कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुम्बई आगलागी : 'मृतकका आफन्त भन्छन् - झुटो आश्वासन मात्रै पाइयो'

कान्तिपुर संवाददाता

सत्भरा (कपिलवस्तु) — साढे ५ वर्षअघि मुम्बईको भिबण्डीस्थित एक काठ गोदाममा भएको आगलागीमा परी मृत्यु भएका नेपालीका परिवारले अझै क्षतिपूर्ति पाएका छैनन् । २०७१ साल पुस १२ गते मध्यराति भएको आगलागीमा कपिलवस्तुको महाराजगञ्ज नगरपालिका सत्भरा गाउँका ७ नेपालीले ज्यान गुमाएका थिए ।

मुम्बई आगलागी : 'मृतकका आफन्त भन्छन् - झुटो आश्वासन मात्रै पाइयो'

ज्यान गुमाउनेमा सत्भराका लौटु मुराउ (३० वर्ष), भुइँधर यादव (२७ वर्ष), गौरी लोनिया (२७ वर्ष) र गणेश लोनिया (२५ वर्ष), विक्रम रइदास (१८ वर्ष) तथा कपिलवस्तुकै बराइपुर गाउँका रामदयाल भर (३८) र निरज चौधरी (२१) थिए ।

सत्भरा गाउँका विनोद यादव, धिरु लोनिया र बुधे लोनियाले हाम फालेर ज्यान जोगाए । विनोदको शरीरको आधा भाग जलेको थियो ।

ज्यान गुमाएका आफन्तलाई काठ गोदाम मालिक, भारत सरकार र नेपाल सरकारले राहत तथा क्षतिपूर्ति दिने बताइएपनि अहिलेसम्म एक रुपैयाँ नपाएको मृतकका आफन्तले बताएका छन् । राजु र गणेश लोनियाका बुबा पटेश्वरी लोनिया भन्छन्, 'घटनाभएको केहीमहिनासम्म त भारतीय पक्ष र नेपाल सरकारले राहत दिन्छौं, दिन्छौं भनेर आशा देखाए । तर साढे ५ वर्ष वितिसक्यो मृतकका परिवारले एक रुपैयाँ पाएको छैन । अब पाउने आशा र विश्वास मरिसक्यो ।'

न त काठ गोदाम मालिकले क्षतिपूर्ति दियो, न भारत सरकाले राहत दियो या त नेपाल सरकारले केही नै हेर्‍यो । ज्यान गुमाएका ६ परिवारलाई अब कोही, कसैले केही गर्ला की भन्ने आशै छैन । तीनै तहको चुनावमा नेताहरुले भोटका लागि राहत र क्षतिपूर्ति दिने आश्वासन त बाँडे तर जित्ने नेता कहिल्यै अवस्था कस्तो छ भनेर सोध्न गाउँ फर्किएनन् । सत्भरा गाउँ पुगेका महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामले भने केही न केही राहत दिने आश्वासन दिएका छन् ।


प्रकाशित : श्रावण २८, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?