लामो दुरीका यातायातमा अघिल्ला वर्षहरु जस्तो भिड छैन- भिडियो - कान्तिपुर समाचार

लामो दुरीका यातायातमा अघिल्ला वर्षहरु जस्तो भिड छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला वर्षहरुमा दशैं शुरुभएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर यसवर्ष कोभिड संक्रमणका कारण काठमाडौंका बसपार्कहरु सुनसान छन् । लामो दुरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन भने यात्रुहरुको संख्या पनि निकै कम छ ।

कात्तिक एक गते देखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

थारू गाउँमा छैन दसैंको रौनक

कोरोना संक्रमणका कारण भीडभाड गर्न, आफन्तहरूकामा जान र अरूलाई बोलाउन अप्ठ्यारो हुन थालेपछि दसैं परिवारमै सीमित
दुर्गालाल केसी, ठाकुरसिंह थारू

दाङ र बर्दिया — दसैं आउन थाल्यो कि थारू गाउँमा रौनक सुरु हुन्थ्यो । कोही माछा मार्न थाल्थे, कोही कुखुरा, सुँगुर खोज्न त कोही घर लिपपोत गर्न । सबैका आआफ्नै तयारी हुन्थे । यसपालि भने थारू गाउँमा दसैंको तयारी छैन । कोरोना संक्रमणका कारण भीडभाड गर्न, आफन्तहरूकामा जान र अरूलाई बोलाउन अप्ठ्यारो हुन थालेपछि दसैं परिवारमै सीमित हुने भएको हो ।

दाङ थारूहरूको बाहुल्य भएको क्षेत्र हो । जिल्लाको पश्चिम–दक्षिण भेगको सुकौराकोटमा थारू राजा दंगीशरणले राज्य गरेको इतिहास छ । त्यसकारण थारू समुदायमा दसैंलाई दाङमा महत्त्वका साथ मनाइन्छ । ‘थारू जातिको आफ्नै इतिहास र संस्कृति छ । आफ्नै भेषभूषा र गरगहनाले थारूको बेग्लै पहिचान दिन्छ,’ घोराही उपमहानगरपालिका–९ का बुझौना चौधरीले भने, ‘दसैंमा पूजाका लागि धेरै कुखुरा चाहिन्छ । माछा मारेर राख्नुपर्छ । धेरै नै धुमधाम हुन्थ्यो । अहिले त त्यस्तो केही गर्न पाइएको छैन ।’

थारू समुदायले दसैं नाचगान, पितृ पूजा, कुल देवताको पूजा र टीका गरी भिन्न तरिकाले मनाउने गर्छन् । दसैंको सुरुवातमा घर लिपपोत गर्ने, सप्तमीको दिन कुल देवताको पूजा गर्ने, अष्टमीका दिन पितृ पूजा गर्ने, बलि दिने र नाचगान गर्दै नदीमा गएर सेलाउने चलन छ । अष्टमीको दिनलाई अन्य समुदायको श्राद्धजस्तै मानिन्छ । विभिन्न परिकार बनाएर पितृका नाममा चढाउने चलन रहेको चौधरीले बताए । ‘टीकाको दिन बडघर तथा मतहवाको घरमा गएर टीका थाप्ने चलन छ,’ उनले भने, ‘रक्सीलगायत विभिन्न खानेकुरा लिएर जाने र टीका थाप्ने चलन छ । बडघरले गाउँका सबैलाई टीका लगाइदिएर सकेको खानेकुरा दिने चलन छ तर यसपालि यो सबै होला जस्तो छैन ।’

थारू समुदायले दसैंका लागि घरमा विशेष किसिमले देवता बसाएका हुन्छन् । उक्त देवता नभए दसैं मनाउन नसकिने चलन छ । माटाका कलात्मक घोडा, त्रिशूल, पालालगायत विभिन्न पूजा गर्ने सामान जुटाएर घरको उत्तरपूर्वी कोठाको पश्चिम कुनामा देवता राखिन्छ । ‘देवता राख्नलाई कम्तीमा दुईवटा बोका, दुईवटा सुँगुर, ५/६ वटा कुखुरा चढाउनुपर्छ । दसैं आउँदा यी सबै सामान जुटाउन हम्मे पर्थ्यो,’ तुलसीपुर उपमहानगरपालिका–१२ का धनीराम चौधरीले भने, ‘थारूभित्र पनि थरअनुसार फरक–फरक संस्कार हुन्छ । कतै यसभन्दा धेरै बलि दिनुपर्छ । नत्र देवता बसाल्न सकिँदैन । अहिले धुमधामसँग देवता बसाल्न सक्ने अवस्था छैन ।’

