कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

फ्रान्सेली फुटबलमा एक युगको समाप्ति

जसरी फ्रान्सको चुनौती समाप्त भयो, त्यो निराशाजनक रह्यो, यसअघि जसरी फ्रान्सले तहल्का मच्चाउने गर्थ्यो, यसपल्ट सकेन
एएफपी

डुसेलडर्फ — पछिल्लो एक दशकमा विश्व फुटबलमा फ्रान्सको उपस्थिति दरिलो नै रह्यो । प्रशिक्षक थिए, डिडिएर डेस्याम्प । युरो २०२४ मा पनि फ्रान्स सेमिफाइनलसम्म पुग्यो । तर प्रतियोगितामा टिमको प्रदर्शन जस्तो रह्यो, त्यसले प्रस्ट देखाएको छ, फ्रान्सेली फुटबललाई एउटा नयाँ ताजा सुरुआत आवश्यक छ । 

फ्रान्सेली फुटबलमा एक युगको समाप्ति

स्पेनको हातबाट सेमिफाइनलमा पराजित भएपछि फ्रान्स ठूला प्रतियोगिताका पछिल्लो पाँच संस्करणमध्ये चौथोपल्ट फाइनल पुग्ने सम्भावना टुट्यो, विश्वकप र युरो दुवै जोडेर । यसपल्ट प्रतियोगितामा जसरी फ्रान्सको चुनौती समाप्त भयो, त्यो निराशाजनक रह्यो । यसअघि जसरी फ्रान्सले तहल्का मच्चाउने गर्थ्यो, यसपल्ट सकेन ।

स्पेनविरुद्ध रान्डल कोलो मोनीको गोलले अग्रता त लिन सक्यो, तर त्यसमा कायम रहन सकेन । यो नै ओपन–प्लेबाट फ्रान्सले पूरा प्रतियोगितामा गरेको एक मात्र गोल रह्यो । त्यो पनि छ खेलमा । प्रख्यात स्पोर्ट्स डेली लेकिपले सम्पादकीयमा लेखेको छ, सेमिफाइनल पुगे पनि फ्रान्स जसरी बाहिरियो, त्यो तीतो स्वादकै रह्यो ।

डेस्याम्पको टिममा त्यस्ता एकसेएक खेलाडी थिए, जति अन्य कुनैमा थिएनन् । प्रतियोगिताका क्रममा रक्षापंक्तिले मजबुतले प्रदर्शन त गर्न सक्यो, तर त्यसरी नै अग्रपंक्तिले खेल्न सकेन् । चोट र फिटनेसको समस्यबाट गुज्रिरहेका केलियन एमबाप्पे आफ्नो प्रतिष्ठाअनुसार त्यसको छेउछाउ पनि प्रदर्शन गर्न असफल रहे । एन्टोन ग्रिजमन पनि विश्वकप २०२२ मा जस्तो प्रदर्शन गरेका थिए, त्यसको नजिक पनि पुग्न सकेनन् । अन्त्यमा उनी टिमबाटै ‘ड्रप’ भए ।

एमबाप्पेले पछि माने, ‘मेरो उद्देश्य युरोपेली च्याम्पियन हुने थियो, युरोमा राम्रो खेल्ने थियो । तर यसलाई मिल्दो खेल पटक्कै खेल्न सकिनँ ।’ उनले जर्मन भूमिमा एकै गोल मात्र गरे र त्यो पनि पोल्यान्डविरुद्ध समूह चरणमा पेनाल्टीबाट थियो । डेसक्याम्प प्रशिक्षक भएयता फ्रान्सलाई जितको बानी परेको थियो, तर यसपल्ट तिनै प्रशिक्षकलाई जित त्यति महत्त्वको रहेन । उनलाई यसपल्ट नतिजा प्राप्तिभन्दा पनि आफ्नो टिमले कसरी खेल्यो, त्यसमै बढी चासो रह्यो ।

