कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

१३ औं सागमा नेपाललाई अपेक्षाभन्दा बढी उपलब्धि, ५१ स्वर्ण हात पार्‍यो

केही नेपाली खेलाडीको कीर्तिमानी जित
१३ खेलमा नेपाललाई स्वर्ण
विनोद पाण्डे

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) खेलाडी, प्रशिक्षक, सहभागी राष्ट्रदेखि आयोजकलाई अवसरका रूपमा आउँछ । नेपालले सबै अवसर सदुपयोग गर्दै दक्षिण एसियाको ओलम्पिक मानिएको सागको १३ औं संस्करणलाई भव्य आयोजना गर्दै पदकका हिसाबमा पनि ठूलो सफलतासहित टुंग्याएको छ । 

१३ औं सागमा नेपाललाई अपेक्षाभन्दा बढी उपलब्धि, ५१ स्वर्ण हात पार्‍यो

नेपालले यो संस्करणमा पौडी, साइक्लिङ, गल्फ, ट्रायथलन, कुस्ती, एथलेटिक्सलगायत ऐतिहासिक ५१ स्वर्ण हात पार्‍यो । यसअघि आठौं संस्करणमा नेपालले आयोजक नै रहेका बेला सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।

नेपालले कति स्वर्ण जित्ला ? साग सुरु हुनुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई सोधिएको यो प्रश्नमा उनको उत्तर थियो, ‘कम्तीमा ५० स्वर्ण ।’ आफूले यसो भनिरहँदा धेरैले विश्वास नगरेको, खेलकुद पत्रकारले नै नपत्याएको गुनासो उनको थियो । मंगलबार समापन समारोहमा बोल्दै उनले सागको आयोजना सफल भए/नभएको जिम्मेवारी खेलकुद पत्रकारलाई नै विश्लेषण गर्न छाडिदिएको बताएका थिए ।


सागको यो संस्करणमा गौरिकाको सफलता धेरै हदसम्म विशेष थियो । उनले ४ स्वर्ण जित्दै दीपक विष्टको सर्वाधिक स्वर्णको कीर्तिमानसँग बराबरी मात्र गरिनन्, सागको इतिहासमै नेपालको सफल खेलाडी बनेकी छन् । गौरिकाका नाममा २ रजत र ३ कांस्य पनि थियो । यसअघिका सागका १२ संस्करणमा नेपालका कुनै खेलाडीले एकै संस्करणमा दुई स्वर्ण जित्न सकेका थिएनन् । करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुभाष तामाङले यसै संस्करणमा २–२ जिते भने गौरिकाले चार स्वर्णको इतिहास रचिन् । यसअघिको संस्करणमा नेपालले व्यक्तिगततर्फ पौडीमा स्वर्ण जितेको थिएन ।


नेपालले यसअघि साइक्लिङमा स्वर्ण जित्न सकेको थिएन । यसपटक ८ मध्ये चार स्वर्ण हात पार्‍यो । गल्फमा पनि पहिलो पटक स्वर्ण जित्नेक्रममा सुभाषले व्यक्तिगत र टिममा नेपाललाई दुई स्वर्ण दिलाए ।


कुस्तीमा संगीता धामीले इतिहास कोरिन् । उनले नेपाललाई पहिलो पटक कुस्तीमा स्वर्ण दिलाइन् । एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठ सागमा स्वर्ण जित्ने पहिलो महिला बनिन् ।


उनले १० हजार मिटरमा विजेता थिइन् । गोपीचन्द पार्कीले पनि १० हजार मिटरमा स्वर्ण हात पारे । म्याराथनबाहेक एथलेटिक्समा नेपाललाई पहिलो सफलता सन्तोषी र गोपीचन्दले दिलाएका हुन् । तेस्रो रोजाइमा रहेका किरणसिंह बोगटीले नेपालको म्याराथनमा वर्चस्वलाई कायमै राखे । उनको सफलताले साग इतिहासमा नेपाललाई श्रीलंकासँगै समान ६ स्वर्णमा उभ्याएको छ । बाँकी एक स्वर्ण २०१६ को सागमा भारतले जितेको थियो ।


मार्शल आटर््समा नेपालको वर्चस्व कायमै राख्यो । जुन अपेक्षाअनुरूप नै थियो । नेपालले तेक्वान्दोमा २९ मध्ये १२ र करातेमा १९ मध्ये १० स्वर्ण जित्यो । उसुमा ५ र जुडोमा २ जितेको नेपालले बक्सिङमा २० वर्षपछि स्वर्णिम युग फर्कायो । नेपालले बक्सिङबाट ३ स्वर्ण जित्यो, जसमा महिलामा पहिलो पटक मीनु गुरुङले सफलता पाएकी थिइन् ।


यस पटक भारतले केही खेलमा भाग लिएको थिएन । त्यसैले नेपालको पदक तालिकामा ठूलो हेरफेर आएको मान्ने पनि छन् । आर्चरीमा भारत निलम्बनमा रहेको अवस्थामा नेपाललाई पोखरामा स्वर्ण बटुल्ने अवसर थियो । तर नेपालले एउटै जित्न सकेन । बंगलादेशले आर्चरीको १० स्वर्ण ‘क्लिन स्विप’ गर्‍यो । यसले बंगलादेशलाई विदेशी भूमिमा सबैभन्दा ठूलो सफलता दिलायो । करातेमा ३ र तेक्वान्दोमा १ सफलतासहित बंगलादेशले कुल १९ स्वर्ण जित्यो ।


