तिहारलाई पाला बनाउन भ्याइनभ्याइ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिहारलाई पाला बनाउन भ्याइनभ्याइ

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौं उपत्यकाको प्राचीन सहर भक्तपुरको एउटा आकर्षण हो पोटरी स्क्वायर । माटोका भाँडाका लागि प्रख्यात यो ठाउँ सधैं व्यस्त नै रहने गर्दछ । नेपालीहरूको अर्को महान चाड तिहार नजिकिँदै गर्दा यहाँका कुमालेहरु पनि व्यस्त भएका छन् यतिबेला । तिहारमा माटाका पालाहरुले विशेष महत्त्व राख्ने गर्दछन् ।

४६ वर्षीया धर्मप्रसाद प्रजापति पनि यतिबेला दैनिक ५ सयदेखि हजार वटासम्म माटाका पालाहरु बनाउँदैछन् । ३६ वर्ष माटाका भाँडा बनाउन समर्पित धर्मप्रसादलाई उनका २० वर्षीय छोरा विकल प्रजापतिले पनि सघाउँछन् । भक्तपुरको पोटरी स्क्वायरको एउटा कुनामा धर्मप्रसाद ठूलो माटोको पाला र विकल प्रजापति सानो पाला बनाउँदै थिए । दुवैका मोबाइल फोनमा आफ्नो-आफ्नै संगीत बजिरहेका थिए । प्रजापति बाबुछोराजस्तै पोटरी स्क्वायरमा अधिकांशको दैनिकी यस्तै छ आजकल । सरकारले जारी गरेको लकडाउनको समयमा माटो खेर जाने डरले धर्मप्रसादले त्यस अवधिमा एक लाख पालाहरु बनाइसकेका छन् । अन्य माटाका भाँडाका तुलनामा पालाको बजार खासै राम्रो नभएको उनी बताउँछन् । अहिले पालाहरुलाई विद्युतीय बत्तीहरुले विस्थापित गरिसकेको छ । तिहारको समयमा पनि मानिसहरूले पूजा कोठामा एउटा मात्र पाला प्रयोग गरेर विद्युतीय बत्तीले झिलिमिलि पार्छन् । यसकारण उनलाई पालाहरु भन्दा माटाका अन्य भाँडाहरु बनाउन मन लाग्छ। 'व्यापार राम्रो भएको बेलामा माटाका पालाहरूको वार्षिक आम्दानी २० देखि २५ लाख हुन्थ्यो तर विगतका वर्षहरुजस्तो व्यापार अहिले छैन।' माटाका भाँडा बनाउन उनले भोगेको अर्को समस्या माटो नपाउनु पनि हो । पहिले भक्तपुर वरपर माटो सजिलै पाइन्थ्यो । अहिले समय फेरिएको छ । बढ्दो सहरीकरणले गर्दा माटो असहज भएको हो उनी बताउँछन् । समयसँगै काम गर्ने ढाँचा पनि बदलिएको छ, पहिले माटो फुटाउन खुट्टा र हातले चक्र घुमाउन परेपनि अहिले मेसिनले काम सजिलो भने पारिदिएको छ। भाँडा पोल्न नजिकैको आधुनिक भट्टीमा लैजान्छन् जसको दैनिक भाडा ६ सय देखि ९ सय रुपैयाँसम्म पर्न आउँछ । पाला बनाउनभन्दा रङ लगाउन गाह्रो हुने उनी सुनाउँछन् । तर कसैले आगोमा नपोलेको पाला पनि लैजाने गरेके उनले बताए । पालाबाहेक तिहारमा भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरूको माग पनि उच्च हुने गरेको उनले बताए । विद्युतीय बत्तीहरुले माटाका पालाहरुलाई बिस्तारै विस्थापित गर्दै गएपनि यस वर्षको तिहारमा आफूले बनाएका माटाका पालाहरु बिक्री होलान् कि भनेर आफ्नो काममा लगनशील छन्, भक्तपुरको पोटरी स्क्वायरका कुमालेहरु।

