कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'जलपरी'को तीन स्वर्णको कीर्तिमान 

काठमाडौँ — पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा तीन स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् । पौडी प्रतिस्पर्धाको चौथो दिन आइतबार ४ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् । 

'जलपरी'को तीन स्वर्णको कीर्तिमान 

२ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण चुमिसकेकी गौरिकालाई पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्ने अवसर छ । तेक्वान्दोका विष्टले नेपालका लागि सर्वाधिक चार स्वर्ण चार संस्करणमा जितेका छन् ।

गौरिकाले १ सय मिटर फ्रिस्टाइल र चार गुणा १ सय मिटर मिड्ले रिले (टिम स्पर्धा) मा सोमबार प्रतिस्पर्धा गर्दैछिन् । उनी १ सय मिटर फ्रिस्टाइलको व्यक्तिगत स्पर्धामा स्वर्णकी दाबेदार हुन् ।

म्याराथन धावक वैकुण्ठ मानन्धर (३ स्वर्ण, १ कांस्य) र तेक्वान्दोकी आयशा शाक्य (३ स्वर्ण, २ रजत) ले चार संस्करणमा हात पारेका उपाधिलाई १३ औं सागमा ३ स्वर्ण जित्दै बराबरी गरेकी गौरिकाले भनिन्, ‘पहिलो पदक (स्वर्ण) ल्याउँदा मेरो सातो गयो, दोस्रो त्यस्तै । तेस्रोमा पनि त्यस्तै महसुस भइरहेको छ । बयानै गर्न सक्दिनँ । एकदमै गर्व लागेको छ देशप्रति ।’

लन्डनमा अध्ययनसँगै नियमित प्रशिक्षण गरिरहेकी उनले भनिन्, ‘पहिला (प्रतिस्पर्धा सकेर) त मैले आफैं हेरें राम्रो (नतिजा) छ कि छैन भनेर । हजुरबा दर्शकदीर्घामा उफ्रिरहनुभएको रहेछ, एकदमै खुसी भएँ । मैले त आफ्नो उत्कृष्ट गर्ने मात्रै सोचेकी थिएँ । ४ सय मिटर फ्रिस्टाइल जितेर मात्रै एकैपल्ट ३ स्वर्ण जित्ने पहिले खेलाडी भएको थाहा पाएँ । एकदमै खुसी भइरहेकी छु ।’ विष्टको चार स्वर्णको कीर्तिमान बराबरी गर्ने अवसरबारे उनी बोलिन्, ‘आशावादी छु । म उत्कृष्ट गर्ने प्रयास गर्नेछु । के हुन्छ हेरौं ।’

‘सर्ट कोर्स’ मा पाएको सफलतालाई अविश्वसनीय रूपमा लिएकी उनले भनिन्, ‘मलाई सबभन्दा राम्रो त यो (हिटिङ सिस्टमको इन्डोर स्विमिङ पुल) भौतिक संरचना तयार भएकामा लागेको छ । अब हुन्छ कि हुँदैन भन्ने अवस्थामा छोटो समयमै यस्तो राम्रो पुल बन्यो । यसमा मलाई त विश्वासै लागिरहेको छैन ।’ प्रतियोगिताको दुई दिनअघि मात्रै तयार गरिएको पुलमा प्राप्त तीन स्वर्णबारे भनिन्, ‘पहिलो स्वर्ण नेपाललाई, दोस्रो माइती नेपाल र शान्ति एजुकेसनलाई, तेस्रो स्वर्ण हजुरबुबालाई, उहाँको जन्मदिन १० डिसेम्बरमा आउँदै छ ।’

रियो ओलम्पिक २०१६ कै यी सबभन्दा कान्छी खेलाडी आइतबार ५० मिटर फ्रिस्टाइलमा भने रजतमा सीमित भइन् । उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली महिला टिमले चार गुणा ८ सय मिटर फ्रिस्टाइल रिलेमा कांस्य हात पार्‍यो । यससँगै गौरिकाले यो सागमा आफ्नो पदक संख्या ७ (स्वर्ण ३, रजत २, कांस्य २) पुर्‍याइन् । १२ औं सागमा उनले १ रजत र ३ कांस्य जितेकी थिइन् । पदक संख्याको हिसाबले उनी भारोत्तोलनका जगदीश प्रधान (३ रजत, ८ कांस्य गरी ११ पदक) सँग बराबरी गर्दै दोस्रो स्थानमा पुगेकी छन् । भारोत्तोलनकै दिवंगत सुनीललाल जोशी सर्वाधिक १४ पदक जित्ने कीर्तिमानी हुन् ।