थारू समुदायले माघीपछि दोस्रो पर्वका रूपमा अट्वारी र तेस्रो पर्वका रूपमा दसैं मान्दै आएको थारू महतवा संघका दाङ जिल्ला अध्यक्ष चन्द्रप्रकाश चौधरीले बताए । ‘दसैं आउनुभन्दा १५/२० दिनअघिदेखि नै सख्या नाचको सुरुवात हुन्थ्यो । तन्त्रमन्त्रसहितको सख्या नाच महतवाको घरआँगनमा नाच्ने चलन थियो,’ उनले भने, ‘यसपालि केही पनि तयारी हुन पाएको छैन । नाचगान त पूरै बन्द छ ।’

सख्या नाचको बीचबीचमा पैया नाचले पनि दर्शकलाई फरक आनन्द दिन्थ्यो । चौधरीका अनुसार दसैंमा नाचिने सख्याले अन्नबाली सप्रिने, गाउँको सुरक्षा हुने जस्ता विश्वास गरिएको पाइन्छ । सख्या गीतमा हरेक देवता, अन्नबाली, चराचुरुंगी, जनावरका नामसमेत सम्बोधन गरिएको हुन्छ । ‘लगातार एक महिनासम्म नाच्दा पनि सख्या गीत सकिँदैन । पहिले जन्माष्टमीपछि नाचिने सख्या केही वर्षदेखि छोट्याएर घटस्थापनाको अघिल्लो दिनबाट नाच्ने गरिएको थियो,’ उनले भने, ‘अहिले त त्यही पनि हुन पाएन । सख्या नाचको समापन गर्दा नाच्ने सबै युवती खोलामा गएर माछा मार्ने र मादल बजाउनेलाई खुवाउने चलन पनि थियो । अहिले यी जमघट सबै हराए ।’ थारू समुदायले प्रायः मकैका जमरा राख्ने गर्छन् । दसैंको सुरुवातसँगै ढिक्री पकाउन चामलको पिठो तयार पार्ने, देवता पुज्ने कुखुरा, सुँगुरका पाठा खोज्ने काम सुरु हुन्छ । सप्तमीको दिन नजिकैको खोलामा गएर महिलाले एकै ठाउँमा ढिक्री पकाउने भाँडा सफा गर्ने चलन छ । अष्टमीको दिन ढिक्री बनाएर देवतालाई चढाउने गर्छन् । अष्टमीको दिन रातभर नाचगान गर्ने र भोलिपल्ट बिहान ५ देखि १० वटासम्म कुखुरा, सुँगुरको पाठा वा खसी चढाएर देवताको पूजा गर्ने गरिन्छ । कोरोनाले यी सबै प्रक्रिया अवरुद्ध गरिदिएको घोराही–७ का थारू गीतका गायक बेझलाल चौधरीले बताए । ‘अहिले त आजसम्म केही हुन पाएको छैन । भीड नगर्ने भनेपछि केही पनि प्रक्रिया सुरु हुन पाएका छैनन्,’ उनले भने, ‘यसपालिको दसैं यस्तै नै हुने भयो । ज्यान बाँचे अर्को वर्ष मनाउँला भनेर चित्त बुझाइरहेका छौं ।’

सांस्कृतिक गायन न सार्वजनिक कार्यक्रम

दसैं सुरु भइसक्दा पनि पश्चिम तराईका थारू गाउँ सुनसान छन् । कोरोना भाइरसको महामारीका कारण सर्वसाधारणमा कुनै उमंग देखिँदैन । गाउँमा कुनै पनि कार्यक्रम तय गरिएको छैन । दसैंको अवसर पारेर क्लबहरूले परम्परागत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्थे । एउटै गाउँमा तीन/चार समूहका सांस्कृतिक कार्यक्रम आयोजना हुन्थे । युवाहरू परम्परागत पोसाकको जोहो पहिले नै गरिसक्थे । तर दसैंका लागि आवश्यक पर्ने सामग्रीको सरजाम गाउँघरमा छैन । चैतदेखि लगातारको कोरोना संक्रमणले चाडपर्वमा पनि असर पारेको छ ।