प्रकाशित : कार्तिक २२, २०७७ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

स्वकुण्ठाको केन्द्रीकरण

किताब राजनीति र कूटनीतिप्रति रुचि राख्नेका लागि सन्दर्भ सामग्रीका रूपमा आएको छ । अघिल्लो किताब ‘कूटनीति र राजनीति’ झैं ‘क्रान्ति र प्रतिक्रान्ति’ मा पनि पाण्डेले केन्द्रमा आफैंलाई राखेका छन् ।
विष्णु रिजाल

घटनाक्रमलाई हेर्ने व्यक्तिको आफ्नो दर्शनअनुसारको दृष्टिकोण हुन्छ र उसले दिने अभिव्यक्ति तथा लेख्ने रचनाहरू त्यसैबाट निःसृत हुन्छन् । समकालीन राजनीति र कूटनीतिसँग सम्बन्धित विषयवस्तुलाई केन्द्रमा राखेर रमेशनाथ पाण्डेद्वारा लिखित किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ मा आफूलाई मन परेका भनाइ वा प्रसंगलाई उद्यृत गर्दै मुलुकका पछिल्ला घटनाक्रमहरूलाई लिपिबद्ध गरिएको छ ।

पुस्तक पढ्दा राजनीतिबारे धेरै थाहा नपाएका र पाण्डेलाई नजिकबाट नचिन्ने पाठकका लागि ‘राजनीति खत्तम रहेछ’ भन्ने भान परे पनि कमीकमजोरीका बाबजुद समग्रमा सकारात्मक पक्ष हाबी भएकै कारण हाम्रो मुलुक यहाँसम्म आइपुगेको हो भन्नेमा हामीले गर्व गर्नुपर्छ । सबै कुरा बिग्रे–भत्केको भए हामी स्वतन्त्र मुलुकका रूपमा रहिरहन सक्ने थिएनौँ ।

रमेशनाथ पाण्डे लामो समयदेखि दरबारलाई केन्द्रमा राखेर गतिविधि गर्ने मानिस भएकाले उनको दृष्टिकोण दल र तिनका नेताहरूप्रति नकारात्मक रहनु अन्यथा होइन । तर, सत्ताको नाभीका बारेमा राम्रो जानकार रहने व्यक्ति भएका कारण पञ्चायतको अवसानपछि पनि कांग्रेस, एमाले र माओवादीका नेताहरूसँग पाण्डेको बेलाबेला निकट सम्बन्ध रहँदै आएको पाइन्छ, जुन कुरा यस किताबमा झल्किन्छ । बहुदलीय व्यवस्थामा निर्दलीय मन्त्री र राष्ट्रियसभा अध्यक्षको उम्मेदवार हुने मौका पाउनुबाट उनको ‘बहुमुखी प्रतिभा’ झल्किन्छ नै, नेताहरूको विश्वास जित्नका लागि उनले गरेका प्रयासहरू पनि पुस्तकमा पाइन्छन् ।

लेखक पाण्डेले बहुदलीय व्यवस्था र यसका सञ्चालकहरूका नकारात्मक पाटाहरू अनावरण गर्न कुनै कसर बाँकी राखेका छैनन् । सबै नेताहरूलाई विदेशीका दलाल करार गर्ने, देश यिनीहरूले नै बिगारे भन्ने, हरेक कुरामा नेपाल चुकेको देख्ने, यहाँका प्रत्येक निर्णयमा विदेशीको हात रहेको आरोप लगाउनेजस्ता विषयले नेपाल र नेपाली मनोविज्ञानलाई बलियो बनाउँदैन, नयाँ पुस्तालाई कुनै सकारात्मक सन्देश दिँदैन ।

जनताबाट कहिल्यै प्रत्यक्ष निर्वाचित हुनु नपरेरै पटकपटक सांसद र मन्त्री भएकाले होला, पाण्डेले जनताका बीचबाट संघर्ष गरेर आएका प्रत्येक नेताको छवि अविश्वसनीय, विदेशीका इसारामा काम गर्ने र नेपालप्रति कुनै दायित्व नभएका व्यक्तिका रूपमा चित्रण गर्न खोजेका छन् । गिरिजाप्रसाद कोइराला, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराईदेखि प्रदीप ज्ञवालीसम्मको आलोचनामा पाइने समानताले यही कुरा दर्शाउँछ ।

