‘महामारीविरुद्ध संघर्ष गर्न विश्वव्यापी सन्धि गरौं’

एजेन्सी

लन्डन/ब्रसेल्स — बेलायत, फ्रान्स, जर्मनीलगायत विश्वका २० भन्दा बढी मुलुकका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूविरुद्ध लड्न तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् ।

‘महामारीविरुद्ध संघर्ष गर्न विश्वव्यापी सन्धि गरौं’

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर एंगेला मेर्कललगायतका नेताहरूले कोरोना भाइरसले दोस्रो विश्वयुद्धपछि विश्वका सामु सबैभन्दा ठूलो चुनौती खडा गरेको भन्दै यस्ता समस्यासँग जुध्न सन्धि गर्नुपर्ने बताएका हुन् ।

कोरोना जस्तै प्रकृतिको अर्को विश्वव्यापी महामारी भविष्यमा पनि हुन सक्ने भन्दै यसका लागि अहिले नै तयारी थाल्नुपर्ने ती नेताहरूको भनाइ छ । हालको महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उनीहरूले उल्लेख गरेका छन् ।

विश्वका प्रमुख शक्ति मानिने मुलुकहरूका २४ जना नेताहरूले आ–आफ्ना देशका केही चर्चित पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमहरूमा सम्प्रेषित लेखमा देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गरेका हुन् ।

अब संसारका देशहरू ‘भविष्यमा हुने महामारीको सटीक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढंगले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने’ अवस्थामा रहनुपर्ने उनीहरूको भनाइ छ । एउटा नयाँ सन्धिले सम्भावित महामारीबारे जनतालाई सावधान गराउन अझ प्रभावकारी प्रणालीहरूको स्थापना गर्न सघाउने उनीहरूको दाबी छ ।

सन्धिले महामारीसँगै सम्बन्धित तथ्यांकहरूको आदानप्रदान, खोपहरू तथा सुरक्षात्मक पोसाक र उपकरणहरूको वितरण व्यवस्थित हुने विश्वास उनीहरूको छ । बेलायत र युरोपेली संघबीच खोप आपूर्तिका विषयमा असहमति भएको केही समयपछि नेताहरूको संयुक्त लेख प्रकाशमा आएको हो । ईयूले आफ्नो सीमाभित्र उत्पादित खोपहरूको निर्यातमा कडा नियन्त्रण लागू गरेपछि त्यस्तो विवाद उत्पन्न भएको बताइएको छ ।

प्रकाशित : चैत्र १८, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?