तीन वर्षको मिहिनेत

बक्सिङमा तेस्रो स्वर्ण
राजु घिसिङ

काठमाडौँ — ओमबहाल, काठमाडौंका सनिल शाही कक्षा १२ को परीक्षा दिएपछि फुर्सदमा थिए । टेकुको एउटा क्लबमा पुगे, जहाँ उनको ध्यान बक्सिङले तान्यो । फुर्सदको समय उपयोग गर्न बक्सिङ सिक्न सुरु गरे । खेल्दाखेल्दै पञ्चिङ ब्यागमा मुक्का बर्साउने लत नै लाग्यो । बक्सिङका प्रशिक्षक र खेलाडीसँग चिनजान पनि भयो । र, उनी मोडिए रंगशालातिर । बक्सिङ ग्लोभ्स समातेको ४ डिसेम्बरमा ठीक तीन वर्ष भएकै बेला उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाए ।

नेपालले तेस्रोपल्ट आयोजना गरेको सागको अन्तिम दिन मंगलबार पुरुष ६० केजीमुनि रोमाञ्चक प्रतिस्पर्धामा भारतका वरिन्दर सिंहलाई ३–२ अंकले पराजित गर्दै स्वर्ण चुमेपछि सनिलले भने, ‘फुर्सदको समय खेर नफालौं भनेर बक्सिङ खेल्न थालेको थिएँ । मान्छे चिन्दै गएपछि बक्सिङमै लागें । सुरुका खेलहरू हारें । खेल्दाखेल्दै यहाँसम्म आइपुगें ।’ उनले आठौं राष्ट्रिय खेलकुदमा कांस्य हात पारेका थिए । स्वर्ण जितेका एपीएफका प्रकाश लिम्बू विदेश गएपछि त्यो स्पर्धामा भएको छनोटमा सफलता हासिल गर्दै सनिल सागमा प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेका थिए ।


उनले राष्ट्रिय टिममा छनोट भएलगत्तै झन्डै दुई महिना बैंककमा ट्रेनिङ गर्ने अवसर पाए । त्यही थाइल्यान्ड ओपन च्याम्पियनसिप खेले, जुन उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलो चरणमै चिनियाँ खेलाडीसँग पराजित भएका उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो १३ औं साग । सातदोबाटोस्थित कराते एकेडेमीको हलमा भएको प्रतिस्पर्धामा क्वाटरफाइनलमा भुटानका खेलाडीलाई पराजित गरेका उनले सेमिफाइनलमा जीवन्थ निकांकलाई हराएर वरिन्दर सिंहविरुद्ध स्वर्णका लागि खेल्ने पक्का गरेका थिए ।


‘भारतीय बक्सर भन्नेबित्तिकै अनुभवी हो भन्ने थाहा थियो,’ २१ वर्षे सनिलले भने, ‘उनको (वरिन्दर) को खेल हेर्न पाएको थिइनँ तर साथीले उनको खेलको भिडियो बनाएका रहेछन् । त्यही भिडियो हेरेर फाइनललाई प्रशिक्षकसँग सल्लाह गरेर योजना बनायौं । हाम्रो योजनाअनुसारै खेल मिल्दै गयो । उनको खेल बुझ्दाबुझ्दै पहिलो राउन्डमा ढिला भयो तैपनि अन्त्यतिर प्रहार गर्न थाले । त्यो राउन्ड हारें । अनि दोस्रो चरणबाट आक्रामक खेलें । सफलता मिल्यो ।’ एसियाली बक्सिङमै भारतलाई बलियै मानिन्छ । फाइनलमा भारतीय प्रतिद्वन्द्वी सामना गर्नुपर्दाको अवस्थाबारे सनिलले भने, ‘फाइनल गाह्रै भयो तर दर्शक ‘नेपाल नेपाल’ भनेर चिच्याइरहेका थिए । कोचले पनि जसरी पनि जित्नैपर्छ भन्नुभयो । घरेलु वातावरण, परिवार र साथीभाइले साथ दिइरहेका थिए । उनीहरूलाई निराश पार्नुभएन । त्यसैले जसरी पनि जित्नुपर्छ भनी आफैंलाई पुस गरे । नतिजा राम्रो आयो ।’ उनले घरेलु रिङमा प्रतिस्पर्धा गर्दा शारीरिक अवस्था आफ्नै ठाउँमा भए पनि भावनात्मक अवसर भएको अनुभव सुनाए ।