नेपाली राजनीतिमा विदेशी प्रभाव छैन भन्ने होइन । हरेक मुलुकमा विदेशी प्रभाव एक विषयका रूपमा रहँदै आएको छ । यतिसम्म कि हालैको अमेरिकी चुनावमा मुख्य एजेन्डा चीन रह्यो । भारतमा निर्वाचन नजिकिँदै गर्दा नेताहरूको भाषणमा पाकिस्तान र चीनको नाम छुट्दैन । नेपालका सन्दर्भमा भारतीय हस्तक्षेपको इतिहासतिर फर्किंदा राजा त्रिभुवनले जुन दिन नारायणहिटी छाडेर भारतीय दूतावासमा शरण लिए, त्यही दिनबाट प्रत्यक्ष रूपमा सुरु भएको हो भन्नेमा जति बल गरे पनि पर्दा हाल्न सकिन्न । दरबारलाई राष्ट्रवादी र दलहरूलाई विदेशीको इसारामा चल्ने शक्तिका रूपमा चित्रण गर्नका लागि जतिसुकै तथ्यहरूको भ्रष्टीकरण गरे पनि हाम्रो कटु इतिहासले आफ्नो सत्ताका लागि राजाले विदेशी दूतावासमा शरण लिएकोदेखि निरंकुश शासनलाई समर्थन हासिल गर्नका लागि आफ्नो भूमिमा विदेशी सेना बस्न दिएकोसम्मका तथ्यहरू अभिलेखमा राखेको छ ।

यदि पाण्डेले दाबी गरेजस्तो ‘२०६३ मा संसदीय व्यवस्थाको अभ्यास तेस्रोपटक सुरु भएपछि राष्ट्रिय राजनीतिको स्वामित्व नेपालीको हातबाट फुस्किँदै गयो र निर्णायक शक्ति दिल्ली बन्यो’ (२४५) भन्ने कुरा सही भएको भए ०७२ सालमा भारतले रोक्नका लागि विशेष दूत पठाउँदा पठाउँदै नेपालले आफ्नो संविधान आफैँ जारी गर्ने थिएन, भारतको चाहनाविपरीत चीनसँग पारबहन सम्झौता गर्न सक्ने थिएन, राजतन्त्रकालमा गुमाएको भूमि कायम गरेर राष्ट्रिय सहमतिका लागि नक्सा जारी गर्न सक्ने थिएन । नेपाल वास्तविक अर्थमा आफ्नो खुट्टामा आफैँ उभिन लागेको प्रमाणका रूपमा यस्ता घटनाहरू हुँदा जो–जसलाई पिर परिरहेको छ, उनीहरूले मात्रै गणतन्त्रकालमा राष्ट्रियता कमजोर भएको भनिरहेका छन् ।

आवरणमा राष्ट्रवादीजस्तो देखिने तर सारमा विदेशीका एजेन्डाहरूको पक्षपोषण गरेर उनीहरूको सेवा गर्ने जमात नेपालमा उल्लेख्य छ । १२ बुँदे सहमति भारतले गराएको भनेर पुस्तकमा धेरै जिकिर गरिएको छ । तर, त्यतिबेला ज्ञानेन्द्रले संविधान कुल्चेर सत्ता हत्याएपछि दलहरूसँग त्यसको विकल्प के थियो भन्ने बारेमा चर्चा गरिएको छैन । दलहरूको सरकार भंग गरेर अवकाशमा गएका, इतिहासले किनारा लगाइसकेका र जनतासँग कुनै सरोकार नभएका व्यक्तिहरू जम्मा गरेर सरकार गठन गर्दै ज्ञानेन्द्रले आत्मघाती कदम चालेपछि लोकतन्त्र र स्वयम् आफ्नो अस्तित्व रक्षाका लागि दलहरू एक ठाउँमा आएको कुरालाई ‘विदेशीको खेल’ भन्नु गुमेको सत्ताको भावुकतामा पूर्वाग्रह साध्नु मात्र ठहर्छ ।

