१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टिकटक बिक्रीको अंश सरकारलाई चाहिन्छ : ट्रम्प

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेको खण्डमा त्यसबाट सरकारले पैसा पाउनुपर्ने बताएका छन् ।

टिकटक बिक्रीको अंश सरकारलाई चाहिन्छ : ट्रम्प

ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग कुराकानीका क्रममा त्यस्तो रकम माग गरेको जनाएका हुन् । सप्ताहान्तमा भएको कुराकानीमा खरिद रकमको राम्रो भाग सरकारका लागि माग गरिएको उनको भनाइ छ । ‘बिक्री रकमको ठूलो प्रतिशत अमेरिकाले पाउनुपर्छ किनभने हामीले त्यसलाई सम्भव बनाइरहेका छौं,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको बिक्रीका लागि करिब डेढ महिनाको समय दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ भित्रमा बिक्रीको सहमति नगरे टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ । ‘टिकटकको अमेरिकी व्यवसाय सेप्टेम्बर १५ भित्र माइक्रोसफ्ट वा अरूले किन्न सकेन भने बन्द हुनेछ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि कडा निगरानी गर्ने बताएपछि टिकटकको अमेरिकाको व्यवसाय बिक्री गर्न बाइटडान्सलाई दबाब परेको छ । टिकटकले चिनियाँ सरकारलाई तथ्यांक उपलब्ध गराएको आरोप ट्रम्प प्रशासनले लगाउँदै आएको छ । तर उक्त आरोप निराधार भएको टिकटक र चीनको भनाइ छ ।

अमेरिकी सरकारलाई पैसा दिनुपर्ने सर्तले किनबेचको छलफल गरिरहेका कानुनविद्हरूलाई थप असहज बनाइदिएको छ । किनकि किनबेचको सरकारी अनुमतिका लागि यस्तो सर्त असामान्य मानिन्छ । कानुन व्यवसायी निकोलस क्लेनले सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार नरहेको बताउँछन् ।

चीनको सरकारी अखबार चाइना डेलीले मंगलबार चिनियाँ सरकारले चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने चेतावनी दिएको छ । अखबारको सम्पादकीयमा अमेरिकाले त्यसो गरेमा त्यसको उत्तर दिन चीनसँग यथेष्ट उपायहरू भएको जनाइएको छ । मिट टेक्नोलोजी रिभ्युका संवाददाता सार्लोट जीले ट्रम्पको भनाइ उचित नभएको बताउँछिन् । ट्रम्पले आश्चर्यजनक कुरा गरेको उनको भनाइ छ ।

जीले बीबीसीसँगको कुराकानीमा भनेकी छन्, ‘यो त लगभग माफियाको जस्तो व्यवहार हो । प्रतिबन्धको धम्की दिएर बिक्री रकम कम गर्ने अनि बिक्रीको हिस्सासमेत पाउनुपर्छ भन्ने ।’

माइक्रोसफ्टले टिकटक किन्ने विषयमा आफू सहमत नरहेको गत शुक्रबार ट्रम्पले बताएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिपछि टिकटकको सम्भावित बिक्री अड्किएको बताइएको छ ।

तर ट्रम्पले प्रस्तावित किनबेचलाई अनुमति दिने बताएपछि ह्वाइटहाउसको नीति फेरिएको अनुमान गरिएको छ । तर बिक्रीको हिस्साको माग तथा बिक्रीका लागि दिइएको अन्तिम म्यादले थप समस्या ल्याउन सक्ने ठानिएको छ ।

माइक्रोसफ्टले भने आफ्ना प्रमुख अधिकृत सत्या नाडेला र ट्रम्पबीचको फोन वार्तापछि टिकटक किन्न छलफल जारी राख्ने जनाएको छ । यद्यपि, उक्त फोन वार्ताबारे विस्तृत विवरण दिन माइक्रोसफ्टले अस्वीकार गरेको जनाइएको छ । अमेरिकाका साथै क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा समेत टिकटकको व्यवसाय किन्नका लागि समेत माइक्रोसफ्टले छलफल गरिरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?