नेकपा विवादमा जोडिएका चार पक्ष [भिडियो] 

बबिता शर्मा

काठमाडौँ — असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक मुद्दामा होइन, झगडामा केन्द्रित भयो । नतिजा नेकपाको घरझगडामा अरुको पनि चासो बढ्दै गयो । एकपछि अर्कोपक्ष जोडिन थाल्यो । 

नेकपा विवादमा जोडिएका चार पक्ष [भिडियो] 

बैठक पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा होइन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । यद्यपि पार्टी विभाजन हुन्छ कि भन्ने भयले बैठक चारपटक स्थगित भइसकेको छ । अर्को बैठक बुधबारका लागि बोलाइएको छ । तर बस्ने नबस्ने अनिश्चत छ, किनभने जुन विषयमा नेकपामा झगडा थियो, त्यसको हल भइसकेको छैन् । हल खोज्ने कोसिसमा शीर्ष नेता लागेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको माग छ ।

अनि कुनै पनि हालतमा दुवै पद नछाड्ने ओलीको अडानले नेकपाको विवाद उत्कर्समा छ । त्यसैले यसको असर नेकपाभित्र हुनु त स्वभाविक नै भयो ।

तर, नेकपाको झगडामा विपक्षी कांग्रेस र राष्ट्रपति मात्र होइन, दुई छिमेकी मुलुक चीन र भारत पनि फरक भूमिकाले तानिएका छन् । अर्थात नेकपाको विवाद अब देशमै मात्र सीमित छैन्, मुलुकै सीमाबाहिर पनि पुगेको छ । नेकपाको आन्तरिक विवादमा दुवै छिमेकी देखिने गरी जोडिएका छन् ।

असार १४ मा मदनजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको सार्वजनिक अभिव्यक्ति दिएर नेकपाको विवादमा भारतलाई मुछेका थिए ।

पार्टीभित्र सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्रीले प्रतिरक्षाका लागि भारतको नाम अगाडि सारेका थिए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले पार्टी बैठक चलिरहेको बेला यस्तो अभिव्यक्ति दिएपछि हल्लीखल्ली भएको थियो । कतिपय नेताले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण समेत माग गरेका थिए । ओलीको अभिव्यक्तिलाई लिएर नेपालमा विरोध भएपनि भारत सरकारले केही प्रतिक्रिया दिएको भने छैन ।

नेकपामा भारत विवाद सेलान नपाउँदै विपक्षी जोडियो । संसद अधिवेशन अन्त्य गर्नुभन्दा एक दिन अगाडि अर्थात बुधबार प्रधानमन्त्रीले विपक्षी दलका नेता शेरबहादुर देउवासँग गोप्य भेट गरे । पछि आफू निकट नेतालाई प्रधानमन्त्रीले देउवा कहाँ पठाए । यसैलाई लिएर नेकपाको घर झगडामा पार्टी जोडिएको भन्दै कांग्रेसको केन्द्रीय कार्यसमितिमा बहस भयो । र, कांग्रसले भन्यो- हामी नेकपाको घरझगडामा तथस्थ छौं ।

त्यसपछि नेकपाको विवादमा राष्ट्रपति विदादेवी भण्डारी जोडिइन् । उनले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय हतारहतार अनुमोदन गरिन् । त्यसपछि उनीमाथि प्रश्न उठ्यो । त्यहीबेला प्रधानमन्त्रीले मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको दाबी गरे । तर, पार्टी नेताहरुले यसको खण्डन गरेका छन् । र, अध्यक्ष दाहाल, झलनाथ खनाल र नेपालले शितलननिवासमै पुगेर प्रधानमन्त्रीको दाबीमा दम नभएको आश्वस्त पार्न कोसिस गरेका छन् ।

भारत, कांग्रेस र राष्ट्रपतिपछि नेकपा विवादमा अब चिनियाँपक्ष पनि जोडिएको छ । अहिले नेपालका लागि चीनकी राजदूत होउ यान्छीले शीर्ष नेताहरुसँगको भेटघाट तीव्र पारेकी छिन् ।

होउले आइतबार पूर्वप्रधानमन्त्री नेपालसँग र मंगलबार बिहान पूर्वप्रधानमन्त्री खनालसँग भेट गरिन् । भेटमा समसामयिक र आपसी सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । भारतले नेकपा घरझगडा निम्त्याएको र चिनियाँ राजदूत झगडा मिलाउन सक्रिय भएको भनेर आलोचना भइरहेको छ ।

यस विषयमा पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? भन्ने प्रश्न उठाए । कांग्रेस नेता धनराज गुरुङले नेपालको सरकार ढलाउने र बचाउने काम नै बिदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दैछ रु भन्ने वहसको उठान गरे ।

त्यसैले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत सन्देश दिने कोसिस गरे- सार्वभौम राष्ट्रका रुपमा हामी आफैं निर्णय लिन सक्षम छौं । हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्ति हामीलाई अस्विकार्य छ । तर, राजदूतको दौडधूपले नेकपाको घरझगडामा छिमेकीको चासो मुखरित भएको छ ।

प्रकाशित : असार २३, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?