नेपाली बक्सिङ टिमका मुख्य प्रशक्षिक प्रकाश थापामगरले सनिलको खेलबारे भने, ‘सुरुबाट अन्त्यसम्मै राम्रो टेक्निक, ट्याक्टिस र स्पिड देखाए । नयाँ खेलाडी भए पनि निकै राम्रो खेल प्रदर्शन गरे ।’ नेपाली टिमको प्रशिक्षकमा उज्वेकिस्तानका अलिसेर राखिमोभ पनि ७ सातायता संलग्न छन् । ‘अलिसेरको उपस्थितिले अनुभवको कमी भएको महसुस हुन दिएन । उनको रणनीतिअनुसार खेल्दा आफैंलाई अनुभवी खेलाडीजस्तो लाग्यो,’ सनिलले भने ।


सनिलले नेपाललाई १३ औं सागमा बक्सिङबाट तेस्रो स्वर्ण दिलाएका हुन् । अघिल्लो दिन मीनु गुरुङ ५४ केजीमुनि भारतकी शिक्षालाई हराएर महिला बक्सिङमा स्वर्ण जित्ने पहिलो नेपाली भएकी थिइन् । पुरुषतर्फ ६४ केजीमुनि भारतकै मनीष कौशिकलाई पन्छाउँदै भूपेन्द्र थापा सागको स्वर्ण जितेका थिए । नेपालले सागमा सन् १९९९ मा काठमाडौंमा भएको आठौं संस्करणमा स्वर्ण जितेयता पहिलोपल्ट स्वर्ण हात पारेको हो । र, सागको एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जितेको यसैपालि हो । ‘स्वर्ण जित्ने लक्ष्य थियो,’ सनिलले भने, ‘प्रतियोगिता नजिकिँदै गएपछि कन्फिडेन्ट बढ्यो । हिजो हामीले २ स्वर्ण जित्यौं । आज (मंगलबार) बिहानै पत्रिका हेरें, साथीहरूको ठुल्ठुला फोटो छापिएको रहेछ । मेरो पनि त्यस्तै फोटो आउनुपर्छ भन्ने लाग्यो । दुवै स्पर्धाको फाइनलमा भारतीय खेलाडीलाई पराजित गरेको थियो । उनीहरूले भारतलाई हरायो भने म किन सक्दिनँ भन्ने भयो । प्रयास गरे र सके पनि ।’ उनी अब ओलम्पिक २०२० को छनोट खेल्न चाहन्छन् ।


यो सागमा नेपालले बक्सिङबाट ३ स्वर्ण, ६ रजत र ६ कांस्यसहित १५ मदक जित्यो । १६ स्पर्धामध्ये ७५ केजीमुनि दीपक श्रेष्ठ यसपालि पदकविहीन हुने एक्लो बक्सर भए । फेरि एकपल्ट भारतकै वर्चस्व रह्यो । उसले १२ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । एक स्वर्ण श्रीलंकाले हात पार्‍यो । १३ संस्करणमै समावेश बक्सिङबाट नेपालले कुल ९ स्वर्ण जितेको छ । प्रकाशित : मंसिर २५, २०७६ ०७:५३

