कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ट्रम्पले गरे टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिएको बताएका छन् ।

ट्रम्पले गरे टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने ‘कार्यकारी आदेश’मा हस्ताक्षर

यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सको सबै कारोबारमा प्रतिबन्ध लाग्नेछ । आदेशमा भनिएको छ, ‘अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आक्रामक कदम उठाउनु आवश्यक थियो ।’

ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीका मोबाइल एपका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थामा खलल पुग्ने देखिएको बताएका छन् । दुवै एप अमेरिकाका लागि ‘खतरापूर्ण’ रहेको उल्लेख गर्दै ट्रम्पले यी एपका चिनियाँ सञ्चालकसँग सहयोगी कम्पनीको कारोबारमाथि पनि प्रतिबन्ध लाग्ने भएको छ ।

अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जसन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ ।

अमेरिकी अधिकारीहरुले बाइटडान्सले टिकटकमार्फत अमेरिकी नागरिकका सूचना चिनियाँ सरकारसम्म पुग्न सक्ने आशंका व्यक्त गरेका छन् । अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा टिकटक सञ्चालनका बाइटडान्ससँग कुरा गरिरहेको बताइएको छ ।

सेप्टेम्बर १५ सम्म दुई कम्पनीबीच सम्झौता हुन सक्ने बताइए पनि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि भने आशंका व्यक्त गरिएको छ । माइक्रोसफ्टले अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डमा टिकटकको अधिकार किन्ने बताएको थियो । माइक्रोसफ्टले सबै अमेरिकी टिकटक प्रयोगकर्ताको ‘डेटा’ स्थानान्तरण गरिने र त्यो अमेरिकामै रहने बताएको थियो ।

प्रकाशित : श्रावण २३, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?