कोरोना महामारीअघि उक्त समुदायमा एक महिनाअघि नै दसैं सुरु हुने गर्थ्यो । मासुका परिकारका लागि जिताको तयारी छैन । ‘यस वर्षको दसैंमा रमाइलो हुँदैन । घरमै परिवारसँग मनाउने हो,’ कोहलपुर नगरपालिका रझेनाका कल्लुराम चौधरीले भने, ‘यस बेला त खुब रमाइलो हुन्थ्यो । यो वर्ष भने गाउँ सुनसान छ ।’ दसैंमा थारू घरमा ढिक्री अनिवार्य छ । सुकेको माछा (सिद्रा) आवश्यक पर्छ । मासुको परिकारका लागि (जिता) पहिले खोजेर तयार पारिन्छ । कुल देवतालाई चढाउने (छाकी) रक्सी गोलरामा राखिन्छ । दसैंमा थारू समुदाय एकअर्काको घरमा जाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

खानपिन र नाचगानमा भीड लाग्छ, जसका कारण कोरोनाको संक्रमण झन् फैलिन सक्ने खतरा छ । त्यसैले थारू अगुवाहरूले आफ्नै घरमा दसैं मनाउन आग्रह गरिरहेका छन् । भीडभाड गर्दा संक्रमण बढ्ने भन्दै उनीहरू सतर्क देखिन्छन् । ‘ज्यान जोगिए अर्को वर्ष दसैं मनाउन सकिन्छ । त्यसैले नाचगान गरेका छैनौं । एकअर्काको घरमा पनि रमाइलो गर्न गइएको छैन,’ राप्ती सोनारी गाउँपालिका फत्तेपुरका बडघर सीताराम चौधरीले भने, ‘कोरोनाबाट गाउँका मान्छे सतर्क भएकाले गाउँ सुनसान भएको हो । सबै आआफ्नो घरमा रमाइलो गर्ने सोचमा छन् ।’

घटस्थापनादेखि जमरा राखेर थारू समुदायले आफ्ना कुल देवताको पूजा गर्छन् । त्यसपछि घर सफासुग्घर गरिन्छ । घटस्थापनादेखि थाहरूले फूलपातीसम्म फरक–फरक काम गर्छन् । पञ्चमीका दिनलाई झलझोर्न (घरमा रहेका माकुराको जालो फाल्ने) भन्छन् । भोलिपल्ट घर लिपपोत (घरपोट्न) गरिन्छ । सप्तमी (ढिक्रहवा) कुल देवतालाई ढिक्री, जमरा र बाबरी फूलले पूजा गरिन्छ । नवमीका दिन (पित्तरवा) महिलाहरू नदी वा ताल छेउमा पितृलाई पिण्ड दिएर मासु र रक्सी खाइपिई गरी नाचगान गर्ने चलन रहेको अगुवाहरू बताउँछन् ।

पित्तरवाका दिन हजारौं सर्वसाधारण एक ठाउँमा जम्मा हुन्छन् । महिला र पुरुष भएर नाच्छन् । जसका कारण संक्रमण गाउँभरि फैलिन सक्ने खतरा छ । संक्रमण फैलिन नदिन एक/दुई जना भएर नजिकैको खोलानालामा पित्तर राख्ने सोचमा थारू समुदाय छन् । ‘संस्कार पनि जोगियोस् र कोरोना पनि नफैलियोस् भनेर पित्तरवाका दिन एक ठाउँमा सयौं जम्मा नहुने विचारमा छौं । त्यसका लागि आफ्नो नजिकैको खोलामा पित्तर लिएर जाने सल्लाह गरिरहेका छौं,’ बर्दिया बाँसगढी नगरपालिका मोतीपुरका वसन्तकुमारले भने । चाडपर्वअगावै थारू गाउँमा रौनक र खुसीको माहोल छाउनु उक्त समुदायको विशेषता हो । वर्षापछि धानलगायतका बाली हरियाली भएपछि थारू गाउँमा हरेरी पूजा हुन्छ । त्यस दिनदेखि थारू गाउँमा मादल बज्न थाल्छ । त्यही दिनदेखि थारू समुदायले नाचगान गरी दसैंको आगमनलाई स्वागत गर्ने चलन छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×