कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बाइडेन किमलाई भेट्न अनिच्छुक

उत्तर कोरियाप्रतिको अमेरिकी नीति परिवर्तन हुने
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ–उनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले जनाएको छ । तर उनलाई भेट्न नचाहनुको कारणबारे भने ह्वाइटहाउसले केही उल्लेख गरेको छैन ।

बाइडेन किमलाई भेट्न अनिच्छुक

पछिल्लो समाचारसँगै उत्तर कोरियाप्रति राष्ट्रपति बाइडेनको नीति उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पको भन्दा फरक हुने देखिएको छ । ‘मलाई लाग्छ उनको रबैया पूर्णरूपमा फरक हुनेछ र किमलाई भेट्नेबारे उहाँको कुनै चासो छैन,’ ह्वाइटहाउसकी प्रेस सचिव जेन साकीले भनिन् ।

राष्ट्रपति ट्रम्प र किमबीच सन् २०१८ मा पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । ट्रम्प उत्तर कोरियाली सर्वोच्च नेतालाई भेट्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपतिसमेत हुन् । दुई नेताबीच सन् २०१९ मा उत्तर–दक्षिण कोरियाको गैरसैनिकीकृत क्षेत्रमा संक्षिप्त वार्ता भएको थियो ।

दुई साताअघि बाइडेन प्रशासनले उत्तर कोरियाली नेतालाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङयाङबाट कुनै जवाफ नआएको जनाएको थियो । अधिकारीहरूका अनुसार दुई देशबीचको बढ्दो तनाव मत्थर पार्न बाइडेन प्रशासनले विभिन्न माध्यमबाट किमसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । त्यसका लागि संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली नियोगसमेत परिचालित गरिएको अधिकारीहरूले जनाएका थिए । उत्तर कोरियाले हालसम्म जो बाइडेनलाई औपचारिक रूपमा अमेरिकी राष्ट्रपति स्वीकार गरिसकेको छैन । बाइडेनले गत जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् ।

अमेरिका र दक्षिण कोरियाले हालै संयुक्त सैन्य अभ्यास गरेपछि पुन: उत्तर कोरिया रुष्ट बनेको छ । सैन्य अभ्यासको विरोध गर्दै उत्तर कोरियाली सर्वोच्च नेताकी बहिनी किम यो–जोङले अमेरिकालाई ‘बारुदको दुर्गन्ध रोक्न’ चेतावनी दिएकी थिइन् । ‘दक्षिण कोरिया सरकारले फेरि अर्को पटक युद्धको र संकटको खेल’ सुरु गरेको किमको भनाइ थियो । सर्वोच्च नेताकी बहिनी किम यो–जोङ निकै शक्तिशाली मानिन्छिन् ।

संयुक्त सैन्य अभ्यासको प्रतिउत्तर स्वरूप उत्तर कोरियाले गत बिहीबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसमेत गरेको छ । बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि गरिएको यो पहिलो परीक्षण हो । उक्त कदमको जापान र दक्षिण कोरियाले निन्दा गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आधिकारिक रूपमा यसबारे कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । त्यसअघि उत्तर कोरियाले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेपछि भने बाइडेनले अमेरिका नचिढिएको प्रतिक्रिया दिएका थिए । तर पनि उत्तर कोरियाको पछिल्लो कदम अमेरिका र उसका साझेदारहरूका लागि टाउको दुखाइ भएको छ ।

उत्तर कोरियाले परमाणु हतियार त्याग्नुपर्ने अमेरिका र पश्चिमा देशहरूको भनाइ छ । अमेरिकी राष्ट्रपति बाइडेनले पनि उत्तर कोरियाप्रतिको अमेरिकी नीति पुनरावलोकन गर्दै बताउँदै आएका छन् । उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा गर्नुपूर्व उसले परमाणु कार्यक्रम त्याग्नुपर्ने र कानुनको पालना गर्नुपर्ने अमेरिकी राष्ट्रपति बाइडेनको सर्त छ ।

अमेरिकाले आफूप्रतिको ‘शत्रुतापूर्ण व्यवहार’ त्याग्नुपर्ने उत्तर कोरियाको भनाइ छ । त्यसका साथै आफ्नो सैनिक क्षमताको अंशका रूपमा परमाणु कार्यक्रमलाई निरन्तरता दिने प्योङयाङको भनाइ छ । त्यसका लागि लामो दूरीका क्षेप्यास्त्र, हतियार, जासुसी स्याटेलाइट तथा परमाणु ऊर्जाबाट चल्ने पन्डुब्बी निर्माणमा तीव्रता दिने किम बताउँछन् ।

प्रकाशित : चैत्र १८, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?