कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना कहरमा प्रदेश २ [भिडियो]

बिनु सुवेदी

काठमाडौँ — आजसम्म कसैले नापेको त छैन तर कुनै साहित्यकारलाई सोध्दा उनको जवाफ हुन्छ होला  अभावको क्षेत्रफल आँखाले हेरिन भ्याउने मधेसको फाँटभन्दा फराकिलो हुन्छ । २०७७ को जेठ २० देखि २८ गतेसम्म प्रदेश २ को सप्तरीदेखि रौतहटसम्मका भित्री बस्ती चहार्दा मनमा बारम्बार उठिरहेको प्रश्न यही नै हो, मधेशको दुःखलाई कुनै उचाइमा नाप्‍न सकिन्छ कि सकिन्न ।

कोरोना कहरमा प्रदेश २ [भिडियो]

भोकसंगको युद्धमा पराजित भएपछि मलर सदाले संसार त्यागेको चौधौं दिनमा गत जेठ २० गते हामीले उनको घरतिरको यात्रा सोझाएका हौं, प्रदेश २ को यात्रामा हाम्रो पहिलो गन्तब्य पनि त्यहीं नै थियो । जसै ऐलानी जग्गामा बनेको उनको झुपडीमा म छिरें पहिलो साक्षात्कार मलरकी श्रीमती जलेश्वरीदेवी सदासंग नै भयो । उनले श्रीमानसँगको विछोडको कहानी हामीलाई उसैगरि सुनाइन् जसरी यसअघि कयौंलाई भनिसकेकी छन् ।

कोभिडको डरपछि जब मुलुकमा लकडाउन भयो, पहिलो असर विपन्न वर्गका नागरिक र मजदुरहरुलाई पर्यो । तर उनीहरुको बस्तीमा राज्यको नजर पर्न मलरले मर्नुपर्यो । सप्तरीदेखि रौतहटसम्मका भित्री बस्तीहरुको चक्कर मार्दा धेरैको अनुहारमा मैले मलरकै छायाँ देखेकी थिएँ ।

हुन त केन्द्र सरकारको नारा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने छ । तर नाराले मान्छेको पेट भरिदो रहेनछ । फेरि नारा गुन्जिने ठाउँ र अभाव बल्झिने ठाउँ पनि त फरक फरक छन् । सायद यही कारण छिन्नमस्ता ३ सप्तरीकी १७ वर्षिया सुत्केरी राधादेवी सदा घरमा पकाउने अन्न सकिएको सात दिनसम्म भोक दपन्याएरै बसेकी थिइन । उनीहरुको आँगनको चुहो कयौं दिनदेखि बल्न नसकेर ओसिलो भइसकेको थियो । बेलाबखत चलिरहने हुरिले उडाएरै होला चुहोमा खरानीसमेत बाँकी देखिएन ।

तर रिपोर्टिंङकै क्रममा हामी प्रदेश २ मै रहँदा राधादेवीका लागि केही मनकारीले राहत दिए र राहतपछिको उनको खुसीको बयान उनकै तस्बिरले गर्छ । तर हामीलाई थाहा छ, यो दीर्घकालीन उपाय होइन ।

दुःख पनि एक ठाउँमा मात्रै भए पो । एउटा टोलबाट अर्को टोलमा पुग्दा पिडाको व्याख्या झन भयावह हुन्थ्यो । जब हामी छिन्नमस्ता गाउँपालिका–५ मुसहरवस्तीमा पुग्यौं, गाउँलेहरु झर्यापझुरुप्प भेला भइहाले । सबैका कहानी आआफ्नै थिए,सबैका दर्द एक से एक थिए । हामीलाई देख्नेबित्तिकै झर्यापझुरुप्पै भेला भएर पिडाका कहानी सुनाउनेहरुको मेलाजस्तै लाग्थ्यो । दुःखका प्लटहरु जेजस्ता भए पनि सार भोकको नै थियो र गुनासो राज्यसंगै ।

भोक र अभावको मात्रै होइन, पिडा र वियोगको कहानी पनि उस्तै दर्दनाक छ प्रदेश २ मा पैसा कमाउन भारत छिरेर अहिले फर्किरहेका युवाहरु होउन या दशगजामै छटपटाएरै जीवन त्यागेका गोठकोयलपुर धनुषाका वीरेन्द्र यादवको परिवार । राज्यले अलिकति सहयोग न २ घण्टासम्म दशगजाको पिचरोडमै छटपटाएर जीवन त्यागेका ३० वर्षिय विरेन्द्रको मृत्यु केवल मृत्युमात्रै होइन, राज्यको उपेक्षा र हेपाहा शैलीको प्रमाण पनि हो ।

ज्यान गुमाएका विरेन्द्रको त छुट्टै कुरा ज्यान जोगाएर देश छिरेका अरु हजारौं युवाको हालत पनि पटकक्कै राम्रो छैन । हामीले हेरेका क्वारेन्टाइन साँच्चै खराब थिए । झण्डै महिना दिनदेखि कोरोना टेष्ट नभएका, स्वाब लगेर रिपोर्ट आइनसकेका, भर्खर भारतबाट भित्रिएका थरिथरिका मान्छेहरु एउटै क्वारेन्टाइनमा भेटिन्थे । त्यहाँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको नामोनिसानै हुँदैनथ्यो, गाउँलेहरुले रोग बोकेर आएको झै व्यवहार गर्थे ।

दुःख एक धुर पनि जमिन आफ्नो नाममा नहुने मजदुर र पैसा कमाउन भारत पसेर रित्तै फर्किएका युवामा मात्रै थिएन । आफ्नै बारीमा पाखुरा बजारेर खेति गर्ने किसानको पनि उस्तै थियो । जुन हामीले सिरहाको लहान नगरपालिका २४ झुट्कीमा देख्यौं ।

यी त हामीले केही दिन देखेका मधेसका प्रतिनिधि दृश्यमात्रै हुन् । यस्ता दुःखका कहानी घरघरमा छन् । तर दुःख बुझिदिने संयन्त्र कतै पनि छैन । वास्तवमा यी गाउँमा राज्यको उपस्थिति सुन्यजस्तै छ, जनताको दुःखको हिसाब करोडौंमा निस्किन्छ ।

प्रकाशित : असार ३, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?