नेपाल–भारतबीचका समग्र समस्याहरूको अध्ययन गरी प्रतिवेदन दिनका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएकोमा पुस्तकमा चर्को आलोचना गरिएको छ । स्मरणीय कुरा, भारतले दुई बर्षदेखि त्यसको प्रतिवेदन बुझ्न मानिरहेको छैन र तुहाउन खोजेको छ । यसैगरी, नेपालले बारम्बार अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक स्ट्राटेजीमा सहमत नभएको स्पष्ट पार्दै त्यसमा हस्ताक्षर गर्ने कुरै नभएको उल्लेख गरिरहेको छ । तर, पुस्तकमा चाहिँ फरक–फरक सन्दर्भका बक्तव्यहरूलाई उद्धृत गर्दै नेपालले त्यसमा सहमत भएकै हो भनेर प्रमाणित गर्न खोजिएको छ । आफ्नो सरकार र आफ्ना अधिकारीहरूप्रति विश्वास गर्नुको साटो विदेशीको कुरालाई नै आधार बनाएर उनीहरूकै हात माथि पर्ने गरी व्याख्या–विश्लेषण गर्दा राष्ट्रिय भावना बलियो हुँदैन ।

दलहरूका बीचमा अविश्वास चरम अवस्थामा पुगेपछि बाध्यताका रूपमा प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार बनेर संविधानसभाको दोस्रो निर्वाचन गराई देशलाई निकास दिएकोमा लेखकलाई पटक्कै चित्त बुझेको छैन । निकासका लागि गठित सरकारलाई ‘अन्तरिम संविधानले नचिनेको कर्मचारी सरकार’ भन्दै हुर्मत लिने पाण्डे स्वयम् चाहिँ ०६१ माघ १९ पछि संविधानमै नभएको निर्दलीय सरकारका मन्त्री थिए । लोकतान्त्रिक संविधान र व्यवस्थालाई कोमामा पुर्‍याएर सत्तामा गएका व्यक्तिले नै क्रान्ति र प्रतिक्रान्तिका पाठ पढाउने दिन आउनुलाई गणतन्त्रकै नेताहरूको असफलता ठान्नुपर्छ । किनभने देशमा आन्दोलन चलिरहेको, सेनासँग गोलीगठ्ठा सकिइरहेको, छिमेकीसँग पानी बाराबारको अवस्था रहेको र प्रजातान्त्रिक विश्वले अघोषित नाकाबन्दी लगाइरहेको बेला राजा ज्ञानेन्द्रको अफ्रिकातिर सवारी चलाउने परराष्ट्रमन्त्री पाण्डेलाई नेताहरूले चुलोचौकोमा पहुँच दिँदा उनले त्यसको आफूअनुकूल उपयोग गरेका छन् र तिनै नेताहरूलाई अविश्वसनीय सावित गर्ने प्रयास गरेका छन् ।

‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तकको सबभन्दा सबल र उपयोगी पक्ष बीपी कोइरालाका हस्तलिखित पत्रहरू हुन् । अध्ययन र चिन्तनमा असाध्यै रुचि राख्ने बीपी कोइरालासँग युवा, जिज्ञासु र अध्ययनशील पत्रकारका रूपमा पाण्डेले बनाएको पहुँचका आधारमा ती पत्रहरू जेलबाट प्रेमपूर्वक लेखिएका थिए ।

बीपी स्वयम्ले आफ्नो किताब ‘जेल जर्नल’ मा रमेशनाथ पाण्डेबारे उल्लेख गरेर पाठकको मनमा उत्पन्न गराएको जिज्ञासालाई लेखकले उनका हस्तलिखित पत्रहरू नै सार्वजनिक गरेर शान्त पारेका छन् । यी पत्रहरूले बीपी र लेखकबीचको आत्मीय सम्बन्धलाई मात्र उजागर गर्दैनन्, ती कालरात्रिको सम्झना पनि गराइदिन्छन् । जेलमा बस्दा बीपी कोइरालाको मनोविज्ञान, योजना, दैनिकीका साथै मुलुक, आफू र परिवारप्रतिको चिन्ता बुझ्न पाइन्छ ।

निःसन्देह बीपी कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका सबभन्दा अग्ला व्यक्ति हुन् । जनताबाट निर्वाचित भएर सरकार बनाएबापत दण्डित हुनुपर्दाका उनका पीडादायी दिनहरूलाई अभिलेखबद्ध गर्ने काममा उनका अनुयायीहरूलाई फुर्सद नभए पनि बीपीको राजनीतिभन्दा पृथक् धारमा उभिएका पाण्डेले महत्त्वपूर्ण पत्रहरूलाई जतनसाथ राख्नुका साथै सार्वजनिक जानकारीमा ल्याइदिएर जिज्ञासु र अध्येताहरूलाई गुन लगाएका छन् ।

