहाँहरूसँगै जिप रिजर्भ गरेर जान्छौं ।’ पढाइकै लागि उनी राजधानी बसकी छन् । सबैजना दसैं आउने दिन गन्दै बाटो हेरेर बसेको उनी सुनाउँछिन् । ‘गाउँमा दसैं रमाइलो हुन्छ, सबैसँग भेट हुन्छ,’ उनी भन्छिन्, ‘घरमै फलेका खानेकुरा खान पाइन्छ, मान्यजनबाट आशीर्वाद थाप्ने अवसर मिल्छ ।’

धेरै मान्छे बाहिरिने भएकाले दसैंमा राजधानी सुनसानजस्तै बन्छ । सडकमा सवारी साधनको संख्या पातलिन्छ । यात्रुको चहलपहल कम हुन्छ ।

करिब २० लाख सर्वसाधारण उपत्यकाबाट दसैं मान्नका लागि बाहिरिने तथ्यांक छ ।







टिकट बुक गर्नेहरू घटस्थापनापछि घर जान थालिसकेका छन् । १६ देखि १९ गतेसम्म घर जाने यात्रुको चाप सबैभन्दा बढी हुन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार यी चार दिनमा दैनिक ७ हजारभन्दा बढी गाडी राजधानी भित्रिने र बाहिरिने गर्छन् ।

असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । टिकट बुकिङ खुला भएकै समयबाट फाट्टफुट्ट रूपमा दसैंका लागि यात्रु घर जान सुरु गरेका हुन् ।

घटस्थापनादेखि दैनिक करिब ५ हजार यात्रु उपत्यकाबाट बाहिरिइरहेको उनले बताए । यातायात व्यवस्था विभागले यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले १२ देखि १९ गतेसम्म सार्वजनिक सवारी साधनका लागि इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । यो समय पूर्वका गाडी पश्चिम, सुदूरपश्चिमसम्म यात्रु बोकेर जान पाउँछन् । काठमाडौं भित्रिने लामा सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ । १८/२० चक्के सवारी साधन सामान लिएर भारतबाट आउँदा मुख्य राजमार्गमा जाम हुने भएकाले त्यहीअनुसारको तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।

उपत्यकाका कोटेश्वर, गौशाला, चाबहिल, कलंकी, नयाँ बसपार्कलगायत १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । त्यहाँ ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी र उपभोक्ता समाजका प्रतिनिधि बस्छन् । व्यवसायीले गाडी भाडा बढाएर लिन पाउने छैनन् । अहिले जति भाडादर छ, त्यही दरमा यात्रु गन्तव्यसम्म पुग्छन् । केही गाडी कम्पनीले अनलाइनबाट टिकट बुकिङ गर्ने व्यवस्था मिलाएका छन् । करिब डेढ दर्जन कम्पनीले यो सुविधा दिएका छन् । घरमै बसेर टिकट बुक गर्न सकिने भए पनि यात्रुका लागि यो सेवा प्रभावकारी बन्न सकेको छैन ।

आफूले खोजेको ठाउँको टिकट अनलाइनमा नपाएको गुनासो यात्रुको छ । जसले गर्दा घण्टौं लाइन लागेर टिकट काट्नुको विकल्प छैन । विभागले अर्को वर्ष अनलाइनबाट टिकट बुकिङ सेवालाई प्रभावकारी बनाउने दाबी गरेको छ । ‘टिकट बुकिङ खुलेकै दिन असोज ५ गते ६ घण्टा लाइनमा बसेर टिकट लिएँ,’ बझाङका कमलकुमार थापा भन्छन्, ‘वर्ष दिन भयो घर नगएको, सधैं दसैंमै जाने हो, यही बेला टिकट लिन कष्ट झेल्नुपर्छ ।’ उनले १३ गतेका लागि टिकट लिएका छन् । सबैलाई कहिले घर पुगौं भन्ने हुटहुटी छ । घर जानेले पहिल्यै टिकट लिइसकेका छन् ।
यात्रुलाई ठगिन नदिन सादा पोसाकमा प्रहरी परिचालान गरिएको छ । ‘यात्रुलाई कसैले ठग्न पाउने छैन, सबैले सहज रूपमा सिटमा बसेर घर पुग्न पाउँछन्,’ महानिर्देशक हमाल भन्छन्, ‘कसैले कालोबजारी गरेर टिकट बिक्री गरेको, बढी भाडा लिएको पाइएमा ठाउँको ठाउँ कारबाही हुन्छ ।’ भाडादर बसमा टाँसिएको उनले सुनाए । गाडी र टिकट अभावले यात्रु घरजानबाट वञ्चित नभएको उनी बताउँछन् ।

सबैभन्दा ठूलो समस्या सडकको छ । पानी पर्ने क्रम नरोकिएकाले यसपालि यात्रुलाई घरसम्म पुग्न सकस हुने अवस्था छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवाली सडककै कारण यात्रु नरोकिने दाबी गर्छन् । ‘सडक विभागले मर्मत गराएको छ,’ उनी भन्छन्, ‘त्यसैले सडकले चाडबाडमा असर गर्ने छैन ।’ तर, ढिलो घर जाने तयारीमा रहेका यात्रु चिन्तित छन् । पहिला जस्तो अहिले एक दिन गाडीमा र दुई दिन हिँडेर घर जानुपर्ने अवस्था छैन । गाउँगाउँमा सडक सञ्जाल छ । तीन दिनमा घर पुग्ने समय एक दिनमा छोट्टिएको छ ।