सेमिफाइनल अगाडि सोधिएको एक प्रश्नमा उनले भनेका थिए, ‘कसैलाई हाम्रो खेल हेरेर नरमाइलो लागेको छ भने अन्य केही हेरे भइहाल्छ । कोही कसैले हाम्रो खेल हेर्नुपर्छ भन्ने छैन् ।’ प्रश्नमा जोड दिइएको थियो, फ्रान्सको प्रदर्शन आकर्षक रहेन । त्यसो त यसअघि पनि डेस्याम्पमाथि यस्तै आरोप लाग्ने गरेको थियो, तर पुष्टि गर्न गाह्रो थियो । तर यसपल्टको युरोले यो आरोप सही रहेको सावित भएको छ । उनी प्रशिक्षक भएयताको प्रदर्शनले यसबारे बोल्छ पनि ।

सन् २०१२ मा उनले फ्रान्सेली टिमको जिम्मा पाएका थिए, जति बेला अर्का प्रशिक्षक लरेन्ट ब्लान्कको नेतृत्वमा टिमको प्रदर्शन खराब थियो । सन् १९९८ को विश्वकप तथा युरो २००० को विजेता टिमका कप्तान डेस्याम्पको पहिलो प्रयासमै उनको टिम २०१४ को विश्वकपको क्वाटरफाइनल पुगेको थियो । त्यसपछि फ्रान्स युरो २०१६ को फाइनल पुग्यो भने टिमले सन् २०१८ को विश्वकप नै जित्यो । २०२२ को विश्वकप फाइनल पुगे पनि त्यसमा अर्जेन्टिनाविरुद्ध पराजित रह्यो ।

फ्रान्सले २०२१ को यूईएफए नेसन्सकप पनि जितेको थियो । यसबीच फ्रान्सको सबैभन्दा कमजोर प्रदर्शन भनेकै पछिल्लो युरोमा देखिएको थियो, जति बेला टिम अन्तिम १६ बाटै बाहिरिएको थियो, स्विट्जरल्यान्डविरुद्धको खेल टाइब्रेकरमा गुमाएर । पछिल्लो विश्वकपताका डेस्याम्पले २०२६ सम्मका लागि अनुबन्ध गरेका थिए । यस्तोमा त्यही वर्ष हुने विश्वकप फ्रान्सका लागि अबको अर्को ठूलो प्रतियोगिता रहेको छ ।

तर अब प्रश्न उठेको छ, के ५५ वर्षीय डेस्याम्प नै त्यस्ता प्रशिक्षक हुन्, जसको नेतृत्वमा अबको विश्वकपमा फ्रान्सले खेल्नुपर्नेछ । यसका लागि जर्मन प्रशिक्षक जोचिम लोको उदाहरण पेस गर्न सकिन्छ । उनी सन् २००६ मा प्रशिक्षक भएका थिए । उनको नेतृत्वमा खेलेका सुरुआती पाँच प्रतियोगितामध्ये जर्मनी २०१४ को विश्वकप विजेता

रह्यो । त्यसपछि युरो २००८ को फाइनल पनि पुग्यो । अन्य तीन सेमिफाइलनमा भने पराजित रह्यो । त्यसपछि जर्मनीको प्रदर्शन लगातार कमजोर रह्यो ।

जर्मनी २०१८ को विश्वकपमा समूह चरणबाटै बाहिरियो भने युरो २०२० मा अन्तिम १६ सम्म मात्र पुग्न सक्यो । त्यसपछि लोको यात्रामा पूर्णविराम लाग्यो । डेस्याम्पल आफ्नो भविष्यबारे सोधिएको प्रश्नमा उनको उत्तर यस्तो रहेको छ, ‘यसबारे हाम्रो फुटबल संघका अध्यक्षलाई सोध्नुपर्छ । हामीले भर्खरै सेमिफाइनलमा पराजय भोगेका छौं र अहिले नै यो प्रश्नको उत्तर दिनु ठीक हुन्न ।’ तर पनि प्रश्न ठीकै छ, के फ्रान्सेली फुटबलमा एक युगको समाप्ति भएकै हो ?

प्रकाशित : असार ३१, २०८१ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×