‘क्रान्ति र प्रतिक्रान्ति’ मा कतिपय तथ्यगत त्रुटि छन्, तिनको मात्रै अलग्गै सूची बनाउन सकिन्छ । तिथिमिति उल्लेख गर्दा विक्रम संवत् र इस्वी सम्वत्मा एकरूपता कायम गर्ने दुःख उठाइएको छैन भने कतिपय प्रसंग बारम्बार दोहोरिँदा पुराना लेखहरू राख्दा सम्पादन नगरिएको देखिन्छ । स्रोतहरूको उल्लेखमा नियमबद्धता देखिँदैन । आफ्ना कुरा पुष्टि गर्न घटनाहरूलाई अघि–पछि पारेर उद्धृत गरिएको छ । पुस्तकमा लेखकका केही प्रिय शब्द तथा वाक्यहरू ‘कूटनीतिक सीप’, ‘इतिहासले टिपेको छ’, ‘पत्यार’, ‘नेपाल सामरिक राडारमा परिसकेको छ’, ‘इतिहासले सम्झेको छ’, ‘इतिहास र भूगोल दुवै’ अत्याधिक दोहोरिएका छन् । फरक–फरक शीर्षकमा समेत उस्तै प्रसंगहरू दोहोरिएका छन् ।

पुस्तकमा ‘नेपालको कूटनीतिक मामिलामा ब्रान्ड नेम’ र ‘नेपालका चाणक्य’ का रूपमा चिनाइएका रमेशनाथ पाण्डेको यस पुस्तक राजनीति र कूटनीतिप्रति रुचि राख्नेका लागि सन्दर्भ सामग्रीका रूपमा आएको छ । लामो समय पत्रकारितामा सक्रिय, लेखन र अध्ययनमा दख्खल राख्ने र आफूलाई चाहिने विषयको अभिलेख राख्ने व्यक्ति भएका कारण पाण्डेको लेखन प्रभावकारी हुन्छ । अघिल्लो पुस्तक ‘कूटनीति र राजनीति’ झैँ ‘क्रान्ति र प्रतिक्रान्ति’ मा पनि पाण्डेले केन्द्रमा आफैँलाई राखेका छन् । पुस्तकमा निराशा, लघुताभास र कुण्ठा बढी व्यक्त भएको छ ।

नेपालजस्तो सामरिक महत्त्वको ठाउँमा उभिएको मुलुकका लागि विदेश सम्बन्ध पक्कै पनि महत्त्वपूर्ण हुन्छ । तर, कुनै पनि देशको विदेश सम्बन्धमा घरेलु राजनीति प्रतिविम्बित हुन्छ भन्ने कुरा बिर्सन मिल्दैन । देशभित्र निरंकुश शासन छ भने बाहिरी मञ्चमा उभिएर लोकतन्त्रको दुहाई दिएको दुनियाँले पत्याउँदैन ।

त्यसैगरी जबसम्म हामीले आफूलाई राष्ट्रिय रूपमा आफ्नो खुट्टामा उभिने सक्ने बनाउन सक्दैनौँ र विदेशीसँग हात थाप्न बाध्य भइरहन्छौँ, तबसम्म हाम्रो स्वाभिमान कसैगरी पनि माथि उठ्न सक्दैन भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । पटकपटक पदमा पुगेका र सधैँभरि सत्ताको वरिपरि रहँदै आएका व्यक्तिहरूले आफ्ना अनुभवहरूको सार अभिलेखबद्ध गराउँदा यस ऐतिहासिक आवश्यकतालाई केन्द्रमा राख्न सक्नुपर्छ । नत्र मैले फलानालाई भेटेको थिएँ, फलानो मेरो घरमा खाना खान आएको थियो, फलानाले यस्तो राम्रो शब्द प्रयोग गर्‍यो भन्ने कुराले न मुलुकका लागि अर्थ राख्छ न त युवा पुस्ताले नै त्यसबाट केही लाभ पाउँछ ।

प्रकाशित : कार्तिक २२, २०७७ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×