कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओको प्रतिवेदन सार्वजनिक

अमेरिकालगायतका १४ मुलुकले उठाए प्रश्‍न

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्तिबारे अहिले नै निष्कर्षमा पुग्ने बेला नभएको बताएका छन् ।

कोरोना भाइरसको उत्पत्तिबारे डब्लूएचओको प्रतिवेदन सार्वजनिक

मंगलबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको उत्पत्तिबारे अझै गहन अध्ययन आवश्यक रहेको बताएका हुन् । 'कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको हो/होइन भन्ने कुराको निष्कर्षमा पुग्न अझै गहन अध्ययन आवश्यक छ,' उनले भने ।

महानिर्देशक गेहब्रेयससले भने, ' चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको हो भन्ने कुरा सत्य हुने सम्भावना निकै कम रहेको छ । बिना गहन अध्ययन यसका बारेमा केही भन्नु ठीक हुँदैन ।' उनले अगाडि भने, ‘यो रिपोर्ट महत्वपूर्ण छ तर यो अन्त्य होइन । हामीले भाइरसको स्रोत पत्ता लगाउन सकेका छैनौँ ।'

डब्लूएचओले मंगलबार कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । १२० पेज लामो प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।

डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित डब्लूएचओको टिम अध्ययनका लागि जनवरी १४ देखि फेब्रुअरी १४ सम्म कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहान पुगेको थियो । अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

अमेरिका,बेलायत ,क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका छन् । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको छ ।

अमेरिकासहितका मुलुकले निकालेको संयुक्त वक्तव्यमा आगामी दिनको अध्ययनमा अझै पारदर्शी, प्रमाण तथा तथ्यांकसहितको रिपोर्ट आओस् भन्ने चाहना रहेको बताएका छन् । त्यस्तै अमेरिकाले डब्लूएचओलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेको छ । चीनले भने आफ्नो प्रयोगशालाबाट कोरोना फैलिएको भन्ने आरोप आधारहीन र झूट भएको बताउँदै आएको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाको नागरिकले यससम्बन्धी राम्रो सूचनाको अपेक्षा गरेको बताएका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकी भन्छिन् –‘विश्व समुदाय, बिरामीका ज्यान बचाइरहेका स्वास्थ्यकर्मी कोरोना उत्पत्तिबारेमा अझ पारदर्शी अध्ययन चाहन्छन् ।’

प्रकाशित : चैत्र १८, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?