प्रतिक्रिया
पठाउनुहोस्

सकियो १३ औं साग, पाकिस्तानलाई झन्डा

कुशल तिमल्सिना

काठमाडौँ — पाकिस्तानलाई आयोजना अधिकार सुम्पँदै १३ औं दक्षिण एसियाली खेलकुद (साग) काठमाडौंमा सम्पन्न भएको छ । मंसिर १५ देखि काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाली खेलमेला पुरुष फुटबलको फाइनलसँगै सकिएको हो । मंगलबार साँझ दशरथ रंगशालामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साग सम्पन्न भएको घोषणा गरेका हुन् । 

३ सय १६ स्वर्ण पदकका लागि भएको स्पर्धामा नेपाल अंकतालिकामा दोस्रो स्थानमा रह्यो । समग्र व्यवस्थापनमा प्रश्न गर्ने ठाउँ प्रशस्तै रहे पनि १३ औं साग उपलब्धिको हिसाबमा सफल भएको छ । समापनलाई सम्बोधन गर्ने क्रममा सागको कार्यकारिणी समितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य–सचिव रमेशकुमार सिलवालले आफ्नो पूर्वघोषणाअनुसार पदक जितेकोमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धन्यवाद पनि दिए ।

‘मैले प्रतियोगिता सुरु हुनुअघि नै नेपालले कम्तीमा ५० स्वर्ण पदक जित्नेछ भनेको थिएँ । मैले वस्तुस्थिति बुझेरै त्यसो भनेको थिएँ र अहिले नेपाली खेलाडीको प्रदर्शनबाट सारा देशले खुसी मनाइरहेको छ । सम्पूर्ण विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई सलाम,’ उनले थपे, ‘यो त सुरुआत मात्र हो । अब हामीले यही सफलता कायम राख्न र थप उपलब्धिका लागि १४ औं साग, ओलम्पिक, एसियाली खेलकुदको तयारी अहिलेदेखि नै गर्नुपर्नेछ ।’ आफ्नो नियुक्तिको छोटो समयमै सबैभन्दा ठूलो प्रतियोगिता सम्पन्न भएपछि सदस्य–सचिव सिलवालले सन्तोषको श्वास फेरेका छन् । ‘हामीले २०१६ मा आयोजनाको जिम्मा लिँदा देश भूकम्पले थिलथिलिएको थियो । तर वीर गोर्खालीले हिम्मत हारेन, सबैको साथ र सहयोगले यो सम्भव भयो,’ उनले थपे, ‘चार महिनाअघि मेरो नियुक्ति भएकै दिन दुईपल्ट मिति सरिसकेको १३ औं साग निर्धारित समयमा गर्ने प्रतिबद्धता पूरा गरेको छु, छोटो समयमा धेरै काम सम्पन्न गरी आयोजना समयमै सम्पन्न गर्न सकेका हौं ।’

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पनि थुप्रै चुनौती पार गरेर सबैको साथ र सहयोगमा १३ औं सागको आयोजना सम्पन्न गर्न सकिएको सन्तुष्टि व्यक्त गरेका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक मान्यताअनुसार ‘पिस, फ्रेन्डसिप र युनिटी’ को दायरामा रहेर आयोजित प्रतियोगिताले दक्षिण एसियाली देशबीचको साझा भाषाको काम गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ्यका कारण उपस्थित हुन नसकेपछि सरकारको प्रतिनिधित्व गरेका उपप्रधानमन्त्री पोखरेलले सागको सफल आयोजनापछि नेपालले आफ्ना छिमेकीमाझ खेलकुदको माहोल र संस्कार पेश गर्न सफल भएको बताए । ‘नेपालबाटै सुरु भएको ३५ वर्षपछि नेपालमै भएको यो ऐतिहासिक आयोजना सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सबै देशका खेलाडी, व्यवस्थापक र अफिसियल लगायत स्थानीय स्तरबाट सहयोग गर्नेहरू सबैलाई सरकारको धन्यवाद,’ लिखित मन्तव्य वाचन गरेका पोखरेलले थपे, ‘नेपाली खेलकुदको नतिजा अहिलेसम्मकै ऐतिहासिक बन्यो । यसका लागि सबै नेपाली खेलाडी धन्यवादका पात्र छन् । पदक नजित्ने खेलाडीका लागि पनि भविष्यमा राम्रो गर्न प्रेरणा मिलेको छ ।’

समापनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त ब्यान्ड प्रस्तुति, नाइिंगेल स्कुलका बिद्यार्थीको कृष्ण–राधा नृत्य प्रस्तुति, साग तथा भ्रमणवर्षलाई लक्षित गरी ड्रोनमार्फत नेपालको झन्डा, नक्सा, पशुपतिनाथ, बुद्ध लगायतको आकृति प्रस्तुत गरिएको थियो । नेपालमै नयाँ प्रयोगको रुपमा रहेको यो प्रस्तुतिका लागि १ सय ५० भन्दा बढी ड्रोन प्रयोग गरिएको थियो । खेलाडी मार्चपासका क्रममा ४ स्वर्णधारी पौडीकी गौरिका सिंहले मार्चपासमा झन्डा बोकेकी थिइन् ।

१४ औं साग आयोजनाका लागि पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिएको छ । सोमबार बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले पाकिस्तानलाई आयोजना अधिकार हस्तान्तरण गरेको थियो । साग आयोजना भुटान र माल्दिभ्सबाहेक अन्य सबै देशले पालैपालो आयोजना गर्ने विधानअनुसार पाकिस्तानले जिम्मा पाएको हो ।

समापन समारोहमा एनओसी अध्यक्ष श्रेष्ठ, खेलकुदमन्त्री विश्वकर्मा, सदस्यसविच सिलवाललगायतले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद अल हसनलाई सागको झन्डा हस्तान्तरण गरेका हुन् ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक ५ महिनाभित्र पाकिस्तानमा बस्नेछ । त्यो बैठकले सन् २०२१ मा हुने सागको मिति र आयोजना हुने सहरको घोषणा गर्नेछ । साग आयोजनाको जिम्मेवारी पाएपछि पाकिस्तानी ओलम्पिक अध्यक्ष हसनले १४ औं साग भव्य बनाउन पाकिस्तानले हरसम्भव प्रयास गर्ने दाबी गरेका तछन् । ‘आयोजनाको जिम्मा पाएको हामी निकै खुसी छौं । हाम्रो सबै स्रोतसाधन परिचालन गरेर सफल आयोजना प्रयास गर्नेछौं । पाकिस्तानी जनता तपाईहरू सबैको स्वागतका लागि आतुर छन्,’ उनले भने ।

‘सागले भ्रमण वर्षलाई सहयोग’
स्वास्थ्यका कारण समापन समारोहमा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशमार्फत सागको सफल आयोजनाले आसन्न भ्रमण वर्षलाई सहयोग पुगेको दाबी गरेका छन् । नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउँदै छ । भूकम्पबाट ध्वस्त खेल संरचना निर्माण गरी आयोजना सफल बनाउन सकिएकोमा प्रधानमन्त्री ओलीले संग्लग्न सबैलाई बधाई ज्ञापन गरेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी खेल समावेश गरिनु र नेपालले धेरै पदक ल्याउन सकेकोमा उनले खुसी व्यक्त गरेका छन् ।

‘दक्षिण एसियाली देश र जनताबीच एकता र मित्रता अभिवृद्धि गर्ने जिम्मेवारी साग आयोजनाले अन्त्यन्तै सफलतापूर्वक पूरा गरेको छ,’ प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ, ‘काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक सागको समापनसम्म आइपुग्नु ज्यादै खुसीको कुरा हो । यसका लागि सहभागी देशका सरकार, खेलाडी र प्रशिक्षकहरू सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा खेलाडीलाई सम्मान गर्ने कार्यक्रम छ । त्यस कार्यक्रममा पदक विजेता खेलाडीका लागि विशेष प्याकेज पनि घोषणा हुनेछ ।

प्रकाशित : मंसिर २५, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×