भारत सदाका जस्तै पदक तालिकामा शीर्ष स्थानमा रह्यो । पुरुष फुटबल र क्रिकेटको दुवै विधामा सहभागी नभई २६ मध्येको २१ खेलमा मात्र भारतले प्रतिस्पर्धा गर्‍यो । त्यही पनि भारत १ सय ७४ स्वर्ण जित्न सफल भयो । ३ वर्षअघि भारतले आफैं पछिल्लो साग आयोजना गर्दा सबैभन्दा बढी १ सय ८८ स्वर्ण जितेको थियो । एथलेटिक्स, पौडी र सुटिङमा भारतको एकलौटी जस्तै रह्यो । भारत अन्तिम समयमात्र तेक्वान्दोमा सहभागी भई नेपाललाई चुनौती दिन सफल रह्यो ।


नेपाल दोस्रो पटक पदकतालिकामा दोस्रो स्थानमा आयो । एथलेटिक्स र पौडीको सफलताका साथमा श्रीलंकाले ४० स्वर्ण जिते पनि नेपालभन्दा पछाडि नै रह्यो । हाइअल्टिच्युड र चिसो मौसमको मार सबैभन्दा बढी श्रीलंकालाई परेको थियो । करातेमा ६ स्वर्ण जितेको पाकिस्तान कुल ३१ स्वर्णका साथ तेस्रो स्थानमा रह्यो । सबैभन्दा ठूलो सफलता माल्दिभ्सले पाएको थियो । १३ औं सागअघि माल्दिभ्सले कुनै स्वर्ण जित्न सकेको थिएन । बृहत् खेलकुदमा महत्त्वपूर्ण मानिएको एथ्लेटिक्सको १ सय मिटरमा माल्दिभ्सले पुरुषतर्फको पाएको सफलता साग इतिहासमा पहिलो स्वर्ण थियो ।


फुटबल फाइनलसँगै सागको समापन हुने परम्परा छ । नेपालले फुटबलमा स्वर्ण हात पारी सागको उत्कृष्ट समापन गर्‍यो । फाइनलमा भुटानलाई २–१ ले स्वाभाविक हिसाबमै पराजित गरी नेपालले फुटबलमा चौथो पटक स्वर्ण पदक जित्दै सर्वाधिक स्वर्ण जित्ने पाकिस्तानको कीर्तिमान बराबरी गर्‍यो । फाइनल पुग्नु भुटान फुटबलको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो र यस सागमा भुटानले पाएको त्यो ७ मध्येको एक रजत थियो ।


आयोजनाका धेरै काम अन्तिम समयमा गरिएको थियो । त्यसैले आयोजना पक्षलाई लिएर धेरै आशंका गरिएको थियो । उद्घाटनको अघिल्लो दिनको रिहर्सलसम्म पनि दशरथ रंगशाला अस्तव्यस्त थियो । रंगशालाको ठीक बाहिर कालोपत्र गरिँदै थियो । त्यसको अघिल्लो दिन मात्र १३ औं सागको मुख्य खेलस्थल दशरथ रंगशालाको भीआईपी प्यारापिटको छत हाल्ने काम पूरा भएको थियो । सातदोबोटोमै उत्कृष्ट सुटिङ रेन्ज बनाए पनि हतियार नआउँदा नेपाली खेलाडीले बन्दुक पड्काउनै पाएनन् । आँसु झार्न बाध्य थिए नेपाली खेलाडी ।


सबैभन्दा ठूलो शंका त सातदोबाटोस्थित हिटिङ सिस्टमको पौडी पोखरीलाई लिएर थियो । सागका अन्य खेलहरू सुरु हुँदा पौडी पोखरीमा पानीसमेत हालिएको थिएन । पौडीमा चार स्वर्ण जितेकी गौरिकाले हिटिङ सिस्टमको यहाँको पौडीपोखरी आफूले देखेमध्येकै उत्कृष्ट रहेको बताइन् ।


आयोजनाको मिति नजिकिँदै गर्दा उसुका लागि पनि खेल्नयोग्य पूर्वाधार बनिसकेको थिएन । पहिलो पटक काठमाडौं बाहिर पोखरामा सागअन्तर्गतका खेल आयोजना गरिए पनि त्यहाँ पूर्वाधार बनिसकेको थिएन ।

निर्माणाधीन पोखरा रंगशालामै महिला फुटबललगायतका खेल खेलाइएको थियो । जनकपुरको आयोजनाले कुस्तीको संस्कार जगाएको थियो । विशेषगरी एक महिनाभित्रमा द्रुत गतिमा काम गर्दै नेपालले सागको १३ औं संस्करण आयोजना गरेको हो ।


दक्षिण एसिया ओलम्पिक काउन्सिलका सात राष्ट्रले यस सागलाई अहिलेसम्मको उत्कृष्ट भनी मंगलबार हस्ताक्षर गरेका थिए । समापन हुने दिने यस्तो हस्ताक्षर गर्ने काउन्सिलको औपचारिक परम्परा छ । केही व्यवधानबाहेक नेपालले राम्रो साथसँग आयोजना गर्न सफल भएको हो ।


प्रकाशित : मंसिर २५, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?