उनले सागको ६ संस्करणमा ५ रजत र ९ कांस्य जितेका थिए । जोशी र प्रधानको समयमा भारोत्तोलनमा स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी एउटै स्पर्धामा तीन पदकसम्म दिइएको थियो ।

कडा प्रतिस्पर्धा

पौडीको चौथो दिन गौरिकाले ४ सय मिटर फ्रिस्टाइल ४ मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यो राष्ट्रिय कीर्तिमान पनि हो । उनले गत वैशाखमा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा बनाएको ४ मिनेट ४४.८१ सेकेन्डको आफ्नै कीर्तिमान सुधार गरेकी हुन् । उनलाई स्वर्णको होडमा भारतकी शिवांगी शर्माले कठिन चुनौती दिएकी थिइन् ।

शिवांगीले ४ मिनेट २६.२२ सेकेन्डसाथ रजत र श्रीलंकाकी रामुदी नुलाराले ४ मिनेट ४१.९१ सेकेन्डसहित कांस्य हात पारे । गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा शिवांगीलाई नै पन्छाउँदै पहिलो दिन स्वर्ण जितेकी थिइन् । उनले दोस्रो दिन २ सय मिटर ब्याकस्ट्रोकमा भारतकै मन्ना पटेललाई उछिन्दै अर्को स्वर्ण कब्जा गरेकी थिइन् । उनी ५० मिटर फ्रिस्टाइलमा भने मन्नालाई पन्छाउन असफल भइन् । यसमा मन्नाले २८.९४ सेकेन्डसाथ स्वर्ण जितिन् भने गौरिका (२९.७१ सेकेन्ड) रजतमै रोकिइन् । यसक्रममा उनले हिट (३०.०५ सेकेन्ड) र फाइनलमा गरी दुई कीर्तिमान पनि बनाइन् । भारतकै रिधमा वीरेन्द्रकुमारले ३०.४६ सकेन्डसाथ कांस्य हात पारिन् ।

चार गुणा ८ सय मिटर फ्रिस्टाइल रिलेमा गौरिका, अनुसिया तन्डुकार, डुआना लामा र टिशा शाक्यको टिमले ९ मिनेट ०३.०४ सेकेन्डसहित कांस्य हात पार्‍यो । र, पनि राष्ट्रिय कीर्तिमान हो । भारतीय टिमले ८ मिनेट ४१.०७ सेकेन्डसहित स्वर्ण र श्रीलंकाले ८ मिनेट ५४.९१ सेकेन्डसाथ रजत जिते ।

डुआनालाई अर्को रजत

१३ वर्षीया डुआना लामाले आइतबार महिला २ सय मिटर बटरफ्लाईमा २ मिनेट ३३.१६ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित रजत पदक हात पारिन् । १३ औं सागमा यो उनको दोस्रो रजत हो । यसअघि उनले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ४४.६८ सेकेन्डसाथ रजत जितेकी थिइन् । रिले (टिम स्पर्धा) को २ कांस्यसहित उनको यो सागमा पदक संख्या ४ पुगेको छ । उनले अन्तिम दिन सोमबार चार गुणा १ सय मिटर मिड्लेमा पनि टिमसँगै प्रतिस्पर्धा गर्दै छिन् ।

‘देशलाई रजत पदक दिलाउन पाउँदा म निक्कै खुसी भएकी छु । धेरै गर्व लाग्छ,’ फुकेट, थाइल्यान्डमा अध्ययनसँगै प्रशिक्षण गर्दै आएकी उनले भनिन्, ‘यो सागमा पदक जित्ने सोचेकै थिइनँ, आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेकी थिएँ । पदक आइरहेको छ, मलाई विश्वास नै लागिरहेको छैन ।’

२ सय मिटर बटरफ्लाईको स्वर्ण भारतकी अपेक्षा फर्नान्डेजले २ मिनेट २१.८३ सेकेन्डसाथ जितिन् । बंगलादेशकी जुनया अहमद घरेलु खेलाडी डुआनालाई कडा चुनौती दिएर पनि २ मिनेट ३३.७५ सेकेन्डसहित कांस्यमा सीमित भइन् । पौडीमा ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको दिन आइतबार भारतले ७ स्वर्ण जित्यो ।

प्रकाशित : मंसिर २३, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?