२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सकियो १३ औं साग, पाकिस्तानलाई झन्डा

कुशल तिमल्सिना

काठमाडौँ — पाकिस्तानलाई आयोजना अधिकार सुम्पँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौंमा सम्पन्न भएको छ । मंसिर १५ देखि काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलमेला पुरुष फुटबलको फाइनलसँगै सकिएको हो । मंगलबार साँझ दशरथ रंगशालामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गरेका हुन् । 

सकियो १३ औं साग, पाकिस्तानलाई झन्डा

३ सय १६ स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपाल अंकतालिकामा दोस्रो स्थानमा रह्यो । समग्र व्यवस्थापनमा प्रश्न गर्ने ठाउँ प्रशस्तै रहे पनि १३ औं साग उपलब्धिको हिसाबमा सफल भएको छ । समापनलाई सम्बोधन गर्ने क्रममा सागको कार्यकारिणी समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य–सचिव रमेशकुमार सिलवालले आफ्नो पूर्वघोषणाअनुसार पदक जितेकोमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धन्यवाद पनि दिए ।


‘मैले प्रतियोगिता सुरु हुनुअघि नै नेपालले कम्तीमा ५० स्वर्ण पदक जित्नेछ भनेको थिएँ । मैले वस्तुस्थिति बुझेरै त्यसो भनेको थिएँ र अहिले नेपाली खेलाडीको प्रदर्शनबाट सारा देशले खुसी मनाइरहेको छ । सम्पूर्ण विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई सलाम,’ उनले थपे, ‘यो त सुरुआत मात्र हो । अब हामीले यही सफलता कायम राख्न र थप उपलब्धिका लागि १४ औं साग, ओलम्पिक, एसियाली खेलकुदको तयारी अहिलेदेखि नै गर्नुपर्नेछ ।’ आफ्नो नियुक्तिको छोटो समयमै सबैभन्दा ठूलो प्रतियोगिता सम्पन्न भएपछि सदस्य–सचिव सिलवालले सन्तोषको श्वास फेरेका छन् । ‘हामीले २०१६ मा आयोजनाको जिम्मा लिँदा देश भूकम्पले थिलथिलिएको थियो । तर वीर गोर्खालीले हिम्मत हारेन, सबैको साथ र सहयोगले यो सम्भव भयो,’ उनले थपे, ‘चार महिनाअघि मेरो नियुक्ति भएकै दिन दुईपल्ट मिति सरिसकेको १३ औं साग निर्धारित समयमा गर्ने प्रतिबद्धता पूरा गरेको छु, छोटो समयमा धेरै काम सम्पन्न गरी आयोजना समयमै सम्पन्न गर्न सकेका हौं ।’


युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पनि थुप्रै चुनौती पार गरेर सबैको साथ र सहयोगमा १३ औं सागको आयोजना सम्पन्न गर्न सकिएको सन्तुष्टि व्यक्त गरेका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक मान्यताअनुसार ‘पिस, फ्रेन्डसिप र युनिटी’ को दायरामा रहेर आयोजित प्रतियोगिताले दक्षिण एसियाली देशबीचको साझा भाषाको काम गरेको बताए ।


प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ्यका कारण उपस्थित हुन नसकेपछि सरकारको प्रतिनिधित्व गरेका उपप्रधानमन्त्री पोखरेलले सागको सफल आयोजनापछि नेपालले आफ्ना छिमेकीमाझ खेलकुदको माहोल र संस्कार पेश गर्न सफल भएको बताए । ‘नेपालबाटै सुरु भएको ३५ वर्षपछि नेपालमै भएको यो ऐतिहासिक आयोजना सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सबै देशका खेलाडी, व्यवस्थापक र अफिसियल लगायत स्थानीय स्तरबाट सहयोग गर्नेहरू सबैलाई सरकारको धन्यवाद,’ लिखित मन्तव्य वाचन गरेका पोखरेलले थपे, ‘नेपाली खेलकुदको नतिजा अहिलेसम्मकै ऐतिहासिक बन्यो । यसका लागि सबै नेपाली खेलाडी धन्यवादका पात्र छन् । पदक नजित्ने खेलाडीका लागि पनि भविष्यमा राम्रो गर्न प्रेरणा मिलेको छ ।’


समापनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त ब्यान्ड प्रस्तुति, नाइिंगेल स्कुलका बिद्यार्थीको कृष्ण–राधा नृत्य प्रस्तुति, साग तथा भ्रमणवर्षलाई लक्षित गरी ड्रोनमार्फत नेपालको झन्डा, नक्सा, पशुपतिनाथ, बुद्ध लगायतको आकृति प्रस्तुत गरिएको थियो । नेपालमै नयाँ प्रयोगको रुपमा रहेको यो प्रस्तुतिका लागि १ सय ५० भन्दा बढी ड्रोन प्रयोग गरिएको थियो । खेलाडी मार्चपासका क्रममा ४ स्वर्णधारी पौडीकी गौरिका सिंहले मार्चपासमा झन्डा बोकेकी थिइन् ।


१४ औं साग आयोजनाका लागि पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिएको छ । सोमबार बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले पाकिस्तानलाई आयोजना अधिकार हस्तान्तरण गरेको थियो । साग आयोजना भुटान र माल्दिभ्सबाहेक अन्य सबै देशले पालैपालो आयोजना गर्ने विधानअनुसार पाकिस्तानले जिम्मा पाएको हो ।


समापन समारोहमा एनओसी अध्यक्ष श्रेष्ठ, खेलकुदमन्त्री विश्वकर्मा, सदस्यसविच सिलवाललगायतले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद अल हसनलाई सागको झन्डा हस्तान्तरण गरेका हुन् ।


दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक ५ महिनाभित्र पाकिस्तानमा बस्नेछ । त्यो बैठकले सन् २०२१ मा हुने सागको मिति र आयोजना हुने सहरको घोषणा गर्नेछ । साग आयोजनाको जिम्मेवारी पाएपछि पाकिस्तानी ओलम्पिक अध्यक्ष हसनले १४ औं साग भव्य बनाउन पाकिस्तानले हरसम्भव प्रयास गर्ने दाबी गरेका तछन् । ‘आयोजनाको जिम्मा पाएको हामी निकै खुसी छौं । हाम्रो सबै स्रोतसाधन परिचालन गरेर सफल आयोजना प्रयास गर्नेछौं । पाकिस्तानी जनता तपाईहरू सबैको स्वागतका लागि आतुर छन्,’ उनले भने ।


‘सागले भ्रमण वर्षलाई सहयोग’

स्वास्थ्यका कारण समापन समारोहमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत सागको सफल आयोजनाले आसन्न भ्रमण वर्षलाई सहयोग पुगेको दाबी गरेका छन् । नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउँदै छ । भूकम्पबाट ध्वस्त खेल संरचना निर्माण गरी आयोजना सफल बनाउन सकिएकोमा प्रधानमन्त्री ओलीले संग्लग्न सबैलाई बधाई ज्ञापन गरेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी खेल समावेश गरिनु र नेपालले धेरै पदक ल्याउन सकेकोमा उनले खुसी व्यक्त गरेका छन् ।


‘दक्षिण एसियाली देश र जनताबीच एकता र मित्रता अभिवृद्धि गर्ने जिम्मेवारी साग आयोजनाले अन्त्यन्तै सफलतापूर्वक पूरा गरेको छ,’ प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ, ‘काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक सागको समापनसम्म आइपुग्नु ज्यादै खुसीको कुरा हो । यसका लागि सहभागी देशका सरकार, खेलाडी र प्रशिक्षकहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’


प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । त्यस कार्यक्रममा पदक विजेता खेलाडीका लागि विशेष प्याकेज पनि घोषणा हुनेछ ।


प्रकाशित : मंसिर २५, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?