‘कोही आत्तिनुपर्दैन, सबैलाई घर पुर्‍याउने काम हाम्रो भयो,’ महासचिव सिटौला भन्छन्, ‘वर्षाले सडक बिग्रिएका छन्, खाल्डाखुल्डी पुरिएन र समयमै गाडी आइपुगेन भने यसको जिम्मा हामी लिन सक्दैनौं ।’ जहाँ सडक जोखिमयुक्त छ, त्यहीँ सामान बोकेर हुटमा बस्ने यात्रुको भीड हुन्छ । यस्ता दृश्य सडक छेउछाउमा बस्नेका लागि नौला लाग्दैनन् । ट्राफिक प्रहरीले भने सिटमा मात्रै बसेर यात्रा गर्ने वातावरण मिलाइएको दाबी गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १६:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

त्रिशूली-नारायणी जलयात्रा सुरु

रमेशकुमार पौडेल

चितवन — त्रिशूली नदीको कालीखोलादेखि नारायणी नदीको मंगलपुर सानोगढीसम्म जलयात्रा सुरु भएको छ । १० सिट र १४ सिटका दुई वटा मोटरबोटले त्रिशूली र नारायणी नदीमा साढे ४५ किलोमिटर दूरी पार गर्नेछन् । 

मुग्लिन नारायणगढ सडकमा पर्ने इच्छाकामना गाउँपालिका–६ कालिखोलादेखि त्रिशूली नदीमा सुरु हुने जलयात्रा भरतपुर महानगरपालिका–१६ मंगलपुर सानोगढी नजिक नारायणी नदीमा पुगेर सकिने छ । ‘नेपाल सरकारले स्वीकृति दिएको यो नै अहिलेसम्मकै लामो जलयात्रा हो’ मोटरबोट सञ्चालक कम्पनी आयुश्मा मोटरबोट प्रालिका अध्यक्ष विजयचन्द्र अधिकारीको दाबी छ । शुक्रबार प्रदेश–३ का सांसद घनश्याम दाहालले मोटरबोटको उद्घाटन गरे । त्रिशूली नदीमा साहसिक जलयात्रा गर्न रुचाउने पर्यटकले र्‍याफ्टिङ गर्दै आएकोमा अब अन्य पर्यटकले पनि मोटरबोटमार्फत जलयात्राको आनन्द लिन पाउने दाहालले बताए ।्

‘चितवनमा अनेक पर्यटकीय गतिविधि भइरहन्छन् । त्रिशूली नदीमा यो खालको जलयात्रा नौलो कार्यक्रम हुन सक्छ । पर्यटन वर्षलाई सफल बनाउन यस्तो कार्यक्रमले सहयोग गर्ने छ’ प्रदेश सांसद दाहालको भनाइ थियो । कम्पनीले हाललाई कालीखोलादेखि सानोगढीसम्म मोटरबोट चलाए पनि छिट्टै यो दूरी थप्ने योजना बनाएको अध्यक्ष विजयचन्द्र अधिकारीले बताए । दुई महिनाभित्रै ४० सिटको सानो क्रुज थप्ने उनले बताए ।

‘कुरिनटारदेखि सानोगढीसम्म सानो क्रुज चलाउने योजना बनाउँदै छौं । त्यसो गर्दा जलयात्राको दूरी ६८ किलोमिटर हुने छ’ कम्पनीका उपाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए । २१ जना शेयरधनीले मोटरबोट सञ्चालन गरेका हुन् । सानो क्रुज सञ्चालन गर्दा तीनदेखि ५ करोड रुपैयाँसम्म लगानी थप्नु पर्ने उनले बताए । पर्यटन र जलयात्राको राम्रो सम्भावना देखेर यसमा हात हालेको उनको भनाइ छ ।

कम्पनीका बजार प्रबन्धक समिर श्रेष्ठ जलयात्रा गर्ने पर्यटकलाई होटलमा खाने बस्ने सुविस्तासहित प्याकेज उपलब्ध हुने बताउँछन् । ‘प्रतिव्यक्ति ३५ सय रुपैयाँ तिरेमा नारायणगढ र गैंडाकोट क्षेत्रका होटलमा एक रात बस्न, साँझको खाना (डिनर) र बिहानको नास्ता (ब्रेकफाष्ट) सहित जलयात्रा गर्न पाइन्छ । दुई जना आए यसमा १० प्रतिशत छुट हुन्छ’ श्रेष्ठले जानकारी दिए ।

नारायणगढ वा सौराहा आएर बस्ने, जलयात्रा गर्ने, जंगल पनि घुम्ने कार्यक्रम बनाएर आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरेर प्याकेज बनाएको र त्यही अनुसार बजार प्रवर्द्धनका कार्यक्रमहरु गरेको उनले बताए । नदीको तेज धार र लामो दूरीलाई ख्याल राखेर सुरक्षामा पनि यथेष्ट विचार पुर्‍याएको अध्यक्ष अधिकारीको दाबी छ । उनका अनुसार मोटरबोटमा नै एक उद्धारक (लाइफगार्ड) रहने छन् ।

प्रकाशित : आश्विन १७, २०७६ १५:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×