कोभिड संक्रमण दर ५ प्रतिशत पुग्यो

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न विज्ञको सुझाव

चैत्र १८, २०७७

अतुल मिश्र

काठमाडौँ — मुलुकमा केही सातायता कोभिड–१९ को संक्रमण दरमा दिनहुँ उल्लेख्य वृद्घि भइरहेको छ । भारतमा कोभिड संक्रमण व्यापक भएको केही साताभित्रै नेपालमा समेत संक्रमण दर माथि उक्लिन थालेको हो । दिनहुँ संक्रमण दर मंगलबार ५ प्रतिशत नाघेको छ ।

‘कोभिड संक्रमण बढ्ने क्रममा छ, मंगलबार संक्रमण दर ५ प्रतिशत नाघिसक्यो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा.कृष्णप्रसाद पौडेलले कान्तिपुसँग भने, ‘हाम्रो स्वास्थ्य संरचना अब तयारी अवस्थामा रहनुपर्छ ।’

संक्रमण बढे पनि अस्पतालहरूमा बुझ्दा त्यस्तो आतंकित हुनुपर्ने स्थिति नरहेको उनले बताए । संक्रमण उकालो लाग्दै गरेको अवस्थामा आमव्यक्तिले कडा स्वास्थ्य सुरक्षाको उपाय अपनाउनुका साथै स्वास्थ्य निकायहरूले समेत भविष्यमा आवश्यक पर्न सक्ने उपचार क्षमतालगायत तयारी सुरु गर्नुपर्ने औंल्याउँदै डा.पौडेलले सरकारी स्वास्थ्य निकायले यसबारे प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले हाल धेरै संक्रमण भारतबाट आउनेमा देखिएको जानकारी दिए । यसैले गर्दा स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई छिमेकी मुलुकबाट आएका लक्षण भएका व्यक्तिलाई अस्पतालमा र लक्षण नभएकालाई १० दिन अनिवार्य आइसोलेसनमा राख्न अनुरोध गरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार हाल त्यहाँ कोभिडका ५ लाख ४० हजार ७ सय २० सक्रिय बिरामी छन् । हालसम्म १ लाख ६२ हजार १ सय १४ जनाको कोभिडले गर्दा मृत्यु भइसकेको छ । 

मिडिया रिपोर्ट्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढी व्यक्ति कोभिड संक्रमित पाइएका छन् भने २ सय ७१ जनाको मृत्यु भएको छ । छिमेकी मुलुकमा संक्रमण व्यापक हुन थालेसँगै स्वास्थ्य मन्त्रालयले देशभरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरू नगर्न एक साताअघि नै (चैत ८ गते) आग्रह गरिसकेको छ ।

मन्त्रालयले सामाजिक भौतिक दूरी, मास्कको अनिवार्य प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आमनागरिकमा अनुरोध गरिसकेको हो । ‘नेपालमा कोभिड संक्रमण बिस्तारै उकालो लाग्दै छ, जोखिम कायमै छ’, डा.अधिकारीले भने, ‘हामीले विगतमा यो संक्रमणबाट बच्न जानेका कुराहरू व्यवहारमा कम उतारिरहेकाले रोग फैलिन सघाइरहेको छ ।’

कोभिड संक्रमण भएपछि उपचारलगायत व्यवस्थापनबारे हाल सरकारसँग विगतको अनुभवसँगै यसको विस्तार रोक्न प्रणालीसमेत बनिसकेको छ । संक्रमणपछि उपचार सुनिश्चित हुने अवस्था भए पनि रोगै लाग्न नदिन रोकथाम महत्त्वपूर्ण रहेको जनाउँदै डा.अधिकारी भन्छन्, ‘हाल सबै नेपालीलाई थाहा छ यो संक्रमणबाट कसरी बच्ने हो तर त्यसलाई व्यवहारमा उतार्नुको विकल्प छैन ।’

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully