टिकटकका सीईओले दिए तीन महिनामै राजीनामा- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिकटकका सीईओले दिए तीन महिनामै राजीनामा

एजेन्सी

वासिङ्टन — टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् ।

केभिन मेयर फाइल तस्बिर : रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् । मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए । महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा दरार आएको छ ।

अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जसन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ११, २०७७ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

प्यूठानमा एक साता निषेधाज्ञा

गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्ला प्रशासन कार्यालय प्यूठानले कोरोना संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै भोलि (शुक्रबार) १२ गते बिहान ६ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मको लागि जिल्लाभर नै निषेधाज्ञा जारी गर्ने भएको छ । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ७ दिन निषेधाज्ञा गर्ने निर्याण गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । तरकारी, खाद्य पसल, दूध डेरी बिहान ७ बजेदेखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेगरि निषेधाज्ञा जारी हुने भुसालले बताए ।

पछिल्लो समय जिल्लामा एक जना स्वास्थ्यकर्मी, ४ जना प्रहरी, २ जना समुदायका व्यक्तिसहित २६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि प्यूठान अस्पतालमा आकस्मिक र प्रसूति सेवाबाहेक अरु सबै बन्द गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन अनुसार कारबाही गरिने भुसालले बताए । अनुगमनलाई कडाइ गर्न बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

जिल्लामा ४४३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ६६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । जिल्लामा एक जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको र ३७६ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७७ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×