२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दसैं विशेष : सुरक्षा सतर्कता, के छन् प्रहरीको सुरक्षा टिप्स ?

जनकराज सापकोटा

पर्व सुरक्षा योजनाअन्तर्गत उपत्यका र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फत ४३ एसपी, १ सय २० डीएसपीसहित ४६ हजार ६ सय १९ जना प्रहरी परिचालन गरिएको छ । नेपाल र सशस्त्र प्रहरीले देशभर ९१ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् ।

दसैं विशेष : सुरक्षा सतर्कता, के छन् प्रहरीको सुरक्षा टिप्स ?

उपत्यकाका तीन जिल्लामा मात्रै स्थायी र अस्थायी गरेर ६० लाखभन्दा धेरै मान्छेको आवतजावत हुने गर्छ । प्रहरीका अनुसार यसको ७० प्रतिशत जनसंख्या दसैंका बेला थातथलो फर्किन्छ । घटस्थापनाको अघिल्लो दिन अर्थात् असोज १० मा मात्रै १ लाख २० हजारले काठमाडौंबाट बाहिरिएको प्रहरीको रेकर्ड छ । यो संख्याबाटै अनुमान गर्न सकिन्छ, चाडपर्वका बेला प्रत्येक दिन ठूलो संख्यामा मानिसहरू उपत्यका छोडेर थातथलोतिर हानिन्छन् । चाडपर्व सुरक्षाका लागि भन्दै यसपालि ४२ हजार प्रहरी जनशक्ति परिचालन गर्न लागिएको छ ।

प्रहरी प्रधान कार्यालयले पर्व सुरक्षा योजनाअन्तर्गत उपत्यकासहित सातवटै प्रदेश प्रहरी कार्यालयमार्फत ४३ एसपी, १ सय २० डीएसपीसहित ४६ हजार ६ सय १९ जना प्रहरी परिचालन गरेको छ । यो जनशक्तिले दसैंका अलावा, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरेर सुरक्षा प्रदान गर्नेछ । चाडपर्वका बेला घरका ढोका फुटाएर चोर्ने, बैंक तथा वित्तीय संस्थामा चोरी गर्ने अथवा गरगहना र बहुमूल्य सामान चोरी गर्ने गिरोह सक्रिय हुने भन्दै प्रहरी प्रधान कार्यालयले ११ हजार ४ सय १ प्रहरीलाई हतियारसहित फिल्डमा खटाएको छ । ४ देखि ६ जनाको समूह बनाएर गस्तीमा खटाउने र १३ हजार ५ सय १६ जनालाई लाठीसहित परिचालन गर्ने योजना बनाएको छ ।

महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले पछिल्ला १० वर्षमा चाडपर्वका बेला हुने अपराधका घटनाको विश्लेषण गरिएको बताए । उनको बुझाइमा चाडपर्वका बेला गम्भीर प्रकृतिका अपराधभन्दा पनि आर्थिक अपराधका घटना वृद्धि हुने बताए । ‘सबैको ध्यान चाडपर्व मनाउनेतिर एकोहोरिएको मौका चोरी र डकैती गर्नेहरूले उठाउँदा रहेछन्,’ उनले भने । उनको अनुभवमा लुटपाट, चोरी, पाकेटमारी, मदिराजन्य हिंसा र जुवाजस्ता अपराधका घटना चाडबाडमा हुने गरेको देखिन्छ ।
प्रहरी परिसर काठमाडौंले मात्रै चाडबाड केन्द्रित सुरक्षाका लागि भन्दै तीन हजार जनशक्ति परिचालन गरेको छ । परिसरले चाडबाड केन्द्रित सुरक्षा भन्दै प्रत्येक नाकामा चेकजाँच, रात्रिकालीन गस्ती र आकस्मिक चेकजाँच बढाउने भएको छ ।

प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले सादा पोसाकका प्रहरी व्यापक परिचालन गरिने उनले बताए । चाडबाडका बेला तपाईं घर छोडेर वा डेरा छोडेर जाँदै हुनुहुन्छ भने त्यसको सूचना नजिकको प्रहरीलाई दिन पनि प्रहरीले अनुरोध गरेको छ । डीएसपी बोगटीले आफू घरमा नभएको सूचना दिएका घरहरूमा प्रहरीले निगरानी बढाउने बताए ।

उनले आफूले घर छोड्न लागेको सूचना सामाजिक सञ्जालमा नलेख्न पनि सुझाए । ‘दसैं मनाउन हिँडियो भनेर लेखिएको सूचना चोरी–डकैती गर्नेहरूलाई खुराक बन्न सक्छ,’ उनले भने, ‘चोरलाई सजिलो नबनाउनुस् ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीले चाडपर्व सुरक्षा योजनाअन्तर्गत देशभर ९१ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् । यस्तो कक्षले सर्वसाधारणलाई सूचना दिने, जनधनको सुरक्षा प्रदान गर्नेछ । सशस्त्रले प्रदेश १ मा २०, प्रदेश २ मा ४७, प्रदेश ३ र गण्डकीमा एक–एक, प्रदेश ५ मा १६ र सुदूरपश्चिमका ६ स्थानमा सहायता कक्ष राखेको छ ।

प्रहरीको सुरक्षा टिप्स

- घर छोड्न लागेको कुरा सामाजिक सञ्जालमा नलेख्नुस् ।
- सीसीटीभी चौबिसै घण्टा अन गर्ने व्यवस्था मिलाउनुस् ।
- झ्यालढोका मिलेसम्म भित्रबाटै बन्द गर्नुस् ।
- साना ह्याम्मर छिराउने ठाउँ नराख्नुस् ।
- मुख्य ढोकामा बलियो ताल्चा लगाउनुस् ।
- आफू घरमा नहुने सूचना छिमेकीलाई दिनुस् ।
- गरगहना, पैसा र बहुमूल्य सामान घरमा नराख्नुस् ।
- प्रहरीलाई आफू घरमा नहुने सूचना गोप्य रूपमा टिपाएर जानुस् ।

प्रकाशित : आश्विन १४, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?